भक्तहरुको प्रतिस्पर्धा !

फरकमत

मङ्लबार, चैत्र ६, २०७४



- दीपेन्द्र पाण्डे

जनतामार्फत बहुमत पाएको ओली सरकारले संसदबाट दुईतिहाईको शक्ति आर्जन गर्न महत्वपूर्ण समय खर्च गर्‍यो । पार्टी भित्रको शक्ति सन्तुलनमा आउँदै गरेको स्वभाविक परिवर्तनले दुईतिहाई प्राप्त प्रधानमन्त्री ओली आफ्ना सेवक र भक्तहरूको उचित व्यवस्थापन गर्न शतप्रतिशत सफल हुन सकेनन् । संसदीय टिकटदेखि राजकीय सुविधाको पदहरूमा भक्तहरूलाई मुख्यमन्त्री, प्रदेशमन्त्री, राष्ट्रपति, राष्ट्रिय सभा अध्यक्ष, उपसभामुख, केन्द्रीय सरकारको मन्त्री बनाउँदा पनि छुटेका भक्तहरूको गुनासोले प्रधानमन्त्री ओली मन अमिलो बनाउँन बाध्य भएका छन् । जनतालाई समृद्धिको सपना, सेवकहरूलाई पद र सुविधा बाँडेर सिंहदरबारको कुर्सीमा बिराजमान भैसक्दा पनि असन्तुष्ट भक्तहरूको घेराबन्दीले उनको कार्यशैली अवरुद्ध हुन पुगेको चर्चा चल्दैछ ।

सम्भवतः आगामी अप्रिल २२ तारिखको दिन एमाले र माओवादी केन्द्र मिलेर बन्ने नेपालको कम्युनिष्ट नामको बृहत समुन्द्रमा पाइड पाइपर अफ ह्यामलिन कविता धेरै भक्तहरूले पढनेछन । मिठो मुरलीवादकले शहरका सबै मुसाहरूलाई आफ्नो धुनको मोहनीमा लट्ठयाएर समुन्द्रमा होमे झै कुर्सी प्राप्तीको निम्ति माकेलाई एमाले रुपी समुन्द्रमा होम्दै गर्दा थुप्रै मुसाहरू ओली वा प्रचण्डको भक्त बन्दै सुरक्षित हुने होडबाजी नयाँ ढंगले चल्नेछ । राजकीय सुविधाबाट छुटेका वा राजकीय सुविधामा आफ्नो मन भाँचिएकाहरू बीच आफ्नै स्वामीलाई रिझाउन मरिहत्ते गर्नेहरुको ताँती नयाँ रुपमा देखा पर्दा महाभारतका पात्र अर्जुनको कहाँनी पनि बदलिने देखिन्छ ।

एक पटक अर्जुनमा एउटा अहंकारले जन्म लियो । उनलाई लाग्यो कि संसारमा उनी भन्दा ठुलो भक्त भगवान श्रीकृष्णको अरु कोही छैनन र हुन सक्दैनन् । अर्जुनको घमण्डलाई बुझ्ना साथ श्रीकृष्णले उनलाई संगै घुमाउन लगे ।

बाटोमा उनको भेट एक गरीब ब्राह्मणसंग हुन पुग्यो । उसको व्यवहार अलि बिचित्रको थियो । ब्राह्मण सुकेको घाँस खाइरहेको थिए । तर कम्मरमा तरबार भिरेका थिए ।

अर्जुनले ब्राह्मणलाई सोधे, तपाँई त अंहिसाको पुजारी हुनु हुन्छ । जीब हिंसा गर्नु नपरोस भनेर घाँसबाटै प्राण धानिरहनु भएको छ । तर कम्मरमा किन तरबार बोक्नु भएको ? ब्राह्मणले अली आक्रोषित हुँदै भने, म केही मानिसलाई दण्डित गर्न चाहान्छु । तपाँईको शत्रु को हुन ? अर्जुनले जिज्ञाषा राखे ।

ब्राह्मणले भने, म चार मानिसलाई खोजिरहेको छु । ताकि उनीहरूसंग आफ्नो हिसाब चुक्ता गर्न सकुँ ।

सबैभन्दा पहिला नारदको खोजी गर्दैछु । नारद मेरो प्रभु श्री कृष्णलाई आराम गर्न दिदैनन् । सदा भजन र कृतन गर्दै उनलाई जागृत गरिरहन्छन ।

दोश्रो , द्रोपदीसंग क्रोधित छु । द्रोपदीले मेरो प्रभुलाई त्यो समय पुकारिन । जब मेरो प्रभु भोजन गर्न बसिरहेका थिए । मेरो प्रभुले तत्काल खाना छोडदै पाण्डबहरुलाई दुर्बाषा ॠषीबाट बचाउन भोकै जानु पर्‍यो । मेरो भोको प्रभुलाई जुठो खाना समेत खुवाए ।

अनि तेश्रो शत्रु को हुँन ? अर्जुनले फेरि सोधे ।

उनी हृदयहिन प्रल्हाद हुँन । निर्दयी प्रल्हादले मेरो प्रभुलाई गरम तेलको कराईमा प्रबेश गराए । हात्तीबाट कुल्चन बाध्य बनाए । अन्तमा खम्बाबाट प्रकट हुँन विवश बनाए ।

अनि चौथो शत्रु हुन, अर्जुन । उसको दुष्टता हेर्नुस त ! मेरो प्रभुलाई आफ्नो सारथी बनाए ।
दुष्ट अर्जुनले भगवान कृष्णको असुबिधाको अलीकती ध्यान पनि दिएनन् । कती कष्ट भयो होला मेरो प्रभुलाई ।

यसो भनिरहँदा ब्राह्मणको आँखा आँसुले भिजिरहेको अर्जुनले देख्न पुगे । ततपश्चात अर्जुनको घमण्ड चकनाचुर हुन पुग्यो । अर्जुनले श्रीकृष्णसंग क्षमा माग्दै भने, प्रभु यो संसारमा हजुरका कती भक्त होलान । म त केही पनि रहेन छु ।

कमरेड पुष्पलालले जन्माएको नेपाल कम्युनिष्ट पार्टी २००६ साल देखि २०४६ सम्म हजारौं नेता जन्माउन सफल भयो । पद प्राप्तीको निम्ती रानो माहुरी मान्न तयार भइहाल्ने पद पाउना साथ रानोलाई टोक्न तम्सी हाल्ने नेपाली कम्युनिष्ट नेताहरु २०४६ अघि भाले माहुरी बन्न भन्दा ज्यामी माहुरी बन्न रुचाउँथे । विश्व राजनीतिमा आएको बदलाब र देशको राजनीतिमा आएको परिवर्तनपछि संसदीय सुविधाको कारण ज्यामी माहुरीहरू रानोको वरिपरी बस्दै भाले बन्न तम्सिए । संसदीय राजनीतिको रस खान पल्केका नेपाली कम्युनिष्ट नेताहरू संसदीय फाँटमा भूमिका पाउने र पार्टीमा रहने बीच सबै खाले हैसियतमा फरक देखिन जाँदा नेतृत्वको परिक्रमा गर्न बाध्य भए । मदन भण्डारीको अकल्पनीय अवसानपछि पार्टीलाई आफ्नो कब्जामा लिन गरिएका वैधानिक र अवैधानिक कोसिसले गुटको राजनीतिलाई अपत्यारिलो ढंगबाट स्थापित गर्न पुग्दा नेता दातामा बदलिए भने कार्यकर्ता सेवक वा भक्तमा परिणत हुन पुगे । फलस्वरुप संसदीय राजनीतिमा सफलता पाउन जबजको नाममा अध्ययन केन्द्र र फाउण्डेसनको परिक्रमा गर्ने अघोषित नियम नै बनाइयो ।

विश्व कम्युनिष्ट आन्दोलनको खराबीलाई चिर्नुपर्छ भन्दै राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको सवाललाई राम्रोसंग उठान गर्दै अगाडि बढेको एमाले पछिल्लो कालखण्डमा सिद्धान्त र अभ्यासमा तारतम्य मिलाउन असफल हुँदा अनेकौं नाम र काम गर्न राजी भयो । जनतालाई भारत विरोधी बनाउँदै गुटगत राजनीतिमार्फत माथी उठेका नेताहरू भारतकै दानापानीमा फाउण्डेसन चलाउँदै नाचिएको नाङ्गो नाच तत्कालिन नेतृत्वले रोक्न नसकेको सजाय अन्तत तीनै नेतृत्व, त्यागी कार्यकर्ता र नेपाली वाम आन्दोलनले भोग्दै गरेको कहाली लाग्दो दृश्य छाती, पाखुरा र ठुलो तिघ्रा भएकाहरुको ‘बा’ राजनीति हेर्न वालुवाटारको तामझाम काफी छ ।

एमाले र माके पार्टी भित्र जरा गाडेर बसेको परिक्रमावादीहरूको व्यवस्थापनको कारण खर्च गरिएको थप समय पार्टी एकता र एकता महाधिवेशनसम्म जबज र जनयुद्ध वा एक्काइसौं सताब्दीको जनबादलाई स्थगित गर्ने बिषयमा भएको मौन सहमतिले पार्टी एकताको आधार के बन्दै छ ? थप व्याख्याको माग गर्दैन । १४ बर्ष लोकतन्त्रको निम्ती लडेको सगौरब दाबा गर्नेहरु १५ बर्षसम्म गरेको गुटको खेती थन्क्याउने अबसरलाई केवल केही व्यक्तिमा सीमित राख्ने कार्यले आगामी दिन भक्तहबीच गज्जबको प्रतिष्पर्धा सुरु हुने मान्न सकिन्छ । ओली निवासलाई सुमेरु पर्वत मान्न राजी ठुलो जत्था पार्टी एकतापछि गणेशकै शैली अप्नाउन राजी हुनेछन । निकट भविश्यमा सेवकहरूलाई प्रसाद स्वरुप बाँडिने पदहरु प्रमुख सचेतक, सचेतक, योजना आयोगका सदस्य, संविधानमा व्यवस्था गरिएका आयोगका सदस्य, राजदूत, भक्त तथा सेवकहरूको व्यवस्थापन गर्न सिर्जना गरिने नयाँ नयाँ पद प्राप्तीको निम्ती अनौठो पुजा र परिक्रमा देख्न पाइने नै छ ।

वर्ग संघर्षबाट सुरु भएको कम्युनिष्ट राजनीति वर्ग समन्वयमा पुर्याउने गुटबाजहरूले जन्माएको सेवकहरू बीच जन्मदै गरेको परिक्रमावादले प्रधानमन्त्री ओली दङदास छन् । प्रधानमन्त्री बन्नु अगाबै भारतीय प्रधानमन्त्री मोदीबाट खाएको बधाईलाई झनै प्रगाढ बनाउने सोल्टी होटलको वान टु वान वार्तापछि आर्जन गरेको थपशक्तीले नयाँ सेवक थपिनेमा ढुक्क छन । अनेकौं दुख कष्ट सहेर प्रभुलाई आजको स्थानमा पुर्याएको पुरस्कार खोज्ने होडबाजी सुरु भइसकेको अवस्थामा प्रभुबाट बिगतमा दिएको वचन स्मरण गराउनेहरू बढदै छन । उद्योग खोल्दा गरीब र प्राकृतिक साधनको दोहन गरे धनी हुने, ज्यामी झै काम गर्ने कार्यकर्तामै सिमित हुने, चाप्लुसी र परिक्रमा गरे नेता बन्ने जुक्ती सिकाउने गुटवादीहरूको स्कुलिङ समृद्धिको निम्ति नयाँ समस्या बनेर खडा भएको महसुस आफू पनि नखाने, अरुलाई पनि खान नदिने जस्ता अभिव्यक्तिबाट दिंदैछ्न । अल्पकालिन र सत्ता केन्द्रित राजनीतिको खेल अन्तर्गत विगतमा जन्माइएको कैयौं भक्त घाँडो हुँदै गएको अनुभव विगतमा कर्मचारी ट्रेड युनियनमा जित भयो भन्दै रमाउनेहरू अहिले हामीले तोकेको ठाँउमा जानैपर्छ भन्दै मिडियामार्फत सुनाउँदैछ्न । पार्टी अध्यक्ष र प्रधानमन्त्री भएको लामो समय बितिसक्दा पनि आफूले जन्माएको भक्तहरू नारद , द्रौपदी , प्रल्हाद र अर्जुन जस्तो मात्र फेला परेको ब्राह्मण किसान जस्तो असली सेवक बनाउँन असमर्थ भएको महशुस ओली ‘बा’ ले गरेको चर्चा उनको भक्तहरूले नमिठो मान्दै पचाउँदै छन ।

4898 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank