अंकगणितको अभिमानले थलिएका प्रधानमन्त्री !

फरकमत

सोमवार, असार ९, २०७६



- दीपेन्द्र पाण्डे

महाभारत युद्ध टाल्न नचाहेका तर दोषको बाछिटा आफ्नो चमत्कारिक छविमा नपरोस भन्ने मनसायको साथ शान्तिवार्ताको प्रस्ताव लिँदै भगवान कृष्ण हस्तिनापुर पुगे । हस्तिनापुरमा युवराज दुर्योधनको आतिथ्य स्वीकार गरेसँगै दुर्योधनलाई श्री कृष्णले भने, “कदाचित युद्ध भएमा तिमी ‘नारायण’ रोज्छौं कि ‘नारायणी सेना’ ? युद्धमा सेनाको मात्र महत्व बुझेका दुर्योधनले नारायणी सेना रोजे । स्वयम नारायणलाई छोडेर नारायणी सेना लिएका दुर्योधनले युद्ध जित्न सकेनन । परासर पुत्र दैपायन उर्फ महर्षि वेदव्यास लिखित महाभारत कहानी द्वापर युगको घटनामा आधारित थियो। राजा भरतको राज्य हस्तिनापुरबाट शुरु भएको महाभारतकालिन लोकतन्त्र कलियुगमा विश्व राजनीतिको अभिन्न अंग भएको छ ।

कलियुगको भारतीय राजनीतिमा द्वापर युगको किस्सा ‘ जोक बनेर’ उदाएको छ । कलियुगको राजनीतिमा अर्जुनहरु सत्ता र शक्तिको निम्ति चुनाव लडन बाध्य छन । भगवान कृष्णले नारायणी सेना लिने कि नारायण भन्दा अर्जुन भन्छन । हे नारायण, हजुरले अकल्पनिय  शक्ति प्रयोग गर्दै महाभारत युद्ध जिताउनु भयो । यो त सामान्य निर्वाचन ! म हजुरलाई नै लिन्छु । भगवान कृष्ण अर्जुनलाई अन्तिम सम्म सम्झाउँछन । तिमी अवश्य हार्ने छौ । लोकतन्त्रमा मेरो केवल ‘एक मत’ मात्र हुनेछ । यस युद्धमा नारायणी सेनाको ‘मत’ निर्णायक हुनेछ । तिमी ‘भोट’को राजनीति बुझ्न सक्दैनौं ।

वास्तवमा उल्लेखित जोक भित्र विचित्रको सत्य लुकेको छ । नारायण भनेको ‘आइडोलोजी’ हो । नारायणी सेना भनेको ‘कार्यक्रम र औजार’ । द्वापर युग सिद्धान्तमा आधारित थियो । उक्त समयमा सत्यले ठूलो अर्थ राख्थ्यो । युद्ध सत्यमा आधारित थियो । सत्यले जित्यो । वर्तमान समयमा सत्ता र कुर्सीको निम्ति सिद्धान्त ‘कोमा’मा पुर्याइएको छ । नारायणको सट्टा नारायणी सेनाको महत्व बढेको छ । लोकतन्त्रमा मतादेशले आफ्नो महत्व स्थापित गरेको छ । मत प्राप्त गर्न नारायणी सेना अपरिहार्य बनाइएको छ । माथी उल्लेख भएको हाँस्यरस भित्र लुकेको अथाह शक्तिलाई बुझ्ने र नेपाली राजनीतिमा सटिक ढंगले प्रयोग गर्ने राजनीतिक खेलाडि कमरेड ओली हुन भन्दा किमार्थ गलत भइदैन ।

कम्युनिष्ट सिद्धान्तको चर्को नसा लाग्दा कमरेड ओली पञ्चायतको कठिन यातना भोग्न मजबुर थिए । वाम राजनीति मार्फत संसदीय राजनीतिको समुन्द्रमा हेलिँदा नारायणी सेनाको महत्व स्वीकार गर्न राजी भए । पार्टी र संसदीय राजनीतिमा अंकगणितको महत्व राम्रोसँग बुझेका कमरेड ओली पुर्व एमालेको अध्यक्ष बन्न नारायण (सिद्धान्त) भन्दा नारायणी सेना (कलियुगमा कुर्सी प्राप्त गर्ने अस्त्र )को प्रयोग कसरी गरे ? थप बताई रहनु परेन । जसको नेतृत्वमा निर्वाचनमा सफलता प्राप्त भयो उसैको हालीमुहाली संसदीय राजनीतिमा हुनु पर्छ भन्ने मान्यताका धनी कमरेड ओली झलनाथ खनालको नेतृत्वमा लडिएको दोश्रो संविधान सभा निर्वाचन पछी संसदीय दलको नेता बन्न हतारिए । आफ्नो सुविधा र फाइदाको निम्ति विधि, पद्धति, प्रकृया, विचारको चर्को वकालत गर्ने तर नेतृत्व प्राप्त गर्नासाथ तीनै कुराहरु अनुपयुक्त, औचित्यहिन र निरर्थक मान्ने उनको शैली सरकार र नेकपाको रोग बन्दै छ ।

अंकगणितको महत्व बुझ्ने मात्र हैन त्यसको प्राप्ति र प्रयोग गर्ने तरिका समेत जानेका कमरेड ओलीले सबैलाई चकित पार्दै ६०- ४० को वाम गठबन्धन निर्माण गर्दा पनि तात्कालिन एमालेले एकल जीत हात पार्न सकेन । संविधान अनुसार एकल सरकार निर्माणको निम्ति आवश्यक सांसद संख्या १३८ चाहिने अवस्थामा पुर्व एमालेको १२१ संख्यामा माओवादीलाई जोड्ने वाध्यता केवल ‘कुर्सी र दिर्घकालिन कुर्सी’ कै निम्ति थियो र हो भन्ने पुष्टि कम्युनिष्ट पार्टीको एकता गर्दा सिद्धान्त गौण गरिनुलाई मान्न सकिन्छ । तात्कालिन माओवादी केन्द्रले प्राप्त गरेको ५३ सांसद भन्दा समानुपातिक तर्फको आकर्षक मतलाई दिर्घकालिन प्रयोग गर्ने ओली सोच कमरेड प्रचण्डको ‘व्यक्ती’ व्यवस्थापन भन्दा ओलीको ‘गुट’को व्यवस्थापनसँग सम्बन्धित भएको पुष्टि करिब एकवर्ष गुजार्दा पनि पुर्णरुपमा सम्पन्न हुन नसकेको कार्य विभाजनले दर्शाएकै छ ।

कमरेड झलनाथ खनाल पन्छिएका, कमरेडद्वय माधव(पार्टीमा) र वामदेव (संसदमा) हारेका र अस्तित्व रक्षाको निम्ति आफ्नो शरणमा आइपुगेका कमरेड प्रचण्ड जस्ता खेलाडीबाट आफुलाई कुनै खतरा नरहेको, पुर्व राजा मन्दिरमा पुजा गर्दै देशभर दौडिन बाध्य भएको दयनिय अवस्था, निर्वाचन वामहरु मिल्दा हारेको हो कि अन्तर्घातको कारणले भन्ने आजसम्म पत्ता लगाउन नसकेको देउवा काँग्रेसले आफ्नो सपना, कुर्सी, साहस र ‘लक्ष्य’ माथी कुनै विघ्न बाधा पुर्याउन नसक्ने निचोड पछी जागेको ‘ अंक गणितको अभिमान’ नै उनको दुश्मन हो भन्ने बुझ्नै चाहेनन्।

पार्टी र सरकारमा मजबुत अंकगणित पश्चात जगाइएको कमरेडको कार्यशैली ‘सपना बेचेर सपना सजाउने’ अवस्थामा पुगेको छ । सहकार्यको सट्टा सहयोगी, आफु दाता अरु सबै माग्ने, दक्षिण एसियामा आफ्नो जत्तिकै उचाइएको संघर्षशिल राजनेता कोही नरहेको बुझाई पश्चात शुरु गरिएको ‘समृद्धिको सुरुवात’ सबैले स्वीकार गरिदिनु पर्ने प्रधानमन्त्रीको धारणा धरहरा बन्दै थियो। नियुक्ति, सरुवा, बढुवा, उत्थान, पतन, विचार, सिद्धान्त, नारायण, नारायणी सेना सबै आफैमा समाहित गर्न तम्सिएका कमरेड अध्यक्ष एवम प्रधानमन्त्री ओली सपनामा पनि नसोचेको अकल्पनिय विरोध माइतीघर मण्डलामा देख्न विवश छन् ।

सार्वभौमसत्ता सानो वा ठूलो नहुने मान्यतामा दृढ प्रधानमन्त्री ओली नेपालको सार्वभौम सत्ता र संविधानलाई स्वीकार नगर्ने दक्षिणसँग सम्बन्ध मजबुत गर्ने नाममा मोदी सेनालाई जनकपुर देखी मुक्तिनाथसम्मको यात्रा सहज बनाउन राजी भएकै हुन्। आउँदै नआउने चिनियाँ राष्ट्रपति तर्फ देखाउँदै दक्षिणको राष्ट्रपतिलाई नेपाल स्वागत गर्ने नाममा सार्वजनिक विदा दिने प्रचण्ड कला सिक्न भ्याएका कमरेड ओली सफल अन्तराष्ट्रीय सम्बन्धमा आजसम्म राष्ट्रपति सी’को भ्रमण गराउन सफल नहुँदा पनि सफल भएकै छन । दक्षिण र उत्तरको भन्दा पश्चिमको महत्व वाम राजनीतिमा छ भन्ने विशेष बुझाईलाई सार्थक बनाउँन मरिहत्ते गरिरहेको समयमा ‘गुठी विधेयक’मार्फत अचानक सिर्जित सास्कृतिक ‘जमघट’मा ‘मूर्तिचोर’ देख्न भ्याईसकेका छन् ।

राजनीतिको सामान्य ज्ञान राख्ने वर्ग देखी प्रतिक्रान्तिका नायक सम्मको गतिविधि, सोच, व्यावहार, दृटिकोण र कार्यक्रम सुक्ष्म विश्लेषण र चिरफार गर्न सक्ने प्रधानमन्त्री ओली कुनै पनि विषयमा अन्तरपार्टी छलफल, संसदीय दलको भरमार उपयोग गर्न आवश्यक ठान्दैनन् । हरेक विषयको ज्ञाता सम्झने रोगले ग्रस्त प्रधानमन्त्री ओली सरोकारवालासँग छलफल र अन्तर्कृया गर्न अनिच्छुक रहेको नोक्सान गुठी विधेयकको नाममा पोखिएको मान्न अझै अनिच्छुक रहेका छन । आफ्नो एकमात्र लक्ष्यसमृद्धि ठान्ने प्रधानमन्त्रीको सोच, शैली र व्यावहारको गुणात्मक प्रतिकृया स्वरुप माइतीघर मण्डलाको जमघटलाई बुझ्नुको सट्टा ध्यान अन्यत्र मोडने प्रयासमा समय खर्चँदै छन् ।

राजनीतिमा सामान्य रुची राख्ने मानिसले सजिलै बुझ्न सक्ने दरबारिया शक्ति र विप्लव समूहवीच मोर्चाबन्दी हुन सक्ने अवस्था ओली सरकारले किन सिर्जना गर्‍यो ? सवाल गम्भीर छ । सत्तामा पुग्न कमरेड ओलीले चालेका तमाम कार्यशैली जायज हुने तर ओलीलाई सडकको आवाज सुनाउन वाध्यात्मक मोर्चाबन्दी नाजायज हुने ओली ‘परिभाषा’लाई कदापी लोकतान्त्रीक मान्न सकिन्न । नेपाली जनताको अनेकौं आन्दोलन र लामो बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिहरु रक्षार्थ प्रधानमन्त्रीको कार्यशैली कती प्रभावकारी, सन्तुलनकारी र समन्यात्मक रहयो ? उनले कहिल्यै हेरेका छन ? प्रधानमन्त्रीको भाषामा आज लोकतन्त्र, गणतन्त्र, संघीयताका विरुद्ध अर्थात जनताको शासनका विरुद्ध अलोकतान्त्रिक शक्तिहरुको मोर्चाबन्दी बहुतै स्पष्ट देखा परेको छ । घोर दक्षिणदेखि घोर वामसम्म, उग्रपन्थीदेखि प्रतिक्रियावादीसम्म एकजुट भएको अवस्था छ । यदी प्रधानमन्त्रीका भनाई सहि छन भने, यो अवस्थाको जिम्मेवार को हो ? यसमा उनको कार्यशैली र भाषा अछुतो रहन सक्छ ? आम मानिसको गम्भिर आरोप छ ।

सर्वसाधारण मानिसले बुझ्न भ्याएका छन । बलिदानबाट प्राप्त उपलब्धीको रक्षा गर्नु सबैको दायित्व र साझा कर्तव्य हो । आवेश, उत्तेजना र भावनामा बगेर प्राप्त लोकतन्त्रको बिदाई गर्ने कार्यमा उनीहरु सहयोगी हुने छैनन्। साथै मुलुक भित्र रहेका सबै गुठीलाई सु-सञ्चालन गर्ने नाममा हाम्रा सम्पदा, संस्कृति र धरोहरहरुको नोक्सानी कुनै मुल्यमा सहन सकिंदैन । जनताको सम्वेदना र भावनालाई बुझ्दै सन्तुलित ढंगले तथ्य, तर्क र आवश्यकताको आधारमा लोकतान्त्रीक विधि र पद्धतिलाई खुला छलफल मार्फत अगाडी लिएर जानुको सट्टा गुठी विधेयकमा सरकारले देखाएको कमजोरीको प्रतिक्रिया ‘एउटा हरियो साङलो भेट्टाइएको थियो, हरियो एउटा डालोभित्र हजार वटा हरेऊ देखा पर्ने स्थिति बन्यो ‘ भन्ने जस्ता भाषागत कमजोरीले ‘आगोमा घिउ’ थप्ने काम गर्यो भन्ने अझै स्वीकार गरेको देखा पर्दैन ।

संसदीय राजनीतिमा नारायण (सिद्धान्त )ले पदीय सफलता हात लाग्न कठिन रहेको बुझ्नासाथ रणनीतिक ढंगबाट चुनिएको ‘नारायणी सेना’ को कारण कमरेड ओलीको अभिमानले सगरमाथा चुमेको छ । पार्टी र सरकार सबैतिर अस्तव्यस्त रहेको आँखा चिम्लँदै अगाडी बढेको ओली सत्ताको सबैभन्दा ठूलो दुश्मन अंकगणित र कार्यशैली बन्दै छ । अंक गणितको अभिमानले मैमत्ता हुँदै सत्ता नसामा इतिहास बनाउँन आफ्नो जन्मथलो खोज्दै हिडनुको सट्टा राज्यले उनको जन्मथलो र इतिहास खोज्न पाओस भन्ने विर्सँदै छन् । विश्व राजनीतिले कमरेड ओलीलाई सदा सर्वदा खोजी गर्नको निम्ति पार्टीमा ‘नारायणी सेना’ हैन ‘नारायण’को छिनोफानो गर्नु पर्ने छ । फगत सत्ता, शक्ति र पैसाको पछि लाग्दा भएको नोक्सानी तत्काल रोक्न पार्टीमा राजनीतिक योगदान दिने व्यक्तित्वहरुलाई पदीय जिम्मेवारीसाथ खटाउने, संसदीय दल, विभाग, विषय ज्ञानको अधिकतम उपयोग गर्नु पर्नेछ । अभिमानले ‘प्रलय’ र ज्ञानले ‘सिर्जना’ गर्न सक्छ भन्ने गुरुमन्त्र कमरेड ओलीले व्यावहारमै उतार्नु पर्नेछ। अन्यथा ओली सरकार आफ्नै अंकगणित र कार्यशैलीले थलिएर विदा लिने छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank