अमेरिका – चीन व्यापार युद्ध, अमेरिकन युगको रक्षार्थ !

फरकमत

आइतवार, असार १, २०७६



- दीपेन्द्र पाण्डे

सोभियत रुसमा समाजवादी सत्ता ढलेसँगै विश्वको एक मात्र बादसाह बन्न सफल अमेरिका चीनको तरक्कीबाट नाखुस थियो । विश्व व्यापार र युद्ध मार्फत एकलौटी प्रभुत्वको साथ छाडा राजनीतिक नृत्यमा रुमल्लिँदा चीनको शान्त ‘अर्थ राजनीति’ नजरअन्दाज गर्न पुग्यो ।रुसी सत्तालाई पतन गराएको अभिमानले इराक देखी अफगानिस्तानको नोक्सानदायी यात्रामा निस्कँदा चिनियाँ प्रगतिबाट पछाडी परेको रिस व्यापार युद्ध मार्फत पोख्न हतारिदै छ ।

निर्वाचन पुर्व जनतासँग गरेको वाचा सम्झिँदै सन् २०१८ को मार्च महिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक ट्वीट गर्दै भने , ‘व्यापार युद्ध राम्रो हो र यसलाई जित्न सजिलो छ ।’ वास्तवमा व्यापार युद्ध ट्रम्पको सोचको उपज नभएर अमेरिकी वाध्यता भएको विश्लेषकहरुको धारणा छ । ट्रम्प प्रशासन चीनलाई उत्पादनको मौलिक डिजाइन चोरी गरेको ( इन्टेलेक्चुअल प्रपर्टीको चोरी )आरोप लगाउँदै ६० अरब डलरको व्यापारमा अरितिक्त शुल्क लगाउन चाहान्छ । व्हाइट हाउसको भनाई अनुसार १००० भन्दा बढि उत्पादनको सूची तयार भइसकेको छ । जसमा २५ प्रतिशत अतिरिक्त शुल्क लगाउन सकिन्छ ।

राष्ट्रपति ट्रम्पको पटक पटकको धम्किसँगै हुँदै आइरहेको चीन – अमेरिका वार्ता कै समयमा ट्रम्प प्रशासनले २०० अरब डलरको चिनियाँ सामान माथी १० देखी २५ प्रतिशत सम्म अतिरिक्त कर बढाएको छ । आफ्ना कुरा चीनले नमाने थप ३०० अरब डलर सामान माथी कर लगाउने राष्ट्रपति ट्रम्पको धम्कीले व्यापार युद्ध नयाँ मोडमा प्रवेश गरेको छ ।

अन्तराष्ट्रीय व्यापारको मुल्य , मान्यता र कानुनलाई धज्जी उडाउने मात्र हैन विश्व व्यापार संगठनले निर्माण गरेका विधि ,विधानलाई राष्ट्रपति ट्रम्पले उलंघन गरेको पुष्टि डब्लुटिओले गरिसकेको छ । राष्ट्रपति ट्रम्पको आक्रामक शैलीको बावजुद अत्यन्त संयमित हुँदै चीनले शब्दहरु खर्च गरिरहेको छ । अमेरिकाको सन्तुष्टि र शान्तिको निम्ति थुप्रै परिवर्तन गर्न तयार भएको संकेत चीनले दिएको छ ।

के हो व्यापार युद्ध ?

कारोबार मार्फत युद्ध गर्नुलाई ‘ट्रेड वार ‘ भनिन्छ । व्यापार युद्धमा हतियारको स्थान विदेशी सामानलाई निसाना बनाइन्छ । यस्तो युद्धमा एक देशले अर्को देशबाट आउने सामान माथी कर बढाउने गर्छ । बदलामा अर्को देशले पनि करको दरमा वृद्धि  गर्ने गर्छ  । जसले व्यापारिक टकराव बढाउने छ । फलस्वरुप देशको अर्थव्यवस्था प्रभावित हुँदा राजनीतिक तनाव सिर्जना हुनेछ ।

अमेरिका – चीन व्यापार घाटा

पछिल्ला वर्षहरुमा अमेरिकाको व्यापार घाटा बढेको बढै छ । दुई देश बीच आयात र निर्यातको अन्तर ‘ट्रेड डेफिसिट’ वा ‘व्यापार घाटा’ रोकिने संकेत देखा पर्दैन । अमेरिका र चीनको बीच ठूलो ‘ट्रेड डेफिसिट’ छ । यसको मतलब  चीनले अमेरिकालाई व्यापक मात्रामा सामान बेच्दै आएको छ । तर अमेरिकाबाट न्युन मात्रामा सामान खरिद गर्ने गर्छ । सन् २०१८ मा यसको अन्तर ३७५ अरब अमेरिकी डलर रहेको देखिन्छ । सामान्यतया ‘ट्रेड डेफिसिट’ नराम्रो कुरा नरहे पनि राष्ट्रपति ट्रम्पको अरुचीको विषय हो । अमेरिका सेवाको क्षेत्रमा अब्बल रहेको छ भने चीन उत्पादनको क्षेत्रमा सिक्का जमाउँदै छ । अमेरिकाले सन् २०१७ मा २७२ अरब डलरको सेवा निर्यात गरेको थियो जुन बैंकिङ्ग , ट्राभल र टुरिजमको क्षेत्रमा थियो । अमेरिकी अर्थव्यवस्थामा सर्विस सेक्टरको योगदान ९० प्रतिशत रहेको छ । यस्तो अवस्थामा राष्ट्रपति ट्रम्पको ‘ट्रेड डेफिसिट’को कुरा सर्वसाधारण मानिसको रुचीको विषय बन्न सकिरहेको छैन । आलोचकहरु ट्रम्प प्रशासनको यस बयान संरक्षणवादको तर्फ आकर्षित भएको देख्दै छन ।

ट्रम्प प्रशासनको विरोधाभाष  – मुक्त व्यापार र संरक्षणवाद सँगसँगै

आफ्नो देशको उद्योगलाई बढाउन विदेशी सामान माथी अनेक किसिमका बन्देज लगाउने कदमलाई संरक्षणवाद भनिन्छ । राष्ट्रपति ट्रम्प स्टील र एल्युमिनियम माथी अतिरिक्त शुल्क लगाउँदै संरक्षणवादको अभ्यास गर्दै छन ।

मुक्त व्यापार संरक्षणवादको ठिक उल्टो हुने गर्छ । मुक्त व्यापारको मतलब उत्पादन माथी कम भन्दा कम कर लगाइन्छ, जसले गर्दा संसार भरका उपभोक्ताले सस्तोमा सामान किन्न पाउँछन । फलस्वरुप कम्पनीलाई अत्यधिक फाइदा हुन जानेछ । उनीहरु सदैब लागत कम गर्न लागिरहने छन । मुक्त व्यापारले कार, स्मार्टफोन, खाद्य उत्पादनदेखी फूल जस्ता सामान तपाँईको घरसम्म पुर्याउने छ । मुक्त व्यापारको कारण कम्पनीहरु सस्तो कच्चा पदार्थ जता पाउँछ त्यतै आकर्षित हुने हुँदा स्वदेशी सामान खरिद गर्न अनिच्छुक बन्ने छन । जसको कारण समृद्ध देशमा रोजगारीमा कमी वा असामान्य वृद्धि हुनेछ ।

गत मार्च महिना देखी चीनको विरुद्ध अमेरिकाले स्टील आयातमा २५ प्रतिशत र एल्युमिनियममा १० प्रतिशत अरिरिक्त शुल्क लिन शुरु गरेको छ । अमेरिका धातुको क्षेत्रमा बाहिरी देशसँग निर्भर रहँदै आएको छ । व्यापार युद्ध भएमा अमेरिका आफ्ना हतियार उद्धोगको निम्ति आवश्यक कच्चा पदार्थ क्यानडा र युरोपियन देशबाट लिने छ । सैद्धान्तिक रुपमा विदेशी स्टील र एल्युमिनियम माथी अतिरिक्त शुल्क लागे पछि अमेरिकी स्टील र अल्युमिनियम उद्धोगलाई फाइदा हुनेछ ।

अर्थशात्रीहरु पुर्णतया विश्वस्त छन , कर बढेकोले अक्सर उपभोक्ताले खरिद गर्ने सामानको मुल्य बढाउने कारण बन्ने छ । जसको कारण अर्थशास्त्रीहरु ट्रम्प प्रशासनको व्यापार युद्धको खिलाप छन । मुक्त व्यापारको समर्थक र वकालत कर्ताहरु ट्रम्प प्रशासन कारण दुनियाँभरका उपभोक्तालाई नोक्सान पुग्नेमा चिन्तित छन ।

व्यापार युद्धको असर

विश्लेषकहरूको अनुसार घट्दो अर्थव्यवस्था र अमेरिकासँग चलिरहेको व्यापारिक युद्धले अर्थतन्त्रमा गुणस्तर क्षेत्रको ठूलो कदम चाल्न चीनको हात बाँधिएको छ । १४ जुन २०१९ मा नेशनल ब्युरो अफ स्टाटिक्सले प्रकाशित गरेको सम्पति बिक्रीको नवीनतम डाटा अनुसार , सन् २०१९ को जनवरी – मे महिनाको अवधिमा मूल्यको कुल बिक्री ६.१ प्रतिशत बढ्यो । वर्षको पहिलो चार महिनामा ८.१ प्रतिशतबाट घट्यो । फ्लोर स्पेसद्वारा बिक्री १.६ प्रतिशतले घट्यो, पहिलो चार महिनामा ०. ३ प्रतिशतको तुलनामा गिरावट आएको छ । व्यापार युद्धका कारण चीनले बहुतले घर निर्माण गर्ने व्यवसायमा लगानी घटाउँदै छ ।

व्यापार युद्धको तिब्र हल्लाको समयमा चीनको अमेरिकी लगानीको वृद्धिमा तीव्र गिरावट आएको छ । १४ जुनमा जारी गरिएको डाटाले बताएको छ कि व्यापार युद्धले लगानीकर्तामाथि विश्वास राखेको छ। चिनियाँ वाणिज्य मन्त्रालयबाट प्राप्त तथ्याङ्कले देखाएको छ कि चीनमा अमेरिकी लगानीले जनवरी र मे महिनाको बीचमा ७.५ प्रतिशत वृद्धि गरेको छ। डाटा अनुसार , अमेरिका चीनमा लगानी गर्ने देश मध्य मार्च महिनामा तेस्रो , अप्रिलमा छैटौं ठूलो विदेशी लगानीकर्ता थियो । पछिल्लो मे महिनामा अमेरिकी लगानीको कुनै पनि आंकडा  उपलब्ध छैन ।

व्यापार युद्धले विश्वको सबैभन्दा ठूलो अर्थव्यवस्थाको बीचको व्यावसायिक सम्बन्धमा ठूलो तनाव बढदै छ । जसको कारण पछिल्लो १७ वर्षमा औद्धोगिक विकास दर सबै भन्दा कम भएको छ । चिनियाँ वाणिज्य प्रवक्ता गुआ फेंगले १३ जुनको प्रेस सम्मेलनमा भने “व्यापार युद्धमा कुनै विजेता हुने छैन । जसले अमेरिका र विश्वव्यापी अर्थतन्त्रमा मन्दी ल्याउन सक्छ । चीन र अमेरिका बीच ११ पटक भएका असफल बैठक जुन १४ मा अन्तिम पटक सम्पन्न भएको छ । चीनका उप-प्रधानमन्त्री एवम शीर्ष वार्ताकार लियूले भने अमेरिकासँग व्यापार वार्ता टुटेको छैन ।

व्यापार युद्ध , अमेरिकन – युरोपियन युगको रक्षार्थ

विश्लेषक टम फ्रिडम्यानको बुझाई र लेखाईमा व्यापार युद्धको असली मकसद भविष्यमा लेखिने इतिहासको पहिलो च्याप्टर हो । अहिले जे भइरहेको छ । त्यो पुराना र नयाँ महाशक्तिबीच भविष्यको आर्थिक र राजनीतिक शक्ति सम्बन्ध पुन: परिभाषित गर्ने संघर्ष हो । चिनियाँ विश्लेषकहरु समेत टम फ्रिडम्यानको भनाईसँग सहमत छन । उनीहरु मान्छन , व्यापार र युद्धमा व्यापार र भन्सार शुल्क भन्दा ठूला कुरा छन । यो भविष्यको निम्ति भइरहेको लडाई हो ।

सन् २००१ मा डब्लुटिओको सदस्यता लिएको चीनलाई हेर्ने दृष्टिकोण अमेरिकाको तब बदलियो जब चीनले सन् २०१५ मा ‘मेड इन चाइना -२०२५ ‘ रणनीति घोषणा गर्‍यो । आफूलाई महाशक्तिशाली मान्ने अमेरिका र युरोपियनहरुको नजरमा सन् २०१५ सम्म चीन केवल ‘सस्तो र कमसल ‘ सामान उत्पादन गर्ने मुलुक थियो । राष्ट्रपति सीको आक्रामक र परिपक्क व्यापार नीति पछि चीन ‘ टेक्नोलोजिकल सुपरपावर ‘ बन्ने तर्फ निर्बाध बढेको अमेरिकी प्रशासनको टाउको दुखाईको विषय हुन पुग्यो । पुँजी , प्रविधि र बजार संरक्षणको प्रतिबद्धता सहित अघि बढेको चीनको यात्रा रोक्नु अमेरिकी बाध्यता बन्दै थियो ।

‘ट्रेड डेफिसिट’ र चीनको आर्थिक छलाङलाई रोक्ने एक मात्र अन्तिम विकल्पको रुपमा मान्ने ट्रम्प प्रशासन चीनसँग व्यापार युद्ध गर्न ढिला भएको मान्दै छ । सी प्रशासनको आर्थिक र व्यापारिक चाल बिना अवरोध अगाडी बढेमा युरोपियन र अमेरिकी युग समाप्त हुने निचोड नै व्यापार युद्धको बाध्यात्मक कडि हो । बिसौं शताब्दीमा स्थापित अमेरिकी प्रभुत्वको निरन्तरताको निम्ति बाध्यात्मक बनेको व्यापार युद्ध चीनले जितेमा चीन आर्थिक मात्र हैन सामरिक महाशक्ति राष्ट्र बन्ने छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank