सिनेकर्मीलाई हेर्ने नजर विस्तारै फेरिदैछ

शुक्रबार, चैत्र १६, २०७४



- छविराज ओझा निर्माता

नेपाली सिनेमा क्षेत्र क्रमिक रुपमा परिवर्तन हुँदै गएको छ । अहिले टोल–टोलमै सिनेमा बस्ने स्थिति छ । संख्यामा धेरै सिनेमा बनेपनि भ्यालु भने अलि कम भएको महसुस हुन थालेको छ । पहिला हल भएका ठाउँमा २५ प्रतिशतले सिनेमा हेर्थे । तर, अहिले ३ प्रतिशतले मात्र हेर्ने गरेको देखिन्छ । १ सय वटा सिनेमा बने भने मुस्किलले १० वटाले लगानी उठाउँछन् । अरु सवै घाटामै हुन्छन । सिनेमा महंगो छ । जोखिम धेरै छ । मानिसहरू नबुझी यो क्षेत्रमा लाग्दा समस्यामा परेका छन् ।

……………
डिजिटल प्रविधि भित्रिएपछि घरघरमै सिनेमा बन्न थालेको छ । त्यसले पनि विकृति ल्याएको छ । टोलटोलमै निर्देशक, निर्माता छन् । मन लाग्यो कि सिनेमा बनाइहाल्ने छन् । सिनेमाले संसारमा धेरै चीज परिवर्तन गर्छ । धेरै कुरा सिकाउँछ । सिनेमामा गहन र अध्ययन अत्यन्त जरुरी हुन्छ । हामीले बल्ल १ करोडमा सिनेमा बनाउन थालेका छौँ । हिन्दी फिल्मको एउटा गाना खिच्ने पैसाले हाम्रो सिनेमा नै बन्छ जस्तो लाग्छ ।

……………
डिजिटल प्रविधि भित्रिएपछि सिनेमा बनाउन सजिलो भयो । सस्तोमा क्यामरा ल्याउने, चार जना मिल्ने अनि फिल्म बनाउने संस्कारै बसेको छ । सिनेमा कसरी बन्छ, स्क्रीप्टमा कति समय लगाउने, कुन प्रविधि अपनाउने भन्ने अध्ययन नगरी बनाउने गर्छन । कुन विषयबस्तुको सिनेमा चल्छ भन्ने अध्ययन हुँदैन । निर्माण भएर पनि कति सिनेमा हलमा लागेकै छैनन् । लगानी धेरै डुबेको छ । एउटा सिनेमा बनाउँदा १ करोड लाग्छ । अध्ययन नै नगरी सिनेमामा पैसा हालेको पनि देखिन्छ । सिनेमामा यति कमाई भयो, उति कमाई भयो भनेर सवै सिनेमालाई हिट बनाइदिन्छन । लहैलहैमा सिनेमा बनाउन पैसा हाल्छन् । खेतबारी पाँच लाखमा किन्नुप¥यो भने दश जनासँग सोध्नेले सिनेमा बनाउन हचुवाको भरमा एक करोड खर्च गर्छ । लगानी गर्नेले कहाँ लगानी गर्दैछु, निर्माताको पृष्ठभूमि के हो, कस्तो खालको सिनेमा बनाउनुपर्छ भनेर पहिला सोच्नुपर्छ । हचुवाको भरमा पैसा हालेपछि सिनेमा डुबेका छन् । अध्ययन गरेर बनाइएका सिनेमा सफल भएका छन् ।
……………
हाम्रो मार्केटिङ कम भएकाले धेरै लगानी गर्ने अवस्था हुँदैन । त्यसपछि विदेशी सिनेमा र नेपाली सिनेमा स्वतः फरक पर्छ । हाम्रो सिनेमाले पनि ५–१० करोडको व्यापार गर्न थाल्यो भने हामी पनि ५ करोड लगाएर सिनेमा बनाउँछौँ । सुटिङ अवधि लम्बिएर खर्च बढ्यो भने छुट्टै कुरा होइन भने धेरैमा १ करोड लगाएर नेपाली सिनेमा बन्छ । ५० लाखमा पनि सिनेमा बनेका छन् । त्यहीबाट सवै (कलाकार, प्राविधिक, निर्देशक, प्रचारप्रसार आदि) को खर्च छुट्याउनुपर्छ । विदेशमा एउटा निर्देशकको १० जना सहयोगी हुन्छन् । हाम्रोमा बढीमा दुई जना सहयोगी हुन्छन । विदेशमा मेकअप पर्शननै प्रत्येक कलाकारपिच्छे फरक–फरक हुन्छन । हाम्रोमा एउटै मात्र हुन्छ । भारतमै एउटा कलाकारले ७०–८० करोडसम्म लिन्छन् । हाम्रोमा सिनेमा नै ७०–८० लाखमा बन्छन् । त्यहीबाट सवैले बाँडेर खानुपर्छ ।

……………
नेपालमा कलाकारिता भर्खर सुरु हुँदैछ । नेपाली कलाकार धेरै अनुशासित छन् । हाम्रो पालामा सिनेमामा लाग्ने भन्ने वितिक्कै नकरात्मक सोचिन्थ्यो । सिनेमामा छोराछोरी जो लागेपनि अव बिग्रियो भन्थ्ये । तर, विस्तारै सिनेकर्मीलाई हेर्ने दृष्टिकोण फेरिदैछ । याक्टिङ सिकेर, पढेर अधिकांश आएका छैनन् । भर्खर कलेजहरु खुल्दैछन् । अभिनयमा पनि पढ्नुपर्छ । नाटक खेल्न र निर्देशन गर्न पनि पढ्न्पर्छ । निर्माताले पनि पढ्नुपर्छ, कस्तो सिनेमा बनाउने भन्ने अध्ययन गर्नुपर्छ । त्यो भावना अहिले विकास भएर गइरहेको छ । विस्तारै पढेका कलाकर्मी आउन थालेका छन् । कमि कमजोरी सुधार्दै अध्यन, अनुसन्धान गरेर कलाकर्मी अगाडि बढ्दा नेपाली सिनेमा क्षेत्रको भविश्य उज्वल छ ।

197 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank