ख्याल ख्यालमै बित्यो दुई वर्ष !

फरकमत

बिहिबार, माघ १६, २०७६



- दीपेन्द्र पाण्डे

हुवेई प्रान्तको वुहानमा कोरोना भाइरसको प्रकोप भयावह बन्दै छ। अकस्मात् आइलागेको समस्याबाट पार पाउन १० दिनमा नयाँ अस्पताल निर्माण गर्न चीन सरकार दिनरात एक गर्दैछ। करिब दुई वर्ष अगाडि अराजकता, ढिलासुस्ती, महँगी, भ्रष्टाचार, अन्याय, अत्याचार, नातावाद, कृपावाद, आशीर्वाद, विकृति, विसङ्गति जस्ता भाइरसको बिगबिगीबाट मुक्ति दिलाउने उद्घोष कमरेड ओलीले ‘चीन सरकार’ कै शैलीमा गरे। महान ध्वंसबाट थिलथिलो भएको मुलुकमा फैलिएका गम्भीर भाइरसबाट मुक्ति दिलाउन अग्रसर कमरेड ओलीलाई जनताले अपार विश्वास र समर्थन गर्न पुग्दा आज उनी सिंहदरबारमा विराजमान छन्। प्रशासनिक झमेला र ज्यादतीबाट आजित जनतालाई मुक्ति र नयाँपन दिने, बेरोजगार बन्दै मुलुक छोड्न बाध्य युवा पलायन रोक्ने, काँग्रेसको अलोकतान्त्रिक र अलोकप्रीय गतिविधिलाई मुलुकबाट सदा सदाको निम्ति बिदा गर्दै समृद्ध मुलुक बनाउने कमरेडको वजनदार आश्वासन, तर्कपूर्ण भाषण र रणनीतिक कलाबाजी तात्कालिन समयमा ‘हटकेक’नै बन्न पुग्यो ।

अकस्मात् मिलेको अपार सफलता पछि कमरेड प्रधानमन्त्रीले भुँई छोडिदिए । वडा देखी केन्द्र सम्म , प्रदेश देखी संघसम्म एकछत्र पार्टी र सरकारमा राज गर्न सफल कमरेड समृद्ध नेपाल निर्माण गर्न भन्दा आफ्नै लहडमा रम्न राजी भए । फलस्वरुप एमाले जस्तो चुस्त दुरुस्त पार्टीलाई माओवादी केन्द्र जस्तो बनाई दिए । पोलिटब्यूरो जन्मनै दिएनन् । केन्द्रीय कमिटी ‘महिलाको मंगलसुत्र’ जस्तो बनाइ दिए । सांगठनिक अस्तव्यस्ततामा आफ्नो अधिकार बढेको मान्न राजी भए ।कम्युनिस्ट पार्टीको घर पोलेर आफ्नै समृद्धिको व्यापार गर्न तम्सिएका प्रधानमन्त्री कमरेड, कर्मचारीले जस्तो तथ्याङ्कमा सफलता खोज्न तम्सिए । फलस्वरुप सत्ता उन्मादमा दातृ निकायले हेर्ने आँकडा तर्फ आकर्षित हुन पुगे । बाटो हिँड्दा, अड्डा अदालत जाँदा, हरेक दिन चुलो बाल्दा महसुस गर्ने प्रगतिलाई उनले समृद्धिसँग जोडन बिर्सिए ।

कम्युनिस्ट पार्टीको आत्मा भनेको केन्द्रीय कमिटी हो । सिद्धान्त हो । विचार हो । कार्यक्रम हो । सङ्गठन हो । अनुशासित कार्यकर्ता हुन । पार्टी कमिटी, बैठक, छलफल, अन्तरक्रिया, प्रशिक्षणले कम्युनिस्ट पार्टीलाई जीवन्त, मजबुत, जनप्रिय बनाउन सक्छ । विडम्वना ! कमरेड ओली ‘नेकपापति’ बन्दै पहिलो पूजा कसको गराउने ? भन्ने खेल खेल्न हौसिए । कमरेड ओलीले सिंहदरबारमा बस्दै कम्युनिस्ट ‘पार्टीको सिंह’ बनिरहन पूर्व माओवादी केन्द्रको सिको टिप्दै वर्तमान नेकपा सञ्चालन गर्दा उनी चौतर्फी असफलता भोग्न विवश छन् ।

लगानी सम्मेलन मार्फत लगानी प्रतिबद्धता काफी आएको प्रधानमन्त्रीको दाबी छ । केवल प्रतिवद्धताको भरमा समृद्धि आउने भए कम्युनिस्ट पार्टी को ‘घोषणा पत्र’ र स्वयम् प्रधानमन्त्रीको ‘मनपत्र’ कम छन् र ? मुलुकले समृद्धिको मार्ग पक्डिसकेको, अझ भनौँ उनका तथ्य र तथ्याङ्कले मुलुकको फड्को मारीसकेको दाबीलाई एउटै सवालले झुटो साबित गरिदिन्छ । चालु आर्थिक वर्षको ६ महिना भित्रमा उनकै सरकारले जारी गरेको बजेट अनुरूप पुँजीगत खर्च केवल १६ प्रतिशतको हाराहारी मात्र छ । कुन त्यस्तो मुलुक हुन्छ ? जहाँ पुँजीगत खर्च बिना नै समृद्धि हासिल हुन्छ ? यस मानेमा ठोकुवासाथ भन्न सकिन्छ । साधारण तर्फको पैसा खर्च गर्न, बेरुजु बढाउन, अनुत्पादक क्षेत्रमा फजुल खर्च गर्न र गफ बाटै समृद्धि हासिल गर्न प्रधानमन्त्री सतप्रतिशत सफल देखिएका छन् ।

प्रधानमन्त्रीको शिर ठाडो पार्न सहयोगी बन्दै आएको अप्रशोधित पाम आयल आयातबाट चालु आर्थिक वर्षको पाँच महिनामा प्राप्त राजस्व सन्तोषजनक थियो । गत पुस २३ गते भारत सरकारले पाम आयलमा प्रतिबन्ध लगाएसँगै आयात निर्यातबाट प्राप्त हुने राजस्व गुमाएको छ । विगत पाँच महिनामा ओली सरकारको इज्जत धान्न सफल पाम आयलबाट नेपालको कुल निर्यात अघिल्लो वर्षको तुलनामा २६.९७ प्रतिशतले र भारत तर्फको निर्यात अघिल्लो वर्षको तुलनामा ४८.५८ प्रतिशतले बढेको थियो। विगत पाँच महिनामा कुल निर्यातमा पाम आयलले २४.२५ प्रतिशत हिस्सा ओगटेको थियो। पाम आयल निर्यातकै कारण यस अवधिमा व्यापार घाटा ६.३ प्रतिशतले घटेको अर्थशास्त्रीहरुको दाबी थियो। सरकारले मुलुकमा पाँच लाख रोजगारी सिर्जना गर्ने गफ दिएको समयमा चलिरहेका २२ पाम उद्धोग बन्द हुन जाँदा आगामी दिनमा प्रधानमन्त्रीको नाक राखिदिने कुनै कार्यक्रम फेला परेको  छैन ।

विश्वका अनेक निकायले अनेक मापदण्डको आधारमा नेपाल दुई स्थान माथि उक्ल्यो वा झर्यो भन्ने तथ्याङ्कमा नेपालको मात्र योगदान रहँदैन । अन्य मुलुकको राजनीति बिग्रेको खण्डमा नेपाल यथास्थानमा रहँदा पनि माथि उक्लिन सक्ने तथ्य प्रधानमन्त्रीले चलाखीपूर्वक लुकाएका छन् । मुलुकवाशीले उनको कार्यकालमा भ्रष्टाचार कुन स्थानमा पुगेको छ ? भनेर बुझ्ने आधार केवल वाइडबडीको सरकारी अनुसन्धान कर्तालाई नियुक्ति नै नदिने र यती ग्रुप प्रतिको मोह ‘गोकर्णदेखी पाथीभरा’सम्म पुग्नुलाई लिन सकिन्छ । तमाम समस्याहरू विरासतमा मिलेको, कालापानी, लिम्पियाधूरा र लिपुलेक राजाको पाला देखी भारतले भोगचलन गर्दै आएको कुरा प्रधानमन्त्रीले भन्नै पर्दैन । उनको पालामा भारतले ‘हालसाबिक’ गर्दै नक्सा जारी गरेको कुरा बोल्नु भन्दा ‘हाब’ (हालको बकसपत्र)  गरिदिएको देउवाको आरोप सत्य बन्दै छ ।

खेतको आलीमा रोपेको केरा पसायो । बाख्री पनि ब्यायो । भैँसी पनि ब्यायो । कुखुराले फुल पार्यो । मेरो पालामा व्यापक आर्थिक प्रगति भयो भन्ने अवस्थामा प्रधानमन्त्री पुग्न मात्र बाँकी छ । उखु किसान वक्यौता उठाउँन माइतीघर आउनु पर्ने , मेडिकल कलेजका विद्धार्थीले अवैध शुल्क तिर्नु पर्ने, निर्मलाको आत्माले अझै न्याय नपाउने अवस्था ओली शासनमा अर्को असफलता बनेको छ । राष्ट्रलाई तत्काल फाइदा दिन सक्ने राष्ट्रिय गौरवका मेलम्ची खानेपानी आयोजना, तामाकोसी विद्धुत आयोजना सम्पन्न हुन नसक्नु, कमरेडका मुर्छित ‘सपनाको डिपीआर’ अझै बन्न नसकेको अवस्थामा धरहरा ६ तला ढलान भयो । रानी पोखरी बन्नै लाग्यो भन्न विवश हुँदा पनि उनको मन अमिलो हुँदैन । अथाह शक्ति, अदम्य साहस, पर्याप्त ढुकुटी हुँदा पनि कमरेडको दुई वर्ष खेर जानुलाई सामान्य मान्न किमार्थ सकिँदैन ।

सिके राउतलाई अनुपयुक्त ढङ्गले बोकेको, होली वाइनलाई सोल्टीमै बास बसेर स्वागत गरेको , राष्ट्रियसभा निर्वाचनमा राजपासँग गठबन्धन गर्दै पार्टी पद्धतिलाई इन्कार गरेको जस्ता विषय कमरेड प्रधानमन्त्रीलाई सरोकार नै छैन । प्रदेश राजधानी तोक्न दरबारिया शैलीमा आदेश दिँदै संविधानलाई घाइते बनाएको, विधि , विधान र पार्टीलाई आफ्नो वपौती सरह ठानेको , स्वदेशमा उपचार गर्दा खर्च देखाउन पर्ने तर विदेशमा गर्दा पारदर्शी हुन नपर्ने नजिर स्थापना गरेको आरोप उनीमाथी कार्यकर्ता तहबाट लाग्न थालेको छ । अन्तिम मिनेटमा निर्णय गर्ने, अनुपयुक्त पात्रलाई चयन गर्ने , अत्यावश्यक ठाउँमा नियुक्ति नगर्ने मात्र हैन । खराब व्यक्ति र प्रवृत्तिलाई आफ्नै संरक्षणमा राख्ने सिंहदरबारको विगत हुबहु सापटी लिँदै निर्णय प्रक्रियामा उतार्नुले व्यक्ति परिवर्तन मात्र भएको , सोच र शैली सामन्ती नै रहेको मान्नेहरू अकस्मात् बढेका छन् ।

प्रविधिको चरम विकास भएको वर्तमान समयमा पनि सरकारले  कहाँबाट शुरु गर्ने ? भन्ने भेउ पाउन सकिरहेको छैन । ओली सरकारले जति सुकै प्रगति विवरण देखाए पनि एउटा सामान्य स्मार्ट ड्राईभिङ लाइसेन्स लिन समेत एकवर्ष कुर्नु पर्ने घटनाले सरकारको रफ्तार बुझ्न सकिन्छ । केवल एक हप्तामा विशाल अस्पताल बनाउन सक्ने वर्तमान समयमा काठमाडौँको सडकमा बाटो आकासे पुल समेत राख्न सरकार चुकेको छ । पानी परेर धान फल्नु , अनेक माध्यमबाट विदेश पुग्दै पठाएको रेमिटयान्स हेरेर आर्थिक सूचक बलियो देख्नु ओली सरकारको दृष्टि दोष मात्र हुन । दुई वर्षको महत्त्वपूर्ण समयमा कति वटा खानी उत्खनन गरियो ? धादिङको जोगिमारा छेडेर त्रिशूली नदिको पानी चितवन लाँदै सिँचाइको काम गरियो कि ? पञ्चेशवरको काम शुरु भयो की? कमरेडको मुर्छित सपना र दृढ विश्वास देख्दा लाग्थ्यो । यती बेला निजगढ विमानस्थल र फास्ट ट्रयाकको काम आधाआधी सम्पन्न भइसकेका हुन्थे । थुप्रै स्थानमा क्रिकेट स्टेडियम बन्दै अन्तर्राष्ट्रिय क्रिकेट खेलको आयोजना सम्पन्न हुन्थे । सात प्रदेशमा अस्पताल बनिसकेका हुन्थे । पानी जहाज राष्ट्रिय झन्डा राख्दै कुदिरहेका हुन्थे । रेल र मोनोरेलका टेण्डर खुलिरहेका हुन्थे । हुलाकी राजमार्गको स्तरउन्नती , नदी किनारमा स्मार्ट सिटी र अरुण तेर्सोको काम आधा आधी भइसकेका हुन्थे । विड्म्वना ! ती सपना अझै मुर्छित नै छन् ।

अन्तमा, घोषणापत्र भन्दा ठुला ठुला मनपत्रहरु फास्ट ट्रयाकबाट पुरा गर्ने कमरेडको तुफानी अभियान कता बरालियो अत्तोपत्तो छैन । प्रधानमन्त्रीका सपना बिउँझिन नसक्नुले भन्न सकिन्छ वास्तवमा प्रधानमन्त्रीसँग कुनै कार्यक्रम र योजना नै थिएन । केवल उनीसँग ‘माइभिजन’ भन्ने पुस्तक मात्र थियो। उनको वरिपरि मुलुकको बारेमा सोच्ने मानिस नै थिएनन् । आर्थिक, सामाजिक, राजनीतिक क्षेत्र मात्र हैन पार्टी र मुलुकलाई सही दिसा दिन चुकेको ओली कार्यकाल मुलुकवाशीले सम्झिन लायक छैन । सामान्य व्यापारीको घाँटी निमोठेर उठाएको राजस्व समेत खर्च गर्न गराउन नसक्ने अवस्थामा पुगेका प्रधानमन्त्रीले मुलुकको बहुमूल्य समय हसिँमजाकमा खर्च गरिरहेका छन् । कमरेडको शासनमा अब अस्पताल बनाउन जरुरी छैन । कमरेडलाई लाग्दै छ । मुलुक समृद्ध भइसक्यो । अब भ्युटावर चढेर कोरोना भाइरस कहाँ आइपुग्यो ? हेर्न मात्र बाँकी छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments