स्थिर सरकारका लागि हाम्रो मत

बुधबार, मंसिर २०, २०७४

loading...


- रम्भा पौडेल,

यतिबेला देश चुनावमय बनेको छ । स्थानिय सरकार बनिसकेको छ । देश संघियतामा गइसकेको छ । प्रदेश र केन्द्रको चुनावमा राष्ट्र होमिएको छ । प्रत्यक्ष र समानुपातिक क्षेत्रमा टिकट पाएका व्यक्तिहरु आ–आफनो गृह जिल्लामा पुगेका छन । यसअघि कहिल्यै नपुगेका दुखी जनताको घरमा पनि बन्न सक्नेजति नरम बनेर उमेदवारहरूले मत मागिरहेका छन । अघिपछि अरुको नमस्कार फर्काउन पनि नचाहने नेताहरुले हात जोडेर बोलाइ–बोलाई नमस्कार गरिरहेका छन् । यहाँसम्म कि खेतबारीमा पनि नेता पुग्न भ्याएका छन । प्रचार प्रसारका सबै माध्यमहरु प्रयोग भएका छन । संचारमाध्यमका सञ्जालहरुमा मतका सर्वेक्षण पनि भएका छन ।

बाम एकताको तालमेलले देशमा नयाँ आयामका आशाहरु पनि पलाएका छन। कति सर्वेक्षणहरु तटस्थ हिसाबले गरिएका छन् त कति खास पार्टी वा व्यत्तिलाई लोकप्रिय देखाउन योजनाबद्ध रुपमा गरिएका पनि छन् । थाहा छैन जित कसको हुन्छ । जनताको मन जसले जित्यो जित उसैको पक्का हुनेछ ।

२०१५साल देखि नै मतदाताहरुले नेताहरुलाई मत दिँदै आए र राज्यको महत्वपुर्ण जिम्मेबारी सुम्पिदै आए । नेताले बाँडेका झुठा आश्वासन पुरा भए नभएको जनताले कहिल्यै टिका टिप्पणी गरेनन् । जनताको चुलोमा आगो नबले पनि, छोरा–छोरी स्कुल पठाउन नसके पनि, बिरामी पर्दा उपचार पाउन नसकेर घरको पिढीमै पल्टिएर रहनु परेपनि जनताको कुनै गुनासो रहेन । उनीहरु कहिल्यै पनि आफ्नो कर्तब्यबाट विचलित छैनन् । नेताहरूकै गल्तिका कारणले पटकपटक प्रतिगमनका घटना भएका छन् तर जनताको साथले ती प्रतिगमनहरु सच्चिएका छन् । जनताले पटकपटक क्रान्तिको बलिबेदीमा आफूलाई होमीदिएका छन् ।

अहिले जनतामा उत्साह रथोरै भय दुवै मिश्रित छ । एकातिर जनता आफनो नयां जनादेश दिएर राष्ट्रलाई नयां दिशा तर्फ लैजान आतुर छन् भने अर्काथरी केही समुहहरु राज्यलाई यस्तै अस्तब्यस्ततामा राख्ने र त्यसैबाट फाइदा उठाउने पक्षमा देखिन्छन । बन्द र बम बिस्फोटका घटनाले जनतामा भय पनि त्यतिकै छ । निर्वाचनको मिति जति नजिक हुँदै छ त्यतिकै उत्साह र भयको बाताबरण बन्दै छ । जस्तोसुकै भयको बाताबरण भए पनि निर्वाचन सम्पन्न हुनुपर्छ र नयां जनादेशसहितको सरकार बन्नुपर्छ । आतंक फैलाउन चाहनेहरुले विभिन्न देशका घटनाहरुबाट पाठ सिक्नुपर्दछ । आतंकको काम कार्वाहीले स्वयं आतंककारी पक्षलाई नै समाप्त गरिदिन्छ । हाम्रो मित्र राष्ट्र श्रीलंकामा तमिल टाइगरको के हालत भयो सबैले बुझे हु्न्छ । बुझ्न चाहने हो भने त हाम्रै देशको उदाहरण पनि पर्याप्त छ । “सत्ता बन्दूकको नालबाट निस्कन्छ” भन्ने कुरा एकपटक असफल भैसकेपछि फेरी पनि त्यही प्रयोग दोहोर्याउन चाहनु मूर्खता बाहेक अरु के हुन सक्छ र ?

यतिबेला कस्ता व्यक्तिलाई भोट हाल्ने र नयां जनादेश दिने भन्ने कुरा मतदाताको हातमै रहेको छ । त्यसमा पनि महिला मतदाताहरुले बुझ्नै पर्ने बेला भएको छ ।हामी नेपाली महिलाहरू सदियौँदेखि पुरुष प्रधान समाजको जातो भित्र पिसिदै आएका छौ  । बर्तमान सविधानले महिलाका पक्षमा थोरै कुरा लेखिदिदा नै हाम्रो मान प्रतिस्ठा ब्यबहार र जिम्मेबारीमा फरक पारेको कुरा स्थानिया निर्वाचनको सहभागिताले देखाइसकोका छ । अझैपनि घर, समाज, राज्यमा महिला मैत्री बाताबरण बन्न बाकी नै छ । चेलीबेटी बेचबिखन, महिला हत्या–हिंसा, र असुरक्षित बाताबरण अहिले पनि उत्तिकै छ । यी कुराहरु एक झट्कामा समाधान हुनपनि सक्दैनन् । २०४६ सालको क्रान्तिले २०५४ सालको स्थानीय निर्वाचनमार्फत स्थानीय निकायमा महिलाहरुको २० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरेको थियो ।

२०६२-०६३ को क्रान्तिले अन्तरिम संविधानमार्फत् राज्यका हरेक निकायमा ३३ प्रतिशत प्रतिनिधित्व र पहुँच सुनिश्चित गरेको छ तर यो पनि अझै सबै ठाउँमा राम्रोसँग लागू हुन सकेको देखिएको छैन । यो विषय अझै संस्थागत भएको छैन ।

अहिलेको निर्वाचनको उम्मेदवारहको तथ्यांकले नै देखाएको छ कि प्रत्यक्ष निर्वाचन तर्फ महिला उम्मेदवारको संख्या अत्यन्त न्युन रहेको छ । त्यसमा पनि जित्ने सम्भावना कम भएका, दलका ठुला नेतासंग प्रतिस्पर्धा गर्नुपर्ने जोखिमपुर्ण ठाउँहरुमा महिलाहरुलाई उठाइएको छ । आफ्नो व्यक्तित्व भर्खर विकास गर्दै गरेका महिला उमेदवारहरू घर, नातागोता, र समाजबाट खिसिट्युरीको पात्र बन्नु परेको कुरा स्वयँ महिला उम्मेदवारले राख्दै आएका छन । सम्बन्धित पार्टीले पनि महिला उम्मेदवारलाई यथेष्ट सहयोग नदिएको गुनासो उनीहरुको छ । सबै पार्टीहरुमा पुरुष प्रधानता नै देखिन्छ ।

पार्टी नेतृत्वको नजिक बन्न नसकेका वा भित्रि गुटमा संलग्न नभएका महिलाहरु जतिसुकै क्षमतावान भएपनि पछाडि धकेलिएको कुरा प्रायः हरेक पार्टीमा देख्न सकिन्छ । अलिकति आफ्नो पहिचानसहित अगाडि बढ्न चाहने र पुरुषहरुसँग प्रतिस्पर्धा गर्न पछि नपर्ने महिलाहरूलाई सदाका लागि पछाडि धकेल्न खोज्ने प्रयास भएका छन् भन्ने गुनासा सुनिएका छन । राज्यका महत्वपुर्ण पदमा महिलालाई पुरयाइए पनि विश्वास गर्न नसकेका ज्वलन्त उदाहरण अहिले पनि छदैछन् । यस्तो अवस्थामा महिला नेत्रीहरुले महिला सरोकारका सवालहरुलाई आ आफना पार्टी र सरकारमा उठाउनुु जरुरी छ । अर्काेतर्फ महिलाले महिलाहरुकै खुट्टा तान्ने अस्वस्थ्य प्रतिस्पर्धा गर्नु भन्दा उनीहरुको बीचमा पनि सहयोग, विश्वास र मैत्रीपूर्ण वाताबरण सृजना गर्नु जरुरी छ ।

हाम्रो देशको जनसंख्यामा आधाभन्दा बढी महिला नै छन । निर्वाचन आयोगले निकालेको तथ्यांक अनुसार पुरुष करिव ५९लाख र महिला ६१ लाख मतदाता रहेका छन् । यही तथ्यांकले देखाउछ कि महिलामा आएको सचेतना र जागरणले नै भोलीको भविष्य निश्चित हुनेछ । महिला मत नै निर्णायक हुनेछ । मतदान भनेको राज्यसत्ताको अधिकार दान गर्नु हो । यस्तो दान राज्य र जनताको हितमा मात्रै प्रयोग हुनुपर्छ । महिलाहरूको मत कतै अपराधी, भ्रस्टचारी र व्यभिचारी लाई त जादै छैन भनेर गंभीरतापूर्वक सोच्नै पर्ने बेला भएको छ । आम महिला मतदाता, महिला उम्मेदवार र राजनीतिक पार्टीका महिला कार्यकर्ताहरु सबैले एक पटक सोँच्नै पर्दछ ।

निश्चय नै आ–आफ्नो राजनीतिक विचारधारा वा संलग्नताअनुसार नै महिलाहरुले मतदान गर्छन् तर राजनीतिक आबद्धताको नाउँमा महिलाविरोधि उमेदवारहरुलाई भने कुनै पनि हालतमा मत दिनु हुँदैन । महिला नेतृहरुलेअव सोच्नै पर्ने बेलाआएको छ । हाम्रो आन्दोलन सही दिशातर्फ जादैछ या गलत दिशातर्फ ।हाम्रँो मान सान र स्वाभिमानलाई माथि उठाउदैछौ या भित्री गुट उपगुटका नाममा आफनो स्वाभिमान गिराएर माथि पुग्दैछौ ? यदी यसो हो भने हाम्रो आन्दोलन दिग्भ्रमित बन्दै त छैन । त्यसो होइन भने हामीआफै पनि महिला विरोधी तथा ब्यभिचारीहरुलाई कार्वाही गर्नुपर्ने आवाज उठाउन किन सकिरहेका छैनौ । अझैपनि राजनितिको मैदानमा महिलाको मुद्या किन कमजोर बन्दैछ ? यसका लागि समयमै सचेत बनौ । जन प्रेमि बिकास पे्रमि र राष्टप्रेमि ब्यक्तिलाई नै भोटका लागि रोजौ । अहिले महिलाहरुले जसलाई चाहान्छन्, उसैको विजय सुनिश्चित छ । स्वच्छ छवि भएको, देश र जनताप्रति जन उत्तरदायी व्यक्तिलाई मतदान गर्नुपर्दछ । राष्टिय एकता ,स्थायित्व,सुशासन ,साथै नयायुगको रुपान्तरण र समृद्घि र स्थिर सरकारका लागि हाम्रो एक भोट सदुपयोग गरौं ।

72 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janamat health right side janta bank janata bank