बुढीगण्डकी बहुउद्देश्यीय परियोजनाबारे ऊर्जामन्त्री वर्षमान पुनलाई खुल्ला पत्र

सोमवार, माघ ६, २०७६



- डा. रामकुमार अधिकारी

भारतका पूर्व राष्ट्रपति स्व. डा. अब्दुल कलाम आजाद्ले भन्नु भएको थियो- “सपना त्यो होइन जो निदाएको बेलामा देखिन्छ । सपना त्यो हो जसले निदाउन दिंदैन ।”

माननीय ऊर्जा मन्त्री ज्यू,
तपाईँको एउटै सपना छ “समृद्ध नेपाल, सुखी नेपाली” भएको देख्ने इच्छा जसले तपाईँलाई निद्रा कमै लाग्छ होला। यही उद्देश्य प्राप्तिको लागि लाखौँ नेपाली जनताले लामो सङ्घर्ष गरे। तपाईँ राजनीतिमा होमिनु भयो,  जीवनलाई हत्केलामा राखेर १० बर्से महान् जनयुद्ध लड्नु भयो र नेता पनि हुनु भयो। यही सपना देखेर आन्दोलनमा लाग्नु भएका हजारौँ हजार सहिद हुनुभयो र हजारौँ अपाङ्ग भई जीवन काटिरहनु भएको छ । आज तपाईँ मुलुकको कायापलट गर्न सक्ने पदमा हुनुहुन्छ किनकि नेपालको कायापलट गर्ने क्षेत्रहरू कृषि, जलश्रोत र पर्यटन नै हुन् ।

विशेषज्ञहरूका अनुसार “केरुङ–रसुवागढी– रेलमार्ग, पोखरा–लुम्बिनी रेलमार्ग, निजगढ विमानस्थल, बुढीगन्डकी जलाशययुक्त बहुउद्देश्यीय परियोजना, निजगढ–काठमाडौँ द्रुत मार्ग, पश्चिम सेती, अपर कर्णाली, तमोर जस्ता आयोजनाहरू गेम चेन्जर र मुलुककै आर्थिक विकासको ‘विग पुश’ हुने आयोजनाहरू हुन् र यिनिहरुको निर्माण नै नेपालको आधारभूत माइल्स्टोन हो किनकि यी ठुला योजनाहरूको निर्माण नभएसम्म आर्थिक वृद्धि दर दोहोरो अङ्कको हुन असम्भव छ र नेपालको हालको अवस्थाले दिगो विकास हरू प्राप्तिको लागि दोहोरो अङ्कको आर्थिक वृद्धि दर हुनै पर्दछ।”

माननीय मन्त्री ज्यू,
तपाईँले श्वेतपत्र मार्फत आगामी दश वर्ष वि.सं. २०७५ देखि २०८५ सम्मलाई ऊर्जा दशकको रूपमा लिएर ऊर्जा क्षेत्रको मार्ग चित्र प्रस्तुत गर्नु भएको छ। तीन वर्षमा तीन हजार मेगावाट, पाँच वर्षमा ५ हजार र १० वर्षमा १५ हजार मेगावाट उत्पादन गरी वि.सं. २०८५ सम्ममा १५ हजार मेगावाट उत्पादन गर्ने दीर्घकालीन लक्ष्य राख्नु भएको छ। श्वेतपत्र मार्फत निजी क्षेत्रलाई विकासको इन्जिन मान्दै निजी क्षेत्रलाई एकीकृत कार्ययोजनामा काम गर्ने वातावरण तयार पार्नु, दश हजार मेगावाट स्वदेशमा नै खपत गर्ने, खाना पकाउने एलपीजी ग्याँसको खपत घटाउने र खपत बढाउने, पेट्रोलियम पदार्थ आयात घटाउने जस्ता लक्ष्यहरू र ऊर्जाको स्रोतको रूपमा नै प्रयोग गर्ने वातावरण बनाउनु, विद्युतीय बस तथा सवारी साधनको आयातमा प्रोत्साहन गर्ने नीति लिनु, काठमाडौँ उपत्यकामा विद्युतीय सवारी साधनको चार्जिङ स्टेशन खडा गर्ने योजना बनाउनु, स्वदेशमा नै रणनीतिक रूपमा प्रसारण लाइनको निर्माण गर्ने योजना अगाडि सारि कार्यान्वयन हुने चरणमा पुर्‍याउनु, वन क्षेत्रको जग्गा प्रयोग तथा प्रसारण लाइनको एलाइनमेन्ट भन्दा तल पर्ने जग्गाधनीलाई समेत शेयर दिएर आयोजना निर्माणमा सहजता थप्ने जस्तो ऐतिहासिक निर्णय गर्नु जसबाट मेरो जग्गाबाट प्रसारण लाइन जाओस् भन्ने प्रतिस्पर्धा समेत स्थानीय स्तरमा देखा पर्नु, जलस्रोत नीति तयार, विद्युत् नियमन आयोग नियमावली पारित, पानी उपयोगका लागि अनुमतिपत्र जारी, नियमावलीहरू निर्माण, आगामी ३ वर्षभित्र देशका सबै नदीको नदी बेसिन गुरुयोजना तयार गर्ने योजना, हरेक नेपाली जलविद्युतको मालिक बनाउने योजना कार्यान्वयनमा ल्याउनु, अन्तर्देशीय प्रसारण लाइन र क्षेत्रीय  ऊर्जा व्यापार तथा आदान प्रदानको विषयलाई प्रमुख प्राथमिकतामा राखेर काम गर्नु, नेपाल र चीनबिच अन्तर्देशीय प्रसारण लाइन निर्माण, दक्षिणतर्फ पनि दोस्रो अन्तर्देशीय प्रसारण लाइन निर्माणको काम अगाडि बढाउनु, अन्य अन्तर्देशीय प्रसारण लाइन निर्माणको काम समेत अगाडि बढाउनु, समग्र क्षेत्रमा रणनीतिक प्रगति हासिल गर्ने विषयलाई महत्वका साथ अगाडि बढाउनु, यस्तै क्षेत्रीय व्यापार तथा आबद्धतामा जोड दिनु, बङ्गलादेशसँग आदान प्रदान सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर, नेपालको अब भारतको बाटो भएर बङ्गलादेश, म्यानमार, थाइल्यान्ड हुँदै मलेसिया र सिंगापुर समेत पुग्ने मार्ग प्रशस्त बनाउनु, अमेरिकी डलरमा खरिद सम्झौताका विषयमा विगतदेखि नै रहँदै आएको समस्या समाधानका लागि हेजिङ फण्ड स्थापनाका लागि प्रक्रिया शुरु गर्नु, जनताको लगानीमा निर्माण गर्न करिब ३५ सय मेगावाटका आयोजना छनोट गर्नु, आर्थिक वृद्धि र ऊर्जा खपत परस्परमा व्युत्क्रमानुपाती ( Directly Proportional) हुने हुनाले सो अनुसार कार्ययोजना बनाई लागू गर्नु, ५ वर्ष भित्र हरेक घर ऊर्जा घरको अवधारणा लागू गर्नु, घरायसी प्रयोगबाट उप्रिएको सौर्य ऊर्जा राष्ट्रिय प्रसारण प्रणालीमा जोडेर त्यसबाट आर्थिक उपार्जन गर्न सकिने अवस्थाको समेत सिर्जना गर्नु मा. ऊर्जा मन्त्रीका अत्यन्त राम्रा दूरदर्शी कामहरू हुन। यी कामहरू बाहेक नतिजा सहितका अनेकौँ दूरगामी प्रभाव पार्ने कामहरू मा. ऊर्जा मन्त्री पुनको दृढ नेतृत्वमा भएका छन्। यी कामहरूबाट तपाईँको क्षमता, कुशलता एवं सक्रियताको जति प्रशंसा गरे पनि पुग्दैन।

बुढीगन्डकी जलाशययुक्त बहुउद्देश्यीय परियोजना बारे

गोरखा र धादिङ सिमानामा रहेको बुढीगन्डकी नदीमा बन्ने जलाशययुक्त जलविद्युत आयोजना नेपाल सरकारले तोकेको २१ वटा राष्ट्रिय गौरवका योजना मध्य एक हो। विश्वका दश ठुला आयोजना मध्य एक यस आयोजनाको जलाशयको क्षेत्रफल विश्व कै सबै भन्दा ठुलो ६४ वर्ग किलोमिटर हुनेछ जसबाट १२०० मेगावाट उत्पादन हुनेछ। १० वर्षमा सम्पन्न हुने एस आयोजनाको कुल लागत रु. २६० अर्व हुनेछ। यो आयोजनाबाट प्रत्यक्ष प्रभाव पर्ने धादिङका १३ र गोरखाका १४ गरी २७ साविकका गाविसहरूका करिब ६० हजार रोपनी जग्गा डुबानमा पर्ने र करिब ८१५३ परिवार विस्थापित हुने र करिब ४००० परिवार पूर्ण रूपले विस्थापित हुने अवस्था छ।

हालसम्म आयोजनाको विस्तृत प्रोजेक्ट रिपोर्ट तयार भइसकेको, विस्तृत वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत भइसकेको, चक्रपथ सर्वेको ड्राफ्ट रिपोर्ट तयार भएको, कार्यालय भवन निर्माण सम्पन्न भई कार्य सञ्चालन भइरहेको, पहुँच मार्ग निर्माण भइसकेको, गोर्खा जिल्लाको आरुघाट र आर्खेत, धादिङ जिल्लाको आरुघाट र खहरेका करिब १८०० रोपनी बाहेक मुआब्जा निर्धारण र वितरण भइसकेको अवस्था छ। डुबान क्षेत्रका दुई जिल्लाका ५८१५३ रोपनी जग्गा अधिग्रहण भएको, पुनर्वास र पुनर्स्थापनाको लागि ४४ स्थानहरूको पहिचान भइसकेको अवस्था छ।

मुआब्जा वितरण सम्बन्धी समस्याहरू :

मुआब्जाको मूल्य निर्धारण गर्दा सडक जोडिएको र नजोडिएको जग्गा छुट्ट्याउँदा नक्सामा सडक नदेखिएको तर जग्गामा सडक जोडिएको नहेरी मूल्य निर्धारण गरिएको, बाक्लो बस्ती र पातलो वस्तिको मूल्याङ्कनमा कमी कमजोरी रहेको, बोट, बिरुवा, बगैँचा, गोठको मुआब्जाको मूल्य निर्धारण नभएको, कतिपय जमिनको वर्गीकरण अवैज्ञानिक रहेको अवस्थामा पनि आरुघाट, आर्खेत र खहरे बाहेकका जनताले मुआब्जा बुझेका छन्। धादिङ जिल्ला खहरेको करिब ७०० रोपनी, आरुघाट (गोरखापट्टिको), आर्खेतको करिब ५०० रोपनी र आरुघाट (धादिङपट्टिको) जम्मा करिब ६०० रोपनी जग्गाको मुआब्जा निर्धारणमा गम्भीर गल्ती भएको देखिएको छ। ऊर्जा मन्त्री लगायत गोरखा र धादिङका जनप्रतिनिधिहरू, बुढीगन्डकी सरोकार समितिहरूका प्रतिनिधिहरू ऊर्जा मन्त्रालयका पदाधिकारीहरू, पत्रकारहरू र जनता सहितको भेलाले मुआब्जा निर्धारणमा देखिएका समस्या समाधान गर्न सुझाव दिन एक समिति बनाएको छ र त्यसको बैठकहरू भइरहेका छन्।

माननीय मन्त्री ज्यू,
बुढीगन्डकी जलविद्युत आयोजना डुबान क्षेत्रका जग्गाहरू आयोजनालाई अति आवश्यक परेको कारण सरकारले अधिकरण गरेको हो, जनताले इच्छाले बेचेका होइनन्। कुनै पनि समस्या आउँदा एक्लै समाधान खोज्नु हुँदैन, सबै पक्षहरू मिलेर एकीकृत रूपमै समाधान खोज्नु पर्दछ । यो युग निषेधको युग होइन, बरु सहमति, सहकार्य, सौहार्दता,शिष्टता र कम्प्रोमाइजको युग हो। शताब्दी शताब्दी देखिको बिग्रेको संयन्त्र, थिति, परम्परागत अभ्यास र आचरण परिवर्तन गर्न सरकार क्रियाशील भइरहेको समय हो यो । प्रभावकारी सञ्चारले जस्तोसुकै कुरा मिलाउन सकिन्छ। सरकार अभिभावक हो, तसर्थ जे जसरी भए पनि त्याग र विवेकले कुशल सञ्चार, छलफल, विचार विमर्श, सहजिकरणले यो मुआब्जा विवाद मिलाउनु पर्दछ। सम्पत्तिको नाममा २ आना जग्गामा बनेको घर छ, त्यसैमा पसल गरेर गुजारा चलाईरहेका जनतालाई अन्याय हुनेगरी जबरजस्ती उठिबास लगाउँदा तपाईँको चित्त दुख्नु पर्दछ। हामी जनप्रतिनिधिहरुले धर्म-अधर्म, पाप-पूण्य, स्वार्थ-परोपकार, सदाचार-भ्रष्टाचार, नैतिक-अनैतिक छुट्ट्याउन सक्नु पर्दछ। मुआब्जाको कारणले सुकुम्वासी बन्न गइरहेका, ऋणमा डुब्न लागेर रोइरहेका स्थानीय जनताहरूको बिचमा भएको विकासले हामी जनप्रतिनिधिहरू सधैँ मलिन अनुहारले बस्न बाध्य हुनेछौँ। बल्लबल्ल समय पाएर रोइकराई गर्न जाँदा ऊर्जामन्त्रीज्यू गम्भीर बन्ने गर्नु भएको छैन, Body Language सकारात्मक देखिँदैन। २६० अर्व लाग्ने ठाउँमा २६१ अर्व लाग्ला, तर जनता रुवाउनु हुँदैन। तपाईँको इच्छाशक्ति महान् हुनु पर्दछ र निर्णयहरू जनमैत्री हुनुपर्दछ।

बुढीगन्डकी सम्बन्धमा अर्थ मन्त्रालय, गृह मन्त्रालय पनि लचिलो हुनै पर्छ । देश बनाउन देशभन्दा ठुलो मुटु भएका नेता चाहिन्छ। तपाईँ जनयुध्धका ठुला कमान्डरहरू मध्यको एक हुनुहुन्थ्यो। जनताको सम्मान गर्ने कि बाँचुन्जेल रुवाउने? जनताले नै तपाईँलाई यो शक्तिशाली पदमा पुर्‍याएका हुन् । यो आयोजनाको मुआब्जाको कारणले तपाईँ केही विवादमा आउनु भएको छ । “विवाद” जीवन्तताको पर्याय हो र संसारका कोही पनि राजनेताहरू विवाद मुक्त छैनन् र हुंदैनन पनि किनकि निरन्तरतामा क्रमभङ्गता गर्दा विवाद हुन्छ नै। तपाईँको भावना पवित्र छ, तपाईँ हृदय फराकिलो भएको मान्छे हुनुहुन्छ यो पनि जनतालाई थाहा छ । तसर्थ यी साना कुराबाट प्रभावित नहुनु होस्। जनताको सपना छ – बुढीगन्डकी जलाशययुक्त बहुउद्देश्यीय परियोजना बनेको, ६४ वर्ग किलोमिटरको ताल, ताललाई घेरामा राख्ने चक्रपथ र चक्रपथको दुई किनरामा पाँच तारे गगनचुम्बी होटलहरु, अन्य संरचनाहरू, सल्यानटारमा एयरपोर्ट र लाखौँ विदेशी पर्यटकको घुइँचो भएको झन्डै जस्तै, जत्रै संसारकै रमणीय स्थल। तर बिपनामा मुआब्जाको कारणले सुकुम्वासी हुन परेकोले जनता रोइरहेका छन्। एस अवस्थामा पनि देशकै भाग्य जोडिएको एस आयोजनालाई आगामी १० वर्ष भित्र सम्पन्न गर्नको निम्ति स्थानीय जनताले कर्मचारीलाई पूर्णरुपले सहयोग गर्न जनता आतुर छन्।

प्रभावित जनतालाई पुनर्वास र पुनर्स्थापनाको नीति तयार गरी हाल पहिचान भएको ४४ स्थानहरूमा सुरक्षित बस्ती बसाउनु पर्दछ। पुरै सुकुम्वासीहरू र अर्ध सुकुम्वासीहरूको व्यवस्थापन, विद्यालयहरूको व्यवस्थापन, मठ, मन्दिरको निर्माण, आयोजना क्षेत्र नेपालको इतिहासको एक महत्त्वपूर्ण स्थान भीमसेन थापाको जन्मस्थान भएकोले हाल रहेका पुरातात्त्विक महत्वका संरचनाको संरक्षण र पुनर्निर्माण गर्नु पर्दछ। आयोजनाको चक्रपथको निर्माणको काम अविलम्ब सुरु गर्नु पर्दछ।

माननीय मन्त्री ज्यू,
नेपालमा ६ हजारवटा साना-ठूला नदी र खोलाहरू रहेको अध्ययनले देखाएको छ। छन् । यिनीहरूबाट ८३ हजारभन्दा बढी मेगावाट बिजुली निकाल्न सक्ने क्षमता छ, तर नेपालले १०८ वर्षको बिजुली उत्पादनको इतिहासमा हालसम्म करिब ११४९ मेगावाट बिजुली बनाएको छ। मुलुकको विकास र समृद्धिका लागि प्राणवायु जस्तै हो। बिजुली बिना उद्योग, यातायात र व्यापार जस्ता क्षेत्रको समुचित उत्थानबारे कल्पना समेत गर्न सकिन्न। यो स्थितिमा पनि हामी नेपालीले वर्षेनी करिब दुई खर्व रुपैयाँको डिजेल, पेट्रोल र मट्टितेल, इन्भर्टर र जेनेरेटर किनिरहेका छौँ। प्रतिवर्ष करिब चौध अर्व रुपैयाँको बिजुली किनिरहेका छौँ।

आजको मितिमा भारतबाट करिब पाँच सय मेगावाट बिजुली आयात भइरहेको छ। तर देशकै मध्य भागमा रहेको यो राष्ट्रिय गौरवको आयोजनाबाट १२०० मेगावाट बिजुली उत्पादन हुने भएकोले यो आयोजना माननीय उर्जामन्त्रीको प्रमुख प्राथमिकता पर्नै पर्दछ। बुढीगन्डकी जस्ता परियोजनाले मात्र भारतबाट आयात हुने ऊर्जालाई विस्थापन गर्न सकिन्छ। यो आयोजना प्राधिकरणले गर्ने वा इ.पी.सी.एफ. मोडलमा कम्पनिले गर्ने हो आयोजनाको निर्माणको मोडालीटी बारे निर्णय गर्न ढिलाइ गर्नु हुँदैन। जलाशययुक्त आयोजना अत्यन्त भरपर्दो हुने तर थोरै महँगो हुने हुँदा सरकारले “भायाबिलिटी ग्याप फन्डिङ्” गर्न पनि पछि पर्नु हुँदैन। आयोजनाको साथै पर्यटन र अन्य विकासका पूर्वाधार पनि बनाउनु पर्ने भएकोले “स्पेशल भेहिकल ऐन” बनाएर अगाडि बढ्न सकिन्छ जसले गर्दा आयोजना छिटो बनाउन सकिन्छ। कुनै क्षेत्रमा एक रुपैयाँ लगानी भयो भने त्यसले अर्थतन्त्रमा अढाई रुपैयाँको प्रभाव पार्छ भनिन्छ। २६१ अर्व रुपैयाँको लगानीले सिर्जना गर्ने रोजगारी, अर्थतन्त्रमा हुने चलायमान, मूल्य अभिवृद्धि, राज्यलाई प्राप्त हुने कर, रोयल्टी इत्यादिको समग्र हिसाब गर्दा कूल गार्हस्थ्य उत्पादन र आर्थिक वृद्धिमै सकारात्मक असर पुर्‍याउँछ।

माननीय मन्त्री ज्यू,
तपाईँ ठुलो शक्ति भएको मान्छे हुनुहुन्छ । राज्यको गेम चेंजरको रूपमा नेपालको सामाजिक, आर्थिक विकासलाई गति दिन हाम्रो सपना र सङ्कल्पको राष्ट्रिय गौरवको यो बुढीगन्डकी सकेसम्म छिटो बनाउनै पर्छ । अबको संसार भनेको आफूसँग भएको अरूसँग नभएको कुराले जित्ने हो। नेपालमा अन्तर्राष्ट्रिय स्तरका पर्यटनका पूर्वाधारहरू अपर्याप्त छन् । एस परियोजनालाई विश्वकै सबैभन्दा अत्याधुनिक, सुन्दर, कुनै एक कुरा संसार मै नभएको बनाउने र संसारमा प्रसिद्ध हुने बनाएर पर्यटनको केन्द्र बनाउनु पर्छ र बुढीगन्डकी आयोजना क्षेत्रलाई “नयाँ ” नाम दिनु पर्दछ। । विश्वका करिब ७ अर्व ६० करोड मानिसले एक चोटि नेपालको यो “नयाँ ” र नजिकका संरचना हेर्नै पर्छ भनेर भन्ने छन् र पर्यटन उद्योग फस्टाउने छ र नेपालीको आकाङ्क्षा पुरा हुने छ।

अब नेपालमा व्यावसायिक वातावरणमा व्यापक सुधार भएको र स्वदेशी एवं विदेशी उत्पादकलाई आकर्षित गराएको छ भन्ने दरिलो प्रमाण नेपालमा डुइङ विजनेश इन्डेक्स ११० बाट ९४ स्थानमा आएको छ। पछिल्ला चरणमा सरकारी सेवा चुस्त, दुरुस्त, छिटो, छरितो, सस्तो र गुणस्तरीय हुँदै छन्। यो परियोजना सम्पन्न गर्न करिब १० वर्ष लाग्ने अनुमान छ। तसर्थ २६१ अर्व तुरुन्तै चाहिने होइन। पहिलो कार्य भनेको जनतालाई नै आह्वान गर्नु पर्दछ, जनताले चाहे भने के गर्न सक्दैनन्? सबै आवश्यक रकम जुटाउन पनि सक्छन्। यदि स्वदेशी लगानीमा हामीले आयोजना निर्माण गर्न सक्यौँ भने बाहिर गइरहेको ठुलो पुँजीलाई रोक्न सक्छौँ र आत्मनिर्भर पनि बन्न सक्छौँ । अहिले हाम्रो अर्थतन्त्रको आकार लगभग रु. ३५ खर्वको छ । नेपालमै पनि लगानी गर्न सक्ने व्यक्ति, बैङ्क र अन्य वित्तीय संस्थाहरू छन्, तर उनीहरूलाई परिचालन गर्न र लगानीको ग्यारेन्टी गराउन सक्ने वातावरण बनाउनु पर्दछ। वाणिज्य बैङ्कहरूको सङ्गठन, नेपाल बैंकर्स एसोसिएसन र विभिन्न व्यापारिक समूहहरू मध्ये चौधरी ग्रुप, गोल्छा समूह, विशाल ग्रुप, त्रिवेणी ग्रुप, संघाई ग्रुप, ज्योति ग्रुप, दुगड ग्रुप, खेतान ग्रुपलगायतलाई आह्वान गर्नु पर्दछ।ऊर्जा मन्त्रालयले अलिकति राहत, सुविधा दिने, राज्यले केही राजस्व छुट दिने, राजनैतिक समन्वय र सहजीकरण भएमा लगानीको समस्या हुँदैन भन्ने कुरा मा. ऊर्जा मन्त्रीले बुझ्नु पर्दछ।

हरपल, हरसासमा मातृभूमिलाई अत्यन्त माया गर्ने, मातृभूमिको सधैँ उज्ज्वल भविष्यको कामना गर्ने लाखौँ नेपालीहरू विदेशमा हुनुहुन्छ उहाँहरूलाई आह्वान गर्ने हो भने पनि ठुलो रकम उठ्न सक्छ।

अन्त्यमा,
हरेक क्षेत्रमा “व्यवस्थापन” चुनौतीको रूपमा रहेको छ । दिगो विकासका लक्ष्यहरू सन्. २०३० सम्ममा पुरा गर्न र मध्यम आय भएको मुलुकमा स्तरोन्नति हुन नेपालीको प्रतिव्यक्ति आय हालको १०३४ बाट ३९५६ अमेरिकी डलरमा पुर्‍याउनु पर्दछ। १० वर्षमा मानव जातिको श्रापको रूपमा रहेको गरिबी समाप्त पार्नु पर्छ ।

माननीय मन्त्री ज्यू,
तपाईँको पछाडि अत्यन्त सुसङ्गठित, समाजको जरासम्म भिजेको कम्युनिस्ट पार्टीका लाखौँ कार्यकर्ता र जनता छन्।सहयोगी प्रतिपक्ष पनि छ। त्यति मात्र होइन, नेपालको इतिहासकै पहिलो महिला राष्ट्रपति भण्डारी, संसारमै कम्युनिस्ट पार्टीलाई एकीकरण गर्न सक्ने, विश्वमै नेपालको नाम ऐतिहासिक रूपमा राख्न सक्ने, असीम इच्छा शक्ति भएका, सामन्तवादलाई सधैँको लागि नेपालबाट हटाएर जनतालाई वास्तविक सार्वभौम बनाउने आन्दोलनको नेतृत्व गर्ने महानायकहरु सम्माननीय प्रधानमन्त्री के. पी. ओली र प्रचण्डको प्रेरणा छ। तपाईँ आफैँ पनि अत्यन्त राम्रो सम्भावना भएको नेता हुनुहुन्छ ।

तपाईँ मुलुक निर्माणको महाअभियान सञ्चालन गर्न सक्ने नेता भएको कारणले इतिहासमै पाएको एक अभूतपूर्व अवसर गुम्न नदिनुहोस् र ‘छलाङ’ के हो देखाइदिनुहोस्। पानीको स्रोत धरि नभएको सिंगापुरलाई यही नीतिगत ‘छलाङ’ले संसारकै समृद्ध आर्थिक केन्द्रका रूपमा स्थापित गर्‍यो। तहसनहस भएको रुसलाई जनताले नै पुनः विश्व महाशक्तिको ठाउँमा पुर्‍याए। परमाणु बमले ध्वस्त जापानलाई क्यान्सर हुनसक्ने सम्भावनाको प्रवाह नगरी २४ घण्टामा २० घण्टा काम गरेर जापानका जनताले मिहिनेत र अनुशासनले के हुँदैन भन्ने कुरा विश्वलाई देखाइ दिए। असीम इच्छाशक्ति, मिहिनेत र अनुशासनले चीनका जनताले आफ्नो देशलाई विश्वलाई पालन पोषण गर्न सक्ने अवस्थामा पुर्‍याए। तसर्थ जनतामा विश्वास गर्नुस् असम्भव केही पनि छैन। साहस गर्नुस्, अघि बढ्नुस्, यो वर्षमा बुढीगन्डकी जलाशययुक्त बहुउद्देश्यीय परियोजनाको शिलान्यास गर्न सक्नु भयो भने मात्र तपाईँको कार्यकाल सफल भएको मानिने छ। यसबाट तपाईँ विश्वमा हरेक ठाउँमा रहेका नेपालीको शिर ठाडो बनाउने महान् नेताको रूपमा दर्ज हुनुहुनेछ। यो काम युगिन महत्त्वका शताब्दी शताब्दी महत्त्व राख्ने काम हुने छ।

करिब ७२१ वर्ग किलोमिटर क्षेत्रफल भएको सिङापुरमा सन् २०१८ मा करिब एक करोड पचासी लाख अन्तर्राष्ट्रिय पर्यटकहरूले भ्रमण गरे र करिब २३ खर्व नेपाली रुपैयाँ त्यहाँ पर्यटकले खर्च गरे । ६४ वर्ग किलोमिटरको यो ‘नयाँ सिङापुरमा’ प्रति वर्ष १ करोड पर्यटक आउन सक्छन्। आज औपचारिक र अनौपचारिक गरी ८० लाख भन्दा धेरै नेपाली रोजगारीका लागि विदेशीएका छन्। प्रति वर्ष करिब ५ लाख को सङ्ख्यामा नयाँ बेरोजगार युवा आउँछन्। कृषि, जलश्रोत र पर्यटनलाई नेपालको आर्थिक विकासको मेरुदण्ड मानेर योजना बनाएर लगानी गरी प्रति वर्ष ३ करोड पर्यटक कसरी भित्र्याउने भन्ने योजना बनाइ लक्ष्यमा पुग्ने हो भने प्रति वर्ष ५ लाख को सङ्ख्यामा नयाँ रोजगारीमा आउने सङ्ख्याको सम्बोधन हुनेछ र विदेशमा रहेका नेपाली सबै नेपाल फर्कने छन्। सरकारको “समृद्ध नेपाल, सुखी नेपाली”को नारा पुरा हुने छ। नेपाल Rising star of world को रूपमा उदाउने छ।

डा. रामकुमार अधिकारी धादिङ २ (१) बाट निर्वाचित नेकपाका सांसद हुन् । महाराजगन्ज मेडिकल क्याम्पसबाट PhD गर्ने पहिलो व्यक्ति र NAST बाट वैज्ञानिकको रूपमा पुरस्कार प्राप्त गर्ने व्यक्ति हुन।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments