“”

विधि, सुशासन र बर्तमान सरकार

फरकमत

मङ्लबार, फाल्गुन २२, २०७४



- दीपेन्द्र पाण्डे

साठी चालिसको जगमा निर्माण गरिएको वाम गठबन्धनलाई सयमा बदल्ने सुरुवात स्वरुप गत फागुन १९ गते एमाले माके सांसदलाई प्रधानमन्त्री ओलीले प्रवचन दिंदै भने । सानो कुरामा नअल्झिनु । नखाने नखानु । नजाने ठाउँमा नजानु । गत फागुन ६ गते शान्त बातावरण खोज्दै पूर्व प्रधानमन्त्रीलाई साथ लिंदै लञ्च खान भक्तपुर पुगेको घटना बिर्सदै दिइएको ओली सुझावलाई दुबै पार्टीका सांसदले कसरी लिए थाहा हुन नसके पनि मिडिया र सामाजिक सञ्जालले राम्रो महत्व दिन चुकेनन । प्रधानमन्त्री ओलीको लञ्च राजनीति र प्रवचन पछि आर्थिक, सामाजिक, राजनैतिक, सांस्कृतिक मात्र हैन मुल्य मान्यता र बिधिको शासनसंग आम मानिस आकर्षित हुँन सुरु भएको पुष्टी हुँदैछ । करिव ६५ बर्ष देखिको राजनैतिक अधिकारको संबोधन गरिएको दम्भमा टिकेको नेपाली राजनीति अझै पनि बिधिमा प्रवेश गर्न नसकेको मान्न बाध्य पारिएको लञ्च र प्रवचन राजनीतिमा देशले सबैभन्दा बढी आशाले हेरेको प्रधानमन्त्री किन चुके ? खोजीको बिषय बन्दैछ ।

निर्वाचन कि नेताको व्यवस्थापन ?

राजनैतिक अस्थिरतालाई दोष दिंदै नियोजित रुपमा बढाईएको भष्ट्राचार, दण्डहिनता, मनपरितन्त्र, नाम मात्रको विधिको शासनले नेपाल र लोकतन्त्रलाई दिन प्रतिदिन गरीव बनाएको मान्न सकिन्छ । सम्पुर्ण समस्याको समाधान निर्वाचन हो भन्ने राजनैतिक नेतृत्वको चलाखीलाई सर्बसाधारण जनताले पत्याईदिँदा बिगतमा सम्पन्न सबै जसो निर्वाचनमा जनताको अपार सहभागिता हुनुले पुष्टी भइसकेको छ । देश भित्र मौलाएको बेथिती, विकृती र विसंगतिले सिर्जना गरेको आर्थिक असमानताको कारण बेरोजगार बन्न पुगेको ठुलो श्रमशक्ती बैदेशिक रोजगारीमा जान बिवश हुँदा नेपालको प्रमुख समस्या नजिकबाट चिन्न, जान्न र बुझ्न सफल भएका छन । हरेक दश वर्षमा फेरिने राजनैतिक उपलब्धी मार्फत थपिएको दण्डहिनता, भष्ट्राचार र असमानताको खाडलले प्राप्त उपलब्धीलाई जनताले आत्मसाथ गर्न नसकेका कारण देश फेरि अर्को द्वन्दमा पर्ने त हैन भन्ने संकाले घर गरिकेको छ । राजनैतिक परिवर्तनलाई विधि अनुसार हाँक्ने शुभ अवसरलाई लञ्च राजनीति मार्फत दिएको सन्देशले लोकतन्त्रमा निर्वाचन केवल नेताहरुको व्यवस्थापनको निम्ती मात्र रहेको मान्न शीर्ष नेताको व्यवहार काफी छन । विधी र शासन बिचौलियाको कब्जाबाट फुत्काउँदै जनताको हातमा ल्याउँन कठिन हुँदै गएको पुष्टी पछिल्लो घटनाले गर्दैछ ।

लोकतन्त्र र हाम्रो अभ्यासः

ग्रीक शब्द ‘डेमोस’ बाट उत्पती भएको अंग्रेजी शब्द ‘डेमोक्रेसी’ को अर्थ ‘जनताको शासन’ बताईरहनु परेन । अमेरिकी राष्ट्रपति अब्राहम लिंकनले ‘जनता द्वारा जनतालाई जनताले’ शासन गर्ने बिधिलाई लोकतन्त्र भन्दै थप ब्याख्या गरिदिए । जनहितको लागि जनताले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा शासनमा सहभागी हुने लोकतन्त्रमा निष्पक्ष तथा आवधिक चुनाव, वयस्क मताधिकार, उत्तरदायी सरकार, जनताको सर्वोच्चता, निर्वाचित प्रतिनिधीको सरकार अनिवार्य मानिन्छ । अझ परिस्कृत लोकतन्त्रमा सरकारको निर्णयहरु जनताको सल्लाह दवाब र जनमतको आधारमा गरिन्छ । सरकारको हातमा राजनैतिक शक्तीलाई जनताको नासो सम्झदै सुरक्षित राख्ने लोकतन्त्रले जनताको अधिकारको स्वतन्त्रता र हिफाजत कहिल्यै भुल्दैन । निष्पक्ष न्यायालय, कानूनको शासन, विभिन्न राजनीतिक दल तथा दबाव समूहको उपस्थितिलाई सदा सर्बदा ध्यान दिंदै अगाडी बढ्ने लोकतन्त्र नेपाल र नेपालीले अनेकौं त्याग र बलिदान पछि पनि पाउँन कठिन हुँदै गएको मानिदैछ ।

२००७ सालमा राणा शासनको अन्त्य संगै जन्मेको प्रजातन्त्र १० बर्षमै घाइते बनाइयो । थुप्रै बलिदानी पश्चात जनआन्दोलनको बलमा ०४६ सालमा पुनर्स्थापित गरिएको प्रजातन्त्र बिभिन्न स्वार्थ केन्द्रको कारण फेरि घाइते हुँदै २०६५ पछि गणतन्त्र समेत बोकेर झुल्कियो । १२ बुँदेको भारले थिचिएको लोकतन्त्र सिद्धान्त एकातिर, अभ्यास अर्कातिर गर्न बाध्य हुँदै कुर्सीतन्त्रको बलमा लुटतन्त्र स्थापित गर्दै नयाँ वर्गको प्रभुत्व बिस्तार गर्न लागि पर्दैछ ।

विधिको शासन कसले सुरु गर्ने ?

रोम साम्राज्यको बिधानले उच्चवर्ग, सर्बसाधारण र रोमन नागरिक एवं पेरेग्रिनसकोबीच अधिकारमा अन्तर गर्दै शासन गरी रह्यो । आधुनिक लोकतन्त्रले कानूनको सर्बोच्चतालाई स्वीकार गरे देखी जन्म, जाती वा अन्य कुनै कारणले विशेषाधिकारको खिलाप आफूलाई खडा गर्‍यो । दोश्रो विश्वयुद्ध पश्चात एसिया, अफ्रीका एवं ल्याटिन अमेरिकाका देशहरु उपनिवेशवादको चंगुलबाट मुक्ती पाउँदै राजनितिक रुपमा नवीन सिद्धान्तको खोजी गर्न तम्सिए । नवीन सोचबाट प्रभावित हुँदै असंख्य युवाहरु राजनीतिमा हाम फाले । कानून भन्दा माथी कसैलाई नमान्ने नवीन सोच स्थापित गर्न नेपाली युवाहरु असंख्य कुर्वानी दिन पछि परेनन् ।

नेपाली राजनीतिलाई प्रजातन्त्र प्राप्तीको बाटो देखाउँदै विश्व राजनीति सन १९५० देखी १९६० सम्म प्रजातन्त्र, स्वतन्त्रता, समानता र न्यायको स्थापना गर्न कस्सियो । फलस्वरुप सन १९६० पछि राजनितिक ब्यबस्थाको क्षमता बढाउने र शासन व्यवस्थामा जनसहभागिता बढाउने नवीन सिद्धान्त सुशासनको बिकास गर्न सफल भयो । सन १९९२ पछि विश्व बैंक र अन्तराष्ट्रिय बित्तिय संस्थाहरु विकासशिल देशमा आर्थिक सहायता दिने समय सुशासनको खोजी गर्न थाले । युनाईटेड नेसन एकोनोमिक एण्ड सोसियल कमिसन फर एसिया एण्ड द प्यासिफिकमा सुशासनलाई ८ बुँदामा समेटियो । जसलाई गरीव मुलुकले बिना सर्त स्वीकार्न गर्नुको बिकल्प रहेन ।

वास्तविक अर्थमा सुशासन भनेको भ्रष्टाचार नियन्त्रण, गरिवी निवारण, सामाजिक न्याय, आर्थिक अनुशासन, विभेदको अन्त्य, वित्तीय जवाफदेहिता र राजनीतिक स्थिरता भएको अवस्थालाई मानिन्छ । भर्खरै सम्पन्न निर्वाचन पश्चात जनतामा जागेको तमाम सपना पुरा गर्न चाहिने ठुलो धनराशीको निम्ती दाताहरुले खोज्ने बिधी र सुशासनको प्रतिबद्धता लञ्च राजनीति संगै चिप्ली सकेको छ । दुःखका साथ भन्नु पर्छ, विश्वभर चर्चित बिधीको शासन र सुशासनको महत्व सार्वजनिक खपतको निम्ती प्रयोग गर्ने सत्तासिन खेलाडीहरु बिधी र सुशासनलाई आफ्नो अधिकार कटौती ठान्न थालेको संकेत मिल्दै गर्दा बिधिको शासन कसले सुरु गर्ने ? भन्ने सवाल झन पेचिलो बन्दै गएको छ ।

बर्तमान सरकार संग बिधी र सुशासनको अपेक्षाः

बोल्दा, सुन्दा, देख्दा लोकतन्त्र एक सामान्य शब्द सिवाय केही होइन । जब हामी व्यवहारमा उतार्ने जमर्को गर्छौ तब थाहा लाग्छ लोकतन्त्र अत्यन्त बोझिलो र पेचिलो छ । सर्वसाधारण जनताले जीवनसंग जोड्न र महशुस गर्न नपाएको बर्तमान लोकतन्त्र केवल बाठा टाठाको पेवा बनिरहेको पुष्टी लञ्च राजनीतिले उजागर गरेको बुझ्न महाभारतको सानो घटना काफी छ । महाभारत युद्धलाई टार्न भगवान श्री कृष्ण धृतराष्ट्रको दरबार पुगे । कपटि सकुनीको मन्त्रणा अनुसार दुर्योधनको भोजन आग्रहलाई बिनम्रता पूर्वक अस्वीकार गर्दै महात्मा बिदुरको घर पुगे । राजमहलको भोजनलाई छाडदै तठस्थताको भोजन कुटनीति मार्फत आफ्नो छवी तिखार्ने भगवान श्री कृष्णको राजनीति बर्तमानका चतुर प्रधानमन्त्री र पूर्वप्रधानमन्त्री कसरी र किन भुल्न पुगे ? बिधी र सुशासनको आँखाले हेर्दा यो कार्य सामान्य मानिदैन । सानो कुरामा नअल्झिनु । नखाने नखानु । नजाने ठाउँमा नजानु भन्ने प्रधानमन्त्री ओली राजयोगको अभ्यास कुन सिद्धान्तमा रहेर गर्छ्न ? लोकतन्त्रले बाटो सोही अनुरुप लिनेछ ।

अन्तमा ,
अल्पसंख्यक, सिमान्तकृत समुदाय र पहिचानवदीहरुको समस्या थाँती रहेको बर्तमान नेपालको राजनीतिको बिशेषता भनेको संकट आए पछि उपाय खोज्ने हो भनिरहनु परेन । दिगो बिकासको निम्ती चाहिने बिधी र सुशासनको प्रयोग मार्फत संकट अगाबै समाधान खोज्ने नयाँपनको सुरुवात देश र जनताको चाहानासंग जोडिएको छ । नातावाद , कृपावाद , भनसुनवाद , श्रीमतीवाद, क्षेत्रवाद, छाडातन्त्र, मनपरीतन्त्रले गाँजेको राजनीतिलाई ठिक समयमा सम्बोधन गर्न नयाँ मापदण्ड निर्माण गर्न ढिला हुँदैछ । नेपालमा मन्त्री बन्न चाहाने मानिसहरुको स्वार्थ के हो ? किन मानिस मन्त्री बन्न मरिहत्ते गर्छ्न ? भन्ने सवालको उचित जवाफ खोज्ने र नयाँ बिधी स्थापित गर्ने कार्यले भविष्यको दिशानिर्देश गर्नेछ । अंसख्य कुकामले थला परेको नेपाली लोकतन्त्रलाई सुन्दर, परिस्कृत र आधुनिक बनाउँने ठुलो अवसर प्रधानमन्त्री ओली सामु उपलब्ध छ । दक्षिण अफ्रिकी नेता नेलशन मण्डेलाले निर्माण गरेको ५ वर्षे बाटो रोज्ने कि रुसी राष्ट्रपती पुटिनको शैली रोज्ने त्यसैमा नेपाली वामपन्थ, लोकतन्त्र र प्रधानमन्त्री ओलीको भविष्य टिकेको छ ।

201 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank