“”

वाम पार्टीको पुच्छर !

फरकमत

मङ्लबार, फाल्गुन १५, २०७४



- दीपेन्द्र पाण्डे

सामाजिक न्याय, सबैलाई शिक्षा र रोज़गार, भ्रष्टाचारबाट मुक्ति, आधारभूत सुविधा, शासन प्रशासनमा पारदर्शिता, धर्म, जाती, लिंग, क्षेत्रको तमाम समस्याहरुको समाधानको नारा दिंदै वामपार्टी जनताको मन जित्न सफल भयो । राजनैतिक परिवर्तनको निम्ती जुट्दै फुट्दै लडेका वामपार्टी अचानक आर्थिक समृद्धीको निम्ती एक हुँन तयार भएको पछिल्लो घटना गत असोज १७ पछि नयाँ शक्ती आर्जन गर्न सफल भइसकेको छ । अगाडि बढ्ने क्रममा पछाडि फर्कने पुल भाँचेको अभिव्यक्तिको पुष्टी एमाले माकेबीच सम्पन्न हुने एकताले पुच्छर बिनाको कम्युनिष्ट पार्टी जन्माउँने खेल करिव अन्तिम चरणमा प्रवेश गरेको महशुस दुई कार्यदलको सकृयता संगै बढ्दैछ । २०१३ सालमा तात्कालिन पार्टी महासचिव मनमोहन अधिकारी चीन जाँदा कार्यवाहक महासचिव बनेका केशरजङ्ग रायमाझीले सुरु गरेको पार्टी कब्जा गर्ने राजनीति अब बन्ने नेकपामा कसरी व्यवस्थापन गरिन्छ भन्ने सवाल संगै वामपार्टीको पुच्छर जोड्ने रोग कसरी रोकिने छ ? रोचक सवालले जन्म लिदैछ ।

नेपाल कम्युनिष्ट पार्टीको सामान्य परिचय :

२२ अप्रिल १९४९ अर्थात १० बैशाख २००६ मा कमरेड पुष्पलालको नेतृत्वमा नरबहादुर कर्माचार्य, नारायण विलास जोशी, निरञ्जन गोबिन्द बैध्य र मोती देबीले नेकपा स्थापना गरे । कमरेड पुष्पलालले कार्ल मार्क्सको कम्युनिष्ट घोषणापत्रलाई नेपालीमा उल्था गरेर जन्म दिएको नेकपाको प्रथम सम्मेलन २००८ असोज ११ ÷ १६ कलकत्तामा कमरेड पुष्पलाललाई महासचिव चुन्दै सम्पन्न भयो । २०१० मा पाटनको ग्वाबहालमा सम्पन्न प्रथम महाधिवेशनले कमरेड मनमोहन अधिकारीलाई महासचिव चुन्यो । दोश्रो सम्मेलन २०१२ कार्तिक २१÷२७ मा सम्पन्न भयो । २०१३ सालमा कमरेड मनमोहन अधिकारी चीन जाँदा केशरजंग रायमाझीलाई कार्यवाहक महासचिव बनाइयो । दोश्रो महाधिबेशन २०१४ जेठ १४ मा फोहरा दरबारमा सम्पन्न गर्दै कमरेड केशरजङ्ग रायमाझीलाई पार्टीको महासचिव बनाइयो । २०१७ सालको फौजी काण्डपछि भारतको दरभङ्गा प्लेनमले केशरजङ्ग रायमाझीलाई नसियत दिंदै नौ महिना भित्र महाधिवेशन गर्ने तीन सदस्यीय सचिवालय (केशरजङ्ग रायमाझी, शम्भुराम श्रेष्ठ र डिपी अधिकारी) गठन गर्‍यो । २०१९ बैशाख ४(१५ मा सम्पन्न तेश्रो महाधिवेशनले तुल्सीलाल मात्यलाई महासचिवमा चुन्यो । तेश्रो सम्मेलन पछि पार्टीमा राजावादी र राजा बिरोधीको संघर्ष नजानिदो ढंगले बढ्न थाल्यो । २०१७ पछि सुरु भएको खेलले चर्को रुप लिन पुग्दा रायमाझी गुटलाई पार्टीले कारबाही गर्न बाध्य भयो । अनेकौं समस्या पार गर्दै अगाडी बढेको कम्युनिष्ट पार्टी अन्ततः २०२५ मा नयाँ सम्मेलन गदै कमरेड पुष्पलाललाई चयन गर्न पुग्यो । २०१३ पछी सुरु भएको आन्तरिक झगडाले जन्मिन सुरुभएको औपचारिक गुट, समुह र पुच्छरवादीहरु २०२५ सालमा पुग्दा संगै बस्न नसक्ने अवस्था सिर्जना हुनपुग्यो । २०२५ साल पछि बढ्दै गरेको झगडाबीच २०२९ सालमा सम्पन्न चौथो सम्मेलनले पुनः पुष्पलाललाई नेता मान्न राजी भयो । यसबीचमा घटेको झापा आन्दोलनको उर्जा देशभर फैलिन सुरुभएको करिव तीन वर्ष पछि २०३१ भदौ असोजमा सम्पन्न चौथो महाधिबेशनले मोहनबिक्रम सिंहलाई महासचिव चुन्न सफल भए पनि एकल कम्युनिष्ट पार्टी नेपालमा नहुने अवस्था औपचारिक रुपमा देखियो ।

नेकपा (एमाले) को जन्मः

रायमाझी, तुल्सीलाल, पुष्पलाल र मनमोहनबीच एकले अर्कालाई कम्युनिष्ट नमान्ने रोग बढ्दै गर्दा नेपालको कम्युनिष्ट आन्दोलन रानो बिनाको माहुरी जस्तो हुन पुग्यो । भारतीय कम्युनिष्ट नेता चारु मजुमदारको ठाडो नक्कल गर्दै झापाली युवाहरुले २०२८ सालमा व्यक्ति हत्याको राजनीति सुरु गरे । बिना तयारी गरिएको हिंसाको परिणाम अकल्पनिय क्षति भोग्दै २०३२ सालमा कोर्डिनेशन केन्द्रले जन्म लियो । मुक्ती मोर्चा, पूर्वको रातो झण्डा समुह र दाङको सन्देश समुह कोकेमा सामेल गर्दै २०३५ साल पुष ११ गते पहिलो पटक पुच्छर सहित नयाँ कम्युनिष्ट पार्टी (माले) जन्मियो । नेकपा मालेको जन्मसंगै पैदा भएको नयाँ उर्जाले देशभर छरिएको बिभिन्न नामका गुट, समुह, मोर्चा र अध्ययन केन्द्रलाई आफूमा समेटन सुरु गर्‍यो । २०३६ मा गण्डकी माले क्रान्तीकारी कम्युनिष्ट दल, अर्घाखाँची स्वतन्त्र कम्युनिष्टहरु, नारायणी माले अध्ययन समुह मालेमा समावेश हुन पुगे । २०३७ सालमा क्रान्तीकारी कम्युनिष्ट संगठन कोशी, जनकपुर र वागमती पनि नेकपा मालेको हिस्सा हुन राजी भयो । २०३८ सालमा बिद्रोही एकता केन्द्र (आजाद) र पर्बतका क्रान्तीकारीहरु मालेमा सामेल हुन पुगे । २०३९ मा बर्रे संघर्ष समुह , २०४० मा नेपाल मजदुर किसान संगठन पनि नेकपा मालेमा समाहित हुन राजी भए । २०४७ साल पुष २२ गते माले र मार्क्सबादी पुच्छर मिलाउँदै एमाले पुच्छर भएको नयाँ पार्टी बनाइयो । २०४९ सालमा मानन्धर समुहको एक हिस्सा, २०५० सालमा तुल्सीलाल अमात्य समुह साथै २०५१ सालमा मसाल, एकता केन्द्रका केही साथीहरु पनि एमाले बन्न राजी भए ।

नेकपा माओबादी केन्द्रको जन्मः

२०३६ साल देखी सुरु भएको चौथो महाधिवेशनको झगडा २०४० साल कार्तिकको गोरखपुर सम्मेलन सम्म तन्किन पुग्दा बिभाजन टार्न सकेन । २०४० मा यो समूह विभाजित भई चौम (लामा) र मसाल (एम बी) समूहमा परिणत हुन पुग्यो । २०४१ सालमा मोहनबिक्रम सिंहको आचरणका कारण २०४२ मा मसाल पुनः विभाजित भई मसाल र मसाल (बैद्य) बन्न गए । २०४७ सालमा नेकपा (मसाल) , चौम (निर्मल लामा) , सर्वहारावादी श्रमिक संगठन (रुपलाल ) र बिद्रोही मसाल (बाबुराम) मिली एकता केन्द्र बनाइयो । २०५१ सालमा उठेको अन्तर पार्टी झगडालाई समाधान गर्न नसक्दा निर्मल लामाले नयाँ एकता केन्द्र निर्माण गरे । तत्पश्चात कमरेड प्रचण्डले पार्टीको नाम नेकपा माओवादी राख्दै हतियार उठाउने निर्णय पास गराए । २०६५ सालमा एनके प्रसाईको मालेमा माओवादीमा गाभियो । २०६६ मा पुग्दै गर्दा एकता केन्द्रसंग मिल्दै नेकपा एमाओवादी बनाइयो । बिचमा एमाओवादी फुटाउँदै गएका शक्तीहरु नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माओवादी), क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेकपा माओवादी विद्रोही समूह, नयाँ शक्ति नेपालको हिस्सा समेत २०७२ मा एक हुँदै नेकपा माओवादी केन्द्र बनाइयो ।

वामपन्थीहरु किन पुच्छरवादी हुन पुगे ?

सामान्तवादको चर्को दबदबा बीच जनताको चेतना स्तर भन्दा धेरै अगाडी बढ्दै जन्मेको कम्युनिष्ट पार्टीको नेताहरु आफै सामन्तवादको कुप्रभाव बाट मुक्त हुन सकेनन् । देशको राजनैतिक विष्लेषण वस्तुवादी ढंगले गर्नुको साटो रुस , चीनलाई कसरी हेर्ने भन्ने सवालमा अल्झीदै नयाँ रोग भित्र्याउँन पुगे । पद बिना बाँच्न नसक्ने, एकले अर्काको अस्तित्व स्वीकार गर्न नसक्ने, पार्टीको कार्यदिशा र कार्यनीतिलाई विदेशीको नक्कल गर्ने , तत्कालिन दरवार र काँग्रेसलाई हेर्ने सवालमा ठिक निर्णय गर्न चुक्ने कार्यले नेपालको कम्युनिष्ट आन्दोलन नराम्रो दलदलमा फस्दै पुच्छरवादी हुन पुगे । राज्यसत्ता प्राप्त गर्न हिंसा अनिवार्य र स्वीकार योग्य मान्ने कम्युनिष्ट आइडोलोजी सरकार र सत्ता कसरी प्राप्त गर्न सकिन्छ भन्ने सवालमा एक हुन सकेन । मतपत्रबाट केवल सरकार बनाउन सकिने राज्यसत्ता प्राप्त गर्न नसकिने प्रष्ट बुझ्दा पनि पहिला सरकार प्राप्त गर्ने कि राज्यसत्ता ? भन्ने सवालले सही निकास निकाल्न नसक्दा पुच्छरमै आफ्नो भविष्य देख्न पुगे ।

पुच्छर हटाउने होडबाजीः

सोभियत सत्ता र पूर्वी युरोपको समाजवादी सत्ताको पतनपछि विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक हुन पुग्यो । राजनैतिक अस्तित्वको निम्ती हतारिएका थुप्रै कम्युनिष्ट पार्टीहरु सोसल डेमोक्र्याटमा बदलिन पुगे भने केही वामपार्टीहरु मतपत्र मार्फत सरकारमा पुग्ने र सुधारवादी कार्यक्रमबाट जनताको सेवा गर्दै आफ्नो राजनैतिक भबिष्य सुनिश्चित गर्न लागे । जसको प्रभाव नेपाल सम्म आईपुग्दा केही कम्युनिष्ट पार्टीहरु पुच्छर हटाउन भन्दा मर्ज गर्न हतारिए ।

अन्तमा,

राणा र पञ्चायतको सत्ता नटिकेको, गिरिजा र देउवाको सरकार धर्मराएको बुझ्ना साथ बर्तमानका कम्युनिष्ट नेताहरु मतपत्र मार्फत सरकार चलाउन तयार हुँदा एमाले र माओवादी केन्द्र नामको पुच्छर हटाउने खेलमा लागेको बुझ्न सकिन्छ । एमाले माके नामको पुच्छर नेपाली राजनीतिबाट गायब पारिँदा पर्ने ठाडो प्रभावले वामपार्टीका बाँकी पुच्छरहरु मसाल, माले, संयुक्त, एकिकृत, माओवादी , मार्क्सवादी , क्रान्तीकारी कम्युनिष्ट केन्द्र, नेकपा बिप्लब, नेकपा ॠषी कट्टेल , नेमकिपा पार्टीहरु संसदवादी र क्रान्तीकारी वामपार्टीमा ध्रुवीकृत हुनेछन । गुणात्मक फड्को हान्न नसके पनि राजनैतिक ध्रुवीकरणमा तिव्रता ल्याउने एमाले माके एकताले पदीय व्यवस्थापन मात्र हैन राजकिय सुख सुविधाको बाँडफाँड गर्न चुके वामपन्थीको पुच्छर रातारात सिद्धान्तको नाममा पलाउने निश्चित मान्न सकिन्छ ।

556 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank