भानुको जन्ममिति विवाद

सन्दर्भ भानु जयन्ती

बिहिबार, असार २९, २०७४



- प्रा. शर्वराज आचार्य

धनञ्जय आचार्यकी पत्नी धर्मावतीको कोखबाट नेपाली साहित्यका शुक्रतारा ठानिने बालकको जन्म भयो । मोतीराम भट्टका अनुसार बालकको जन्म विसं १८६९ थियो । उनले आदिकवि भानुभक्त आचार्यका भतिजा र छिमेकी रामदत्त आचार्य तथा सुब्बा धर्मदत्त ज्ञवालीलाई स्रोत बनाए । स्रोतका आधारमा विसंं १९४८ मा कवि भानुभक्तको जीवनचरित्र भन्ने पुस्तक लेखे । कविकी नातिनी विष्णुमायाले विसं १९९८ मा भानुभक्त मणिमाला भन्ने रामायण छपाइन् ।

भानुभक्त मणिमालामा जन्मकुण्डली, कुण्डलीको कविता र जन्ममिति (विसं १८७१ असार २९ गते) छापियो । यस जन्म मितिले आधिकारिकता पायो । बालक जन्मँदा धनञ्जय आचार्य ४० वर्षका थिए, भनिन्छ ।

भानुभक्त आचार्यको जीवनी लेख्नेहरूमा पछिल्ला जीवनीकार नरेन्द्रराज प्रसाईं देखिन्छन् । उनले भानुभक्त आचार्यको जीवनवृत्त भन्ने कृति लेखेका छन् । मोतीराम भट्टबाट लेखिएको जन्ममिति विसं १८६९ लाई उल्ट्याएर विष्णुमायाबाट १८७१ असार २९ बनाएकामा जन्ममिति बिगार्दै र सच्याउँदै जाने प्रचलनलाई उचित मान्न सकिन्छ र भनी प्रश्न गरेका छन् । जन्ममितिबारे ठीक/बेठीक खुट्याउने र तथ्यमा टेकेर निर्णय दिने काम आधिकारिक निकायको हो । कान्तिपुरबाट

किन्तु विष्णुमायाले भानुभक्त मणिमालामा दिएको भानुभक्तको जन्मकुण्डली र कुण्डलीसम्बन्धी कविताले आधिकारिकता पाएको स्थिति छ । यस स्थितिमा प्रसाईंले चालीस वर्ष भएँ म पुत्र पनि एक्…. भन्ने कवितालाई प्रमाण मानेर अहिलेको आधिकारिक जन्ममिति (विसं १८७१) लाई खण्डन गरेका छन् । तर आधिकारिकता लिइसकेकाले जन्ममितिको विरोध गरेका छैनन् । जन्ममितिबारे उहापोह हुनु बौद्धिक विलास मात्र होइन किनभने भानुभक्तका बारेमा निगमनात्मकभन्दा आगमनात्मक दृष्टिकोणले उहापोह गर्ने पुस्ता जन्मिरहन्छ । यस आलेखमा भानुभक्तको जन्मकुण्डली भनिने कवितालाई निम्न ४ आधारबाट उहापोह गर्न खोजिएको छ :

कविताले भानुभक्तलाई जातक देखाएको छैन, तर कविताले भनेको जातक भानुभक्त हुन् भनी लेख्दैमा उनी यस कुण्डलीका जातक हुन सक्दैनन् ।  ४ वटा आधारबाट हेर्दा भानुभक्तको आधिकारिक जन्ममितिबारे विमति राख्ने प्रशस्त ठाउँ छन् । 

पहिलो आधार हो, धनञ्जय आचार्य ४० वर्ष हुँदा भानुभक्तको जन्म भएको थियो । ४० वर्षका धनञ्जयको जन्ममिति विसं १८२९ वा १८३१ मानिन्छ । । पुष्कर शमशेरले २००५ कात्तिक १५ गतेको नेपाली शिक्षामा धनञ्जय आचार्यको मृत्यु भएको पत्रको उल्लेख गरेका छन् । बनारसको मणिकर्णिका घाटबाट भानुभक्तले रमानाथलाई लेखेको त्यस पत्रमा मिति पौष वदी ५ रोज १ भनी लेखिएको छ । पुराना पात्रो हेर्दा यो मिति १९०१ पौष १७ गते र १९०४ पौष १३ गते मात्र परेको भेटियो ।

धनञ्जयको जन्ममिति १८३१ वा १८२९ ठान्दा उनी मृत्यु हुँदा ७३ वा ७५ वर्ष पुगेका देखिन्छन् । श्रीकृष्ण वंशका आचार्यहरू कम आयु भएका पाइन्छन् । ७० देखि ७५ वर्ष बाँच्ने आचार्य फेला पार्न कठिन छ । उनीहरू दीर्घजीवी भएको सुनिँदैन । झन् धनञ्जय आचार्य त पेटका रोगी थिए ।

 त्यसैले उनलाई ४० वर्षको बनाउन भानुभक्तलाई १८६९ तिरै जन्मेको देखाउनुपर्छ । अत्यधिक मृत्युदर भएको तत्कालीन नेपालमा आचार्य वंश र रोगी धनञ्जयको दीर्घजीवन ठान्न सकिँदैन । दोस्रो आधार ‘चालीस वर्ष भएँ म पुत्र पनि एक् मात्रै छ आठ् वर्षको’ भन्ने कविता हो । यस कविताले विसं १८६९ मा जन्मेका भानुभक्तलाई विसं १९०९ मा कुमारीचोकमा थुनिँदा ४० वर्ष र विसं १९०१ तिर जन्मेका छोरा रमानाथ आचार्य ८ वर्ष पुगेको बताउँछ ।

अहिलेको आधिकारिक जन्ममितिअनुसार भानुभक्त वि.संं. १९११ मा ४० वर्ष र रमानाथ ८ वर्ष पुगेको र कुमारीचोकमा थुनिएको देखिन्छ । बाबुको मृत्युपछि अर्को वर्ष थुनिएका हुन् भनी मान्ने हो भने धनञ्जय आचार्य लगभग ८० वर्ष बाँचेका हुन्छन् । यस तथ्यले भानुभक्त आचार्य मोतीरामले भनेझैँ विसंंं १९०९ तिर कुमारीचोकमा थुनिँदा भानुभक्त ४० वर्ष, रमानाथ ८ वर्ष पुगेको देखाउँछ । भानुभक्तले रमानाथलाई बनारसबाट लेखेको चिठीलाई आधार मान्ने हो भने वि.सं. १९०४ को पुसमा धनञ्जयको मृत्यु भएको देखिन्छ । यो मृत्युले रमानाथको जन्म र चिठी लेखनबीच समन्वय आउँदैन ।

तेस्रो तथ्यगत आधार उनको जन्मकुण्डलीको कवितामा व्यक्त विचार र शैलीलाई लिन सकिन्छ । विचारले यो कुनै लग्नकुण्डलीको कविता हो, जन्मकुण्डलीको कविता होइन । कविताले जन्मकुण्डलीको अर्थ दिँदैन । जन्मकुण्डलीमा न्यूनतम हुनुपर्ने नक्षत्र र राख्ने नाम पनि भेटिँदैन ।

कवितामा भानुभक्तीय सरल लेखनशैली छैन । त्यसकारण विचार तथा शैलीका आधारमा यो भानुभक्तको जन्मकुण्डली र उनले लेखेको कविता होइन । कुण्डलीका ग्रहस्थितिबाट भविष्यवाणी गर्न सकिने ज्योतिषीय तथ्यगत उहापोह विमतिको चौथो आधार हो । जोतिषीहरू भन्छन्, ‘यस्तो राम्रो ग्रहस्थितिले जन्मकुण्डलीको जातकलाई कैदमा पारेर दु:ख दिँदैन ।’ अर्थात् यस्तो राम्रो ग्रहस्थिति हुने मानिसलाई ग्रहहरूले कहिल्यै कैदी बनाउँदैनन् ।

कविताले भानुभक्तलाई जातक देखाएको छैन, तर कविताले भनेको जातक भानुभक्त हुन् भनी लेख्दैमा उनी यस कुण्डलीका जातक हुन सक्दैनन् । उल्लिखित ४ वटा आधारबाट हेर्दा भानुभक्तको आधिकारिक जन्ममितिबारे विमति राख्ने प्रशस्त ठाउँ छन् ।

908 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank