बानेश्वर तीर , गियर र नेकपा !

फरकमत

मङ्लबार, अशोज २३, २०७५



- दीपेन्द्र पाण्डे

भद्र मानिस चिनी बोकेर जाँदै थिए । अचानक उनले बोकेको चिनी बालुवामा खस्न पुग्यो । उनी हेरेको हेरै भए । सँगै रहेको विज्ञानको बिद्यार्थी भद्र मानिसलाई गजबको जुक्ती सिकाई दियो । पोखिएको चिनी र बालुवा उठाउनुस । घरमा लगेर चिनी मिसिएको बालुवालाई भाँडोमा राख्नुस । त्यसमा पानी हालेर घोल्नुस । जाली मार्फत पानी छानेर अर्को भाँडोमा लिनुस । बालुवा फ्याँकी दिनुस । चिनी घुलेको पानीलाई पकाउनुस । पानी उडेर जान्छ । भाँडोमा चिनी मात्र रहन्छ ।

उल्लेखित घटना र सन्दर्भ बर्तमान समयमा नेकपाको निम्ती अत्यन्त सान्दर्भिक , उपयोगी र शिक्षाप्रद बन्दैछ । २०७४ साल असोज १७ गते प्रधानमन्त्री शेरबहादुर देउवाको भान्सामा पाकेको भात मुछ्दै जुठो हातले ओली निवास पुगेका कमरेड प्रचण्डको कदमले वाम रुझान राख्ने वाम कार्यकर्ता र सर्वसाधारण जनतामा जागेको उत्साह र उर्जाको सिमा थिएन । २००६ साल देखी सर्बसाधारण जनता माझ बाँड्दै आएको सपना साकार हुँदै गरेको ठान्ने वाम समर्थक , शुभेच्छुक ,भोटर र कार्यकर्ताको मनको कुरा निर्वाचन अघि गठबन्धन र निर्वाचन पछी पार्टी एकता गर्ने तात्कालिन वाम घोषणालाई तत्काल जनताले अनुमोदन गरेको प्रमाण निर्वाचनको प्रचण्ड सफलतालाई लिन सकिन्छ ।

वामहरुले सोचे अनुरुपकै सफलता पछी तात्कालिन एमाले भित्र खेल्ने विभिन्न आन्तरिक र बाहिरी शक्तीको खेलको कारण ‘वाम एकताको चिनी ‘ कतै बालुवामा पोखिन्छ कि ? भन्ने संकालाई पुष्टी गर्ने आधार निर्माण गरिदै थियो । सरकार नबन्दै पदिय बाँडफाँडको निम्ती रोजिएको केरुङ बैठक, उपेन्द्र यादबसँगको भेटघाट पछी प्राप्त भारतीय सन्देश सहितको सोल्टी वार्ताले ओली उडान उत्सर्गमा पुग्दै थियो । तात्कालिन समयमा चिनिया राष्ट्रपती सी जिनपिङको आक्रामक ब्यापार नीति र भारतीय मोदीको असफल नेपाल नीतिको चपेटामा कमरेड ओलीबाट सम्पन्न पारबहन सन्धीको राष्ट्रवादी बाढीमा खडा भएको ओली उचाई सम्पुर्ण देश र एमालेको सम्पती हुनु पर्नेमा बिरोधी मास्ने अस्त्र बनाइएको महशुस ओली पीडितले मात्र हैन खुद कमरेड प्रचण्डले गर्दै थिए । फलस्वरुप तात्कालिन एमाले भित्रको सुबिधाजनक अंकगणित, मधेशी दल र भारतीय आशिर्बाद पछी निर्माण हुन पुगेको कमरेड ओलीको ‘बडी ल्यांगवेज ‘ले देखाएको ‘दम्भ ‘लाई रोक्ने ‘फडको’मिसाइल छोडन बाध्य भए । कमरेड प्रचण्डलाई चक्मा दिंदै बनाउँन सकिने प्रो इण्डियन सरकारको असली शक्ती , प्रभाव र आयुको बारेमा खुद कमरेड ओली र उनको दोश्रो घेराले गरेको सुक्ष्म विश्लेषणले ‘फडको मिसाइल’लाई उचित सम्मान दिन राजी हुँदा नेकपाले जन्म लियो भन्नु सटिक हुनेछ ।

चितवनबाट छोडेको प्रचण्डको ‘फडको मिसाइल ‘ पछी बनाइएको भेडीगोठ केन्द्रीय समिती र आन्तरिक लेनदेन तल माथी पर्ना साथ दुई जमिन्दारलाई दुख दिन सक्ने स्थायी समिती रणनीतिक ढंगबाट बेरोजगार बनाईदा गत जेठ तीनमा निर्मित नेकपाको राजनैतिक सांगठनिक गतिबिधी करीब मृत अवस्थामा छ भन्दा कार्यकर्ताले दुख मान्दैनन । पार्टी एकताले जीवनभर राजनीति भन्दै हिडनेलाई कम ‘ नेतृत्वलाई कैलासपती मान्दै गणेश ‘परिक्रमा गर्नेलाई महत्व दिएको भन्दै माधव नेपालबाट छोडिएको ‘वानेश्वर तीर ‘ पछी नेकपा भित्र राजनैतिक घोचपेचले भुकम्प ल्याउने त हैन ? भन्ने चर्चा अकस्मात बढदै छ । स्थानिय निर्वाचन पश्चात राजनैतिक शक्ती र भबिश्य राम्रोसँग आंकलन गरेका पूर्व माओबादी केन्द्रका नेता प्रचण्डले ‘खेलेको राजनैतिक जुवा’ले आकार ग्रहण नगर्दै मच्चिएको गडबडीलाई गम्भीरता पूर्वक लिंदै छन ।

  निर्वाचन पूर्व र निर्वाचन  पश्चात बदलिएको दुई वाम पार्टीको राजनैतिक शक्तीको कारण नेकपा अध्यक्ष एवम प्रधानमन्त्री ओलीबाट पार्टी र राजकिय सुबिधामा हुँदै गरेको एकलौटीकरणको कारण पार्टी र सरकारले रफ्तार लिन नसकेको महशुस दोश्रो अध्यक्ष प्रचण्डले गरिसकेको देखिन्छ । शरिर ठुलो तर गुण रित्तिएको भिमकाय कम्युनिस्ट पार्टी बनाउँदै ‘कैलासपती ‘ बन्ने चाहाना सिद्धान्त र बिचारलाई स्थगित गर्दै चल्ने सोचलाई मान्न सकिन्छ । फलस्वरुप बिगतमा परिक्रमा गर्दै राजकिय सुविधा प्राप्त गरेकाहरु , बिभिन्न समयमा आयाराम गयाराम बनेका पुर्ब , भुतपूर्व वाम नेताहरु , पार्टी एकताको नाममा बालुवालाई चिनी बनाउने मात्र हैन चिनी र वालुवा मिसाउने कार्यलाई ‘वानेश्वर तीर ‘ले रक्षात्मक बनाउँदा ओली – दाहालको टाउको दुखाई बन्दैछ । गत शनिबार राजधानीमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेकपा अध्यक्ष प्रचण्डले सरकारको कामलाई प्रभावकारी बनाउन ‘गियर’बदल्ने बताई रहदा प्रधानमन्त्री ओलीबाट ‘वानेश्वर तीर ‘ ध्वस्त बनाउन दाहाल  र गाैतमकाे साथ लिदै‌ ‘रामवीर’ मिसाइल छोडीसकेका छन् ।  

कस्तो संगठन ?  

बुर्जुवा शिक्षा बहिस्कार देखी १० बर्षे माओवादी ध्वंस र हिंसा समेत बेहोर्दै निर्माण भएको नेपालको वाम आन्दोलन जनताको आषा र भरोषाको केन्द्र थियो र छदैछ । न्यायपुर्ण प्रगतिशिल समाजको निम्ती अनेकौं हण्डर र ठक्कर खाँदै जनताको हरेक परिक्षा उतिर्ण गर्दै हुर्केको पार्टी नेकपा भित्र बिगत केही समय देखी पद , पैसा र पावरको निम्ती मरिहत्ते गर्ने कुसंस्कारले जरा गाडदैछ । मुलुक निर्माणको निम्ती असंख्य आन्दोलनको आँधीबेरी पार गर्दै जनतालाई नतिजा पस्कने स्थानमा पुग्दै गर्दा निर्माण हुँदै गरेको भिमकाय नेकपा कस्तो बन्दै छ ? भन्ने आम जनता र कार्यकर्ताको उत्सुकता कैलासपतीको निम्ती चुनौती र अबसर बन्दैछ । दुई पार्टी मिल्दै नयाँ पार्टी बनाउने काइदा ‘पानी र तेल ‘ मिसाए जस्तो कि ‘चिनी र पानी ‘ भन्ने अंहम सवाल नेतृत्वमा भर पर्दैछ ।

कस्तो सरकार ?

नेपालमा कम्युनिष्ट सरकार भन्ने बित्तिकै सर्वसाधारण मानिस र बृद्धहरु मनमोहनको अल्पमत सरकारलाई सम्झन पुग्दछ्न । नेपाली राजनीतिको अत्यन्त महत्वपुर्ण समयमा मतपत्रको माध्याम बाट वामहरुले अभुतपुर्ब सफलता प्राप्त गरेका छन । विगत सात महिना देखी कम्युनिस्टको नाममा ओली सरकार सत्तामा बिराजमान छन । सामान्य मानिसले समेत ठुलो आषा र भरोसाले हेरेको वर्तमान वाम सरकार ‘मन्टेश्वरी’ को अक्षर समेत चिन्न असफल हुँदैछ । बिगतमा आफ्नो गाँउ आफै बनायौं । नौं ‘स’ को अभियान । जस्ता कार्यक्रम ल्याउने सरकारको गृहमन्त्री आफै प्रधानमन्त्री बन्दै गर्दा वाम सरकार आएको महशुस गराउन चुक्दै छन ।

कस्तो समृद्धि ?

मुलुकमा नकारात्मकताको असंख्य सगरमाथा ठडिएका छन । जनताको इच्छा , चाहाना र आबश्यकता सकारात्मकताको सगरमाथा बनेर खडा हुन आतुर छन । मुलुक भित्र श्रोत , साधन , ज्ञान , दृढ संकल्प र नेतृत्वको खडेरी नै नभनौं । कमी भने अवश्य रहेको मान्न सबै तयार छन । कसैले बोल्दै नबोलेको , कसैले बोलेको नबुझेको , कसैले बोल्ने जती बाँकी नराखेको बर्तमान नेपालमा समृद्धि सबैले बुझेको तर कहाँ बाट , कसले , कसरी ,कस्तो र कहिले ल्याउने अझै तय नभएको कारण समृद्धि झनै अन्यौलमा पर्दै गरेको देखिदै छ ।

लोकतन्त्रको आडमा जागेको अराजकताको सामु समृद्धि ओझेलमा पर्ने खतरा नेकपा भित्रको आन्तरिक समिकरण पछी झनै बढेको मानिदैछ । लेख्न र बोल्न कुनै कसर बाँकी नराखिएको वाम घोषणापत्र बाट सामान्य मानिसले देख्न र भोग्न सक्ने रहर भन्दा आबश्यकतापूर्ण विकास सुरु नहुँदा नेकपाले ठुलो जन बिश्वास दिन प्रतिदिन गुमाउँदै छ । ठुलो कुरा भन्दा आबश्यक कुरा र धेरै भन्दा गर्न सकिने कुरालाई यदी , परन्तु , तथापी ,यद्धपी र तर जस्ता शब्दको प्रयोग नगरी समय सिमा तोक्दै सरकारले तत्काल नतिजा उन्मुख कामको सुरुवात गर्दै तार्किक निश्कर्ष सहित बिश्वास जगाउनु प्रमुख दायित्व भइसकेको छ ।

अन्तमा , भारतीय शायरवाज जोश मलिहावादी एक दिन पाकिस्तान गए । फर्केर भारत आए । मानिसहरुले उनलाई सोधे । पाकिस्तान कस्तो छ ? जोश मलिहावादीले जवाफ दिए । बाँकी सबै ठिक छ । तर पाकिस्तानमा मुसलमान धेरै छन । जोश मलिहावादी भारतमा मात्र हैन । नेकपा भित्र जन्मिन सुरु भएको संकेत मिली सकेको छ । सामान्य नौं जना एक ठाँउ बस्न समेत तरकारी किन्न गएको समय खोज्ने , वाथरुम गएको समय पार्ने काइदाले नेपालमा वाम त धेरै छन तर सबै सामान्ती भन्ने सन्देश जनता सामु पुगिसकेको छ । दुनियाभरका पुँजीवादी शक्ती, नेपाल भित्रका दक्षिणपन्थी शक्ती , लोकतान्त्रीक शक्ती र अनेक रुपमा रहेका वामविरोधी शक्तीलाई खुशी बनाउँदै भारतीय शायरवाज जोश मलिहावादी बन्ने प्रधानमन्त्रीको शैली तत्काल नसच्चिए पाकिस्तानमा मुसलमान र नेपालमा वाम धेरै रहे भन्दा किमार्थ फरक हुने छैन ।

3029 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank