खर्च न्यून, आर्थिक वृद्धि उच्च !

आर्थिक बृद्धि दरका सम्बन्धमा

शुक्रबार, बैशाख २९, २०७४

loading...


- डा. गोविन्दबहादुर थापा

 

चालु आर्थिक बर्ष नेपालको आर्थिक बृद्धि दर ६ प्रतिशतको हाराहारीमा हुने सम्बन्धमा बिशेष चर्चा भईरहेको र अन्तर्राष्ट्रिय बित्तीय संस्थाहरुले यस सम्बन्धमा आ—आफ्ना प्रक्षेपण का साथसाथै त्यसका कारणहरु सार्वजनिक गरिरहेको परिप्रेक्षमा मैले यस्तो प्रक्षेपण र त्यसको बास्तबिक कारण श्पष्ट पार्दै एउटा लेख लेखेको थिएँ, जुन गत बैसाख १२ गतेको अन्नपूर्ण पोष्टमा प्रकाशित भएको थियो । हिजो बिश्व बैंकले पनि नेपालको आर्थिक बृद्धि दर त्यसको कारणलको बारेमा आफ्नो आँकलन सार्बजनिक गरेको छ । बिश्व बैंकले गरेको अनुमान अरु सबैको र हाम्रो आधिकारिक निकाय केन्द्रीय तथ्यांक बिभागको प्रक्षेपणभन्दा बढी छ तर यो बृद्धि दर हासिल हुन सक्ने कारणको रुपमा मैले मेरो लेखाम जे तर्क प्रस्तुत गरेको थिएँ, बिश्व बैंकले पनि ठयाक्कै त्यही तर्क प्रस्तुत गरेको छ, जुन आजको कान्तिपुर दैनिकको पृष्ठ १५ मा उल्लेख गरिएको छ । अतः पृय पाठकहरुको जानकारीको लागि मेरो उक्त लेख यहाँ प्रस्त’त गरेको छ’ ।

अहिलेसम्मको सर्वाधिक धान उत्पादन ५० लाख ७२ हजार मेट्रिक टन हो, जुन आर्थिक वर्ष २०६८÷६९ मा भएको थियो । यो वर्षको धान उत्पादन मुख्यरूपमा उपयुक्त समयमा पर्याप्त मनसुनी वर्षा भएकाले भएको हो । समयमा रासायनिक मल आपूर्ति हुन सकेकोलाई पनि धान र गहुँ उत्पादन वृद्धिको सहायक कारण मानिएको छ ।

चालू आर्थिक वर्ष ०७३-७४ मा नेपालको अर्थतन्त्र ६ प्रतिशतको हाराहारीमा वृद्धि हुने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय मुद्राकोषले नेपालको अर्थतन्त्र यो वर्ष ५.५ प्रतिशतले, विश्व बैंकले ६ प्रतिशतले र एसियाली विकास बैंकले ५.२ देखि ६.२ प्रतिशतसम्मले आर्थिक वृद्धि हुने अनुमान गरेका छन् ।नेपालको केन्द्रीय तथ्यांक विभागले पनि यतिखेर यो वर्षको पूर्व बजेट आर्थिक सर्वेक्षणको लागि राष्ट्रिय आयको हिसाब गरिरहेको छ । त्यो पनि यी अनुमानकै हाराहारीमा अर्थतन्त्र वृद्धि हुने अनुमान गर्न सकिन्छ । गत वर्षको ०.८ प्रतिशतको तुलानामा यो वर्षको वृद्धिदर निसन्देह उत्साहजनक हो । चुनावको कारणले आर्थिक वर्षका अन्तिम साताहरूमा अर्थतन्त्र गम्भीर ढंगले प्रभावित भएन भने यो वर्ष वृद्धिदरका यी अनुमान हासिल गर्न कुनै कठिनाइ नहुने अनुमान गर्न सकिन्छ ।

माथि उल्लिखित तीनवटै अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले आआफ्ना अनुमानमा मुख्यरूपमा तीन कुरालाई आधार मानेका छन् । पहिलो- कृषि उत्पादनमा उल्लेख्य वृद्धि, दोस्रो, विद्युत् आपूर्तिमा उल्लेख्य सुधार र तेस्रो- पुनर्निर्माण कार्यमा केही गतिशीलता । नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ३३ प्रतिशतको हाराहारीमा छ र समग्र कृषि उत्पादनमा धान र गहुँको योगदान २५ प्रतिशतको हाराहारीमा छ । यो वर्ष धानको उत्पादन २२ प्रतिशतले वृद्धि भई ५५ लाख मेट्रिकटन भएको अनुमान छ । यो उत्पादन अहिलेसम्मकै सर्वाधिक धान उत्पादन हो ।

अहिलेसम्मको सर्वाधिक धान उत्पादन ५० लाख ७२ हजार मेट्रिक टन हो, जुन आर्थिक वर्ष २०६८÷६९ मा भएको थियो । यो वर्षको धान उत्पादन मुख्यरूपमा उपयुक्त समयमा पर्याप्त मनसुनी वर्षा भएकाले भएको हो । समयमा रासायनिक मल आपूर्ति हुन सकेकोलाई पनि धान र गहुँ उत्पादन वृद्धिको सहायक कारण मानिएको छ । राजधानी सहरमा यो वर्षको पहिलो चौमासिकको अन्त्यदेखि लोडसेडिङको पूर्ण अन्त्य र राजधानी बाहिर पनि लेडसेडिङमा भएको कटौतीले औद्योगिक उत्पादन र सेवा क्षेत्रका गतिविधि क्रियाशील हुन जानु स्वाभाविक भयो ।

राजधानीभित्र र बाहिर ठूला होटेलहरूको निर्माणमा ठूलो लगानी भएको छ । यो वर्ष आन्तरिक र वैदेशिक व्यापार विशेषगरी पैठारी निर्बाध रूपमा सञ्चालन हुन सक्यो । उद्योगहरूको क्षमता उपयोगमा सुधार भयो । यी कुराको आर्थिक वृद्धिदरको सुधारमा केही भूमिका रह्यो । पुनर्निर्माण सम्बन्धमा पनि संस्थागत संरचना तयार भइसकेकाले पछिल्लो कालमा केही सक्रियता देखिनु स्वाभाविक थियो । त्यसैले यी संस्थाहरूको अनुमानमा विश्वास गर्न सकिने आधार छन् ।

तर यी तीनवटै संस्थाहरूले नऔंल्याएको तर यो वर्ष आर्थिक वृद्धिदर ६ प्रतिशतसम्म पुग्न सक्छ भन्ने अनुमानको एउटा महत्वपूर्ण कारण गत वर्षको न्यून आर्थिक वृद्धिदर पनि हो । किनभने गत वर्षको न्यून वृद्धिदरबाट अर्थतन्त्रको जग (बेस) तल्लो स्तरमा थियो । भूकम्प र नाकाबन्दीबाट देश मुक्त भई अर्थतन्त्र सामान्य रूपमा सञ्चालन हुँदा पनि वृद्धिदर स्वतः बढी देखिन गयो । कुल गार्हस्थ्य उत्पादनका आँकडा केलाउँदा यो स्थिति अझ प्रस्ट हुन्छ।

आर्थिक वर्ष २०७१÷७२ मा आर्थिक वर्ष २०५७÷५८ को आधार मूल्यमा नेपालको कुल गार्हस्थ्य उत्पादन ६ खर्ब ८९ अर्ब ८४ करोड ८० लाख रुपैयाँ थियो । आर्थिक वर्ष २०७२÷७३ मा अर्थतन्त्र ०.७७ प्रतिशतले मात्र बढेकाले त्यो वर्ष नेपालको अर्थतन्त्र ६ खर्ब ९५ अर्ब १९ करोड १० लाख रुपैयाँको भयो । यो वर्ष (२०७३÷७४) अर्थतन्त्र अनुमान गरिएअनुरूप ६ प्रतिशतले बढ्यो भने हाम्रो अर्थतन्त्र सात खर्ब ३६ अर्ब ९० करोड रुपैयाँको हुन्छ । तर गत वर्ष अर्थतन्त्र ०.७७ प्रतिशतले बढ्नुको सट्टा ४ प्रतिशतले मात्र बढेको भए पनि त्यो वर्ष नेपालको कुल गार्हस्थ्य उत्पादन ७ खर्ब १७ अर्ब ४४ करोड २० लाख हुन्थ्यो ।

त्यसको तुलनामा यो वर्षको अनुमानित कुल गार्हस्थ्य उत्पादन (७ खर्ब ३६ अर्ब ९० करोड रुपैयाँ) ६ प्रतिशतको सट्टा २.७ प्रतिशतले बढेको हुन्थ्यो । गत वर्ष अर्थतन्त्र ४ प्रतिशतको सट्टा ३ प्रतिशतले बढेको भए यो वर्ष अर्थतन्त्र ६ प्रतिशतको सट्टा ३.७ प्रतिशतले बढेको हुन्थ्यो । यसले के कुरा प्रस्ट पार्छ भने यो वर्ष अर्थतन्त्र अनुमानित ६ प्रतिशतले बढ्नुमा गत वर्ष न्यून दरमा आर्थिक वृद्धि भई कम हुन गएको आधार (बेस) नै मुख्यरूपमा जिम्मेवार छ । गत वर्षको वृद्धिदर सामान्य (३ वा ४ प्रतिशत) रहेको भए यो वर्षको वृद्धिदर पनि सामान्य नै हुने थियो ।

नेपालको अर्थतन्त्रको दिगो खालको उच्च वृद्धिदरको सुनिश्चितता कृषि क्षेत्रको दिगो विकासले मात्र दिन सक्छ र कृषि क्षेत्रको दिगो विकासको प्रत्याभूति सम्पूर्ण कृषि भूमिमा बाह्रै महिना सिँचाइ सेवा उपलब्ध गराउन सक्दा मात्र हुन्छ, नेपालका नदी, खोलामा बगिरहेको पानी सम्पूर्ण खेत खलिहानमा नियमित रूपमा दगुराउन सक्दा मात्र हुन सक्छ ।

आर्थिक वृद्धिदर मात्र होइन, यो वर्ष राजस्व र आयातका वृद्धिदर पनि अस्वाभाविक रूपमा उच्च छन् । जस्तैः यो आर्थिक वर्षको पहिलो आठ महिनाको अवधिमा राजस्व ५१.९ प्रतिशतले र आयात ४४.२ प्रतिशतले बढेको छ । यी दुवै दर सामान्य र स्वाभाविक होइनन् । यी दुई दर यति उच्च हुनुको कारण गत वर्ष भूकम्प र नाकाबन्दीको कारणले राजस्व ३.४ प्रतिशतले र आयात १३.९ प्रतिशतले घट्न गई आधार नै तल झरेको थियो । त्यो न्यून आधारबाट यो वर्षको सामान्य किसिमको राजस्व परिचालन र आयातको वृद्धिदर उच्च हुन गए । त्यसैले यो वर्ष राजस्व परिचालन र आयातको वृद्धिदर चर्चा र तुलनाका विषय भएनन् ।

त्यसैले यो वर्ष ६ प्रतिशतको आर्थिक वृद्धि कुनै विशेष मानवीय प्रयत्नबाट हुने नभई नेपालको ऐतिहासिक न्यून दरको आर्थिक वृद्धिदरकै निरन्तरता हो । यो वृद्धिदरमा मानवीय प्रयत्नको भूमिका छ भने त्यो पनि निजी क्षेत्रको भूमिकामा छ, जसले विशेषगरी पर्यटन क्षेत्रमा ठूलो लगानी गरेको छ । राजधानी र मोफसलका एकाध सहरमा भएको लोडसेडिङ अन्त्यले उद्योग क्षेत्रको क्षमता उपयोगमा केही सुधार आएको अवश्य छ । तर कुल गार्हस्थ्य उत्पादनमा केवल ५.५ प्रतिशत मात्र योगदान रहेको उद्योग क्षेत्रमा भएको सामान्य सुधारले कुल गार्हस्थ्य उत्पादनको वृद्धिदरमा खासै ठूलो प्रभाव पार्दैन । यो वर्ष शिक्षक र कर्मचारीहरूको भारी तलब वृद्धिको पनि यो वृद्धिदरमा केही योगदान रहेको छ ।

त्यसैले यो वर्षको अर्थतन्त्रको वृद्धिदर उत्सव मनाउनुपर्ने खालको वृद्धिदर होइन । यो वृद्धिदरको दोस्रो कारण अनुकूल मनसुनी वर्षा हो । गतिहीन अवस्थाबाट गुज्रिरहेकोे नेपालको अर्थतन्त्रमा जुनसुकै कारणले भए पनि केही गति देखिनु निसन्देह खुसीको विषय हो । तर आउँदो वर्ष यसको निरन्तरताको भने विल्कुलै सुनिश्चितता छैन । अनिश्चित कुन कारणले छ भने आगामी मनसुन पनि यो वर्षको जस्तै अत्यन्त अनुकूल हुनेछ भन्ने ग्यारेन्टी छैन । दक्षिण एसियामा लगातार दुई वर्ष मनसुन अनुकूल रहेको बिरलै पाइन्छ । आकाशे वर्षाको भरमा हासिल भएको उच्च दरको आर्थिक वृद्धिदर दिगो नहुने कुरा बताइरहनुपर्ने विषय होइन ।

नेपालको अर्थतन्त्रको दिगो खालको उच्च वृद्धिदरको सुनिश्चितता कृषि क्षेत्रको दिगो विकासले मात्र दिन सक्छ र कृषि क्षेत्रको दिगो विकासको प्रत्याभूति सम्पूर्ण कृषि भूमिमा बाह्रै महिना सिँचाइ सेवा उपलब्ध गराउन सक्दा मात्र हुन्छ, नेपालका नदी, खोलामा बगिरहेको पानी सम्पूर्ण खेत खलिहानमा नियमित रूपमा दगुराउन सक्दा मात्र हुन सक्छ । आकाश ताकेर बस्नुपर्ने स्थितिले कृषि क्षेत्रको दिगो विकास हुँदैन । जहाँसम्म सिँचाइ सुविधा विस्तारको अवस्था छ, हालै योजना आयोगका एकजना सदस्यले खुलासा गरेको कुराले प्रस्ट्याउँछ । उनले भनेका छन्- २०१६ सालमा गणेशमान सिंहले शिलान्यास गरेको एउटा सिँचाइ आयोजना अहिलेसम्म सम्पन्न हुन सकेको छैन ।

उच्च आर्थिक वृद्धिदर हासिल गर्ने उद्देश्यले विनियोजन गरिएको पुँजीगत बजेटको आर्थिक वर्षको नौ महिना बितिसक्दा एकतिहाइ पनि खर्च गर्न नसकिएको अवस्थामा यो ६ प्रतिशत आर्थिक वृद्धिको श्रेय लिन सुहाउने कुरा होइन । लगानी नै नगरी विकास गर्न सकिने भए मुलुकहरू ऋणको भारले किन थिचिन्थे ? नेपालको सन्दर्भमा पुँजीगत बजेटको शीर्षकको आवश्यकता नै पर्दैनथ्यो । त्यसैले पुँजीगत बजेट पूर्णरूपमा खर्च गर्ने व्यवस्था संस्थागत नहुन्जेल मुलुकको आर्थिक वृद्धिदर दिगो रूपमा उच्च हुने कल्पना गर्नु औचित्पूर्ण हुदैन । अन्नपूर्ण पोष्ट, दैनिक

—000—

 

685 पटक पढिएको

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janamat health right side janta bank janata bank