शेरबहादुरले बदलेको लोकतान्त्रिक परिभाषा !

फरकमत

मङ्लबार, माघ १६, २०७४



- दीपेन्द्र पाण्डे

ज्योतिषमाथि अत्यन्त भरपर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको चुनावी एजेण्डा जनताबाट अस्वीकृत भएको प्रमाण ताजा जनादेशले बताइसकेको छ । चुनाव प्रचारको दौरान कमरेड केपी ओलीको बचनलाई कटाक्ष गर्दै सात पटक प्रधानमन्त्री हुने देउवा ‘मजाक’ जनताले नरुचाउँदा व्यक्तिगत नैतिकता र लोकतान्त्रीक परिभाषा बदल्ने शेर बहादुर कदम अनौठो र बिचित्र रेकर्ड बनाउँन लागी पर्दैछ । बिगतमा काँग्रेस सरकारका अर्थमन्त्रीहरुले कोरेको उत्पादन मुखी अर्थतन्त्रलाई कामचलाउ देउवा सरकारले कुल्चदैं वितरणमुखी अर्थतन्त्रमा हामफाल्न पुग्ने कथित सोच नीतिकथा बाट चोरेको बुझ्न एकपटक कथालाई सम्झनु न्याय संगत देखिदैछ । भारतको एउटा गाँउमा एक साहु संग एउटा मानिसले केही नगद सापटी स्वरुप लियो । साहुले थुप्रै पटक ताकेता गर्दा पनि आसामी (ॠणी)ले पैसा फिर्ता गर्न मानेन । आसामी संग पैसा माग्ना साथ उल्टो अनेक आरोप लगाउँदै गाली बेइजतीको मुद्धा दर्ता गर्न कस्सियो । मुद्धाको शिलसिलामा (तारिख धान्न) साहु र आसामी (ॠणी) रेलबाट संगै यात्रा गर्दैगर्दा डाँकाले लुटपाट मच्चायो । सबै मानिसको गरगहना र पैसा डाँकाले जबर्जस्ती खोसेको देख्ना साथ लामो समय ॠण नतिर्ने र मुद्धा हाल्ने आसामी तुरुन्त पैसा फिर्ता गर्न तम्सियो । माथीको कथालाई माथदिंदै नव आसामीको भूमिकामा झुल्किएको शेर बहादुर राष्ट्र लुटाउँने कथित अभियानमा देखा परेको घटना रोचक र उदेक लाग्दो मानिदैछ ।

चौथो पटक प्रधानमन्त्री पद हाँक्दै गरेका कामचलाउ प्रधानमन्त्री शेर बहादुर देउवा आफ्नो कार्यकालको अन्तिम समयमा नाङ्गो ढंगले प्रस्तुत भइरहेको कुरा आम जानाकारीमा आइसकेको पाइन्छ । आगामी दिनमा बन्ने वाम सरकारलाई काम गर्न समस्या पैदा गर्ने रणनीति अनुरुप राष्ट्रलाई आर्थिक कंगालीकरणमा लाने खेल अन्तर्गत राष्ट्रिय ढुकुटीको ब्रम्हलुट गर्ने देउवा क्याबिनेटको निर्णयहरु सतहमा आइसकेका छन् । भुकम्प पीडितलाई थप एकलाख दिने, बृद्धभत्ताको उमेर ७० बाट घटाउँदै ६५ मा झार्ने पछिल्लो निर्णय असल मनसाय बाट नगरिएको अर्थबिद र राजनैतिक बिष्लेशकहरुको धारणा रही आएको पाइन्छ । नियुक्ति, सरुवा, बढुवा, आर्थिक सहायताको बिभत्स प्रयोगले लोकतान्त्रीक मुल्य मान्यता र संसदिय परम्पराको परिभाषा बदल्न कम्मर कसेको देउवा सरकार नेपालको सबै बेथीतीको ‘रोलमोडल’ बन्न चाहेको महशुस गरिदैछ । राज्यको आर्थिक व्ययभार दीर्घकालसम्म बढ्ने दूरगामी निर्णय गर्ने अधिकार कामचलाउ सरकारलाई हुँदैन भन्ने कुरालाई ठाडै उलङ्घन गर्न सबैहद पार गरेको देउवा सरकारको कदम देश र लोकतन्त्रको निम्ती अभिसाप र गलगाँड बन्ने निश्चित मानिदैछ ।

अनेकौं कठिनाई र शंकालाई परास्त गर्दै सम्पन्न निर्वाचन पश्चात जनादेशलाई सम्मान गर्दै राजिनामा दिने अपेक्षालाई झुटो साबित गर्ने प्रधानमन्त्री एबं पार्टी सभापती देउवा कदमले एउटा सुन्दर अवसर गुमाएको मानिदैछ । ०४८ साल देखी ०७४ साल सम्म बिभिन्न बहानामा हुँदै आएका तमाम विकृतीलाई बिसर्जन गर्दै लोकतन्त्रले नयाँ मार्ग स्थापित गर्ने अवसर खेर फाल्न पुगेका देउवा कदमले लोकतन्त्रवादीहरु निराश बन्दैछन् । आफ्नो पार्टीको राजनैतिक भविष्य अनिश्चित बनाउँदै लोकतन्त्रलाई मजबुत बनाएको श्रेय समेत लिन चुक्दै गरेको देउवा कार्यकाल अनौठो नजिर निर्माण गर्न लागि पर्दैछ । लोकतन्त्रमा बिधी, प्रकृया, परम्परा र संस्कारको ठुलो महत्व रहन्छ भन्ने कुरालाई सुन्न पनि नचाहाने शेर बहादुर कामचलाउ आयू बढाउँन संबिधानको छिद्र खोज्ने सस्तो कदमले ‘देउवा नैतिकता’ आईसियू पुगेको मानिदैछ । संबिधानको बाध्यात्मक निर्वाचनलाई कुशलता पूर्वक सम्पन्न गरेको जस लिंदै राजिनामा मार्फत काँग्रेस पार्टी र लोकतन्त्रलाई मालामाल बनाउँन चुकेका देउवा सिंहदरबार कुर्सीको दुरुपयोग गर्न मरिहत्ते गर्दैछन् ।

भावी सरकारको निम्ती चुस्त दुरुस्त अर्थतन्त्र र प्रशासन छोडेर जाने प्रचलनलाई लोकतन्त्रमा सामान्य रुपमा लिइन्छ । निर्वाचन बाट प्रष्ट रुपमा मिलीसकेको जनादेश पश्चात कुर्सीको दुरुपयोग गर्दै आर्थिक बितरण, नियुक्ती र दुरगामी निर्णय गर्ने प्रयत्नले लोकतन्त्रमा नराम्रो नजिर स्थापित गर्ने जमर्को शेर बहादुर मार्फत गरिनु भबिष्यको काँग्रेसको निम्ती गलगाँड बन्नेछ । सरकार कामचलाउ अवस्थामा पुगेको समयलाई छोप्दै निजी क्षेत्रबाट मच्चाइएको ब्रम्हलुटको साक्षी, सहयोगी र भागिदार बन्दै गरेको देउवा कार्यकालको ऋण काँग्रेस पार्टी र लोकतन्त्रले कसरी र कहिले सम्म तिर्नु पर्ने हो रोचक सवालले जन्म लिइसकेको ठोकुवा गर्न सकिन्छ । अनियन्त्रीत बजार भाउ, अनुपयुक्त बन्द हडताल र फितलो दैनिक प्रशासनको जिम्मेवार देउवा सरकारको बिरुद्ध काँग्रेसको भबिष्य मानिएको तमाम लोकतान्त्रीक शक्ती मौन रहनुले अनिष्टको संकेत गर्दैछ । रातारात समाप्त पारिएको शेयर बजार, पुँजी पलायन र आर्थिक बिचलनको भारीलाई देखाउँदै आगामी सरकारले भबिष्यको काँग्रेस नेतृत्व माथी गर्ने प्रहारलाई बर्तमान युवा काँग्रेसले चुपचाप हेर्दै रमिते बन्नुले केवल ब्यक्ती बदलिएको, आचरण र संस्कार नबदलिएको प्रमाणित हुँदैछ । देश र लोकतन्त्रलाई गौण मान्दै आफूलाई केन्द्र भागमा राख्ने राजनीतिलाई स्थापित र प्रोत्साहित गर्न कुनै कसर बाँकी नराख्ने देउवा कार्यकाल नमिठो याद छोडेर जान मरीहत्ते गर्दैछ ।

राजनीतिमा लागेर नैतिकता प्रदर्शन गर्ने पुर्व प्रधानमन्त्रीहरु कृतीनिधी बिष्ट, कृष्ण प्रसाद भट्टराई, माधब नेपालको नाम बर्तमान प्रधानमन्त्री शेर बहादुरको निम्ती घाँडो हुनु स्वभाबिक मान्नु पर्दछ । राजिनामा र नैतिकता संग भेटघाट गर्न अनिच्छुक सभापती देउवा आफूबाट भए गरेका कुनै पनि कामको जस अपजस लिन तयार नभएको प्रष्टै बुझ्न सकिन्छ । निर्वाचनमा जीत हारको जिम्मा ब्यक्तीगत दायित्व सम्झने प्रधानमन्त्री देउवा केवल दुई चार जनाको स्वार्थ पुर्तीको निम्ती नैतिकता र संसदिय परम्परालाई घाइते बनाउँन मरिहत्ते गरिरहेको सजाय भबिष्यमा लोकतन्त्र र काँग्रेसको निम्ती धेरै ठुलो जोखिम बन्न सक्ने छ । काँग्रेसलाई निर्वाचन जिताउन काम नलागेका शेर बहादुर बाणीहरु कम्युनिष्टले चुनाब जिते रुन पनि नपाइने, अधिनायकवाद लादिने वा आउने, यो नै अन्तिम चुनाव हुने जस्ता अफबाहहरु पाँच बर्ष पछि वामगठबन्धनको पुँजी बन्ने खतरा देउवाकै कारण बन्दै गरेको मानिदैछ । लोकतन्त्रको न्युनतम मापदण्ड र मर्यादालाई लत्याउँदै सत्तामा टासिने शेर बहादुर काइदाले भबिष्यको वाम सरकारलाई सिंहदरबार बाट हटाउन मुस्किल पर्ने नजिर शेर बहादुरकै कारण बन्दै गरेको बर्तमान काँग्रेसको निम्ती अर्को दुर्भाग्यको कारण बन्न सक्नेछ ।

एमाले भित्रको आन्तरिक समिकरण, प्रचण्डको रणनीतिक चाल र भू राजनीतिको कुटिल खेलको अल्पकालिन फाइदा शेर बहादुरले लुट्दै लगाएको ॠण भबिष्यमा काँग्रेस पार्टीले मात्र हैन पुरै देशले भुक्तान गर्नुपर्ने बातावरण सिर्जना गरिदैछ । ०५२ सालमा हेलिकप्टर दुर्घटना बाट बालबाल बाँचेका तत्कालिन मनमोहन सरकारलाई भदौ १२ को फैसला पछि बिदाई दिन गरिएको हतार आज स्वंम देउवाको निम्ती घाँडो भईरहेको बुझ्न सकिन्छ । जनादेश पश्चात प्राप्त नतिजालाई अनेक बहानामा आलटाल गर्दै लिएको ऋण भबिष्यमा काँग्रेस पार्टीले पटक पटक तिरिहरनु पर्नेछ । देशको राजधानी दिल्ली पुर्याएर प्रदेशको राजधानी बनाउँन जनता सडकमा उतार्ने शक्ती केन्द्रको आदेश शिरोपर गर्ने देउवा काइदाले बर्तमानको काँग्रेस कति सम्म गरीब हुन पुग्ला ? मन्थन गर्ना साथ भूराजनीति र इसाईहरुको रणनीतिमा काँग्रेसको स्थान कहाँ हुनेछ ? युवा काँग्रेसले चाल पाउँनेछन । लोकतन्त्र र काँग्रेस पार्टीलाई समाप्त गर्न गिरिजाबाबुबाट सुरु गरिएको अभिभारा पार्टी सभापती एबं प्रधानमन्त्री देउवाले कुशलता पूर्वक सम्पन्न गर्दै काँग्रेसको उपादयता समाप्त गर्न सफल हुँदा अमुक नामको पुरस्कारको हकदार बन्नेछन् ।

प्रधानमन्त्रीको हैसियतले शेर बहादुरबाट लोकतन्त्र र देशको भबिष्य सुरक्षित हुने आधार समाप्त भैसकेको बर्तमान अवस्थामा उनको सम्मान पूर्वक बिदाई गर्नु ढिला भैसकेको मानिदैछ । लोकतान्त्रीक अभ्यासको दौरान मच्चाइएको सबै काण्डहरुको एकछत्र अधिपती बनिरहने देउवा सोचलाई रोक्नु बर्तमान काँग्रेस पार्टीको प्रमुख अभिभारा हुनेछ । वाम गठबन्धनलाई आन्तरिक रुपमै पुनर्गठित र सुदृढ बनाउँन देउवाले लगाएको गुन सर्बप्रथम काँग्रेसले चुक्ता गर्नु पर्नेछ । देउवा द्वारा सम्पन्न गरिएका सम्पुर्ण काण्डहरुको पुरस्कार मतपत्र मार्फत मिली सकेको बर्तमान अवस्थामा अझै नयाँ काण्ड जन्माउँने देउवा प्रयासले लोकतन्त्रको हबिगत साँच्चिकै हेर्न लाएक बन्दैछ । इतिहास साक्षी छ, नेपाली राजनीतिको अभिन्न अस्त्र छलकपट र धोखाधडी हुँन । तिनै अस्त्रहरुको भरमार प्रयोग गरिरहेका काम चलाउ देउवा कार्यकाल लोकतन्त्रको नयाँ परिभाषा बुन्न पैताला देखी टुप्पी सम्मको बल लगाउँदैछ । आफ्नो अल्पकालिन आयू बढाउँनको निम्ती निर्वाचन आयोग र भूराजनीतिको प्रयोग गर्ने खेलले भबिष्यमा काँग्रेस पार्टीले दाबी गर्ने लोकतान्त्रीक पेटेण्ट राइटको आधार देउवाले हदै सम्म विकृत गरिदिएका छन् । पछिल्ला ब्रम्हलुटलाई सहि साबित गर्ने कुतर्क अन्तर्गत चुहाइएको कथित धारणा देशको ढुकुटी भरेको कांग्रेसले खर्च गर्ने हैसियत पनि राख्छ भन्ने बिश्व प्रकास शर्माको अभिब्यक्तीलाई बाध्यात्मक मानिदिंदा शेर बहादुरले बदलेको लोकतान्त्रीक परिभाषा समृद्ध नेपालको निम्ती अभिसाप मानिने छ ।

7654 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank