‘लिक्युडेसन’को संघारमा बाम आन्दोलन !

फरकमत

सोमवार, असार २३, २०७६



- दीपेन्द्र पाण्डे

सैनिकको तागत बन्दुक हो भने लोकतन्त्रको तागत दुई तिहाई हो । सौभाग्यवस समृद्धिको एकमात्र लक्ष्य लिएको सरकारसँग दुई तिहाईको तागत छ। तर देशमा केही हुँदैछ भन्ने सकारात्मक परिवर्तन लोकतन्त्रले महशुस गर्न पाएको छैन। लोकतन्त्रमा पद प्राप्तिको निम्ति त्याग, वलिदानको सफल नाटक खेल्ने तर पद प्राप्ति पछी ‘भूमिका’ नखोज्ने विगतको रोगसँग वर्तमान पनि फरक हुन चाहेन । वाम नेतृत्वमा मुलुकले तमाम बेथिति, ढिलासुस्ती, भ्रष्टाचार नामेट पार्न दुई तिहाईको प्रयोग गर्नेछ भन्ने जनताले सोच्न छाडिसकेका छन । आफैले बाँडेको सपनाले सिर्जना गरेको विरोधलाई रोक्न सरकार जर्ज ओर्बेल १९८४ को तरिका अन्जानमै सापटी लिँदैछ ।

आजको समय सन १९४९ मा देख्दै प्रकाशित गरिएको पुस्तक जर्ज ओर्बेल १९८४ अमेरिकामा फेरि एकपटक व्यापक मात्रामा पढिदै छ । पुस्तकमा लेखिएका तथ्यबाट तत्कालिन समाज र समय बेखबर रहेको र आज पनि समान अवस्था रहेको छ । हिटलरले निर्माण गरेको इतिहासलाई पल्टाउँदा फेला पर्ने डरलाग्दो शब्द ‘Cleansing’ यहुदी माथी कसरी प्रयोग गरियो ? एउटा जाती वा समुदाय र बस्ती सखाप पार्न प्रयोग भएको शब्द ‘Cleansing’ कती विभत्स थियो भन्ने जर्ज ओर्बेल १९८४ को पाना पानामा पढन पाइन्छ। पुस्तकमा एक विचार प्रहरीको दिमागलाई देखाउँदै भनिएको छ। ओर्बेल यस्तो संस्थाको कल्पना गरिरहेका छन । जुन हरेक नागरिकको मन भित्र जन्म लिइरहेको विचार जान्दै हरेक नागरिक माथी नजर राखिन्छ । कुनै पनि नागरिक पार्टीको खिलाप सोच्न सक्दैनन । लेख्न सक्दैनन । बोल्न सक्दैनन । ठाउँ ठाउँमा माइक्रोफोन लगाइएको छ । टेलीस्क्रीन लगाइएको छ । जसबाट तपाँई माथी निगरानी बढाइएको छ। तपाँईका गतिविधि हेरिएको छ । देखिएको छ । सुनिएको छ । विचार प्रहरी(Thought Police) चाहदैनन कि कुनै पनि नागरिक भित्र कुनै प्रकारको भावना जिवित रहोस। यद्दपी यस्तो भावना अतिरिक्त खुशी नै किन नहोस। भावना माथी पार्टीको नियन्त्रण होस ।

सरकार केही न केही गरेर देखाउनु पर्ने दवाबमा छ । लोकप्रिय बन्ने धुनमा सरकार कसैसँग सल्लाह सुझाव लिन रुची राख्दैन । अझ भनौं, कसैसँग छलफल, सल्लाह गर्नु आफ्नो कमजोरी सम्झन्छ । केवल कुर्सी प्राप्त गर्ने सर्तमा विगतमा स्वीकार गरिएका उपलब्धिहरु प्रधानमन्त्रीको अरुचीका विषय थिए । बाध्यात्मक उपलब्धिलाई फलाउने फुलाउने जाँगर प्रधानमन्त्रीसँग थिएन , छैन । मुलुकको लागी अनुपयुक्त उपलब्धि स्वीकार गर्दा मुलुकको अस्तित्व नै सखाप हुने, नगर्दा आफ्नो कुर्सीको आयु घटने दुविधाको मारमा प्रधानमन्त्रीको दोस्रो कार्यकाल गन्तव्यहिन बन्न पुगेको छ । मुलुक विरोधी कदम चाल्नासाथ सामाजिक सञ्जाल तातीहाल्ने , मुलुकको हितमा कदम चाल्दा विगतको ‘नूनपानी’को दवाब परी हाल्ने दुर्भाग्यपुर्ण अवस्था सामना गर्दैछन । प्रधानमन्त्री निर्णय गर्ने र ‘बहादुरी पुर्वक पछाडी हटने’ अवस्थाबाट गुज्रदै गरेको पछिल्लो घटना यसरी व्यक्त गर्दैछन । ‘राम्रो गर्न खोजेका थियौं तर समय भन्दा अगाडि नै थालिएछ । पूर्वाधार छ कि छैन थाहा भएन । जाँच गर्ने भनेर फाइल ल्याए, झ्याप्पै निर्णय गरेँ । बहादुरी पुर्वक पछाडी हटेँ !’

नेकपा निर्माणको चरणमा अत्यन्त दुख कष्ट भोगेका कार्यकर्ता र नेताहरु पार्टी गतिविधि र नेतृत्वसँग असन्तुष्ट छन । पदमा नभएका , खान नपाएका मात्र हैनन सबै अवसरको उपभोग गरिरहेका कमरेडहरु समेत खुशी रहेको फेला पर्दैन । पार्टी अध्यक्ष एवम प्रधानमन्त्री  व्यंग्य , घोचपेच , गुटबन्दी गर्नमा व्यस्त छन । उनी ‘हतार’मा छन तर ‘हतारो’ छैन । उनी ‘समृद्धिका भोका’ छन तर ‘टन्न अघाएका’ छन । सामान्य अन्तर विरोधमा फुटने कम्युनिष्ट चरित्रलाई तिलाञ्जली दिएका कम्युनिष्टहरुलाई गोलबन्द गर्दै कोठे सहमति मार्फत आवधिक सत्ता प्राप्त गरेका छन । पार्टी एकताको मुल सिद्धान्त ‘लेनदेनवाद’ बनाउँदै ‘सुखसयलवाद’मा डुबेका छन ।

वामहरुसँग २००६ साल देखीको सपनाहरु थुप्रीएको समयमा प्राप्त जनादेशले जनताको आवश्यकताहरुको प्राथमिकिकरण गर्न चुकेको छ । वर्गिय राजनीतिको जगमा उठेको वाम आन्दोलन सफलताको चरणमा प्रवेश गरेको समयमा वाम सरकारले फेला पार्न नसकेको वर्गसँगै सरकार र पार्टी विचित्रको ‘मजधार’मा उभिएको छ । विगतमा गिट्टी कुटनेको निम्ति गरिएको राजनीति गिट्टी बेच्नेको हातमा पुगेको नेकपा भित्र ‘भुँईफुट्टावाद’ , ‘आवारा पुँजीवाद’ र ‘दलाल पुँजीवाद’को नाङ्गो नाच शुरु भएको छ ।

नेकपाका सांसदहरु सरकारको चर्को आलोचना गर्छन । सोभियत सत्ता ढलेसँगै संसदवादी भएका कमरेडहरु संसदीय व्यवस्थाको कुरुपता भित्र रमाउँदै छन । पार्टी भित्र लोकतन्त्र मार्दै संसदीय दलको बैठकमा सांसदहरुलाई लोकतन्त्र सिकाउँछन । ‘काम गर्दा कमजोरी भए आएर भन्नुस्, पार्टी कमिटीमा राख्नुस्’ भन्छन तर पार्टी कमिटी पद्धतिमा नचलेको भुसुक्कै बिर्सन्छ्न । प्रधानमन्त्री गर्ने ठाँउमा बस्दै सस्तो चर्चा गर्न हौसिन्छ्न । प्रतिक्रिया स्वरुप प्राप्त आलोचना पश्चात ‘सरकारको विरोध गर्नु संसदीय मर्यादा विपरीत हो ।’ भन्दै सांसदहरुको हुर्मत लिन्छन । पार्टी पद्धति, विधान, सिद्धान्त नीति जस्ता अत्यावश्यक विषय ‘मुसाको सिङ्ग’ बनाउँदै आफै हिडछन । सभासदहरुले सामान्य सुझाव सामाजिक सञ्जाल र मिडिया मार्फत पोख्नासाथ सरकारको विरोध गर्नु अनुशासन उल्लंघन हुने भन्दै फर्मान जारी गर्छन ।

पढेर डक्टरेट डिग्री हासिल गरेका बाबुराम भट्टाराईको डिग्रीलाई भयागुतोको कथा सुनाउन पर्ने तर नपढीकन ‘डाक्टर उपाधी’ किन थाप्नु पर्ने ? प्रधानमन्त्रीले चिन्तन गर्न बिर्सेका छन । आम जनताको अत्यधिक आशा र भरोसाको जग बसाउँदै ‘मण्डेला ‘ बन्ने अवसर गुमाउँदै ‘लोकतान्त्रीक हिटलर’ बन्न आँतुर प्रधानमन्त्रीको आक्रामकता कडा कानुन निर्माण गर्न हतारिनुसँग सम्बन्धित छ । रोगीको उपचार गर्नु पर्छ भन्ने तर रोगको अनुसन्धान र पहिचान नगरी औषधि चढाउने डाक्टरको प्रयासलाई के भन्ने ? भने झै वर्तमान समयमा प्रधानमन्त्रीको काम गर्ने शैली अनुसन्धान बिना औषधि चढाउने डाक्टरको भन्दा किमार्थ फरक पाइदैन ।

प्रधानमन्त्रीलाई विगत देखी वर्तमान सम्म व्यक्तिगत गुन लगाएकै भरमा अनुपयुक्त पात्रलाई उपयुक्त स्थानमा पुर्याउने उनको कार्यशैली नै समृद्धिको बाधक हो भन्ने बुझेर आँखा चिम्लँदै छन । भाषा , धर्म , परम्परा , संविधान , कानुन , नियमको ठेलीमा पाइने कमा , फुलस्टप , हर्श्व , दीर्घ मात्र हैन सर्वसाधारण मानिसले लगाउने टोपी कसले, कसरी लगाउँछन भन्ने सम्मको ज्ञान भएका प्रधानमन्त्री मुलुक र पार्टी निर्माणमा कसरी  चुक्दै छन ? प्रधानमन्त्रीलाई कुर्सी प्राप्त गर्न कोमल ओली जस्ता मानिस चाहिने तर सारा जवानी पार्टीको निम्ति खर्च गर्ने नेता एवम कार्यकर्ता उनलाई अध्यक्ष बन्न सहयोग नगरेको सजाय भोग्न बाध्य बनाउँदा हर्षित बन्छन । पार्टीमा अपमानित र बेरोजगार हजारौं कार्यकर्ताको वेदनालाई आफ्नो जीत सम्झन्छ्न ।

विकास, समृद्धि र सुशासनको माग गर्ने सर्वसाधारणको ध्यान अन्यत्र मोड्न र आफ्नो ‘पातलो’ कार्यकुशलता , कार्यक्षमता लुकाउन प्रधानमन्त्रीको प्रयास र नियत सही छ तर उनको वरिपरी बस्ने मानिस गलत छन भन्ने प्रचारबाजी रणनीतिक ढंगले गराउँछन । सही मानिसको वरिपरी खराव मानिस कसरी रहन सक्छ्न वा सही मानिसले खराव पात्र र प्रवृतिलाई साथ लिँदै जनताको मन मन्दिरमा कसरी बस्न सक्छ ? सवाल गम्भिर छ। अध्यक्ष ओलीको नेकपामा वैचारिक स्तर कतीसम्म खस्केको छ भन्ने बुझ्न प्रधानमन्त्री अपाङ्ग बालक आदित्यमा ईश्वरिय शक्ति र उनको सल्लाहकार ‘छौंडा खेलाउने’ अन्धविश्वासको साथ लिँदै छन। विज्ञान र द्वन्द्धात्मक भौतिकवादका चेला एवम प्रचारकहरुको दयनीय चिन्तन वाम आन्दोलनलाई विसर्जन गर्न मरिहत्ते गरेको बुझ पचाउँछन ।

छलफल , अन्तरकृया , कमिटी पद्धतिबाट कोसौं टाढा रहेको ‘दुई सदस्यीय नेकपा’ भविष्य प्रती चिन्तित रहेको महशुस हुँदैन । कार्यकर्ता र नेतृत्व बीच अत्यन्त ठूलो खाडल, तमाम नेतामा आत्मकेन्दृत प्रवृति, नेतृत्व केन्द्रीत सिद्धान्त, भेडीगोठ केन्द्रीय कमिटी , अर्थ केन्द्रीत राजनीति, दलाल, विचौलिया, भुँईफुट्टा वर्ग, आयाराम गयारामहरुको घेराबन्दी लगायतले थला परेको नेकपा उकास्ने जाँगर अध्यक्ष एवम प्रधानमन्त्रीसँग छँदै छैन। पार्टी र कमिटी ‘कोमा’मा पुर्याउने , आलोचना गर्न बाध्य बनाउने, आलोचना सुन्नासाथ अनुशासनको बन्दुक तेर्स्याउने ‘खल्लो अभिव्यक्ती’ पछी नेकपालाई साँचो अर्थमा प्रगतिशिल र जनमुखी बनाउनु पर्छ भन्ने नेता कार्यकर्ता सामु चार विकल्प मध्य एक रोज्नु पर्ने अवस्था सिर्जना भएको छ।

वर्तमान बेथिती र अराजकतालाई खुला छुट दिंदै राजनीति छोडिदिने, पार्टीमा विद्रोह गर्दै नयाँ पार्टी निर्माण गर्ने , नितान्त व्यक्तिगत स्वार्थलाई ध्यान दिंदै वर्तमान नेतृत्वसँग आत्मसर्पण गर्ने वा नेतृत्वको गलत रवैया विरुद्ध पार्टी भित्र संघर्ष चर्काउने बाटो तय गर्नु पर्नेछ । २००६ सालमा जनताको मुक्तिको खातिर जन्माइएको बाम आन्दोलन झुप्रो, छाप्रोबाट बालुवाटार पुग्दै गर्दा नेतृत्व  पार्टी र सरकारलाई गति दिन असफल भएको छ । आफ्ना कमजोरीलाई सच्चाउनुको सट्टा अल्पकालिन सत्ता उन्मादमा जर्ज ओर्बेलको  १९८४ बाट ‘Cleansing’ सिक्दै पार्टीभित्रै एउटा वर्ग, समुदाय वा बस्ती मास्न सक्रिय बन्दै छ । कम्युनिष्ट सिद्धान्तसँग गोरु बेचेको साइनो समेत तोड्ने जमातको हालीमुहाली र चुरीफुरी रोक्न हजारौं नेता/कार्यकर्ता असफल भए बाम आन्दोलन ‘लिक्युडेसन’मा जाने निश्चित छ !

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata