बादशाहको हवाई किल्ला र समृद्धिको अवस्था !

फरकमत

शुक्रबार, जेष्ठ २३, २०७७



- दीपेन्द्र पाण्डे

बादशाह अकबरले बीरबललाई हावामा किल्ला बनाउने आदेश दिए । बादशाहले कडा फर्मान जारी गर्दै भने, किल्लाको कुनै पनि भाग जमिनसँग नजोडियोस् । बादशाहको आदेशलाई राम्रोसँग बुझेका मन्त्री बीरबलले तत्काल सहमति जनाएर भने महाराज मलाई ७० करोड रुपैयाँ र पाँच वर्ष समय चाहिन्छ । बादशाहले खचाञ्जीलाई केही करोड पेस्की स्वरूप बीरबललाई दिन भने । बीरबल पेस्की लिएर व्याधा भएको स्थानमा पुगेर भने, सके जति सुगा समाएर लेराउ । बीरबलको आदेश अनुरूप व्याधाले हजारौँ सुगा लिएर आयो । ती सुगालाई मन्त्री बीरबलले आफ्नो पुत्री सुशीला सामु हस्तान्तरण गर्दै भने, यिनीहरूलाई तालिम दिनु । पुत्री सुशीलाले पिताको आदेश अनुसार तमाम सुगालाई केवल केही वाक्य सिकाउँथिन । जस्तै, चूना ल्याऊ । इँटा ल्याऊ । जग हाल । झ्याल बनाऊ। ढोका बनाऊ । बादशाह पटक पटक बीरबलसँग किल्लाको बारेमा सोधीरहन्थे । उनी जवाफ दिन्थे । बन्दै छ महाराज ।

एक दिन अचानक बीरबलले बादशाह अकबरलाई भने, सरकार म हजुरलाई किल्ला बनेको देखाउन चाहन्छु । बादशाह अकबर अत्यन्त खुसी हुँदै किल्ला हेर्न बीरबलसँग मैदान पुगे । जहाँ हजारौँ पिँजडा भित्र सुगाहरू थिए । राजा अकबरले पिँजडा भित्र कैद सुगा देखाउँदै बीरबलसँग सोधे । ‘यो सब के हो बीरबल?’ मन्त्री बीरबलले मुसुक्क हाँस्दै भने । सरकार, यी सुगाहरू किल्ला बनाउने मजदूर हुन । मैले यिनीहरूलाई किल्ला बनाउने तालिम दिँदै आएको छु । राजाले फेरि उत्सुकता देखाउँदै भने, बीरबल यिनीहरूले कसरी किल्ला निर्माण गर्ने छन् ? मन्त्री बीरबलले राजाकै अगाडी पिँजडा खोल्न थाले । हेर्दा हेर्दै हजारौँ सुगा आकाशमा उडन थाले र भने, चूना ल्याऊ । इँटा ल्याऊ । काँटी ल्याऊ । यी सुगा के भनिरहेका छन्, बीरबल ? बादशाह अकबर छक्क पर्दै सोधे । सरकार, अहिले यिनीहरू सबै समान ओसार्दै छन् । जब सम्पूर्ण सामान ओसारी सक्ने छन् । तब किल्लाको जग हाल्ने छन् । मन्त्री बीरबलको कुरा सुनेर राजा जोड जोडसँग हाँस्न थाले ।

वास्तवमा बादशाहहरू किल्ला बनाउन रुचाउँछन् । त्यसको जग कहाँ र कसरी राख्नु पर्छ ? भन्ने उनीहरूको निम्ति अर्थ राख्दैन । अझ रोचक र रमाइलो त त्यति बेला हुन्छ । बादशाहको कुरालाई उनका मन्त्री र भाइ भारदारले काट्न जरुरी देख्दैनन् । मुलुकले त्यस्तो सपना देखी सकेको छ । विश्वभरका बादशाहहरूले आफ्नो औकात र हैसियत भन्दा ठुला ठुला सपनाको किल्लाहरू जनतामाझ छर्दै आइरहेका छन् । त्यसको पछिल्लो उदाहरण मुलुकले भोग्दै छ । मुलुक पछिल्लो समय समृद्धिको किल्ला निर्माण गर्ने अभियानमा छ ।

मुलुकको बादशाहले संयुक्त राष्ट्रसङ्घ मार्फत अघि सारिएका दिगो विकासका लक्ष्यहरू सन् २०३० सम्ममा हासिल गर्न प्रतिबद्ध नै छ । गरिबी, भोकमरी, अस्वस्थता र असमानताको अन्त्य गर्दै सामाजिक-आर्थिक रूपान्तरणको सपना पालिसकेको छ । निर्वाचन पूर्व वाम गठबन्धनले जारी गरेको घोषणापत्रमा भूमिको वैज्ञानिक व्यवस्थापन, आधुनिक कृषि र सम्पन्न किसान कार्यक्रम बादशाह कै देन हुन । आगामी दश वर्ष भित्रमा प्रतिव्यक्ति आय ५ हजार अमेरिकी डलर पुर्‍याइने, आर्थिक वृद्धिदरलाई १० प्रतिशत माथि पुर्‍याउने राष्ट्रिय अर्थतन्त्र निर्माण गरिने छ । कृषि यान्त्रीकरण, सम्पूर्ण कृषि भूमि सुपर जोन, ब्लक र पकेट स्तरका आधुनिक फार्महरूको विकास सपनामा पारिएकै छन् । आगामी पाँच वर्षमा पूर्व -पश्चिम राजमार्गको समानान्तर तीव्र गतिका विद्युतीय रेल, यसै अवधिमा रसुवा गढी-काठमाडौँ-पोखरा, लुम्बिनी विद्युतीय रेलमार्ग निर्माण गरिने छ। आगामी पाँच वर्ष भित्रैमा राजधानीको चक्रपथमा आवश्यक गतिको रेल सञ्चालन गरिने छ । मुख्य सहरमा सम्भाव्यता हेरी मेट्रो, मोनो रेल, ट्राम र अत्याधुनिक सार्वजनिक यातायात सञ्चालन गरिने छ ।

बादशाह अत्यन्त चिन्तित छन् । दिन रात जनताको सेवामा तल्लीन छन् । विडम्बना ! आजसम्म कुनै समस्या फेला परेको छैन । मुलुकमा कोही भोका छैनन् । उपचार नपाएर कोही मरेका छैनन्। कसैलाई पनि रोग र भोकले मर्न दिइने छैन। दुर्भाग्यवश कहीँ कतै एकाध घटना घट्न पुगे अत्यन्त दु:ख मनाइने छ । कोरोना आयातित समस्या भएकोले समाधान पनि आयात मै गरिएको ‘लकडाउन’ भव्य रूपमा सफल भएको छ । ढिकी, जाँतो र भकारी विस्थापित गर्दै मुलुकले चलायमान बनाएको ‘महत अर्थशास्त्र’को कारण एकाध समस्या देखा परे पनि डाक्टर अर्थमन्त्रीको अथक प्रयासबाट जनताको पिर मर्का जानकारीमा लिइने छ ।

जन्मजात बादशाह हुन कि जन निर्वाचित हुन । सुतेर होस कि बिउँझेर होस । सपना देख्ने ल्याकत उनीहरूसँग नै हुने हो । कुर्सीमा बसेका हुन कि कुर्सीमा पुग्ने हुन । सपना बौरिएका हुन कि मुर्छित हुन । जनता सधैँ सुन्न उत्साहित हुँदै आइरहेका छन् । मुलुकको भौगोलिक विभाजन रोक्दै आर्थिक रूपले टाट पल्टाउने सङ्घीयता सहितको कथित उपलब्धि छोप्न रणनीतिक नाकाबन्दी र सपनाको खेती अनिवार्य थियो । ६०१ सांसदबाट आजित जनतालाई झुक्क्याउँदै ८८४ सभासद् , सङ्घ र प्रदेशको जम्बो मन्त्री परिषद् जनताको भावनासँग एकाकार हुन नसकेको कर्मचारी पाल्न घाटा बजेट ल्याउनु परेको सम्पूर्ण दोष कोरोनालाई दिएर उम्कने चाल बादशाहको नजरमा जायज नै छ।

जनादेश अनुसार प्राप्त समयको करिब ४५ प्रतिशत समय गुजार्दा पनि आफ्नै सपनाको १० प्रतिशत पनि काम गर्न नसकेको बादशाहले स्वीकार गर्ने कुरै भएन । आफ्ना हवाई सपनाको निम्ति आवश्यक कर्मचारी, प्राविधिक, बजेट, डिपिआर, समय सीमा, कमान्डरहरूको छनौट गर्न समेत नसकेको बादशाहको कार्यकाल जनताको निम्ति ‘हर्ष न विस्मात’ बन्दै छ । जनताको समस्या , सपना र आवश्यकता के छ ? मुलुकको प्रगतिको निम्ति कहाँबाट सुरुवात गर्ने ? कुन कुन प्रोजेक्टले मुलुकको कायाकल्प हुन सक्छ ? कस्तो शिक्षा, कति प्राविधिक, कस्तो जनशक्ति, कस्तो राजनीतिक टिम र आर्थिक स्रोतको प्रबन्ध कसरी गर्ने ? कहिकतै छलफल, अन्तर्क्रिया गर्न जरुरत नै परेन । छिमेकी मुलुक भारत र चीनको स्वार्थलाई मध्यनजर गर्दै सम्पूर्ण राष्ट्रसेवक कर्मचारीको साथ र सहयोग लिँदै काम गर्नु अपमान सम्झिएको छ । समृद्धि प्राप्तिको पहिलो र अत्यन्त महत्त्वपूर्ण काम पुँजीगत खर्च बादशाहको नजरमा झुटो साबित भएको छ । मुलुकमा राष्ट्रिय गौरवको आयोजना चलेका छन् । त्यसलाई तोकिएको समयमा सम्पन्न गर्नु अन्याय हुने ठान्दै छ । मुलुकको दीर्घकालीन विकास गर्न आफ्नै पार्टी, संसदीय दल, स्थायी समिति, केन्द्रीय कमिटीलाई परिचालन गर्नु त पाप नै ठानिएको छ ।

षडयन्त्र, छलकपट, अयोग्य र अनुपयुक्त पात्रको प्रयोग गर्दै शक्ति प्राप्त गर्ने वा प्राप्त शक्तिलाई निरन्तरता दिने बादशाह सोच थप अनिष्ट निम्त्याउन मरीहत्ते गर्दै छ । राष्ट्रवाद जस्तो गम्भीर र संवेदनशील विषयलाई भद्दा राजनीतिकरण गर्ने सोच र शैलीले सहयोगीहरूको समेत मन कुँडिएको छ । मुलुक र मुलुकवासीको भविष्यसँग गाँसिएको विषयमा आफ्नै पार्टीसँग छलफल नगर्ने, बौद्धिक वर्गलाई साथ लिँदै कूटनीति मार्फत अगाडी बढ्नुको सट्टा सस्तो प्रचारबाजीमा उत्रने कामले बादशाहको महान् काममा जटिलता थपिएको छ । राजनीति गर्ने मानिसलाई लोकप्रियताको भोक जाग्नु आफैमा स्वाभाविक भए पनि मुलुकको अस्तित्वसँग गाँसिएको विषयमा बादशाहले सम्पूर्ण मुलुकको अभिभावक र नेता बन्दै संयमता र कठोरताको मिसाल कायम राख्न चुक्दै छ ।

सर्वसाधारण जनताको घाँटी निमोठ्ने ‘कर प्रणाली’ मार्फत बादशाह कल्पनाको संसार सजाउने धूनमा सवार छ । योजनै योजनाको बिच ‘योजनाविहिन’ बजेट मार्फत हवाई सपना पुरा गर्न हतारिएको बादशाह अनियन्त्रित चालु खर्चको दल दलमा भासिएको छ । बेलगाम बोल्ने , आफ्नै प्रतिबद्धताको अवहेलना गर्ने, प्रतिकूल अवस्थाको जोखिम नदेख्ने, वास्तविकतालाई स्वीकार नगर्ने, नागरिकको समस्या समाधान गर्न अनिच्छुक बन्ने, स्रोत साधनको परिचालन र विश्लेषण गर्न चुकेको कारण बादशाहको शासनले रफ्तारमा जनविश्वास गुमाउँदै छ ।

बादशाहको हवाई सपनाको सहयोगी बनेर कोरोना -१९ झुल्किएको छ । अनुमानित २ दशमलव ३ प्रतिशतको आर्थिक वृद्धिदर ॠणात्मक बन्ने खतरा बढ्दै जाँदा आगामी दिन झनै कष्टकर बन्ने छ । कोरोना युद्धमा ज्यान बचाउँदै देश विदेशबाट थपिदैं गरेका लाखौँ बेरोजगारको रोजीरोटी र स्वास्थ्य पशुपति नाथको आशीर्वादमा अडेको छ । बादशाहको हवाई सपना पुरा गर्न मन्त्री बीरबलकै शैलीमा तालिम दिइएका सुगाहरू थप ३३ महिना पिँजडामा बस्दै नयाँ नारा सिक्ने छन् । निर्वाचन कै मुखमा पिँजडाबाट निस्कने बादशाहका सुगाहरूले समृद्धिको जग हालिएको, रफ्तारमा काम चल्दै गरेको करिब अन्तिम अवस्थामा पुगेको भन्दै तमाम असफलता कोभिड -१९ को थाप्लोमा हाल्ने छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments