राष्ट्रपति भण्डारीले बढाएको गणतन्त्रको गरिमा

आइतवार, पुस ३०, २०७४



संविधानतः कार्यकारी भुमिका नभए पनि २४० वर्षको राजतन्त्रलाई बिदा गरेर स्थापित भएको गणतन्त्र नेपालको राष्ट्रपति संस्था पछिल्ला दिनमा गणतन्त्रको प्रतिक मात्रै होईन राष्ट्रिय एकताको प्रतिकका रुपमा पनि देखा पर्न थालेको छ । राष्ट्रपति सबका साझा र सर्वमान्य भन्ने तथ्य स्थापित गर्न आफ्नो कार्यकालमा सफल देखिएकी छिन् वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी । आफ्नो कार्यकालको अन्तिम वर्षमा पुुस २७ गते राष्ट्रपति भण्डारीले आधुनिक नेपालका एककीकरणकर्ता राजा पृथ्वीनारायण शाहलाई सम्मान व्यक्त गरेर गणतन्त्र नेपाल राज्यका संस्थापक राजाप्रति पनि सम्मान व्यक्त गर्न पछि पर्दैन भन्ने उदार सम्मान भाव व्यक्त गरेकी छिन् । यसले एकातिर बदलिएको परिवेशमा राष्ट्रपति संस्था राष्ट्रिय एकताको नयाँ प्रतिक हो भन्ने सन्देश दिएको छ भने अर्कोतिर इतिहासको सम्मान गर्न, अग्रजको योगदानको कदर गर्न गणतन्त्र नेपालको राष्ट्रपति संस्था सर्वमान्य हुँदै गएको उदाहरण पनि थपिएको छ । संभवतः यसैवर्ष नै आधुनिक नेपालका रचयिता राजा पृथ्वीनारायण शाहका प्रशंसक तथा राजावादी र राष्ट्रवादी सबै तह र तप्काले राष्ट्रपति भण्डारीप्रति धन्यवाद र कृतज्ञता ज्ञापन गरे ।

गणतन्त्रकालको एक दशकपछि राष्ट्रपति भण्डारीकै कारण गणतन्त्रका आलोचकहरु पनि राष्ट्रपति भण्डारीप्रति कृतज्ञ देखिनु नै गणतन्त्रको सर्वस्वीकार्यता वृद्धि हुदै गएको र राजुंस्थालाई विस्थापित गरेको राष्ट्रपति पदले संस्थागत रुप लिदै गरेको नयाँ नजिर पनि बनेको छ । राष्ट्रपति भण्डारी मात्रै पृथ्वी शालिकमा उपस्थित भएकी थिइनन पुस २७ को बिहानको चिसोमा । यो त गणतन्त्रकी जीवन्त प्रतिक राष्ट्रपति भण्डारीले इतिहासको सम्मानमा देखाएको सक्रियता, सम्मान अर्पण नै थियो । यसबाट सबैका लागि सधैका लागि अब गणतन्त्र र राष्ट्रपति भन्ने सकारात्मक सन्देश आम जनमानसमा प्रवाह भएको छ । यसले गणतन्त्र व्यवस्था र संस्था राष्ट्रपतिको छाती ठूलो र भाव उच्च रहेको प्रमाणित गरेको छ । यसका लागि व्यक्तिगत र संस्थागत रुपमा नै वर्तमान राष्ट्रपति भण्डारीको कदम उच्च प्रशंसनीय र अनुकरणीय तथा साधुवादयोग्य छ । किनभने गणतन्त्र वा राष्ट्रपति प्रतिशोध, हिनता र अनदार होइन बरु उदार र निष्पक्ष रुपमा इतिहासको सम्मान गर्न लायक छ भन्ने सकारात्मक सन्देश प्रवाह भएको छ । यसले गणतन्त्रको उचाई थप बढाएको छ भने राष्ट्रपति संस्थाको गरिमा र सम्मान थप चम्किलो पनि बनाएको छ ।

निश्चय नै पुस २७ कुनै अमुक राजावादी वा कट्टरपन्थीहरुको पेवा दिवस थिएन र होइन पनि । गणतन्त्र वा राष्ट्रपति शासन व्यवस्था र संस्थाले पनि पुस २७ लाई कालोमैलो ठान्नु पर्ने थिएन । यो इतिहासको सच्चाईलाई वर्तमान राष्ट्रपति भण्डारीले आत्मसात गर्न सक्नु सबैका लागि उदाहरणीय आखिरी कार्यकालको उत्तम कर्म हो । किनभने बितेका बाह्र वर्षमा नेपालका राजनीतिक नेतृत्वको विचार परिवर्तन भएको छ । गणतन्त्र अब संस्थागत भएकाले पनि हुनसक्छ २५० वर्षअघि भएको नेपाल एकीकरणका अभियन्ता राजा पृथ्वीनारायण शाहको जन्मदिन मनाउन सरकारले औपचारिकरूपमा बाह्र वर्षपछि पुनः सुरु गरेको छ ।

यस वर्ष २९६ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा बिहीवार सिंहदरबारको पश्चिम ढोका अगाडि रहेको राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा राष्ट्रपति विद्यादेवी भण्डारीले माल्यार्पण गरेर नयाँ ईतिहास लेखाएकी छिन् । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वका वर्तमान सरकारले पनि गत मंसिर १४ गते पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने र यसलाई राष्ट्रिय रूपमा मनाउने निर्णय गरेको थियो । यसले वर्तमान सरकार पनि पुस २७ को ऐतिहासिक दिनको गरिमा जोगाउन व्यवहारमा नै उदार रहेको देखियो । किन भने इतिहासका १२ वर्षमा भएको पृथ्वी जयन्ती नमनाउने राजकीय भुल वर्तमान देउवा सरकारले सच्चाएको छ । इतिहासको क्रुर यथार्थ हो की बाह्र वर्षअघि नेपाली कांग्रेसकै सभापति गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा बन्द गरिएको यो प्रथा नेपाली कांग्रेसकै सभापति प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा पुनः सुरु गरिएको छ । काँग्रेसका लागि पनि यो इतिहासको भुल सुधारको कदम नै हो ।

पृथ्वी जयन्ती राष्ट्रियस्तरमा मनाउने निर्णय गराउन उपप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देउवा मन्त्रिपरिषदमा महत्वपूर्ण भूमिका खेलेका थिए भन्ने मात्रै पूर्ण सत्य होइन । भलै यसको पक्षमा कमल थापा थिए भन्नेसम्म चाहिँ आँशिक सत्य हो । गत मंसिरमा उनले सो सम्बन्धमा भएको निर्णयलाई सबैभन्दा पहिले ट्वीट गरेर सार्वजनिक पनि गरे । पृथ्वीजयन्ती राज्यले नै मनाउने निर्णयको जस लिन मात्रै उनले मौका पाएका थिए । खासमा कुरा र भाषणमा मात्रै राजावादी र कर्ममा सत्तालिप्सावादी कमल थापा वा उनको दल राप्रपाको एकल बलबुतामा मात्रै यो पटक देशले नै एकमत भएर पृथ्वी जयन्ती मनाएको होइन नै । जनादेशमा बढारिएको राप्रपा वा कमल थापाले पृथ्वी जयन्ती मनाउन आफूले भुमिका खेलेकोसम्म दाबी गर्न सक्छन तर यसको उनले पूर्ण स्वामित्व दाबी गर्ने औकात राख्दैनन् । यसमा बधाई र धन्यवादका हकदार कार्यकारी प्रधानमन्त्री देउवा नै हुन । अरु शासकीय भुलका वीच पनि यो प्रधानमन्त्री देउवाको असल कर्म नै थियो सत्ताकालको बिदाई बेलामा भए पनि ।

वि.सं. २०६२-०६३ सालको जनआन्दोलनको सफलतापछि बनेको सरकारले नेपालको एकीकरण गर्ने गोरखाका राजा पृथ्वीनारायण शाहको योगदानलाई उपेक्षा गर्दै गणतन्त्रमा राजा नपुज्ने चलन थालेको थियो । त्यसअघिसम्म पृथ्वीनारायण शाहको जन्मदिनको दिन सार्वजनिक बिदा दिँदै राष्ट्रिय एकता दिवस मनाउने गरिन्थ्यो । पृथ्वी जयन्ती मनाउन छाडेसँगै सरकारले पुस २७ गतेको सार्वजनिक बिदा पनि खारेज गरेको थियो ।

अबको जुग गणतन्त्रकै जुग हो । राष्ट्रपति संस्था अब राजतन्त्रको अभाव महसुस नगराउने गरी लोकप्रिय हुँदै जान सक्छ भन्ने राष्ट्रपति भण्डारीले पुष्टि गरिसकेकी छिन । पूर्व राजा ज्ञानेन्द्र शाहलाई गद्धिच्यूतपछि पहिलो पटक शीतल निवासको अतिथि बनाएर राष्ट्रपति भण्डारीले चालेको सकारात्मक कदमलाई पृथ्वी जयन्तीसम्म बिस्तार गर्नु इतिहासको फ्यूजन र सम्मानमा राष्ट्रपति भण्डारीको सफल कर्म नै हो । कामना गरौं राष्ट्रपति भण्डारीको यो सत्कर्ममा अब क्रमभंग नहोस र राष्ट्रपति संस्था सबैको साझा र सम्मानित भइरहन सकोस ।

707 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank