म मुख्यमन्त्री बन्ने सात कारणः अष्टलक्ष्मी शाक्य

बुधबार, माघ १७, २०७४



- अष्टलक्ष्मी शाक्य

कारण १.
प्रदेशहरू बलिया भएभने मात्रै सिंगो देश बलियो हुन्छ । विकास र समृद्धिको बाटोमा देशलाई छिट्टै अगाडि बढाउन सक्छौँ । त्यही कारण उपाध्यक्ष हुँदाहुँदै पनि म प्रदेशमा झरेको हुँ । प्रदेश कमिटीको सचिवालयले प्रदेशको विकासका लागि मलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ । प्रदेश सचिवालयको निर्णयलाई आत्मसाथ गरेर अगाडि बढेको छु ।

कारण २.
म संयोजक भएर काम गरेपछि तीन तहको निर्वाचन भयो । स्थानीय तहमा सवैभन्दा राम्रो ५२ प्रतिशत जितेका छौँ । प्रदेश र प्रतिनिधि सभामा पनि राम्रो नतिजा ल्याउन सफल भएका छौँ । जनमतबाट हामी बलियो भएका छौँ । जनताको अपेक्षा अनुरुप काम गर्न मेरो आवश्यकता छ ।

कारण ३.
यो प्रदेश राजधानीमै पर्छ । यो अत्यन्त महत्वपूर्ण र संवेदनशील प्रदेश पनि हो । यस प्रदेशमा १३ वटा जिल्ला छन् । लोकतन्त्रलाई सुदृढ बनाउन, सुशासन दिन, केन्द्रीय सरकारलाई व्यवस्थित र बलियो बनाउन, प्रदेशलाई समृद्धि र विकासको बाटोमा आत्मनिर्भर बनाएर अगाडि बढाउन म प्रदेशमा आएको हुँ ।

कारण ४.
अहिले समावेशीको कुरा पनि चलिरहेको छ । अहिले कुनै पनि प्रदेशमा पार्टीको महिला संयोजक छैन । यही प्रदेशमा महिला प्रमुख छ, उपाध्यक्षको हिवासले । समग्र महिलाको प्रतिनिधित्वको लागि पनि मेरो आवश्यकता छ ।

कारण ५.
जीवनको सम्पूर्ण समय राजनीतिमा विताएको छु । दुःख गरेको छु, संघर्ष गरेको छु । आन्दोलनका साथै प्रतिनिधि सभा र राष्ट्रिय सभामा सांसद भएर पनि अनुभव लिएको छु । सरकारमा बसेर पनि अनुभव लिएको छ । सवै हिसावले लिएको अनुभवका आधारमा प्रदेशलाई व्यवस्थित बनाउन सक्छु ।

कारण ६.
म काठमाडौँमा जन्मेको हुँ । यस प्रदेशमा नेवार र तामाङको बाहुल्यता छ । जातीय, भेगीय हिसावले पनि मिलाउनुपर्छ । त्यसकारणले पनि म मुल्यमन्त्रीका लागि उपयुक्त उम्मेदवार हुँ । यसले पार्टीको छविलाई पनि माथि उठाउँछ ।

कारण ७.
प्रदेश नौलो अनुभव हो । हामीसँग केन्द्रीय सरकार चलाएको अनुभव छ । तर प्रदेश संचालनमा कसैको पनि अनुभव छैन । त्यसकारण पनि हामी गम्भीर बन्नुपर्छ । कसलाई मुख्यमन्त्री बनाउने, कामलाई कसरी अगाडि बढाउने भन्ने विषयमा गम्भीर रुपमा छलफलको विषय बनाउनुपर्छ । संघीयता लागु भएको देशहरू अनुभव पनि लिनुपर्छ । प्रदेशलाई कसरी राम्रो बनाउने, व्यवस्थित बनाउने र संघीयतालाई बलियो बनाउने भन्ने कुरा नेतृत्वसँग पनि राखेको छु । मेरो सवालमा दुई मत छैन । जनताले एमाले बलियो होस्, एमाले र माओवादी मिलेर बलियो कम्युनिष्ट पार्टी बनोस भन्ने चाहेका छन् । हामीले जितेका छौँ । विभाजित नबनौँ भन्ने हो । लोकतन्त्रको एउटा विधि भनेको सर्वसम्मत पनि हो । सर्वसम्मत बनाउँदा सवैभन्दा राम्रो तर आकांक्षा धेरैको छ । सर्वसम्मत हुन सकेन भने लोकतन्त्रको अर्को विधि निर्वाचनमा जानुपर्ने हुन्छ । त्यसको लागि म तयार छु । सुविधाजनक ढंगले जित्छुभन्ने विश्वास छ ।

4315 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank