बिम्स्टेकको ओझेलमा सार्क !

फरकमत

आइतवार, भदौ १७, २०७५



- दीपेन्द्र पाण्डे

गत भाद्र १४ र १५ मा नेपालले चार बर्षे दायित्व पुरा गर्दै बिम्स्टेकको काठमाडाै‌ सम्मेलन सफलता पूर्वक सम्पन्न गर्‍यो । ६ जुन १९९७ मा ब्याङ्ककमा विधिवत जन्माइएको बिम्स्टेकको अहम हिस्सा वंगलादेश , इण्डिया , म्यानमार , श्रीलंका र थाइल्याण्ड थिए । भारतीय राजनीतिको रणनीतिक दाउ पेचमा थपिएको भुटान र नेपालको उपस्थीतीलाई व्यापार तथा लगानी, यातायात र सञ्चार, प्रविधि, आतंकवाद बिरुद्ध मिलेर प्रतिरोध , अन्तर्राष्ट्रिय अपराध , कृषि, गरिबी निवारण, जनस्वास्थ्यमा केन्द्रित, वातावरण , संस्कृती , जनसम्बन्ध बिस्तार र क्लाईमेट चेञ्जको बारेमा मिलेर काम गर्ने उदेश्य लिँदै जन्माइएको बहुपक्षीय प्रविधि तथा आर्थिक साझेदारीका लागि बंगालको खाडीको प्रयास ( बिम्स्टेक ) अब्यक्त गतिबिधी मार्फत सार्कलाई ओझेलमा पार्न तम्सँदै छ ।

बिम्स्टेक भन्दा १२ बर्ष जेठो सार्कको स्थापना ८ डिसेम्बर १९८५ मा बाङ्लादेशको ढाकामा गरिएको हो । वंगलादेश र नेपालको बिशेष पहलमा जन्माइएको सार्क विश्व क्षेत्रफलको तीन प्रतिशत र जनसंख्याको २१ प्रतिशत हिस्सालाई आफ्नो पुँजी मान्दछ । हाल नौं पर्यवेक्षक र आठ सदस्य राष्ट्र रहेको सार्क पछिल्लो कालखण्डमा अस्तित्व रक्षाको निम्ती संघर्ष गर्दैछ । सार्क राष्ट्रका पाँच सदस्यहरु मिलाएर बिम्स्टेकको जन्म गराएसँगै सार्कमा भारतीय प्रभाब सकारात्मक रहन सकेन । पाकिस्तानसँग कचल्टिएको भारतको राजनैतिक सम्बन्धको कारण जन्माइएको बिम्स्टेक अन्तत सार्कलाई ‘कोमामा ‘ पुर्याउने कारण बन्दैछ । खुला रुपमा सार्कको मृत्युलाई अस्वीकार गरिए पनि बिम्स्टेकको बखान गर्न तम्सने भारतीय पुर्व सचिब प्रीति सरनको भनाईले थप संकेत गरेका छन । नेपाल र भुटानको आर्थिक अभियान भारत र बंगालको खाडीमा छ भन्ने सरनको भनाई सार्क भित्र रहेको पाकिस्तान र भारतको तनाब नबताईकन खुलाउन काफी छ ।

भारत बिम्स्टेकको संस्थापक सदस्य मात्र हैन रणनीतिकार समेत हो । यसलाई सक्षम बनाउन उसले कुनै कसर बाँकी राख्ने छैन । भारतको घरेलु लक्षमा आधारित भौगोलिक घाँटीलाई कायम राख्ने उसको भित्री चाहानामा नेपाल र भुटान बिवश बनाइएका छन । दिबंगत राजा बिरेन्द्रले शान्ती क्षेत्र नेपालको प्रस्ताब राख्दा बेलायत , अमेरिका , फ्रान्स लगायत विश्वको ११२ मुलुक राजी हुँदा आफुले त मानेन उल्टै रुसलाई समेत गरिसकेको हस्ताक्षर फिर्ता लिन बाध्य पार्यो । पुर्व राजा ज्ञानेन्द्रले चीनलाई सार्कको सदस्य बनाउने प्रस्ताब सँगै असन्तुष्ट दक्षिण नेपाली राजनीतिमा कसरी हाबी भयो ? राजतन्त्रको बिदाईसँगै नेपाली राजनीति बिम्स्टेकमा भारतीय स्वार्थलाई टुलुटुलु हेर्न बिवश छ ।

 पाकिस्तानसँगको राजनैतिक तनाव र चीनसँगको आर्थिक तनाबलाई नयाँ ढंगले सम्बोधन गर्ने भारतीय नीतिमा जन्मेको बिम्स्टेक चीनको सामरिक प्रभाब दक्षिण एसियामा कम गर्न चाहान्छ । सार्कलाई अपाङ्ग बनाउँदै बिम्स्टेकको माध्याम बाट चीन र पाकिस्तान सँग बार्गेनिङ्ग गर्ने भारतिय नीति सफलता तिर लम्कँदै छ । भारतिय प्रधानमन्त्री मोदीको राजनैतिक सकृयता र पाकिस्तानी राजनीतिको प्रतिकृया हेर्दा लामो समय देखी आफ्नो अस्तित्व जोगाउन कस्सिएको सार्क पुरानो झगडा सम्झदै बसी रहने संकेत मिल्दैछ । प्रधानमन्त्री ओलीको सत्ता आगमनसँगै काठमाडौं झुल्किएका तत्कालिन पाकिस्तानी प्रधानमन्त्री शाहिद खाकन अब्बासीको दौडधुप नेपालले सम्बोधन गर्न नसक्नुको पछाडी भारतिय दबाब वा अरुची थियो भन्ने सजिलै बुझ्न सकिन्छ ।

भारत पाकिस्तानको चपेटामा सार्क :

सन् २०१६ अगष्ट पछी सार्क करीब नरहेको अवस्थामा छ । तत्कालिन पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफले कश्मीरी फ्रीडम फाइटर ‘ बुरहान वानी ‘ लाई श्रदाञ्जली दिए । भारतीय गृहमन्त्री राजनाथ सिंहले नवाजको श्रदाञ्जलीलाई जवाफ दिंदै भने  ‘आतंकवादीहरु शहीद हुन सक्दैनन । आतंकवाद आतंकवाद सिवाय केही हुन सक्दैन ‘। ततपश्चात ४ अगस्ट २०१६ को मन्त्री स्तरिय सार्क सम्मेलनमा भाग लिन पाकिस्तान पुगेका भारतीय गृहमन्त्री राजनाथ सिंहले आफ्ना पाकिस्तानी समकक्षी चौधरी निसार अली खानसँग मुस्किलले हात सम्म मिलाए । पाकिस्तान स्थित सेरेना होटलमा आयोजित सम्मेलनमा केवल औपचारिकता स्वरुप हात मिलाएर छुट्टिएको भारत नोभेम्बर १५ – १६ मा तय गरिएको १९ औं सार्क शिखर सम्मेलन बहिस्कार गर्ने धम्कीसँगै सार्क सम्मेलन स्थगित हुन पुग्यो ।

दक्षिण एशियाली बहुभाषी मुलुकहरु समान बिषय वस्तुलाई समान ढंगले अगाडी बढाउनुको सट्टा भारतिय र पाकिस्तानी राजनीतिको चपेटामा पर्दै थियो । भारतको जम्मु र काश्मिरमा पाकिस्तानको घुस पैठ र आतंकवादलाई बढावा मात्र हैन आतंककारीलाई पालन पोषण पाकिस्तानले गरिरहेको भारतीय आरोप सार्कको प्रगतिको निम्ती बाधक बनी रहयो । इस्लामावादको परमाणु उर्जाको कारण सिर्जित भारतिय टाउको दुखाई र अबिश्वासलाई कम गर्न सार्क असमर्थ रहयो ।

 २६ नोभेम्वर २००८ को मुम्बई हमला पछी पाकिस्तान बिरुद्ध भारतले आतंकवादलाई प्रोत्साहन गरेको आरोप लगाई रहयो । सो आतंकवादी घटनामा संग्लग्न पाकिस्तानी नागरिक मोहम्मद अजमल कसाबलाई पाकिस्तानमा ट्रेनिङ दिइएको प्रमाण पाकिस्तानी अधिकारीलाई दिंदै कडा आपत्ती जनायो । जुन सार्कको भबिष्यको निम्ती सन्तोष जनक रहेन । ३ अप्रिल २००७ मा अफगानिस्तानलाई आठौं मुलुक बनाउने खेल पनि राजनैतिक दाउपेच अन्तर्गत नै थियो । राजनैतिक अन्तरकृयाको निम्ती सार्क एक महत्वपुर्ण प्लेटफर्म बन्न सक्थ्यो । तर मुक्त व्यापार र भिषा रहित यात्राको निम्ती पाकिस्तान र भारतको राजनीतिक झगडा बाधक बनी रहयो ।

पाकिस्तान र चीन रोक्ने भारतीय खेल :

विभिन्न क्षेत्रहरुमा पारस्परिक सहयोगको माध्यामबाट साझा र तिब्र विकासको फाइदा लिने , क्षेत्रीय श्रोत र भौगोलिक बनोटको फाइदा लिने भारतिय नीति भित्र लुकेको दुई स्वार्थ पाकिस्तानको दक्षिण एसिया सम्पर्क टुटाउने र चीनको महत्वकाँक्षी आयोजना ‘वान बेल्ट वान रोड ‘ बिकास रणनीतिमा बाधा हाल्नु सँग सम्बन्धित थियो , छ र रहने छ भन्ने बिश्लेशकहरुको राय छ । भारतले अत्यावस्यक ठानेको म्यानमार देखी थाइल्याण्ड सम्म सडक र रेल मार्गको गुरुयोजना चीनको दक्षिण एसिया प्रबेशलाई रोक्ने सँग जोडिएको छ ।

एशियाली विकास बैंकको सहयोगमा निर्माण गरिने सडक परियोजना जसको लागत ८ विलियन डलर अनुमान गरिएको छ । पाँच बर्षमा पुरा गर्ने लक्ष्य राखिएको यो आयोजना बिम्स्टेकको बहानामा सम्पन्न गर्न सकिए चीनको महत्वकाँक्षी परियोजनालाई ठुलो प्रभाब पार्न सकिने भारतीय रणनीति सतहमा आइसकेको छ । सतहमा बिम्स्टेकलाई जसरी देखाईए पनि भित्री खेल भनेको भारतले आन्तरिक बजारको सुनिस्चितता र दक्षिण एसियाको एकलौटी प्रभाब कायम रार्ख्ने सँग सम्बन्धित छ । अझ गहिरो अध्ययन गर्दा बिम्स्टेकलाई फैलाउने नाममा ईरानको चाबहार पोर्ट सम्म पुग्न अफगानिस्तानलाई मनाउने र मध्य एसियामा चीनलाई रोक्दै आफ्नो व्यापार फैलाउने भारतिय खेल रहेको भेटिन्छ ।

भारतिय रणनीतिको सुक्ष्म बिश्लेषण गर्दै अगाडी बढेको चीन पाकिस्तानलाई भरपुर प्रयोग गर्दैछ । साउदी अरब र ग्वादर पोर्टको महत्व राम्रोसँग बुझेको पाकिस्तान पश्चिम चीन र अरब सागर जोडने ४६ अरब डलरको चीन – पाकिस्तान आर्थिक सम्झौता ( सिपिइसी ) गर्नुले उसको रहर र बाध्यता भारतले बुझेकै छ । पाकिस्तानको लागी मध्य एशिया क्षेत्रीय आर्थिक सहयोग कार्यक्रम ( सिएआरइसी ) को वचन काफी हुने छैन । जसको माध्याम बाट बेइजिङ इस्लामाबादले अफगानिस्तान अरब समुहलाई जोडने छ ।  पाकिस्तान युरेसिया सँग जोडिएको राम्रो सँग बुझेको चीनले यस अघीनै काबुललाई सिपीइसीमा जोडिन आवाहन गरिसकेको छ । जुन भारतको टाउको दुखाई बनी रहेको छ । फलस्वरुप एक तिरले दुई सिकार गर्दै बिम्स्टेक मार्फत नयाँ चाल चल्दै छ ।

 अन्तमा , बिम्स्टेक र सार्कको गठन जुन सुकै उदेश्यले भएको भए पनि नेपालले हाल सम्म उल्लेखनिय फाइदा लिन सकेको देखिदैन । संजोग बश नेपाल दुबै संस्थाको अध्यक्ष हुँदा पनि हरेक साल बढदै गरेको कहाली लाग्दो व्यापारघाटा कम गर्न चुक्दै छ । सडक , उर्जा र प्रबिधीको फाइदा लिंदै व्यापारघाटा कम गर्न भन्दा बिम्स्टेक सदस्य मुलुकको लगानी भित्र्याउन सकेमा काठमाडौं घोषणा फलदायी हुनेछ । बिम्स्टेकको माध्यामबाट म्यानमार र थाइल्याण्डमा रहेका बौद्ध धर्मालम्बीलाई ठुलो मात्रामा नेपाल ल्याउन सके पर्यटन मार्फत नेपालले उल्लेख्य फाइदा लिन सक्नेछ । बिम्स्टेकको काठमाण्डौं सम्मेलनले नेपाललाई तत्काल उल्लेखनिय फाइदा दिन नसके पनि अन्तराष्ट्रीय उपस्थिती र सम्बन्ध बिस्तारमा भने सहयोग मिल्नेछ । धारणाहरुले तथ्यलाई छाँयामा पार्ने बिम्स्टेकको वर्तमान अवस्था पछी बिम्स्टेक मोटाउन पुगे सार्क सदाको निम्ती दुब्लाउने चर्चा सोचनिय , अर्थपरक र रणनीतिक हुन सक्ने छ ।

448 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank