मैले चिनेका भरतमोहन

आइतवार, फाल्गुन २६, २०७५



- डा. गोविन्द बहादुर थापा

भरतमोहन अधिकारी १२ मंसिर २०५१ मा पहिलो जननिर्वाचित कम्युनिस्ट सरकारको अर्थमन्त्री भएर आउनुभएको थियो। त्यतिखेर नेपाली कांग्रेसको सरकारका अर्थ राज्यमन्त्री महेश आचार्यले मध्यावधि निर्वाचन घोषणा भइसकेपछि पेस गरेको कामचलाउ बजेट कार्यान्वयनमा रहेकाले नयाँ सरकारलाई नयाँ बजेट पेस गर्नुपर्ने थियो र त्यो बजेट यथाशक्य छिटो संसद्मा पेस गरी साविकको कामचलाउ बजेटलाई प्रतिस्थापन गर्नुपर्ने थियो। त्यसैले मन्त्रालयको कार्यभार सम्हाल्नासाथ उहाँ बजेट तर्जुमा गर्ने काममा जुटिहाल्नुभयो। त्यो सरकार कम्युनिस्ट पार्टीको पहिलो सरकार भएकाले कम्युनिस्ट पार्टीको आर्थिक तथा सामाजिक नीति तथा सिद्धान्त प्रतिबिम्बित हुने गरी बजेट तर्जुमा गर्नुपर्ने थियो। त्यो काम निश्चित रूपमा सजिलो थिएन।

किनभने अर्थतन्त्र र जनताको जनजीविकाका गतिविधिमा कसरी, कुन रूपमा र कुनकुन क्षेत्रमा सरकारले नीतिगत हस्तक्षेप गर्ने भन्ने निरूपण गर्नुपर्ने चुनौती थियो। साथै सरकार एकल पार्टीको भएता पनि अल्पमतको थियो र प्रतिपक्षमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वको कांग्रेस थियो। त्यसका अतिरिक्त नेपाल र विश्वभरि आर्थिक उदारीकरण र निजीकरण नीति तथा त्यसका पक्षधरहरू हावी हँुदै आएका थिए। त्यस्तो अप्ठ्यारो स्थितिमा कम्युनिस्ट पार्टीको नीति र सिद्धान्त झल्किने गरी बजेट तर्जुमा गर्नुपर्ने थियो। त्यो चानचुने चुनौती थिएन। साथै त्यो काम सीमित अवधिभित्र सम्पन्न गर्नुपर्ने थियो।

त्यसैले त्यसका लागि उहाँले एउटा बजेट तर्जुमा समूह बनाउनुभयो, जसमा पंक्तिकार स्वयं, प्रमेश हमाल, डा। डिल्लीराज खनाल, केशव आचार्य, गुरुप्रसाद न्यौपाने र गणेशकुमार श्रेष्ठ थियौं। त्यतिखेर रामविनोद भट्टराई अर्थसचिव थिए। मन्त्रीजीले सचिवलाई त्यो टिमसँग समन्वय गरी छिटोभन्दा छिटो बजेट निर्माण गर्न निर्देशन दिनुभएको थियो। त्यसपछि हामी यथाशक्य छिटो बजेट तर्जुमाको काम सम्पन्न गर्न जुट्यौं र अहोरात्र खटेर एक महिनाभन्दा कम समयमा आर्थिक सर्वेक्षणसहित बजेट तयार गर्यौां। त्यो काम गर्दा हामीले दिउँसो खाजा खानेबाहेक अरू केही सुविधा लिएनौं।

बजेट पेस भइसकेपछि गुरु न्यौपाने राष्ट्रिय वाणिज्य बैंकको कार्यकारी अध्यक्ष भएर जानुभयो। डा। डिल्लीराज खनाल राष्ट्रिय योजना आयोगको सदस्य भएर जानुभयो र गणेशकुमार श्रेष्ठलाई डा। खनालको सहयोगीको रूपमा पठाइयो। म र केशव आचार्यलाई मन्त्रालयमा उहाँसँगै रहन भनियो। त्यसपछि उहाँ २०५३ साल ९निर्माण तथा यातायातमन्त्री० र २०५५ साल, २०६१ साल र २०६७ साल गरी चारपटक अर्थमन्त्री बन्नुभयो र २०६७ बाहेक अघिल्ला चारपटक मैले उहाँको प्रमुख सल्लाहकारका रूपमा काम गरें। पछिल्लोपटक म एसियाली विकास बैंक मनिलामा कार्यरत रहेकाले उहाँसग सहकार्यमा रहिनँ। यद्यपि उहाँले मनिलाबाट फर्कन मलाई पटकपटक आग्रह गर्नुभएको थियो। यस क्रममा उहाँले आफ्नो पार्टीका नेताहरूको अतिरिक्त लोकेन्द्रबहादुर चन्द, गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाको नेतृत्वको सरकारको वरिष्ठ ९उपप्रधानमन्त्रीसमेत० मन्त्री भएर काम गर्नुभएको थियो।

उहाँसँगको मेरो लामो सहकार्यका आधारमा उहाँका शासकीय शैली, सोच र व्यवहारका बारेमा पंक्तिकारले परिचित हुने पर्याप्त अवसर पाएको थियो। त्यो सान्निध्य देखेर विराटनगर र मोरङका धेरै पार्टीका कार्यकर्ताले मलाई घर कहाँ हो भनेर प्रश्न गर्दथे। उहाँसँगको मेरो सहकार्य पार्टीभित्र पनि चर्चाको विषय हुन्थ्यो। एउटा पार्टी बैठकमा तत्कालीन महासचिव र हालका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले समेत भरतमोहनलाई गोविन्द थापा नभइनहुने के रहस्य रहेछ भनेर सोध्नुभएको थियो भनेर भरतमोहनले मलाई भन्नुभएको थियो।

यस आधारमा मैले उहाँमा देखेका खास विशेषता बुँदागत रूपमा निम्नानुसार थिए :
उहाँ २४ सै घन्टा देश विकास, उत्पीडित, उपेक्षित र सीमान्तकृत वर्ग र समुदायको उत्थान, गाउँको विकास, राष्ट्रियताको संवद्र्धन, सुशासन, लोकतन्त्रको सुदृढीकरण, लोकतान्त्रिक पार्टीहरूबीचको सुसम्बन्ध र पार्टी एकीकरण सम्बन्धमा क्रियाशील रहनुहुन्थ्यो। लोकतान्त्रिक संविधान निर्माणमा उहाँको सक्रिय सहभागिता, वृद्धभत्ता, आफ्नो गाउँ आफैं बनाऔं जस्ता कार्यक्रमको घोषणा आदि यसका केही उदाहरण हुन्।

उहाँ परामर्श र सहमतिका आधारमा निर्णय गर्नुहुन्थ्यो। उहाँले आफ्नो निर्णय कहिल्यै लाद्ने प्रयास गर्नुभएन। कुनै पनि महत्वपूर्ण विषयमा उहाँ व्यापक छलफल र अन्तक्र्रिया गराउनुहुन्थ्यो र त्यसमा जे सहमति हुन्थ्यो त्यही निर्णय गर्नुहुन्थ्यो। उहाँले कहिल्यै पनि एकलौटी र मनोमानी ढंगले निर्णय गर्नुभएन।

उहाँ व्यावहारिक व्यक्ति हुनुहुन्थ्यो। आफूले राखेको लक्ष्य हासिल गर्न सबै किसिमका पूर्वतयारी गर्नुहुन्थ्यो। त्यस्तो कार्यक्रमसँग सरोकार राख्ने सबै पक्षसँग विमर्श गरी विश्वासमा लिनुहुन्थ्यो। मन्त्रिपरिषद्को बैठकमा पेस गरिने मन्त्रालयका महत्वपूर्ण प्रस्तावहरूका बारेमा अघिल्लै दिन प्रधानमन्त्रीलाई विस्तृत रूपमा ब्रिफिङ गर्नुहुन्थ्यो। त्यसले गर्दा मन्त्रिपरिषद्मा पेस हुने मन्त्रालयका सबै प्रस्ताव सहजतापूर्वक पारित हुन्थे।

उहाँमा आग्रह र इगो पटक्कै थिएन। सरकार र पार्टीको काम सम्पन्न गर्न पटक्कै कुनै किसिमको आग्रह र इगो नराखी जोसँग पनि वैचारिक सहयोग लिनुहुन्थ्यो, सानो वा ठूलो भनेर उपेक्षा गर्नु हँुदैनथ्यो। त्यसैगरी प्रतिशोधको भावना पनि पटक्कै राख्नु हँुदैनथ्यो। रुष्ट भई फर्केका मानिसलाई पनि आवश्यक पर्दा आफैंले फोन गरेर कुरा गर्नुहुन्थ्यो वा बोलाएर कुरा गर्नुहुन्थ्यो मानौं कि विगतमा उहाँहरूबीच केही भएकै थिएन।

उहाँ आफूले गर्ने सरकारी कामका बारेमा पार्टीका प्रमुख नेताहरूलाई पूर्णरूपमा विश्वासमा लिएर निर्णय गर्नुहुन्थ्यो। यो उहाँको नियमित प्रक्रिया नै थियो। त्यसले गर्दा मन्त्री भएर गरेका कुनै पनि निर्णय र कामका बारेमा पार्टीभित्र र बाहिर पनि कहिल्यै विवाद भएन। पार्टीभित्र मात्र होइन, अरू पार्टीका प्रमुख नेताहरूसँग पनि नियमित रूपमा परामर्श गर्नुहुन्थ्यो। बजेट निर्माण गर्दा सबै प्रमुख नेताको राय तथा सुझाव लिनुहुन्थ्यो। यो उहाँको महत्वपूर्ण गुण थियो।

२०५१ सालमा पहिलो बजेट निर्माणका क्रममा बजेट वक्तव्यको मस्यौदा तयार भएपछि अर्थसचिवलाई अध्ययन गर्न दिइयो। मस्यौदामा वृद्धभत्ता र आफ्नो गाउँ आफैं बनाऔंको प्रस्ताव देखेपछि सचिवले बजेटले धान्न सक्दैन भनेर असहमति जनाउनु मात्र भएन, मस्यौदा फिर्ता गरेर तत्कालै घर फर्कनुभयो। तर उहाँले सचिवलाई चित्त बुझाएर राति नै मन्त्रालय फर्काउनुभयो र भोलिपल्ट निर्विघ्नतापूर्वक बजेट प्रस्तुत गरियो। यस्तो थियो उहाँको कार्यकुशलता। उहाँले कसैलाई चिढाउनुभएन, कसैसँग वैर भाव राख्नुभएन, कसैप्रति प्रतिशोध लिनुभएन। यस अर्थमा उहाँ अजात शत्रु हुनुहुन्थ्यो। उहाँअति नै सरल, सहज र सामान्य हुनुहुन्थ्यो। उहाँ सामान्यभन्दा सामान्य मानिसको पनि सहज पहुँचमा हुनुहुन्थ्यो।
अटुट क्रियाशीलता भरतमोहनको अर्को दुर्लभ विशेषता थियो।

सरकारमा हुँदा वा नहुँदा मात्र होइन, पार्टीमा सक्रिय रूपमा नहुँदा पनि निरन्तर रूपमा क्रियाशील रहनुभयो। पछिल्लो कालमा स्वास्थ्यले साथ दिइरहेको थिएन। तर पनि देश, लोकतन्त्र, सरकारका गतिविधि र पार्टीका बारेमा निरन्तर चिन्ता र चासो राखिरहनुहुन्थ्यो। शीर्ष नेतृत्वलाई यिनै विषयमा राय तथा सुझाव दिइरहनुहुन्थ्यो। लेखरचना छपाइरहनुहुन्थ्यो, अन्तर्वार्ता दिइरहनुहुन्थ्यो र भेटघाट र परामर्श गरिरहनुहुन्थ्यो। अस्पतालको आईसीयूमा रहँदा पनि उहाँले चासो राखिरहनुभयो। यो क्रम उहाँमा चेत रहिन्जेल जारी रह्यो। यो मानिस मात्रको निमित्त दुर्लभ विशेषता हो।

वास्तवमा एमालेको २०५१ सालको पहिलो बजेट नेपालको बजेट इतिहासको महत्वपूर्ण कोसेढुंगा थियो, परम्परागत बजेटबाट महत्वपूर्ण डिपार्चर थियो। त्यतिखेरसम्म राज्यको बजेट समाजका टाठाबाठा, धनीमानी, ठूला उद्यमी–व्यापारीहरूका लागि मात्र हुन्थ्यो। बजेटले समाजका उत्पीडित, उपेक्षित वर्ग, समुदाय तथा गाउँलाई छँुदै छँुदैनथ्यो। त्यसैले त्यस्तो वर्गले राज्यको बजेटको वास्तै गर्दैनथ्यो।

त्यो बजेट नै नेपालको पहिलो बजेट थियो, जसले त्यस्ता वर्ग, क्षेत्र र ग्रामीण क्षेत्रको अवस्थालाई केन्द्रीय र राष्ट्रिय स्तरमा उजागर गर्यो र तिनका समस्यालाई सम्बोधन गर्ने दिशामा अग्रसर भयो। त्यो बजेटले सामाजिक सुरक्षाको अवधारणा कार्यान्वयन गर्योस र त्यस्ता जनतालाई राज्य हाम्रा लागि पनि रहेछ भन्ने अनुभूति गरायो। नेपालजस्तो विकासमा पछाडि परेको मुलुकको निमित्त यो चानचुने कुरा थिएन। त्यसैले त्यो बजेट ऐतिहासिक थियो। अन्नपूर्ण पाेष्ट डटकमबाट साभार 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank