सीमा विवादः सरकारले आफ्नो दायित्व निर्वाह गरोस

मङ्लबार, कार्तिक २६, २०७६



- डा. गोविन्दबहादुर थापा

आफ्नो भूमीको संरक्षण र सीमा सुरक्षाको बारेमा नेपाल कहिल्यै पनि गम्भिर र संवेदनशील भएको पाईदैन । मुलुकहरु सीमाको विषयलाई लिएर पटक पटक युद्ध गर्दछन् । चीन—भारत र भारत—पाकिस्तान यसका नजिकका ज्वलन्त उदाहरण हुन् । इजराइयल र प्यालेस्टाईन बीचको सीमाको बारेमा त भन्नै परेन । विश्वमा यस्ता अनगिन्ति उदाहरण छन् । तर नेपालका विगत देखिका सरकारहरु जनताले बाध्य नपारी सीमाको बारेमा पटक्कै मुख खोल्दैनन् । नेपालीको हैसियतमा बेलुका सुतेका मानिसहरु बिहान व्युँझिदा भारतीय भइसकेका कैयौं घटना घटेका छन् । संचार माध्यमले यस्ता घटनाहरु सार्वजनिक गर्दछन् तर सरकार त्यसप्रति बिल्कुल बहिरो बनि दिन्छ । रातारात सीमा स्तम्भहरु सारिन्छन् । गायब पारिन्छन् ।  संचार माध्यमले त्यस्ता समाचार छाप्छन् । तर सरकार थाहा नपाएको बहाना गर्दछ । कतिपय ठाउँमा सीमा नै सारिन्छ र हिजोसम्म नेपालीहरुले खेति गरेका जमिनमा आज भारतीय सीमा सुरक्षा बलका जवानहरुले नेपालीहरुलाई पस्नै दिदैन ।

परम्परादेखि नेपालको रहि आएको जमिनमा नेपालीहरुले मन्दिर निर्माण गर्न र तारबार लगाउन खोज्छन्।  त्यहि सुरक्षा दलले रोक्दछ । स्थानीय जनताले प्रतिबाद गर्दा भारतीय सुरक्षाकर्मीले गोली हानेर मारेका समेत उदाहरण छन् । यस्ता घटना एक दुई होईन अनगिन्ति छन् । तर त्यसबारेमा न केन्द्रीय सरकार बोल्दछ ।  न स्थानीय सरकार । अचम्म छ ! पत्याई नसक्नु छ । सीमापारी भारतको सशक्त सीमा सुरक्षावल छ र उनिहरुले हरबखत सीमाको निगरानी गर्नुको साथै सीमा स्तम्भ गायब पार्ने, सीमा सार्ने, नेपाली भूभाग मिच्ने काम गरिहेका हुन्छन् । नेपाली जमिन हडप्न भारतीय नागरिकहरुलाई प्रोत्साहित गरिहेका हुन्छन् । प्रतिबाद गर्ने नेपालीहरुलाई लखेटिरहेका हुन्छन्। यस क्रममा नेपालले अहिलेसम्म आफ्नो हजारौं वर्ग किलोमिटर जमिन गुमाई सकेको छ । हरेक दिनकहिँ न कँहि जमिन गुमाईरहेको छ । तर यस सम्बन्धमा सरकार गुमनाम रहि आएको छ । चूँ सम्म गर्न सकिरहेको पाईदैन । तर सीमावारी भने सुनसान छ।  सीमाको रखवारी गर्ने कोहि हुदैन । स्थानीय जनताले प्रतिबाद गरे त गरे, त्यसो गर्ने कोहि भएनन् भने त्यस्ता ठाउँमा भारतीयहरु कै मनपरी चलिरहेको छ ।

सीमाको दशगजा क्षेत्रको त कुरै गर्नु पर्दैन । भारतीयहरुले सुरक्षादलको सहयोग र संरक्षणमा दशगजा क्षेत्रलाई पुरै एकलौटी बनाएर प्रयोग गरिरहेका छन् । त्यहाँ आफुखुसी संरचना निर्माण गरेका छन्। व्यापारिक सामान थुपारेका छन् । धेरै ठाउँमा त त्यो क्षेत्रको अस्तित्व नै मेटाएका छन् । तर त्यस्तो भइरहँदा पनि नेपालको आँखा खुलेको छैन । नेपालको सीमा त यस्तो  भएको छ  कि जस्तो व्वाँसोलाई खरायोको रखवारी गर्ने जिम्मा दिईएको छ । आफ्नो सीमा सुरक्षाको सम्बन्धमा यस्तो वेवास्ता र लापरवाहि दुनियाँका कुनै पनि मुलुकले कल्पनासम्म पनि गर्न नसक्ने कुरा हो । यस्तो भएको छ नेपालमा । नेपालको जमिनमा निरन्तर आँखा गाडि रहने र मौका छोपि छोपि हडप्ने र अर्को देखे पनि नदेखे जस्तो गर्ने वा ‘तँ रोए जस्तो गर म कुटे जस्तो गर्छु ।’ भने जस्तो भएको छ । यसको अर्थ हो—या त भारत माथिको नेपालको अतिविश्वास हो । या स्वार्थवश भारतसँग बोल्न  नसक्ने नेपालको हुतिहारापन हो, या खाए खाओस् कति  नै खाला ! भन्ने गैह्रजिम्मेवारी पन हो । यी तीन कारण बाहेक अरु केहि हुदै होइन र यी तीनवटै कारणबाट नेपालले भूमि गुमाई रहेको छ । अन्यथा देशको अन्तर्राष्ट्रिय सिमाना मिचिदा, सिमा स्तम्भ गायब गरिदा र नेपालको जमिन जवर्जस्ति हड्पिँदा तत्काल आपत्तिजनाई सच्याउन बाध्य पार्नु पर्ने होईन ? यसरी शुरुदेखि देखिदै आएको नेपालको यस्तो पानी मरुवापनले भारतलाई नेपालसँगको सीमानामा जे गरे पनि हुन्छ भन्ने परेको छ र उसले त्यसो गर्दै आएको छ । अन्यथा दशकौंदेखि कालापानी क्षेत्रमा भारतीय सेना रहदै आएको थाहा हुँदाहुदै चुप लागेर बस्न हुन्थ्यो ? अचम्मको कुरा अझ के हो भने दशकौंदेखि सीमा मिचिएको र सीमा स्तम्भहरु गायब गरिएका कुरा लगातार संचार माध्यममा आईरहँदा पनि सरकारले यो कुरा भारतीय पक्षसँग गम्भिरता र दृढतापूर्वक उठाउने गरेन । नेपालको यस्तो निम्छरोपन देख्दै आएको भारतले यस पटक नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफुपट्टी पारेर नक्सा तयार गरी सार्वजनिक गर्यो । अर्थात नेपालको झण्डै चार सय वर्ग किलो मिटरभन्दा बढी भू-भागकब्जा गर्यो ।

सन् १८१६ को सुगौली सन्धिले महाकाली नदी भन्दा पूर्वको भूभाग नेपालको र पश्चिमको भूभाग भारतको भनेर प्रष्ट रुपमा उल्लेख गरेको हुँदाहुँदै लिपुलेकबाट निस्केको खोलालाई महाकाली नदी बनाएर उल्लेखित कालापानी, लिपुलेक र लिम्पियाधुरालाई त्यसको पश्चिमतर्फ पारी नक्सा तयार गर्नु हाकाहाकि नेपाली भूमी कब्जा गर्नु हो । अझ लिम्पियाधुरा महाकाली नदीको मुहान भएको अकाट्य र सर्वविदित तथ्यलाई वास्तविक मुहान भन्दा पूर्वतर्फ लिपुलेकलाई महाकाली नदीको मुहान भन्ने र त्यो भन्दा पश्चिमको भूभाग आफ्नो भन्ने फट्याँई भारतले गरेको छ । यसरी हाकाहाकि फट्याँई गरी नेपाली भूभाग कब्जा गर्ने भारतीय बल मिचाईलाई स्वाभिमानी नेपाली जनताले किमार्थ सहेर बस्न सक्दैनन् र बस्ने कुरा पनि आउँदैन । सानो र कमजोर ठानेर हेप्ने र हाकहाकि भूभागै कब्जा गर्ने कुरा किमार्थ सह्य हुन सक्दैन । त्यो नक्सा सच्याई कब्जा गरिएको भूभाग फिर्ता गर्न नेपाली जनताले जस्तोसुकै मूल्य चुकाउन तयार छन् ।

भारतले नेपालको कालापानी, लपिुलेक र लिम्पियाधुरालाई आफुपट्टि पारेर अप्रत्याशित रुपमा नक्सा सार्वजनिक गरेपछि त्यसको विरोधमा नेपाली समाज स्वभाविक रुपमा सडकमा उत्रेको छ । सरकारले पनि त्यस प्रति असहमति जनाउँदै विज्ञप्ति जारी गरेको छ । त्यसको प्रतिकृया स्वरुप भारतले आफ्नै भूभाग भित्र पारेर नक्सा तयार गरिएको र त्यसमा नेपालको भूभाग नपरेको स्पष्टिकरण दिँदै पोजिशन लिएको छ । यसले स्थितिलाई अझ पेचिलो पारेको छ । राजादेखि पार्टीका नेतासम्मले आफ्नो राजनीतिक स्वार्थ पूर्तिका लागि नेपालको भूमीलाई सौदावाजीको वस्तु बनाउँदै आए ।

भारतले सीमाको ठीक पारीपट्टि बाँधबाँधेर नेपालीभूमी डुवानमा पार्दै आएको छ । यस सन्दर्भमा अहिलेको यो घटना अहिलेसम्मकै सबैभन्दा ठुलो घटना हो । यस सम्बन्धमा सरकारले सर्वदलीय बैठक पनि बोलाएर राय सुझाव पनि मागेको छ । यसमा सबै पक्षको कुटनीतिक माध्यमबाट नेपाली भूभाग फिर्ता लिएरै छोड्नु पर्दछ भन्ने सायद इतिहासमा पहिलोपटक सबै पक्षको यस्तो समान्य धारणा आएको छ । अब यसैको आधारमा नेपालीभूमि र सीमा सम्बन्धि सम्पूर्ण समस्या विश्राम नलिई स्थायि रुपमा समाधान गर्नु पर्दछ । जनता अत्यन्त सजग र जागरुक छन् भन्ने कुरामा हेक्का राखी सरकार तत्काल त्यस तर्फ अघि बढ्नु पर्दछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata