सिके शरणम गच्छामि !

मङ्लबार, फाल्गुन २८, २०७५



- दीपेन्द्र पाण्डे

वर्तमान वैश्ययुग मिलावटमा टिकेको छ । पहिला गुलियो कुरा गर्छ । फकाउँछ । फुल्याउँछ । किन्छ । नसके धम्क्याउँछ । केहि सिप नलागे आत्मआलोचनाको नाटक गर्छ । यी सबै काम गर्दा पनि तार नलागे साम, दाम, दण्ड, भेद प्रयोग गर्दै आफ्नो सत्ता बचाउँन मरिहत्ते गर्छ । वैश्ययुगमा जनताको चेतनास्तर अनुसार बाठा टाठाहरुले आफ्नो राजनीतिक व्यवसाय चलाउँछन । मुलुकमा पछिल्लो समय यसैलाई लोकतन्त्रको नाम दिइएको छ ।

सामान्यतया राजनीति, सरकार र सत्ता मिले देश विकास द्रुत गतिमा हुने मानिन्छ । सरकार र सत्ताले राजनीतिमा उचित स्थान नदिंदा भएका र हुँदै गरेका असंख्य बिद्रोहलाई मुलुकले संबोधन गर्न उचित र आवश्यक रहे पनि विखण्डनकारीलाई कुनै पनि सत्ताले स्वीकार गर्दैन भन्ने नबुझिने विषय हैन । अनुपयुक्त र अमुर्त कुरा गर्दै जनतालाई झुक्याउने राजनीतिको मुल चरित्र विगत देखी वर्तमान सम्म अटुट रुपमा चलिरहेको मुलुकमा तमाम बिद्रोह र संघर्षहरुको नीजिकरण गर्दै राज्य ढुकुटीको दोहन गर्ने काम तिब्र गतिमा चलेकै छ । आवश्यक र औचित्यपुर्ण काममा भन्दा अनुपयुक्त र बिबादास्पद गतिबिधिमा फस्ने सिंहदरबारको पुरानो चरित्र झनै विकराल बन्दै छ ।

जनतालाई त्रास, भय र आतंकबाट मुक्ति दिने नाममा भए गरेका राष्ट्रिय लुट र विखण्डनकारीलाई लोकतन्त्रले शान्तिको निम्ति सहनु पर्ने विडम्बनापुर्ण नजिर स्थापित गरिदैं छ । दलिय सहमतिको नाटक रच्दै बिगतमा चलाएको ‘राष्ट्रिय लुटको कारखाना’ सत्ता उन्मादमा नयाँ ढंगले चलाउने सिंहदरबारको पछिल्लो कपटपुर्ण ११ बुँदे सम्झौताले एकै पटक असंख्य सवाल खडा गर्न पुगेको छ । राष्ट्रवाद, जन -जिबिका,प्रगतिशिल कार्यक्रम र व्यवहार प्रस्तुत गर्दा मतपत्र मार्फत सिंहदरबारको आवधिक कुर्सी प्राप्त गरेको वाम सत्ता पार्टी घोषणापत्र अनुसार जनताको पक्षमा दिन रात एक गर्न लाग्नुको सट्टा अनुपयुक्त झमेलामा फस्नुले मुलुकमा खुलेआम स्वतन्त्र मधेशको नारा लाग्न पुगेको छ । झापा, मोरङ, सुनसरी, कैलाली, कन्चनपुरको नारा सुन्न पनि नचाहने ओली स्वतन्त्र मधेशको नारा सहर्ष स्वीकार गर्ने ओली एकै हुन ? भन्ने अवस्था अध्यक्ष ओलीकै कारण सिर्जना भएको छ । तिब्बत स्वतन्त्र हुनु पर्छ भन्दै चीनमा नारा लाग्यो भने वा कश्मीर ,खालिस्तान, आसाम र नागाल्याण्ड भारतबाट स्वतन्त्र गर्ने नारा भारत मै लाग्यो भने ती देशका प्रधानमन्त्रीले विखण्डनकारीसँग हात मिलाउँदै सम्झौता गर्छ ? भन्ने देशवाशीको गम्भिर सवाल प्रधानमन्त्री ओलीसँग गरिदै छ । राष्ट्रवाद र समृद्धिको नारामा सिंहदरबारको कुर्सीमा बस्न पाएका ओलीलाई जनादेश र संबिधानको उलंघन गर्ने अधिकार कसले दियो ? खुद तराईवाशी देशभक्त नेपालीहरु गर्दै छन ।

मुलुक बिखण्डनको निम्ति आफ्नो विद्धता प्रयोग गर्ने, सिंहदरबारसँग घृणा फैलाउँदै तराईवाशी नेपाली जनता र युवायुवतीको मनमस्तिकमा ‘बीष घोल्ने ‘  सिके राउतलाई जेलबाट निकाल्दै किन अंगालो मारियो ? संबिधानको ठाडो उलङ्घन गर्ने सिकेलाई बोक्नै पर्ने बाध्यताको असली मकसद के हो ? राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिना साथ राउतलाई बोक्न लगाउने पर्दा पछाडि शक्ति को हुन? दक्षिणको निर्वाचन पूर्व सम्पन्न गरिएको सिके – ओली सम्झौताले नेकपा , वाम आन्दोलन र मुलुकको समृद्धि कहाँ पुग्छ ? भन्ने सवालको जवाफ मिल्दै गर्दा कतै नेकपा नै समाप्त हुने त हैन भन्ने सवाल डढेलो झैँ फैलिएको छ ।

निर्वाचन मेरै कारणले जितेको, पार्टी आफैले जन्माएको, हुर्काएको, आजको अवस्थामा ल्याउन आफ्नो एकल योगदान रहेको दम्भ पाल्दै सानो घेराबन्दीमा रमाउने नव सामन्तवादी वाम राजनीतिका सुत्रधार नेता ओली बिचित्रको सत्ता अभ्यास गर्दै छन । आफु दाता र अरु मगन्ते सम्झने प्रधानमन्त्री ओलीको एस म्यान बन्न नचाहने, विगत देखी वर्तमान सम्म देश, जनता, पार्टी र वाम आन्दोलन सम्झने सहयोद्धा कमरेडहरुलाई दुश्मन र अबरोधक देख्ने नविन धारणाका धनी अध्यक्ष ओली सत्ता उन्मादमा आफ्नो धरातल बिर्सदैं छन ।

प्रगतिशिल, लोकतान्त्रीक, देशभक्त, वामशक्ति बीच घनिष्ट सम्बन्ध कायम गर्दै विकास, स्थीरता, समृद्धिको महाअभियान सञ्चालन गर्ने महत्वपुर्ण अभिभारा पाएका नेकपा नेता एवम प्रधानमन्त्री ओली नराम्रोसँग बरालिएका छन । राजनीतिमा लागेका मानिसको सबै भन्दा ठूलो लक्ष्य मुलुकको कार्यकारी पदमा पुग्दै मुलुक र मुलुकवाशीको सेवा गर्नु हो भन्ने मान्न सकिन्छ । जसका निम्ति जसरी भएपनि पार्टी प्रमुख बन्न १५ वर्षे गुटगत राजनीतिलाई आम कार्यकर्ताले ‘संकाको लाभ ‘ दिंदै पार्टीको सर्वोच्च पदमा पुर्याएकै हुन् । आफ्नो जीवनको लक्ष्य  प्राप्तिको निम्ति सहयोगी बनेका सबैलाई पुरस्कृत गरिसक्दा पनि कतै नदेखिएको पर्फमेन्सले निरास ओली कुनै न कुनै बिचित्र कदम चाल्न बाध्य हुँदै गरेको महशुस हुँदै थियो । जबज, मार्क्सवाद, लेनिनवाद, समृद्धि, सुशासन, विकास, जस्ता सिद्धान्त र कार्यक्रमहरु आफ्नै सोच, शैली र व्यवहारले भुत्ते बनेसँगै सिके शरणमा पुगेको ओली राजनीति आममानिस नमिठो मान्दै हेर्न विवश छन ।

पार्टी राजनीति भद्रगोलबाट बिधिमा प्रबेश गर्नै लाग्दा सुनियोजित ढंगले नेकपा कार्यदल भत्काउँदै लाखौं कार्यकर्तालाई रुने स्थीतिमा पुर्याउँदै विखण्डनकारी सिके राउतको आँसु पुछन प्रधानमन्त्री एवम पार्टी अध्यक्ष ओली निस्किए । एक वर्षको अवरोध बिहिन शासनले समृद्धिको’डिपिसी’ तयार गर्न नसकेको झोंकमा पृथ्वीनारायण शाहले निर्माण गरेको मुलुकको जग भत्काउन नेपाल आमालाई ‘बेश्या ‘ भन्न पछी नपरेका सिकेसँग हात मिलाउन राजी भए । गत फागुन २४ गते मुलुक र लोकतन्त्रले पचाउन नसक्ने केवल सत्ता उन्मादले मात्र आवश्यक देख्ने काम सम्पन्न गर्दै स्वतन्त्र मधेशको नारालाई अन्तराष्ट्रिय जगत सम्म पुर्याउन तयार भए । आफुले नबनाएको, हजारौ कार्यकर्ताको खुन-पसिना, सयौं शहीदको रगतले निर्मित पुर्व एमालेको संगठनलाई माओवादी केन्द्रसँग मर्ज गर्दै सात लाख पार्टी सदस्यहरुको भविष्य’कोमामा’ पुर्याए । पार्टी, जनता, कार्यकर्ता  र देशले नचिनेको झुण्डहरुलाई गोलबन्द गर्दै गलल हाँसो हाँसी दिने परिक्रमावादीको बहकाउमा रमाउने अवस्था पछी नेकपा औपचारिक बिघटन कुरेर बस्दै छ ।

बुद्धिजिबीलाई ठाउँका ठाउँ थला पार्ने, लुटन सके लुट कान्छा भन्नेलाई ओठे जवाफ फर्काउने, आफ्नो लहडमा टिका लगाइएका औचित्यहिन मानिसलाई पुरस्कृत गर्ने , सबै विषयको ज्ञाता बन्दै तामझाम साथ नयाँ युगको शुरुवात गर्दा पनि कतै सकारात्मक नतिजा देखा पर्न सकेन । विगतमा कमाएका र बाँडिएका सबै अस्त्रहरु धार बिहिन बनेसँगै दबाबमा परेका प्रधानमन्त्री ओली प्रचण्ड र सिके राउतलाई एकै देख्ने अवस्थामा पुगेका छन । मुलुकलाई असफल बनाउने र अस्थीरताको जगमा आफ्नो भविश्य देख्नेहरुको महाअभियानको हिस्सा बन्दै पार्टी  र जनतालाई निरास बनाउने तर सिके राउतलाई खुशी बनाउने दुर्भाग्यपुर्ण राजनीतिको अगुवा बनेर निस्किएका छन ।

सत्ताको भट्टीमा पग्लिएको ओली राष्ट्रवाद ‘बा’ भन्नेहरुको जोडबलले कहिं कतै नबिक्ने अवस्थामा पुगेको छ । कमरेडहरुलाई ठोक्ने ‘बा’भन्दै  घेराबन्दी गर्नेको उक्साहटमा ‘अग्रवाल  र धुपौरे प्रबृती ‘ लाई बोक्ने ओली राजनीति नेकपा सक्न उद्धत रहेको पुष्टी हुँदै छ । पार्टी कार्यकर्ता  र राजनीतिक मुद्धा भन्दा सामान्तवादी संस्कारलाई प्रिय मान्न पुगेका पार्टी अध्यक्ष एवम प्रधानमन्त्री ओली आफुसँगै सबै समाप्त गर्न किन लालायित हुँदैछन ? उनी सँगै पञ्चायती सत्ताको कठोर दमन र संघर्ष झेलेका कमरेडहरु शब्द विहिन भएका छन । घोषणापत्र, कार्यक्रम, नीति, बिधि सुन्न पनि नचाहने अवस्थामा पुगेको मात्र हैन आफ्नै बिचार, सिद्धान्त  र मुर्छित सपनालाई लात हान्दै सिके शरणमा पुग्दा उनको ‘शाख ‘ सीसा झै चकनाचुर हुन पुगेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank