मुगाबे शैलीको कमरेडको जन्मोत्सव, दीर्घ जीवनको शुभकामना 

सोमवार, फाल्गुन १९, २०७६



- सीता ओझा-अध्यक्ष महिला अध्ययन केन्द्र

मानिसको जीवनको विकासका हरेक पक्ष उसको सामाजिक आर्थिक क्रियाकलापसँग जोडिएर बसेको हुन्छ । यस्ता विषयमा प्रभाव पर्ने अन्य पक्ष भनेको उसको बाल्यकालको हुर्काइ,सिकाइ र भोगाइका साथै उसको स्वभाव जोडिएर समाज र सामाजिक मान्यता अनुसार नै विकास हुने गर्दछ । यस्ता अनेकौँ कारणले हामीलाई कसैसँग नजिक र टाढाको भावानुभूति हुने गर्दछ । त्यही भावानुभूतिले मानिसलाई आफ्ना काम,कुरा र आफन्तजन नै प्यारो लाग्ने गर्दछ ।

यस्तो टाढा र नजिक देख्ने र गर्ने व्यवहारको कारण हाम्रो समाजमा विभेद र अन्याय हुन जान्छ । निकै आदर्शका कुरा र व्यवहार गर्ने मानिस पनि यस्तो अवस्थामा सामाजिक न्याय र समानताका कुरालाई बिर्सने गर्दछ । हुन त सृष्टिसँग जोडिएका हरेक जीवात्माहरूले कुनै न कुनै रूपमा प्रशंसा या उत्प्रेरणा नभेट्दा दुखी अवश्य हुन्छ नै तर पनि मानिस यी र यस्ता क्रियाकलापले मानिस निकै आत्म केन्द्रित आफ्नो र नजिककालाई मात्रै अवसरसँग जोड्ने र हेर्ने क्रममा पुगेको भेटिन्छ ।

मानिसले पद,प्रतिष्ठान आर्जन गर्दै जानै निहुँ देखाएर अनेकौँ बहानामा औपचारिक बन्ने र आफ्नो प्रशंसाको फेरमा अडिने अवस्थामा पुग्छ । त्यसै कुरा हरेक मानिसलाई साँगुरो दायरामा पुर्‍याउँछ । यो अवस्था बढेर बिस्तारै शङ्का र अविश्वास पैदा गर्ने ठाउँमा पुर्‍याउँछ । विस्तार विस्तार शङ्का बढेपछि आफ्नोलाई पराइ र पराइलाई आफ्नो देख्न थाल्छौ । शङ्का र अविश्वासले निकटता र साथ सहयोग बिर्सने मात्रै होइन बिस्तारै उपेक्षा र अपमान गर्दै बहिर्गमन गराउन पनि पछि पर्दैनौ । यस्तो आशङ्का राजनीति भित्र छिर्‍यो भने निष्ठा,त्याग र इमानदारी सबै छिनभरमै सकिन्छ । राजनीतिज्ञसँग जोडिएको सिद्धान्त ,जनताप्रतिको जिम्मेवारी र पारदर्शिता सकिएर व्यक्तिको प्रति लक्षित तेजोवध मात्रै देखिन थाल्छ । नजिएकाहरूको गुणगानको कारण निर्वस्त्र भएको पनि थाहा हुँदैन भन्ने धेरै दन्ते कथाहरू पनि छन् । त्यस्तै विषयसँग जोडिएको एउटा सत्य र तितो यथार्थलाई अङ्ग्रेजीबाट नेपालीमा अनुवाद गरी तल प्रस्तुत र व्याख्या गर्न खोजिएको छ ।

सन १९८० मा जिम्बाब्बेलाई  ब्रिटिस उपनिवेशबाट  स्वतन्त्र बनाउन जीवनकाे बाजी लगाउने रबर्ट मुगाबे क्रान्ति पश्चात अफ्रिकन जनताकाे नजरमा नेता मात्र रहन पाएनन् । जनताले उनलाई पुरस्कार स्वरुप प्रधानमन्त्री मात्र हैन सन् २०१७ को नोभेम्बर सम्म (अपदस्थ नहुन्जेल ) राष्ट्रपतिकाे रुपमा सम्मान दिन कुनै कन्जुस्याँइ गरेनन् ।  सत्तामा बस्दा जिम्बाबेका जनतालाई आर्थिक रुपले रुपान्तरण गर्न असफल मात्र रहेनन् विचित्रकाे सामान्तवादी साेच पाल्न पुग्दा सत्ताबाट आफ्नै सहकर्मी मार्फत मिल्काइए ।  यसरी सत्ता र शक्तिमा पुगेका उनले आफू कार्यरत रहुन्जेलसम्म आफूलाई मार्क्सवाद र लेनिनवादको सफल अनुयायीको रूपमा ठाने र मानिरहे । उनलाई सन् १९९० मा चलेको विश्व व्यापारीकरण प्रभावले छोडेन । त्यसै कारण होला सोभियत सङ्घको पतनपछि पनि उनले आफूलाई समाजवादी भनेर दाबी गरिरहे ।

यसरी पदासिन  भएका मुगाबेले उनको ९२ औ जन्मदिनको अवसर पारेर २१ फेब्रुअरी २०१६  मा भव्य जन्माेत्सव मनाए । त्यस उत्सवले संसारभर चर्चा बटुल्याे ।  उनले नेतृत्व गरेको युवाहरूको सङ्गठनले त्यहाँका व्यापारीहरू लगायत नजिक ठान्नेहरूबाट १ हजार अमेरिकी डलरदेखि ५ हजार अमेरिकी डलर सम्म चन्दा ( सहयोग ) उठाए । त्यस बेलाको प्रकाशित समाचार अनुसार राज्य कोषबाट भएको अदृश्य खर्च बाहेक, व्यापारी र अन्य सहयोगीहरूबाट जबरजस्त उठाइएको रकम मात्र कुल ११ लाख अमेरिकी डलर खर्च गरिएको थियो। राजधानीका सबै प्रशासक, सांसद , विद्यालयका विद्यार्थीहरू सहित करिब ५२,००० भन्दा बढी मानिसको सङ्ख्या जम्मा गरेर उनको प्रशंसामा गीत र नृत्य सहितको रमाइलो गरियो । अफ्रिकाको महान् ,अजर,अमर नेता भनेर जयजयकार गरियो। विभिन्न परिकल्पनाका सयौँ केकहरूको डिजाइन बनाइयो । उनको ९२ औ जन्मोत्सव भएकोले ९२ किलोको एउटा विशेष केक बनाएर काटियो । त्यो केक काट्ने बेलामा बेलुन पनि बयानब्बे वटा नै उडाइयो र चिरञ्जीवीको कामना सहितको विशेष प्रार्थना पनि गरियो । त्यस अवसरमा बनाइएको सबै भन्दा ठुलो केकको नाम जिम्बाबे राखियो । त्यो जिम्बावे नामको केकको डिजाइन प्राचीन स्मारकको आकारमा बनेको थियो । त्यसरी बनाइएको दोस्रो ठुलो केक अफ्रिका महादेशको नाममा थियो । अफ्रिकी महादेशको शासन र शक्तिलाई त्यस बेलाका उच्चपदस्थ व्यक्तित्वसँग ( राष्ट्रपतिसँग ) जोडिएको त्यो केकसँग राखिएको या तुलना गरिएको थियो भन्ने कुरा त्यो उत्सवबाट अनुमान गर्न सकिन्छ ।

” जनताका राष्ट्रपतिको उत्सवमा जनताहरूले आफूले खर्च गरे । आफ्नो महान् नेताको जन्म दिनमा गीत गाए ।  नाचे,राज्य कोषबाट केक किनेको नै होइन,यस्ता विषयमा किन टाउको दुखाइ गरेको ? यी र यस्ता विचारहरू पछौटे सोच भएकाहरूले गर्ने हो । यो दरिद्रता हो । यसमा सहभागी भएका व्यापारी उद्योगपतिले स्वेच्छाले खुसी भएर महान् नेताको जन्म दिन मनाउन करोडौँ खर्च गरे त के भयो ? कसको के गयो र ? ”  आदि जस्ता  चर्चाहरूले आलोचना छोप्न खोजियो । राष्ट्रिय सञ्चार माध्यम र अन्तर्राष्ट्रिय मिडियामा समाचार आएको विषयप्रति पनि राष्ट्रपतिका नजिकाले ढाक्दै दुख व्यक्त गरे । विपक्षी,नागरिक समाज र अन्यका विरोधका बाबजुद मुगाबेका सल्लाहकार र नजिकका हितैषीहरूले उल्लेखित त्यस्ता गुनासा / विरोधहरूको ढाकछोप मात्रै गरेनन् प्रसस्ती नै गाए र जनगुनासोलाई छोपे । –

सन् १९९१ पछि अफ्रिकामा भयङ्कर खडेरी परेको रहेछ। त्यो वर्ष मात्र जिम्बाब्वेमा ८०% खाद्यबालि खडेरीले सखाप पारेछ। ३० लाख भन्दा बढी मान्छेहरू भोकमरीको चपेटामा परिसकेका रहेछ । त्यो महाविपतको भोकमरीसँग लड्दै त्यसलाई टार्न अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूसँग झन्डै १.६ बिलियन अमेरिकी डलर सहयोगको याचना गरेको रहेछ । एकातिर मुलुकमा त्यत्रो भोकमरी परेको अवस्था छ । अर्को तिर राष्ट्रप्रमुखको जन्म दिनमा राज्य कोषको अदृश्य खर्च बाहेक, केक र अन्य सजावटलाई मात्रै ११ लाख डलर खर्च गरेर तामझामका साथ मनाउँदा दुख र पिडामा छटपटाएकाहरूलाई अस्वाभाविक लाग्नु या मान्नु स्वाभाविक देखिन्थ्यो । तर त्यो संवेदनशीलता राष्ट्रप्रमुख र नजिकका नन्दी भिरङ्गिले देखेनन् । उनीहरूले सकेको मनोरञ्जन गरे र उत्सव मनाएरै छोडे ।

बिस्तारै बिस्तारै राष्ट्रपतिको ९२ औँ वर्षगाँठ र केक पर्वको विरोध सुरु हुँदै राष्ट्रपतिको दलमा छिर्‍यो । दलभित्र छिरेको केक उत्सव प्रकरण र आलोचना अनुशासनको विषय बन्यो । लगभग झन्डै डेढ वर्षपछि सन् २०१७ को नोभेम्बरमा उनकै पार्टीले उनलाई अनुशासनको कारबाही गर्दै निष्कासन गर्‍यो । निष्कासन मात्रै होइन सेनाको समर्थन लिएर राष्ट्रपतिलाई अपदस्थ पनि गरियो। त्यसरी गरिएको कु को विरुद्धमा र उनको समर्थनमा उनका कोही समर्थक निस्केनन् । उल्टै उनी अपदस्थ भएकोमा सडकमा नाचगान चल्यो। उनले कमाएको, इज्जत ,प्रतिष्ठा र सम्मान सबै मट्टीमा मिल्यो । यसरी अपदस्थ भएर कारबाहीमा परेका राष्ट्रपतिको सन् २०१९ को सेप्टेम्बर निधन भयो ।

त्यत्रो राज्य कोषको दोहन, जबरजस्त नगद सङ्कलन ,झन्डै लाखौँ मानवको उपस्थित, सयौ विभिन्न अर्थ दिने प्रकृतिका केकहरू राखेर, ९२ किलोको केक काटेर, ९२ वटा बेलुन उडाएर प्रसस्ती गाउन लगाएर मनाइएको उत्सवले उनको स्वस्थता,सत्ताको आयु र सामाजिक आर्थिक हैसियतका कुनै पनि कुरा पटक्कै लम्बिएनन् । उल्टै सत्तामा हुँदा बनेका भित्रियाहरू सत्ता च्युत भएको बेला आफन्त र सल्लाहकारहरू समेत कोही साथमा देखिएनन् । बाहिरबाट कसैले साथ दिन कारबाही रोक्न र पक्षमा उभिएको भेटिएन । त्यो उत्सवले न उनको आयु नै थप्न सक्यो न आफन्त नै जोगाउन सक्याे। उनका सल्लाहकारहरूले न त्यो सकारात्मक र नकारात्मक पक्षको चर्चा सुनेर सही सल्लाह दिन र जोगाउन चाहे ।

विश्वका अनेकौँ मुलुकमा यस्ता अनेकौँ घटना घटेका सयौँ समाचार र कतिपय बेलामा यस्ता परिदृश्य हामीले विभिन्न सञ्चार माध्यमहरूबाट थाहा नपाएका होइनौँ । तर पनि हामी सत्ता र शक्तिमा पुगेका बेला यस्ता विषयलाई हेलचेक्रयाई गर्छौ । आफैँलाई सर्वेसर्वा ठान्छौँ । हामी नै सबै र अन्तिम हो । सकेजती गरिहालौँ  जस्तो व्यवहार देखाउँछौ । यस्ता विषयले सामान्य जन जीवनसँग जोडिएका मानिसहरू मुलुक र जनताप्रति समर्पित स्वयंसेवी, आस्था र विचारको आदर्शलाई जीवनको दर्शन बनाएर इमानपूर्वक गुजारा गर्नेहरूलाई जिउन निकै कठिन बनाउँछ । राजनीतिक लाभका लागि राजनीतिमा प्रवेश गर्नेहरूलाई त यस्ता कुराले फरक पार्दैन । तर नीति र सिद्धान्तसँग जोडिएर राजनीतिक यात्रामा अनवरत यात्रा गर्नेहरूलाई र राजनीतिमा लामो अवधि गुजार्नेहरूको लागि यस्तो अवसरवाद निकै चुनौतीपूर्ण भएर आएको देखिन्छ । त्यसैले यस्ता कुरामा पहिलो पुस्ता वास्ता नगरे पनि दोस्रो ,तेस्रो र नयाँ पुस्ताले निकै विचार पुर्‍याउनु पर्छ ।

हरेक मानिसलाई पूरा आयु बाच्न मन लाग्छ । बाँच्न पाउनु पर्छ । तर मानिसको आयु प्रार्थना,अन्धविश्वास र देवत्वसँग जोडेर होइन । उसको स्वस्थ खानपान, आराम , स्याहार, औषधोपचार र जीवनशैली र वैज्ञानिक तथ्यसँग जोडेर दुनियाँको उदाहरण बन्न र बनाउन सक्नुपर्छ । हाम्रो प्रधानमन्त्रीज्यूको जीवनमा पनि त्यही कुरा जोडिन्छ । उहाँ पुरा आयु बाँच्न पर्छ । त्यो हाम्रो मात्रै होइन राष्ट्रकै गौरव र दीर्घ जीवनको कुरा पनि हो । तर अनेकौँ भड्किला,तथ्यहीन र अवैज्ञानिक र आयातित कुराको पछि लाग्दा आम जनमानसमा पर्ने भ्रम र भड्किलो शैलीले समाजमा बढेको अराजकता र अनियमितता रोक्न सकिएला र ! सोचनीय विषय छ ।

यसैसँग जोडिएर अनेकौँ टीकाटिप्पणी र आलोचना भइरहेको बेला पाटी भित्र बढेको अन्तर्विरोध, संयोजनको अभाव, एकीकरणको अधुरो काम पाटीका सङ्गठनको गतिहीनता आदिले असरल्ल भएको पाटीमा अझै समस्या त सृजना हुँदैन ? प्रश्न चिह्न लागेको छ । नेतृत्वको कुशल व्यवस्थापन हुन नसक्दा सृजना भएको नेतृत्वबीचको व्यक्तित्व बिचको होडबाजी र अविश्वासले बल्लतल्ल देशले पाएको दुई तिहाइको सरकारसँग जोडिएको राजनीतिक स्थिरता,बहुदलीय व्यवस्था पुनः सङ्कटतिर जाँदै त छैन ? अहिले आम जनतामा जन्मिएको यो आंशका कसले मेट्ने ? आफ्नो दल र दलभित्रको अन्तर्विरोधको व्यवस्थापन अल्झनु पर्ने, एकीकरणको काममा ढिलाइ गर्ने,गुटबन्दी बढ्ने, इमानदारले स्वयम् सेवकको रूप मन राजनीतिक काम गर्छु भन्दा पनि जिम्मेवारी नपाउने,तीनै तहका सरकारले परिणाममुखी काम देखाउन नसक्नु, नेतृत्वबिच दम्भ देखिनु जस्ता कुराले राष्ट्रको समृद्धिको फट्को मार्ने विषयलाई सम्बोधन गर्न सक्छ र ?

निर्वाचन भएको आधा समय पार गर्दा पनि नयाँ र फरक कार्यक्रमहरू दिन नसक्दा निरुत्साहित जनमतको भावना समेट्न र मुलुकको परिवर्तन सम्वृद्धिकाे आन्दोलनमा कार्य गर्ने हरेकको भूमिकाको विषयमा दल र सरकारले सम्बोधन गर्न सकोस् । सबै दलका नेताहरूले आफ्ना समकालीन र कार्यकर्तालाई गुटको होइन दलको, उसको होइन आफ्नो परिवारको सदस्य बनाएर हेर्न र बुझ्न सक्ने विषय बनाउन सकुन् । आफ्नो गुणगानमा हैन देश र जनताको चाहाना र भावनालाई बुझ्न सकुन् , पहुँच बाहिरका जनताको पक्षमा कार्यक्रम ल्याउन सकुन् । उच्च ओहोदामा रहेकाहरूको नजिक रहनेहरूले सबैलाई सत्य,न्याय र निष्पक्ष भएर सल्लाह,सुझाव र उत्प्रेरणा दिने सद्भावना जागोस् । सबैलाई शुभकामना !

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments