संक्रमणमा बाबुराम राजनीति !

आइतवार, बैशाख २९, २०७६



- दीपेन्द्र खड्का

डा. बाबुराम भट्टराईको राजनीतिक जीवनको सुरुवात, उत्थान, संक्रमण र स्खलनका विषयमा यस अघि नै कतिपय राजनीतिक विश्लेषक तथा उनको व्यक्तित्वको विषयमा जानकारहरुले लेखि सकेका छन् । डा. भट्टराईसँग लामो संगत गरेका राजनीतिकर्मीहरुले पनि त्यसका कतिपय पाटाहरु पहिल्याएर सार्वजनिक गरिसकेका छन् ।

उनको राजनीतिक जीवन जसरी शुरु भयो र आजको बिन्दुसम्म आईपुग्यो यो आफैमा अनौठो किसिमको छ । बाल्यकालमा एसएलसीको बोर्ड फस्टका रुपमा पढिएका डा. भट्टराईका विषयमा मेरो बाल मस्तिष्कमा बहुत सकारात्मक छाप थियो । जब विद्यार्थी राजनीतिमा लागियो, उनका विषयमा अलि बढी बुझ्ने मौका मिल्यो । तत्कालिन समयमा अग्रज नेताहरुबाट डा. भट्टराईको आलोचना भएकोमा कता कता मन दुखेको जस्तो महशुस हुन्थ्यो । भलै त्यो सहानुभूति उनको प्राज्ञिक क्षमता र पारिवारिक पृष्ठभूमिबाट प्रभावित थियो । उनको विचारसँग कहिल्यै सहमत नभएपनि उनले अघि सारेका केहि योजनाहरुमा भने असहमत भईएन ।

यति पृष्ठभूमि तयार गरिसकेपछि उनका विषयमा धेरथोर लेख्न सहज अनुभूति भएको छ । वैकल्पिक राजनीति गर्ने उनको सोचसँग आएको नयाँ शक्तिको जन्म,  असफलता र संघीय समाजवादी फोरमसँगको एकताका विषयमा आम मानिसमा केही जिज्ञासाहरु सिर्जना गरेको छ । यो आलेखमा उनको व्यक्तित्व र सैद्धान्तिक वैचारिक स्खलनले सिर्जना गरेका प्रश्नहरुलाई समिक्षात्मक रुपमा लिपिबद्ध गर्ने प्रयास गरिएको छ ।

बाबुराम, जेएनयु र जनयुद्ध:

केहि समय पहिले एकजना राजनीतिशास्त्रका प्रध्यापकसँग कफी गफका क्रममा नेपाली राजनीतिका केही चर्चित पात्रहरुका विषय समिक्षा भएको थियो । डा. बाबुराम भट्टराईका विषयमा समिक्षा गर्दै उनले भनेका थिए, ‘लेस लिडर मोर टेक्नोक्रयाट’ र अव्यवहारिक नेता । उनका विषयमा गरिएको यो समिक्षा सहि नै होला । जवाहरलाल नेहेरु युनिभर्सिटी टपरका रुपमा आम नेपालीहरु माझ चिनिएका उनको व्यक्तित्व तत्कालिन नेकपा माओवादी जनयुद्धमा सबैभन्दा धेरै चर्चित थियो । तत्कालिन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भन्दा उनको व्यक्तित्व धेरै हदसम्म आम नेपाली माझ पुगेको थियो । शुरुका दिनमा जनयुद्धको प्रचार र विकासमा त्यसले धेरै हदसम्म भूमिका खेलेको थियो ।

तर जब भारतीय संस्थापन पक्षले खुफिया एजेन्सी मार्फत ‘बुस्ट फर पब्लिसिटी’ अभियानमा उनि फुरुङग भएर लागे । जब आन्तरिक मामिला भारतीय पक्षलाई एउटा हिस्सेदार बनाएर बहस गर्न थाले, त्यसपछि उनलाई भारतको एउटा पक्षले नेपाल मामिला खटाएको आफ्नो घोषित प्रतिनिधिका रुपमा व्यवहार गर्न थाल्यो । यसले तत्कालिन नेकपा माओवादी भित्र व्यक्तित्व र शक्ती आर्जनका विषयमा कलह सिर्जना भयो । एक किसिमले भन्दा जनयुद्धका प्रमुख विचारक र सार्वजनिक व्यक्तित्व मानिएका डा. भट्टराई र प्रचण्डबीच सिद्धान्तको आवरणमा बाह्य र सांगठनिक शक्ति आर्जनको लडाई बाबुरामको माओवादी आन्दोलनसँगको सम्बन्ध बिच्छेदको अन्तिम घडिसम्म पनि जारी रहेको देखिन्छ ।

बलियो राजनीतिक तथा सांगठनिक जग बनाएका प्रचण्डका अगाडि बाबुरामको व्यक्तित्व त्यति काबिल देखिएन । जेएनयुको पृष्ठभूमि नै बाबुराम राजनीतिको मुख्य आधार थियो । त्यो पृष्ठभूमि हिजो जनयुद्धका रुपमा प्रकट भयो । संविधान जारी भएपछि नयाँ शक्ति र अहिले साम्प्रदायिक राजनीतिका रुपमा बाहिर आएको मान्न सकिन्छ । यसका पछाडि केहि आधारहरु अवश्य नै छन् । माओवादी जनयुद्धलाई फुलाउने, फलाउने र फैलाउने उद्देश्य अनुसार नै बाबुराम मार्फत केहि बाह्य शक्ति केन्द्रहरुले नेपालमा लागु गरे । हिजो जसरी शुरुमा वर्गिय र पछि जातीय राजनीतिमा बाबुरामको भूमिका रह्यो ।

एकाध वर्षहरु बाहेक नेकपा माओवादीले शुरु गरेको जनयुद्धलाई भारतको समर्थन रह्यो । बाबुराम भट्टराईले एसडि मुनी हुँदै खुफिया एजेन्सी सम्म भरपद्रो पहुँच बनाए । त्यसको प्रतिक्रिया नै थियो, रोल्पाको फुन्टिबाङ बैठकमा उनिमाथी गरिएको कारबाही । जनयुद्धका खास आर्किटेक्ट प्रचण्ड र बाबुराम बीचको अन्तरसंघर्ष र बाबुराम माथीको कारबाही भारतीय संस्थापन र माओवादी बीचमा आएको दरारको परिणाम थियो । तर पछि भारतकै प्रत्यक्ष अप्रत्यक्ष संलग्नतामा माओवादी र मधेशी दलहरु मिलाएर उनलाई नेपालको प्रधानमन्त्री बनाईयो । उनि मार्फत भारतले आफ्ना केही दीर्घकालिन सरोकारहरु सम्बोधन गराउन प्रयास पनि गर्यो । अन्ततः पार्टीभित्रको राजनीतिमा कमजोर बाबुराम भारतले चाहे जसरी केहि सन्धि सम्झौता गर्न नसक्ने अवस्थामा पुग्दै उनीहरुकै ‘रोडम्याप’मा  हिड्न राजी भए  ।

२०७२ सालमा जारी भएको नयाँ संविधान नागरिकताका सवालमा भारतकै लाईनमा रहेका उनि आफ्नै आदर्श विचार कम्युनिज्म र माक्र्सवाद त्यागेर नयाँ शक्ति बनाउने स्थानमा पुगे । मधेशी र जनजाती पार्टीका रुपमा विकास भएको पहिले मधेशी जनअधिकार फोरम र हालको संघीय समाजवादी पार्टीमा नयाँ शक्ति बिलय गराउनुले आफ्नै तागतमा राजनीति गर्न नसकिने निष्कर्षमा बाबुराम भट्टराई पुगेको स्पष्ट भएको छ ।

स्खलनमा राजनीति

आधारभुत रुपमै कम्युनिज्म र माक्र्सवाद त्यागेका डा. बाबुराम भट्टराईलाई उनकै कतिपय शुभचिन्तकहरुले काँग्रेस प्रवेश गर्न सुझाव दिएका खबरहरु यसअघि आएका थिए । किनकी काँग्रेसले उनलाई गम्भीर अवस्थामा भोट हालेर गुण यसअघि नै लगाई सकेको छ । भलै काँग्रेसभित्र उनको आगमन नरुचाउनेहरुको सुची धेरै लामो छ । बीपीलाई आफ्नो आदर्श ठान्ने बाबुराम काँग्रेसभित्र अटाउने सम्भावना निकै कम छ । किनकी उनको हिजोको पृष्ठभूमि त्यसको लागि बाधक छ । त्यसैले उनले काँग्रेसलाई राजनीतिको विकल्प बनाउने आँट गरेनन् ।

पञ्चायतकालमा डा. केशरजंग रायमाझीले कम्युनिष्ट पार्टीलाई दरबारमा बुझाए झै कम्युनिष्ट राजनीति नै त्याग गर्ने हो भने भट्टराईका लागि काँग्रेस विकल्प हो भन्नेहरु पनि थिए । कुनै बेलाका खाँटी क्रान्तिकारी कम्युनिष्ट लालध्वजको सैदान्तिक वैचारिक स्खलन रायमाझी पथ नै हो भनेर त भन्न नमिल्ला । तर उनले अंगिकार गरेको राजनीति एकाएक जातीय, क्षेत्रिय र साम्प्रदायिक पथमा भने पक्कै अघि बढेको छ ।

बाबुरामलाई नजिकबाट चिन्ने केहि राजनीतिकर्मीहरुका अनुसार उनमा बौद्धिक संकिर्णताहरु प्रशस्त मात्रामा छन् । उनि आफुलाई सबैभन्दा अब्बल विद्धान मात्र ठान्दैनन्, नेपालमा बीपी कोईरालापछिको सबैभन्दा गतिशिल नेता ठान्छन् । यो उनिभित्र सवार बौद्धिक दिवालियापनको उपज हो । माक्र्सले आफ्नो चर्चित पुस्तक पुँजी लेख्दै गर्दा भनेका थिए, ‘बौद्धिकताले मात्र क्रान्ति गर्दैन । त्यसमा उत्तिकै प्रस्ट राजनीति चाहिन्छ ।’ आज बाबुरामको हकमा यस्तै लागु हुन्छ ।

संविधान जारी गर्ने क्रममा उनले खेलेको भूमिका आफैमा अस्पष्ट र निर्देशत राजनीति ठान्नेहरु पनि थिए त्यतिबेला । करिब तिन दशक सहकार्य गरेका नेकपाका अध्यक्ष प्रचण्डले बेला बेलामा भन्ने गरेका छन्, ‘बाबुरामजीलाई मैले जति कसैले व्यहोरेको छैन । उनको सबै हालत मलाई थाहा छ । अब कसरी गरी खान्छन् भन्ने बडा चिन्ता छ ।’ प्रचण्डले यसो भन्नुका पछाडि बाबुराम भित्र रहेको संक्रिर्णता नै कारक हो ।

अन्तरमुखि स्वभाव, एकलकाँटे बुझाई र कमजोर सांगठनिक क्षमताले नै उनलाई उपेन्द्र यादवको कार्यकर्ता बन्ने अवस्थामा पुर्याएको हो । अहिलेलाई अध्यक्षको उपाधी पाएपनि भविष्यमा उनका अगाडि कार्यकर्ता बन्ने कि अवकाश लिने भन्ने दुई विकल्प अगाडि आउनेमा शंका छैन । उनी जत्तिको राष्ट्रिय व्यक्तित्व जातीय क्षेत्रिय दलमा आवद्ध हुनु त्यही एकलकाँटे बुझाई हो । मुलुकलाई आर्थिक समृद्धिको बाटोमा हिडाउने उद्घोषसहित गठन भएको नयाँ शक्ती चार वर्ष पनि नपुग्दै नामोनिसानको अवस्थामा पुग्नुमा पनि सिद्धान्तहिन र अव्यवहारिक राजनीति नै हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata