नवप्रवेशीलाई टिकट, मतदाताले सिकाउलान सबक ?

सन्दर्भ चुनावः २०७४

बुधबार, कार्तिक २२, २०७४

loading...


चुनाव दल र तिनका नेताहरुको मात्रै अग्नी परीक्षा होईन, जनताको पनि विवेकको परीक्षा पनि हो । के मतदाताले आफ्नो अमूल्य मतदानबाट टिकटकै लागि रातारात नयाँ पार्टी प्रवेश गर्नेहरुलाई हैसियत देखाईदिने आँट गर्लान त ? किन भने त्यस्ता अवसरवादी अनुहार, पात्र र प्रवृत्तिलाई दलका नेताहरुले नै ठेगान नलगाएपछि ठेगान लगाईदिने पालो मतदाताको हो । के मतदाताले विवेकपूर्वक त्यस्ता प्रवृति विरुद्ध मतदानबाटै धाबा बोल्न सक्लान त ? हो, चुनावको पूर्वसन्धयामा मतदातामैत्री बनेर घर आँगनमा पुगिरहेका नेताहरुलाई चिन्ने र चुन्ने दायित्व अब मतदाताको छ ।

मंसिर १० र २१ का लागि तय भएको चुनाव निर्धारित मितिमा नै हुने पक्कापक्की हुदै गर्दा दल अदलबदल गरेर टिकट पक्का गर्नेहरुको रोचक श्रृखला चलेको छ । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्यका लागि कैलालीका उम्मेदवार टुंगो लगाउदा एमालेका निवर्तमान साँसदलाई सापटीमा लियो । अस्तिका दिनसम्म एमालेका सूर्य ध्वजावाहक रहेका मोहनसिंह राठौर अब काँग्रेसको चारतारे ध्वजावाहक बनेर चुनावी समरमा होमिएका छन ।

कैलालीको क्षेत्र नम्बर२ बाट मोहन सिंह राठौरले टिकट पाउन मंगलबार मात्र एमाले छाडेर कांग्रेस प्रवेश गरेका थिए । स्थानीय काँग्रेसका आकाँक्षीहरुलाई जिल्याउदै नवप्रवेशी राठौर टिकटकै लागि मातृ पार्टी एमालेलाई लात मार्दै रातारात काँग्रेसको टिकट पाउने योग्य साबित भए । उनका साथमा एमालेकी अर्की पूर्व सांसद रविना चौधरी औपचारिक रुपमा नेपाली कांग्रेसमा प्रवेश गरीन ।

स्थानीय तहमा संघीय समाजवादी फोरम नेपालको तर्फबाट पोखरीया नगरपालिकाको मेयर पदका उम्मेदवार तथा पूर्व सभासद प्रद्युमन चौहान नेकपा एमाले फर्किएर फेरि प्रदेशतर्फ सूर्यध्वजावाहक उम्मेद्धवार बनेका छन । चौहान गत वैशाख ८ गते मात्रै एमाले परित्याग गरी फोरम नेपालका तर्फबाट पोखरिया नगरपालिकाको मेयरमा उठेर पराजित भएका थिए ।

अचम्मलाग्दो कुरा त प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिपरिषद्मा माओवादी केन्द्रको सिफारिशमा उर्जा राज्यमन्त्रीमा बहालै रहेका शम्भुलाल श्रेष्ठ मंगलबार कांग्रेस प्रवेश गरेटिकटकै लागि । जुन पार्टीले मन्त्री बनायो, त्यही पार्टीलाई लात मारेर बिना बिभागिय भएर पनि सत्तामा नै रहने अनि पार्टी नै परित्याग गर्ने अचम्मको टिकट राजनीतिमा राज्यमन्त्री श्रेष्ठले नयाँ कीर्तिमान कायम राखेका छन । २०७० को संविधान सभा निर्वाचनमा सर्लाहीबाट प्रत्यक्ष निर्वाचित श्रेष्ठले माओवादीबाट राज्यमन्त्री भएपछि सत्तामा नै रहेर टिकट कै लागि पुरानै पार्टीमा आफूलाई फर्काएका हुन । २०५५ सालमा नेपाली कांग्रेसको सर्लाही जिल्ला सचिव रहेका उनी संविधान सभाको निर्वाचनमा कांग्रेसले टिकट नदिएपछि माओवादी प्रवेश गरेर निर्वाचित भएका थिए ।

पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता सुरेशचन्द्र दाससहित नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी (राजपा), संघीय समाजवादी फोरम र चुरेभावर राष्ट्रिय पार्टीका नेताहरु मंगलबार माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनीहरु माउ पार्टीले चु्नावमा टिकट नदिने भएपछि माओवादी अध्यक्ष प्रचण्डको स्वागतमा नयाँ कमरेड बनेका हुन ।  केही साता अघि उपप्रधानमन्त्री समेत रहेका विजय कुमार गच्छेदारले आफू नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम सिंगै दल सत्तारुढ नेपाली काँग्रेसमा विलय गराए । पूर्व एमाले नेता जितेन्द्र देव लगायतको फोरम दलका नेताहरु चुनावी टिकट पक्का र जितको अभिलासा सहित काँग्रेसमा समाहित भएका थिए ।

यी र यस्ता केही प्रतिनिधि प्रसंग अवसरवादीहरुका लागि चुनाव दशैं र निष्ठावान पार्टी नेताहरुका लागि चुनाव दशा बन्दै उदाहरण मात्रै हुन । जो जहाँ छन, चुनावका मुखमा जो शक्तिशाली छ र माउ पार्टीमा असंतुष्ट छ, उसले अर्को दलमा गएर टिकट लिने र फेरि चुनाव जित्ने गजबको टिकट राजनीति अहिले फस्टाईरहेको छ ।  तर यसले सत्ताकेन्द्रीत नेताहरुको दल बदल संस्कृतिलाई स्वागत गर्न ठूला भनिएका दलहरुका शीर्ष नेता नै प्रतिष्पर्धा गरिरहेका छन । प्रचण्डका राज्यमन्त्री श्रेष्ठ वा एमालेका साँसद राठौरलाई भित्रयाउन पाउदा पार्टी सभापति समेत रहेका प्रधानमन्त्री देउवा दंग । पार्टी संगठन कमजोर भएका कारण अरु पार्टीका असंतुष्टलाई चोरेर टिकट दिने मामलामा त माओवादी अध्यक्ष प्रचण्डले स्थानीय चुनावदेखि नै नयाँ रेर्कड बनाउदै आएका छन । अन्य पार्टीका असंतुष्टलाई स्वागत गर्न मधेशवादी तथा एमाले दल पनि कम छैन्न, मात्रा मात्रै धेर थोर हो ।

आवरणमा लोकतन्त्रवादी वा वामपन्थी जे शव्द उपमा दिए पनि दलहरु अरु पार्टीका असंतुष्टहरुलाई चोरेर साँसद बनाउने अलोकतान्त्रिक अभ्यासमा नै तछाड मछाँड गरिरहेका छन । पहिलो संविधान सभामा एमालेका साँसद रहेका उद्योगपति विनोद चौधरी रातारात काँग्रेसबाट समानुपातिकमा साँसदका उम्मेद्धवार बने ।देशका सबैभन्दा धनढ्य कहलिए पनि धेरै कर तिर्नेमा सूचिकृत नभएका उद्योगपति चौधरीले आफू काँग्रेसमा प्रवेश गरेर सम्वृद्धि चौधरी ग्रुप वा काँग्रेसको कसको गर्ने हुन भन्ने त उनको एमालेकालिन सभाषद कालले नै देखाएको छ । तै पनि दलहरु चौधरीहरुलाई नै टिकट दिन हारालुछ गरिरहेका छन ।

काम गर्ने कालु मकै खाने भालु शैलीमा रातारात पार्टी प्रवेश गर्नेहरुलाई टिकट वितरण गरेर दलहरुले दुख र संकटका बेला पार्टीमा रगत पसिना बगाएका ईमान्दार नेता कार्यकत्र्तामाथि अन्याय गरेका छन । नाम लोकतन्त्रको र काम, व्यवहार र शैली स्वार्थको गर्ने दलीय संस्कृतिले पार्टीका ईमान्दार तप्कालाई चुनाव केवल चोरलाई चौतारो र साधुलाई सुली भने जस्तो राजनीतिक ठट्टा साबित गरिरहेको छ । यसरी पार्टीमा निरन्तर लागेकाहरुलाई उपेक्षा गरेर नवप्रवेशीहरुलाई चुनाव जित्नैका लागि टिकट दिने दलहरुका शैली उनीहरुको जसरी पनि चुनाव जित्ने अलोकतान्त्रिक अभ्यास नै हो । यसले एकातिर पार्टीपंक्तिलाई थप रुष्ट मात्रै पार्ने छैन, अन्तरघातको राजनीतिलाई भित्रभित्रै बल दिनेछ भने असली पार्टी प्रतिनिधि भन्दा अवसरवादीहरुले आगामी प्रदेश र केन्द्र संसदमा हालीमुहाली गर्ने संभावना बढाएको छ ।

475 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Nic Asia
dashain suvakamana
Janamat health right side janta bank saral flyer Below blog adv