अङ्गुर बाबा जोशीको जीवन सङ्घर्ष र बलिदानी

बिहिबार, असार ११, २०७७



- सीता ओझा-अध्यक्ष महिला अध्ययन केन्द्र

अङ्गुर बाबा जोशी माता दीपकुमारी पन्त र पिता पीताम्बर पन्तको कोखबाट वि. स. १९८८ असार महिनाको हरिशयनी एकादशीको दिन दोस्रो सन्तान (छोरी)को रूपमा काठमाडौँको मुटुमा रहेको डिल्लीबजारमा जन्मिएकी थिइन् । घरभित्रका छोराहरूले अङ्ग्रेजी माध्यममा पढ्थे भने उनी दाइ,भाइले पढेको चियो गरेर हेर्थिन । त्यस बेला छोराहरू लेखपढ गर्न विद्यालयसम्म जान्थे । तर अभिभावकलाई दया जाग्यो भने छोरीहरूले अक्षरसम्म चिन्न पाउने व्यवस्था हुन्थ्यो । संस्कृतका गुरु घरमा बोलाएर छोरीलाई पढाउने त्यो पनि अक्षर चिनाउन उद्देश्यले विषय मात्रै बधुशिक्षा, रामायण, स्वस्थानी जस्ता धार्मिक पुस्तक गुरुको मुखतिर नहेरी,घरको अभिभावकको रोहबरमा मात्रै पढाउँथे !

म्याट्रिक परीक्षासँग जोडिएर दरबार हाइ स्कुल पुगेका अङ्गुर बाबा र सहाना प्रधानको सम्बन्ध बिस्तारै,बिस्तारै मित्रतामा बदलियो । त्यस बेला दरबार हाइस्कुलबाट प्रवेशिका परीक्षा दिनेमा सर्व-साधारण परिवारका सहाना प्रधान, साधना अधिकारी,राणा परिवारकी भुवन राज्यलक्ष्मी राणा र सम्पन्न गुरुज्यू परिवारकी अङ्गुर बाबा जोशी गरी चार जना मात्रै छात्राहरू सामेल भएका थिए । ती चारै जनाले वि. स. २००४ सालमा एस एल सी उत्तीर्ण गरे । छोरीहरूले पढ्न पाउने विषयको त्यो निकै ठुलो त्याग र सङ्घर्षको उपलब्धिको कथा थियो ।

समाजमा छोरीको स्थान नै थिएन । समाज मात्रै होइन घरपरिवारभित्रबाट छोरा र छोरीबीच हरेक कुरामा विभेदकारी व्यवहार गरिन्थ्यो । यस्तो जटिलतालाई ताेड्दै उनकै उमेर समूहका सहाना प्रधान,साधना अधिकारी ,स्नेहलता र पुष्पलता लगायतका छोरी (नानी)हरूले पुरुषहरू सँगसँगै प्रदर्शन गरे र गिरफ्तारी दिँदै श्री ३ पद्म शमशेरको दरबारमा पुगेर छोरीले पढ्न पाउने व्यवस्था हुनुपर्छ ! चुन्न चुनिन पाउनु पर्छ ! राजबन्दीलाई रिहा गर ! ताज हामीले ताकेको होइन भन्दै अधिकारको माग गरिरहेका थिए । तर अङ्गुर बाबा यस्ता कुराबाट निकै अलग्ग र अनजान थिइन । तर पढ्न पाउने कुराको सन्दर्भले अङ्गुर बाबा ,सहाना,साधना लगायतका आन्दोलनकारीहरूसँग चिरपरिचित गरायो । सायद साधना प्रधान लगायतले त्यो आन्दोलनको अगुवाइ नगरेको भए अङ्गुर बाबा जोशी पनि शिक्षाबाट वञ्चित हुने अवस्था हुन्थ्यो कि ?

११ वर्षको उमेरमा बलराम जोशीसँग विवाह बन्धनमा बाँधिएकी जोशीले एस एल सी उत्तीर्ण गरेपछि पतिसँगै विज्ञान विषय लिएर पढ्ने विचार लिएर त्रिचन्द्र कलेजमा भर्ना हुन प्रयत्न गरिन । त्रिचन्द्र कलेजले उनलाई अनुमति नदिएपछि उनले आफ्नो अध्ययनको यात्रा मोडिदिइन । जोशीले आफ्नो अध्ययनको निरन्तरतालाई कायम राख्न प्राइभेटबाटै परीक्षा दिने विचार गरिन् र सरस्वती सदनबाट प्राइभेट विद्यार्थी बनेर आइ एको परीक्षा दिइन । त्यस बेला उनी सुत्केरी भएको दुई महिना पनि भएको थिएन । त्यसपछि उनी पतिसँगै भारतको बनारस गइन र हिन्दु विश्वविद्यालयबाट राजनीति शास्त्र र संस्कृत विषय लिएर बिए पास गरिन । त्यसपछि गृहस्थ र सन्तानको चाँजोपाँजो मिलाएपछि पुन : सन १९५४ मा शिक्षा विषय लिएर एमएड पूरा गरिन् ।

अङ्गुर बाबा भन्छिन् – ” गण,कविलाबाट, समाज राज्यतिर विस्तार हुने क्रममा धर्मको संरक्षण गर्नेहरूले धर्मशास्त्रलाई आफू अनुकूल व्याख्या गर्ने र आफैँलाई सजिलो बनाउँदै लैजानेहरूले धर्म र शास्त्रको व्याख्या नै बिस्तारै बिगारिदिए । महिलाहरू घरभित्रको काममा अलमलिँदा पुरुषहरूले आफ्नो अनुकूल लेख्दै गए । लेखी सकेको ग्रन्थ फेर्ने ,बदल्ने या च्यात्ने भन्ने चेत त्यो बेलाको समाजमा थिएन । महिलालाई घरपरिवार,समाज र अन्य कार्यमा सहभागी नबनाएकै कारण महिलाहरूको आत्मविश्वास कमजोर भयो । महिलाहरूलाई घर चलाउने र घरपरिवारको इज्जतसँग जोड्दै शिक्षाबाट वञ्चित त्यहीँ बेलादेखि गरियो । बिस्तारै बिस्तारै महिलाको ज्ञानको क्षेत्र साँगुरियो । महिलाहरूको सहभागितामा ह्रास आउने बित्तिकै समाजमा पुरुषहरू हाबी भए र महिलालाई काम र निजी सम्पत्तिको रूपमा गणना गर्न थालियो । यस्ता विकृत सोचहरूकै कारण बहु विवाह,अनमेल विवाह र बाल विवाह भएका हुन् । समाजमा यस्ता प्रकारका विभेदहरू सृजना गर्नु/ हुनु नै पितृसत्तात्मक सोचको विकास र विस्तार हुनु हो ।”

आफू विभेदभित्रै हुर्किएको कारण आफू प्राध्यापक भएपछि महिला शिक्षामा जोड दिइन । पद्मकन्या कलेजको भवन बनाउने कुरामा उनको ठुलो योगदान रहेको छ । महिला शिक्षामा जोड्दिने कुरा भवनमा मात्रै सीमित गर्न हुन्न भनेर आफू पद्मकन्याको प्रमुख भएकै बेला लिङ्गको आधारमा गरिने विभेदकारी कुराहरूको पहिचान गर्दै अन्त्य गर्न पद्मकन्या कलेज मै छ महिना लगाएर Study of norms and codes of sanatan dharma in gender equality’ को अध्यापनका लागि आन्तरिक व्यवस्थापन गरिन । यो कार्य उनको जीवनमा महिलाहरूका लागि शिक्षा क्षेत्रबाट औपचारिक रूपमा सुरु गरेको निकै महत्त्वपूर्ण कार्यमा पर्दछ । यो प्रयत्नले मानिसले समाजमा रहेको लिङ्गीय विभेद बुझ्न र व्यवहार बदल्न सहयोग पुर्‍यायो ।

आध्यात्मिक चिन्तनकी धनी जोशीले संस्कृत र संस्कारको पक्षमा निकै कडा थिइन । गोरो,बाटुलो अनुहार निधारमा मखमलको रातो ठुलै टिका र निधारको शिरमा श्री खण्डको चन्दन नित्यै लगाउने अङ्गुर बाबा बोल्दा अलि कड्केर बोल्ने स्वभाव भएकै कारण प्राय मानिसहरू बोल्न डराउँथेँ । सानै उमेरदेखि पुरुषको मुख हेर्नू हुँदैन भन्ने संस्कारमा हुर्केकी उनी घरबाट निस्केपछि भुईँतिर हेर्दै कलेज छिर्ने र कलेजको काम सकिएपछि सुरुसुरु घरभित्र नछिरी दायाँबायाँ नजर नघुमाउने स्वभावले गर्दा धेरै पटक बाटोमा भेट्दा साथीहरूसँग पनि बोल्दिन थिइन । यस्तो व्यवहारका बारेमा साथीहरूले गुनासो गरेको कुरा पनि स्तम्भकारको भेटमा गरेकी थिइन् ।

उनलाई उच्चशिक्षा प्राप्त गरेर नेपाल फर्केपछि पद्मकन्या कलेजको अध्यापक बन्न अवसर मिल्यो । अध्यापन सुरु गरेको ६ वर्षपछि नै उनी पद्मकन्या कलेजको प्राचार्य ( प्रमुख) को रूपमा बहाली भइन् । उनले पद्मकन्या कलेजमा १८ वर्ष पढाइन र १२ वर्ष प्रमुख भइन । कलेजमा पढाउँदा पढाउँदै ब्रिटिस सरकारको कोलोम्बो प्लान अन्तरगतको छात्रवृत्ति खुल्यो । त्यस अन्तर्गतको छात्रवृत्तिमा उनी बेलायतको अक्सफोर्ड युनिभर्सिटी अन्तरगतको समरभिल कलेजमा पढ्न गइन् । फर्केपछि वि. स. २०१९ मा पद्मकन्या कलेजको प्रमुख हुने अवसर पाइन् । आफू प्रमुख भएपछि महिलाहरूको लागि लोकगीत र आफ्नू संस्कृतिलाई विश्वव्यापी गराउने उद्देश्य राखेर लोकगीत सङ्काय सुरुवात गरिन । त्यस्तै गाउँ बुझे देश चिनिन्छ ,देश चिने संसार बुझ्न सहयोग मिल्छ भनेर एमए पास गरेका छात्राहरूलाई दश महिना अनिवार्य गाउँमा बसेर काम गर्नै पर्ने नियम बनाइन । जोशी भन्थिन् – ” सहरिया विद्यार्थीहरू गाउँ जाने बेलामा अनकनाउँदै,ठस,ठस पर्दै गाउँ जान्थे तर फर्कँदा गाउँको मायाले रुँदै आउँथे ।”

अङ्गुर बाबा जोशीको प्राज्ञिक क्षेत्रको कामसँगै सामाजिक काममा पनि सक्रियता र संलग्नता देखिन्छ । उनी कमल राणा केन्द्रीय सभापति भएको बेलाकी पञ्चायत पक्षधर महिला सङ्गठनकी काठमाडौँ जिल्ला सभापति भइन ।काठमाडौँ जिल्लाको सभापति भएकै बेला महिलाहरूको आर्थिक , सामाजिक स्तरवृद्दि गर्ने उद्देश्य राखेर तारागाउँ विकास समितिको नाममा काठमाडौँको उत्तरमा पर्ने चाबहिल चुच्चे पाटीदेखि टुसाल र उत्तरमा महाँकाल खानेपानी ट्याङ्की सम्मको जग्गा अतिक्रमण गरियो । महिलाहरूको आर्थिक सामाजिक स्तर वृद्धि गर्ने कार्यक्रम बनाउने उद्देश्यले नारी सेवा समितिले त्रिपुरेश्वरको ब्लु वड होटेलमा सेमिनार गरी विशेष योजना र कार्यक्रम पनि बनाइएको थियो तर पछि तारागाउँ विकास समितिको नाममा महिलाको विकासका कार्यक्रम सञ्चालन गर्न लिएको जमिन त्यसै त्यसै हरायो । आम जनताले अझै त्यसको मुआब्जा पाएका छैनन् । तारा गाउँ समितिको सञ्चालक समितिमा अङ्गुर बाबा स्वयंम रहेको कारण जग्गा हिनामिनाको विवादमा पनि परिन् । पछि त्यो विषय त्यतिकै हराएर गयौ । उनी पद्मकन्याको प्रमुख र तारा गाउँको सञ्चालकमा भएकै मेला राष्ट्रिय पञ्चायत सदस्य पदमा पनि मनोनीत भइन् । त्यस्तै सामाजिक सेवा परिषद्की सभापति र वि. स. २०१९ सालको संविधान मस्याैदा  समितिको सदस्य समेत बनेकी थिइन् । पञ्चायतको समाप्तिपछि महिलामाथि भएको असुरक्षा र हिंसा विरूद्द कार्य गर्न बनेको महिलाहरूको स्वतन्त्र र सर्वपक्षीय संयन्त्र सुरक्षा दबाब समूहकी आजीवन संस्थापक सल्लाहकार थिइन । त्यस्तै चितवनको देवघाटमा महिलाका लागि गुरुकुलको स्थापना गर्ने पहिलो महिला,पहिलो क्याम्पस प्रमुख र बेलायत पढ्न जाने पहिलो महिला थिइन् ।

वि स २०३१/३२ सालतिर कथा सङ्ग्रह प्रकाशन गरेकी जोशीका वि. स. २०७४ मा अक्षर – साधना र गोधुली साँझ शीर्षकको आत्म कथा प्रकाशन भएको देखिन्छ । जोशीको सामाजिक र शैक्षिक योगदानलाई कदर गर्दै प्रतिष्ठित जगदम्बा पुरस्कार वि. स. २०७१,गोर्खा दक्षिण बाहु तेस्रो त्रिशक्ति पट्ट तेस्रो,महेन्द्र विद्या भूषण जस्ता पुरस्कारबाट सम्मानित भइसकेकी थिइन् ।

अङ्गुर बाबा जोशीको जीवनमा दुई पटक क्यान्सर भयो । पहिलो स्तन क्यान्सर र पछि घाँटीको क्यान्सर । घाँटीको क्यान्सर उपचारका क्रममा अनुहारको स्वरूपमा परिवर्तन भयो त्यसको प्रवाह नगरी जीवन पाएकोमा खुसी भइन् , उनी कति पनि विचलन देखिन्न थिइन् । उनले आफू क्यान्सरको पीडित हुँदा गरेको अनुभूतिलाई पुस्तकको रूपमा उतारेर अरूलाई प्रेरणा दिन क्यान्सर – वरदान नामक संस्मरण लेखेर समाजका लागि छोडेकी छन् । महात्मा गान्धी र खप्तड बाबाकी अनुयायी जोशीले क्यान्सरको उपचारकै क्रममा खप्तडको अङ्ग्रेजीमा लेखिएको पुस्तक नेपालीमा अनुवाद गरिन् ।त्यस्तै उमेरको उत्तरार्धलाई क्रियाशील बनाउने प्रेरणा लागि वृद्दा अवस्था : जीवनको श्रीपेच नामक पुस्तक पनि लेखेकी छन् । अभिभावक,राज्य र समाजको चेतका लागि दीक्षा नामक पुस्तक लेखिन् ।

लामो समयदेखि क्यान्सर रोगसँग लड्दा लड्दै जोशीले वि. स. २०७७ साल असारको ६ गते न्युरो अस्पताल महाराजगन्जमा देह त्याग गरिन । महिला आन्दोलनकी हस्ती एवम इतिहास, अघिल्लो पुस्ताकी अग्रणी अङ्गुर बाबा जोशीप्रति हार्दिक श्रद्धाञ्जली ,शोकाकुल परिवारजनहरूमा समवेदना !!!

लेखक-सीता ओझा

अध्यक्ष- महिला अध्ययन केन्द्र एवम महिला सुरक्षा दवाव समूह सदस्यका रूपमा हुनुहुन्छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments