भारुण्ड चराको कथा, वाम-एकताको व्यथा !

फरकमत

बुधबार, फाल्गुन २, २०७४



- दीपेन्द्र पाण्डे

गत असोज १७ गते प्रधानमन्त्री शेरबहादुर देउवाको भान्सामा पाकेको भात मुछ्दै जुठो हातले ओली निवास पुगेका कमरेड प्रचण्डको कदमले वाम रुझान राख्ने आम कार्यकर्ता र सर्बसाधारण जनतामा नयाँ उत्साह र उर्जा थप्न सफल भयो । नेपाली राजनीतिमा हुँदै आइरहेको बेथिती, बिकृती र अपराधीकरणबाट मुक्ती पाउँन छ्टपटाई रहेको जनताहरु अकस्मात बन्न पुगेको वामगठबन्धन पश्चात स्थिरता, शान्ती र समृद्धी आउने सपना देख्न पुगे । संधै फुटन मात्र जानेका नेपाली कम्युनिष्टहरु अकस्मात जुटन तम्सिँदा आम जनमानस र वामपन्थी कार्यकर्ता अत्यन्त हौसिँदै शंकाको लाभ दिन राजी भए । पद र कुर्सीविना बाँच्न नसक्ने वामनेताका गुण वा चरित्रलाई राम्रोसँग नबुझेको नेपाली समाजले वर्तमानमा लम्बिदै गरेको वाम एकता अकस्मात धरापमा पार्ने सुष्मा भ्रमण पछी छोडिएको फडको मिसाइल बुझ्न भारुण्ड चराको नीति कथा सही र सटिक देखिदैछ ।

पेट एउटै भएको पूर्व र पश्चिम फर्किएको दुईटाउके भारुण्ड चराको टाउकाहरु बीच एउटा भद्र सहमति थियो । एक दिन चर्ने क्रममा पूर्व फर्केको टाउकोले मिठो खाने कुरा पायो । अकस्मात जागेको लोभले पूर्व सहमती बिर्सदै भेटेको आरा एकल्यै खाइदियो । अचानक पेटमा भएको हलचलले पश्चिम फर्केको टाउको सहमती उलङ्घन भएको बुझ्न बाध्य भयो । तत्पश्चात उचित समयमा बदला लिने अठोटलाई कार्यान्वयन गर्दै केही समय पछी बिष सेवन गर्न पुग्यो । फलस्बरुप दुबै टाउकोले अकालमै ज्यान गुमाउँन पुग्यो । माथीको नीति कथा पछिल्लो समय कमरेड प्रचण्डले प्रयोग गर्ने हुँन कि भन्ने सम्भावना किन र कसरी सिर्जना भयो ? बुझ्न बिगतको भद्र सहमति, कमरेड ओलीमा बढेको दम्भ, दोश्रो घेराको कुटिल खेल र फड्कोले टार्न सक्ने खड्को को बारेमा अध्ययन गर्नु मनासिब र जरुरी मानिदैछ ।

के थियो सहमती ?

ओली सरकारको कार्यकाल छ महिना पुग्दै गर्दा आएको संकट टार्ने कमरेड बामदेव गौतमको भद्र सहमतीलाई अलपत्र बनाउँने ओली नीतिको कारण देउवा भान्सा पुगेका कमरेड प्रचण्डलाई फिर्ता ल्याउँने उपाय स्वरुप निर्माण गरिएको वामगठबन्धनको प्रमुख आधार लेनदेन बादमा आधारित थियो भनी रहनु परेन । स्थानीय तह निर्वाचन संगै खुलेको एमाले र माके शक्तीको कारण मौसमी अडान राख्ने कमरेड ओली र मौसमनै बदल्ने कमरेड प्रचण्ड बीचको सहकार्य रहर नभै बाध्यता थियो पनि भनी रहनु परेन । निर्वाचन पूर्व मिलेर जाने र निर्बाचन पछी मिलेरै खाने नीतिमा उत्पन्न गराइएको बाहिरी प्रभावले सिर्जित आन्तरिक दम्भलाई ठेगान लगाउने कमरेड प्रचण्डको ‘फडको मिसाइल’ पछि बढेको कमरेड ओलीको सक्रियताले पुष्टी गर्दैछ ।

किन बढ्दैछ ओली दम्भ ?

कमरेड ओलीको बाल्यकाल गरीविमा बित्यो । जवानी जेलमा । फलस्वरुप उनी पार्टी निर्माणको काममा प्रत्यक्ष संग्लग्न हुँनबाट बञ्चित रहे । पञ्चायती प्रशासनको कठोर यातना र संगठन निर्माणमा संग्लग्न हुँन नपाएको सारा पिरले उनी भित्र निराशा र कुण्ठाले घर गर्न पुग्यो । जसको कारण उनको राजनैतिक फिलोसफी निर्माण नभै कब्जा बन्न पुग्यो । १४ वर्षे उराठ लाग्दो जेल जीवन पार गर्दै २०४४ सालमा माले केन्द्रिय सदस्य मनोनित हुँन पुगेका कमरेड ओली झापा आन्दोलन देखी पञ्चायत फाल्दा सम्म क्रान्तीकारी बनिरहे । मनमोहन सरकारमा गृहमन्त्री बनेसंगै सुधारबादी बनेका कमरेड ओली जसरी भएपनि पार्टी अध्यक्ष बन्ने एक सूत्रीय लक्ष पुरा गर्न गुटबादी बन्न पुगे । तात्कालिन माओवादी ध्वसं र ज्यादतिको डटेर बिरोध गर्दा मिलेको सफलता संगै दम्भवादी बन्न पुगे । भारतीय सत्ताको असल मित्र बन्न गरिएको तमाम पहलको बाबजुद प्रधानमन्त्री बन्न हालिएको बिघ्न बाधा पश्चात खुँखार राष्ट्रवादी बनी दिए । सुधारबाद , गुटवाद र राष्ट्रवादको पुँजीले मिलेको संसदीय अंकगणितनै कमरेड ओलीको दम्भ बढाउँने कारण बन्दा दातावादको अभ्यास गर्न कस्सिएका छन् ।

कस्ले बढाउँदैछ ओली प्रचण्ड दुरी ?

मदन भण्डारीको अकस्मात भएको मृत्यु पछि एमाले पार्टी भित्र अनेक गुट उपगुटले जन्म लिएको कुरा लुकाएर लुक्ने अवस्था रहेन । गत महाधिबेशन सकिए लगत्तै सुरु भएको आगामी महाधिवेशन लक्षित ब्यक्ती पिच्छे बन्दै गरेको उपगुटले एमाले पार्टी गुट उपगुटको महासंघ बन्ने तरखरमा रहेको कुरा कार्यकर्तालाई जति अप्रिय लागे पनि स्वीकार गर्नै पर्ने अवस्था सिर्जना भइसकेको छ । कमरेड ओली र प्रचण्डबचि पदीय ब्यवस्थापन हुँना साथ आफ्नो राजनैतिक भविष्य अनिश्चित हुँने सम्भाबनाको कारण कमरेड ओलीको दोश्रो घेरा प्रचण्डको हैसियत घटाउन अनेक बहाना बाजी र मिडिया बाजीमा उत्रिसकेको सबै जानाकार छन् । निकट भबिष्यमा पार्टी अध्यक्ष र महासचिव बन्ने चाहना मनमा पालेर ओली प्रचण्डबीच दुरी बढाउँन लागी परेका कमरेडहरू इश्वर पोखरेल, सुभास नेम्बाङ, भिम रावल (ब्यक्तिगत रुपमा माधवको तर पदिय स्वार्थमा ओली गुट), विष्णु पौडेल, शंकर पोखरेल, प्रदिप ज्ञवालीहरूको स्वार्थले जन्माएको गडबडी केरुङ देखी सोल्टी सम्म पुगेको सबै जानाकार छन । कमरेड ओली र प्रचण्डको पदीय व्यवस्थापन मात्रले पार्टी एकता सम्भव नरहेको दह्रो प्रमाण बुझ्न वर्तमानमा कमरेड ओलीबाट पेलिएका कमरेडहरू माधब नेपाल, झलनाथ खनाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, घनश्याम भुसाल, अपबादमा वामदेव कमरेड समेत प्रचण्ड कित्तामा खुलेर लाग्ने हुँदा भविष्यमा पेलिने पालो सपनावादीहरु हुँन जाने प्रष्ट देखिदा ओली कमरेडको दोश्रो घेरा पार्टी एकताको निम्ति बाधक बनी रहेको मानिदैछ ।

फड्कोले टार्छ त खडको ?

साठी चालिसको समिकरणलाई सत्तरी तीसमा बदल्न सफल कमरेड ओली सकेसम्म बाम एकतालाई पर धकेल्दै प्रधानमन्त्री र पार्टी अध्यक्ष बनिरहन चाहेको चतुर प्रचण्डले नबुझ्ने कुरै थिएन । निर्वाचन पूर्व गरिएको सहमतीलाई निर्वाचनमा प्राप्त नतिजाको आधारमा आफू अनुकुल ब्याख्या गर्दै भरिएको ओली उडानहरु कमरेड प्रचण्डलाई रक्षात्मक बनाउँने चाल अन्तर्गत थिए । केरुङ बैठक, उपेन्द्र भेटघाट मात्रमा सिमित नराख्दै सोल्टी होटलमा वान टु वान बार्ता पछि उम्लेको गुटगत गतीविधी मुख्य मन्त्री चयनमा पोखीएको बुझ्दै गर्दा कमरेड ओलीको एकछत्र उडानलाई रोक्ने उचित साइत कुर्दै थिए । चिनिया राष्ट्रपती सी जिन पिङ को आक्रामक ब्यापार नीति र भारतीय मोदीको असफल नेपाल नीतिको चपेटामा कमरेड ओलीबाट सम्पन्न पारबहन सन्धीको राष्ट्रवादी बाढीमा खडा भएको ओली उचाई सम्पुर्ण देश र पार्टीको सम्पती हुनु पर्नेमा बिरोधी मास्ने अस्त्र बनाइएको महशुस ओली पीडितले मात्र हैन खुद कमरेड प्रचण्डले समेत गर्दै थिए । फलस्वरुप एमाले भित्रको सुबिधा जनक अंकगणित, मधेशी दल र भारतिय आशिर्बाद पछी निर्माण हुँन पुगेको कमरेड ओलीको ‘बडी ल्यांगवेज’ले देखाएको ‘दम्भ’लाई रोक्ने ‘फडको’ मिसाइल छोडन बाध्य भए । कमरेड प्रचण्ड लाई चक्मा दिंदै बनाउँन सकिने प्रो इण्डियन सरकारको असली शक्ती , प्रभाव र आयुको बारेमा खुद कमरेड ओली र उनको दोश्रो घेराले गरेको सुक्ष्म विश्लेषणले ‘फडको मिसाइल’ लाई उचित सम्मान दिन राजी हुँदा वान टु वान बार्ताको आंसिक सफलता मिडियाको सम्पत्ति बनिसकेको छ ।

अन्तमा, बाँडीचुँडी खाँने पूर्व सहमतिलाई अक्षरस पालना गर्दै दुवै पार्टीका नेताहरुको ब्यवस्थापन गर्दै अगाडी बढे तत्कालको निम्ती दुवै पार्टीको भलाई हुनेछ । पार्टी एकताको काम फत्ते गर्दै जनतालाई दिने सन्देशले सकारात्मक प्रभाव पार्नेछ । सार्वभौम सत्ता सानो वा ठुलो नहुने सिद्धान्तमा अडिग हुँदै दुवै छिमेकी मुलुकको स्वार्थलाई देशवाशीको स्वार्थ संग फ्युजन गर्न सके कमरेड ओली र प्रचण्ड दुबैको कल्याण हुनेछ । मोदी सत्ता र कमरेड ओलीको स्वार्थलाई वर्तमान जनादेशले एक ठाँउमा उभिन बाध्य पार्दा काठमाण्डौंमा बढदै गरेको चिनिया प्रभाव रोक्ने र वाम एकतामा बिघ्न बाधा पुर्याउने सुष्मा आगमनलाई फलाउँन फुलाउँन लालायित हुँदै कमरेड प्रचण्डसंग दुरी बढाए भारतीय सत्ताको पुरापुर सेवा हुँन जानेछ । दुनियाभरका पुँजीवादी शक्ती, नेपाल भित्रका दक्षिणपन्थी शक्ती , लोकतान्त्रीक शक्ती र अनेक रुपमा रहेका वामविरोधी शक्तीलाई खुशी बनाउँदै कमरेड ओली अगाडी बढे बाँडीचुँडी खाने सिद्धान्तमा बनेको भारुण्ड चराको पश्चिम टाउकोले खाएको बिष कमरेड प्रचण्डले खान बाध्य हुनेछ्न् । त्यस्तो अवस्था सिर्जना हुँन पुगे कमरेड ओली, उनको दोश्रो घेरा, एमाले भित्रकै प्रतिपक्षी गुटका नेताहरु र नेपाली वामपन्थी आन्दोलन बिघटनको संघारमा पुग्ने छ । तत्पश्चात भविष्यमा नेपाली वामपन्थी आन्दोलनको बारेमा अनुसन्धान गर्नेहरुले भारुण्ड चराको कथा वाम एकताको व्यथा सजिलै बुझ्नेछन ।

7163 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank