प्रधानमन्त्री देउवाको अन्तिम प्रयोग !

फरकमत

मङ्लबार, पुस ११, २०७४

loading...


- दीपेन्द्र पाण्डे

स्थानिय तह निर्वाचनकै बीच पूर्व सहमती अनुरुप प्रचण्डलाई बाध्यात्मक बिदा दिंदै चौथो पटक प्रधानमन्त्री बन्न सफल देउवा पूर्वराजा ज्ञानेन्द्र द्वारा भिराइएको असक्षमको भारी बोकेर हिँड्दा हिँड्दा थकित भैसकेका थिए । आफै द्वारा घोषणा गरिएको निर्वाचन गराउन नसकेको बहानामा प्रधानमन्त्री पदबाट गलहत्याइएको पीडा मनभरी पालेर संबिधान कार्यान्वयनको निम्ती अनिवार्य मानिएको निर्वाचन गराउँने जिम्मेवारी साथ सिंहदरबार प्रबेश गरेको पछिल्लो कार्यकालको महत्व राम्रै संग बुझ्दथे । बर्षौं सम्म वाम लोकतान्त्रीक गठबन्धन बनाएर एमाले बिरुद्ध घेराबन्दी गर्ने मनसुवा साथ प्रचण्ड संग कसेको प्रेम गाँठोले ढुक्क शेर बहादुर दशैंको बिचमा रन भुल्लमा पर्न पुगे । देउवा संग गरिएको सम्पुर्ण वाचा कसम तोड्दै वाम गठबन्धनको नाममा ओली संग लगनगाँठो गाँस्ने घोषणा गर्दै फुत्किएको प्रचण्ड गतीबिधी पछि देउवाको थाप्लोमा अर्को असक्षमको पदवी पनि थपिने बजार हल्लाले राम्रो स्थान बनाउँन सफल भयो ।

अकस्मात आईलागेको वामगठबन्धनको तिरले घाइते शेर बहादुरले वाम गठबन्धनको मुकाबिला कसरी गर्ने ? सोच्नै सकेनन । फलस्वरुप वाम गठबन्धनले जिते रुनपनि नपाइने, अधिनायकबाद लाद्ने, कम्युनिस्टहरूलाई बहमुत दिए फेरि नेपालमा चुनावनै नहुने सम्मको आरोप लगाउँन पुग्दा उनको हैसियत, स्तर र दृष्टीकोण आममानिसले राम्रैसंग बुझ्न पुगे । तत्पश्चात सर्बसाधारण जनताको नजरमा उनीबाट भविष्यको काँग्रेस पार्टी र नेपाल नहाँकिने बिचारले घर गर्न पुग्यो । बिगत र बर्तमानको देउवा क्रियाकलापले निरास र हैरान मतदाताहरु काँग्रेस पार्टी र आफू प्रती लालायित नरहेको बुझ्नासाथ बिदेशीले हामीलाई बिश्वास गरेको छ भन्दै वाम गठबन्धनको बिरोधबाट मात्र आगामी सत्ताको निरन्तरता दिने सोच बनाउँन पुग्दा झन रक्षात्मक बन्न पुगे । नेपाली जनतालाई भविष्य प्रती आश्वास्त पार्न नसकेपछी काँग्रेस पार्टीको क्षतिलाई कमगर्ने कोशीस अन्तर्गत चालिएको तमाम गतिबिधिहरु मन्त्रीमण्डल पुनर्गठन देखी फितलो दैनिक प्रशासनको असर मतपत्रमा पोखीएको परिणाम आइसकेको छ ।

नेपालमा सम्पन्न थुप्रै राजनैतिक आन्दोलनमा वाम र प्रजातान्त्रीक शक्तीको सहकार्यबाट प्राप्त राजनैतिक उपलब्धी बाहेक जनताले आर्थिक परिवर्तनको महशुस गर्न सकेनन । । ०६२ र ०६३ को आन्दोलन मार्फत प्राप्त संबिधान सभा २ बाट निर्मित संबिधान पछी देश समाजबाद उन्मुख हुनेछ भन्ने किटान संबिधानमै लिखत त गरियो तर कसरि र कसको नेतृत्वमा ? भन्ने अहम सवाललाई जनतामा लानुको साटो अनाबश्यक र औचित्यहिन मुद्धालाई देउवा नेतृत्वले जनता माझ पस्कियो । केवल सत्ता सुखको निम्ती आफ्ना सबै सिद्धान्तलाई तिलाञ्जली दिन तयार बीपीको पार्टी नेपाली काँग्रेस बुर्जुवा र दक्षिणपन्थीहरुको नेतृत्वकर्ता बन्दै शेर बहादुर नेतृत्वमा खुलेर आउँदा सुधारबादी , परिवर्तनकामी र समाजबाद प्रती चाखराख्ने जनसमुदायलाई आकर्षित गर्न असफल हुन पुग्यो । नयाँ संबिधानको कार्यान्वयन पछी देशको आर्थिक अवस्था पुँजीबादी हुँने कि समाजबादी बनाउँने भन्ने मुद्धालाई वामगठबन्धनले अपहरण गर्न सफल हुँदा शेर बहादुर नेतृत्वको लोकतान्त्रीक गठबन्धन बाटो बिराएको यात्री भन्दा फरक रहेन ।

बीपीले सही उदेश्यको निम्ती प्रयोग गरेका शेर बहादुर देउवा कुनै समय सुदुरपश्चिमको मात्र हैन नेपाली काँग्रेसकै भविष्य मानिन्थे । पञ्चायतको जगजगी बढ्दै गरेको समयमा देउवा अध्ययनको बहानामा बेलायत भासिदा ०४६ को आन्दोलनले उनी संग साक्षात्कार गर्ने मौका पाएन । ०४८ सालको निर्बाचन पछी बीपीका तमाम भक्तहरुको आँखामा धुलो हाल्न सफल गिरिजाबाट प्रयोग हुँन राजी देउवाको उदय अनौठो र अपत्यारिलो लागे पनि तात्कालिन समयको बाध्यात्मक उपज थियो भन्ने मान्नु उचित र सही हुनेछ । अकस्मात प्राप्त सत्ता र शक्तीको निरन्तरताको निम्ती लम्काइएका देउवा हातहरु अन्तत प्रयोगबादीले समात्न पुगेको पत्तै पाएनन । मध्याबधी निर्बाचन पछी खस्केको गिरिजाको तागतलाई रोक्न देउवाको प्रयोग रणनीतिक रुपले बढदै गरेको सम्पुर्ण देशबाशी बाट छिपेन । आफ्नो चाहानाले भन्दा प्रयोगबादीको रणनीतिले काम गर्नुपर्दा जती सुकै बदनाम हुँन बाध्य भएको तमाम घटनालाई पचाउने देउवा खुबीको अबसान वामगठबन्धनको कारण हुनु प्रयोगबादीहरुको निम्ती चिन्ताको कारण मानिदैछ ।

०४६ को परिवर्तन पछी बीपीको सिद्धान्तलाई त्याग्न आन्तरिक रुपमा एक भएका गिरिजा र शेर बहादुरको एक सुत्रीए नारा भनेको प्रजातान्त्रीक समाजबाद र बीपी सपनालाई छिटो घाइते बनाउनु थियो भन्ने प्रमाण गणेशमान र कृष्ण प्रसादलाई त्याग्न गरिएको हतारोलाई लिन सकिन्छ । काँग्रेसको असली तागतलाई ध्वस्त बनाउँन पश्चिमा शक्तीले शेर बहादुर र भारतिय शक्तीले गिरिजालाई प्रयोग र दुरुपयोग एकैसाथ गर्न सफल हुँदा काँग्रेस सिद्धान्त बिहिन मात्र भएन । नेताबिहिन बन्न पुग्यो । काँग्रेस भित्रको समाजबादी धारलाई कमजोर बनाउँदै दिर्घकालिन रुपमा स्थापित हुने रणनीति अनुरुप तात्कालिन दरबार , भारतिय सत्ता र पश्चिमा इसाईको मिली भगतमा जन्माइएको माओबादी ध्वसं शेर बहादुर कार्यकालमा फल्नु फुल्नु कम रोचक थिएन । प्रधानमन्त्रीको रुपमा हैदराबाद हाउसमा संबोधन गर्दै माओबादी ध्वसंमा भएको भारतिय लगानीको प्रतिफल नेपालको संबिधान संसोधन गर्दै दिन्छु भन्ने शेर बहादुर देउवाको प्रयोग कसले , किन र कती सम्म गर्न सफल भए । राजनीतिक शास्त्रको बिद्धार्थीहरुले भविष्यमा खोज्ने र पढने राम्रो बिषय हुनेछ । जनता भन्दा ज्यादा ज्योतिष माथी भर पर्ने देउवाको असली शक्ती बुझेका बिदेशीले शेर बहादुर मार्फत लिन सक्ने सम्पुर्ण कुराको निम्ती उनको चयनको पछाडी लुकेको रणनीति कमजोर काँग्रेस र अस्थिर नेपाल थियो भन्ने काँग्रेस कार्यकर्ता समेत मान्न तयार हुँदैछन ।

शुशिल सरकार मार्फत फत्ते गर्न नसकिएको एजेण्डाहरुलाई थाँती राख्दै वाम प्रजातान्त्रीक सरकार बन्नबाट रोक्ने खेल अन्तर्गत शेर बहादुरको प्रयोग नजानिदो ढंग बाट गर्दै भद्र सहमतीको हत्या गरियो । जसको पुरस्कार स्वरुप देउवालाई काँग्रेस सभापती बनाउँदै भूराजनीतिले देउवाको अधिकतम प्रयोग गर्ने निधो गर्‍यो । नाकाबन्दीको बीच लोकप्रिय बनेको ओली सरकारलाई बिस्थापित गर्दै आलोपालोको भद्धा नमुना अन्तर्गत प्रचण्ड देउवाको चयन गरियो । प्रचण्डको भाग पुर्याउँदै भारतीय रोडम्याममा हिडेको देउवा सरकार बीच बाटोमा प्रचण्डको कारण प्रधानमन्त्री मात्र हैन गृहमन्त्रालयको जिम्मेवारी समाल्दै देशै भर बम पड्किँदा पनि शान्ती सुरक्षा ठिक छ भन्दै भारतीय चयन उचित र सही थियो भन्ने देखाउँन सफल भयो । कुर्सिको निम्ती दुनियाको जस्तो सुकै घटिया काम गर्न तयार हुने खुबिले भरिपुर्ण शेर बहादुर कदम जन्मदाताले अनुमोदन गरी दिएको आम नेपालीले निर्वाचनकै बिच देख्न पाए । पञ्चायतको पतन संगै सर्बसाधारण शिक्षक , किसान र गरीब जनता सम्म आइपुगेको राजनीति शेर बहादुर मार्फत नब एलिटहरुको हातमा पुर्याउने काम अधुरै रह्यो । राज्य सत्ताको असली प्रयोगकर्ता दिल्ली, लण्डन वा अमेरिका बनाउँन राजी शेर बहादुर योजनाहरु वाम गठबन्धनको कारण अलपत्र बन्न पुगेको मानिदैछ ।

अकस्मात आइलागेको प्रधानमन्त्री पदको महत्वलाई बुझ्ना साथ उनको कार्यकालमा घटाइएका बिकृती र बिसंगतीको पहाडहरु देउवाको सत्ता लिप्साले मात्र हैन बाध्यात्मक पनि थिए भन्ने मानी दिनु उनी प्रती न्याय हुनेछ । देउवा द्वारा खडा गरिएका खराब सुचकांङ्कलाई देखाउँदै संसदिय ब्यबस्थाका बिरोधीबाट गरिएको प्रहारले संसदिय ब्यबस्था संगसंगै उनी पनि किनारा लाग्न बाध्य भएको इतिहासको बोझ आजसम्म बोक्दै छन । सुरा सुन्दरी, सांसद खरिद बिक्री, मुसा प्रबृती जन्माउने जन्मदाता, राज्य कोसको ब्रम्हलुट गर्दै सत्ताको आयु बढाउने कलाले देश, प्रजातन्त्र, काँग्रेस पार्टी लगायत स्वयंको श्वास्थ्य र आयु घटाउने कार्यको मुल्य राज्यले आज सम्म तिर्दैछ । पार्टी फुटाएको दोष र प्रजातन्त्र राजामा बुझाएको दोषलाई राजनीतिले अपराध नमाने पनि राजनैतिक गल्ती भने अवश्य मानी रहने छ । आफ्नै कार्यकालमा सुरु भएको माओबादी ध्वसंका सुत्रधार प्रचण्डको युद्धनीतिको अनेक रुप अन्तर्गत चालिएको ध्वसं, छलकपट, धोखाधडी, मेलमिलाप पछीको प्रेमालापलाई अन्तिम सत्य मान्दै प्राप्त प्रधानमन्त्रीरुपी पुरस्कारलाई दिर्घकालिन सम्झदा देउवा राजनीति धरापमा परेको देख्नै सकेनन । जनताबाट दिन प्रतिदिन टाढा हुँदै केवल बिदेशी र ज्योतिषको भरपर्ने अवस्थामा पुगेको देउवा राजनीति काकतालीमा सही बाटो समात्न सफल भएको प्रमाण उनीबाट सम्पन्न अन्तिम निर्वाचनलाई मानिदैछ ।

संबिधान निर्माण पछि जिबित राखिएको परिवर्तित संसदको काम संबिधान कार्यान्बयनको निम्ती आबश्यक कानुन निर्माणको निम्ती थियो भन्ने सर्बसाधारण मानिस पनि जान्दथे । सोही प्रायोजनको निम्ती बनेका ओली, प्रचण्ड र देउवा सरकारबाट थाँती राखिएको राष्ट्रिय सभाको गठन सम्वन्धि बिवादको निहुँमा प्रधानमन्त्री देउवाले काँग्रेस पार्टीलाई ‘नोकिया’ बनाउँदै कमाएको पुँजी खोस्ने वाम गठबन्धनको कोशीसले उनी कमण्डलु बिनाको जोगी बन्ने अवस्थामा पुग्दैछन । आफू मैनबत्ती जस्तो जल्दै लोकतन्त्रको निम्ती प्रकाश दिन सफल शेर बहादुरको योगदानलाई पखाल्न लागेका शक्तीको कारण शेर बहादुरले जितेको युद्ध हार्दैछन । प्रजातन्त्र प्राप्ती संगै देउवा अस्त्र प्रयोग गर्ने प्रयोगबादीको अन्तिम कसरत अन्तर्गत भइरहेको पछिल्ला प्रयोगहरु जनताको अभिमतको अगाडी फिका बन्दै गर्दा प्रयोगवादीको अन्तिम ॠण तिर्न शेर बहादुर बाध्य भएका छन । नेपाली राजनीतिमा प्रयोगवादको डरलाग्दो सिकार बनेको देउवा कार्यकाललाई नेपाली राजनीतिले कुनै न कुनै रुपमा सम्झी राख्ने निस्चित मानिदैछ ।

670 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank


error: Content is protected !!