विद्यालयमा सामाजिक शिक्षा अध्ययन–अध्यापन एक रिपोर्ट

बिहिबार, जेष्ठ १, २०७७



- रम्भा पौडेल

१.पृष्ठभूमि

विद्यालय सिकाइको केन्द्र हो । बालबालिकाको व्यक्तित्व निर्माण गर्ने थलो हो । विविध समुदायबाट बालबालिकाहरू विद्यालयमा प्रवेश गरेका हुन्छन् । उनीहरूसँगको सहकार्यबाट सिङ्गो समाजको चरित्र एउटा विद्यालय भित्र देख्न र बुझ्न पाइन्छ । बालबालिकाले समाजका सबै पक्षहरूको जानकारी प्राप्त गर्ने थलो को रूपमा पनि विद्यालयलाई लिन सकिन्छ । भाषा, धर्म-संस्कृति, सबै कुरा बालबालिकाले विद्यालयबाटै सिक्न र बुझ्न सक्छन् ।

विश्वव्यापीकरणकाे प्रभावले पश्चिमा संस्कृतिको बोलवाला बढिरहेको छ। सांस्कृतिक अतिक्रमण भइरहेको छ । बालबालिकाहरूले आफ्नो माटो भित्रको संस्कृतिलाई भुल्दै गएका छन् । अङ्ग्रेजी माध्यमका विद्यालयहरूमा यो समस्या झनै बढी छ । आफ्नै देशको हावा–पानी–माटो सुहाउँदो संस्कृति मात्रै टिक्न सक्छ र सोही अनुसार मात्रै कुनै पनि देशको अस्तित्व जोगिन सक्छ भन्ने कुरा आजका विद्यार्थीहरूलाई बुझाउनु परेको छ । यही कुरा स्थापित गर्नका लागि विद्यालय शिक्षामा एउटा अनिवार्य विषयको रूपमा सामाजिक शिक्षालाई स्थापित गरिएको छ ।

मानिस सामाजिक प्राणी हो । समाज बिना उ बाँच्न सक्दैन । समाज भन्ने बित्तिकै मानिसहरूको समूह हो जहाँ भाषा र संस्कृतिको निर्माण भएको हुन्छ । विविध समुदाय मिलेर नै समाज बनेको हुन्छ । समुदायभित्र गरिने व्यवहार, बोलिने भाषा, मनाइने चाडपर्व, लगाइने भेषभुषा, जन्म,मृत्यु,विवाह जस्ता संस्कार, उत्पादन प्रणाली सबै कुरा मिलेर नै एउटा सिङ्गो समाज र संस्कृति बनेको हुन्छ । त्यसै अनुसार समाजले आफ्नो विशेषता कायम राखेको हुन्छ । ती विशेषता नै मूल्य र मान्यता बनेका हुन्छन् । समाज सभ्य र सुसंस्कृत बन्दै जाँदा ती मूल्य र मान्यता पनि परिवर्तित संस्कृति अनुरूप परिमार्जन पनि हुँदै जान्छन् ।

२.विद्यालय शिक्षामा सामाजिक विषयको महत्त्व

विद्यालयमा सामाजिक विषय पठनपाठन गराउनुको प्रमुख उद्देश्य चाहिँ बालबालिकालाई समाजमा मिलेर बस्ने भावनाको विकास गराउनु नै हो । यो विषयले विद्यार्थीहरूलाई परिवार, समाज, देश, संस्कृति, परम्परा, सभ्यता, देशको राजनीति, प्रशासन, भूगोल, इतिहास, अर्थनीति र ऐन– कानुन, संविधान जस्ता विविध विधाको ज्ञान दिन्छ । शिक्षा भनेको नै विगतका अनुभवहरूको आलोकमा व्यवहारमा आएको परिवर्तन हो । पढेको व्यक्तिमा यदि व्यवहारमा सकारात्मक परिवर्तन आएन भने त्यसलाई पूर्ण शिक्षित मान्न सकिँदैन । एउटा व्यक्तिमा परिवार, देश र समाजलाई हेर्ने धारणामा सकारात्मक परिवर्तन ल्याउन सक्षम र योग्य नागरिक तयार गर्न सक्नु नै शिक्षाको मूल मर्म रहेको हुन्छ । यो ज्ञान सामाजिक विषयले दिन्छ ।

समाजमा दक्ष नागरिकहरू त तयार भए तर उनीहरूले आफ्नो देशलाई माया गर्न जानेनन् भने त्यो दक्ष जनशक्ति देशका लागि योग्य हुने छैन । देशभित्रै पनि डाक्टर, इन्जिनियर, पाइलट जे बने पनि उनीहरू आफ्नै देश र समाजप्रति उत्तरदायी बन्न सकेनन् वा आफ्नै देशको समाजलाई चिनेर त्यही अनुसार व्यवहार गर्न जानेनन् भने उनीहरूको पद प्रतिष्ठा र व्यक्तित्व समाजले बुझ्न सक्ने छैन र उनीहरूकै लागि पनि जीवन अपुरो बन्नेछ । डिग्रीधारी व्यक्ति मात्र देशले जन्माउनेछ । त्यसैले आफ्नै समाज र संस्कृतिप्रति गौरव बोध गर्ने व्यक्तित्व निर्माणमा सामाजिक शिक्षाको महत्त्वपूर्ण स्थान रहन्छ । यी सबै कुरालाई ध्यानमा राखेर वर्तमान सरकारले विद्यालय शिक्षाको कक्षा १ देखि १२ सम्म नै सामाजिक विषयलाई अनिवार्य विषयका रूपमा पाठ्यक्रममा समावेश गरेको छ । यसले पनि यसको गरिमा र महत्त्वलाई बढाएको छ । शिक्षाका राष्ट्रिय उद्देश्यमध्ये धेरै उद्देश्य यसै विषयले समेटेको कुरा पनि सर्वविदितै छ ।

३.विद्यालयमा सामाजिक शिक्षा अध्ययन–अध्यापनको उद्देश्य
विद्यालयमा सामाजिक विषय अध्यापनका मूलभूत उद्देश्य निम्न छन्–
(१) परिवार, समाज, देश, संस्कृति, परम्परा, सभ्यता, राजनीतिक प्रशासनिक प्रणाली, इतिहास, भूगोल आदिको जानकारी पाई सो अनुसार संरक्षण र संवर्धन गर्न ।
(२) विद्यार्थीलाई परिवार र समाज प्रति सकारात्मक बनाउन ।
(३) विद्यार्थीहरूमा मानवीय संवेदना जोगाइ आत्मविश्वासमा गर्न ।
(४) समाज र राज्यको गहिरो अध्ययन गर्न ।
(५) समाज भित्रका नयाँ नयाँ सम्भावनाहरूको खोजी गर्न ।
(६) समाज ,संस्कृति र इतिहास कुनै पनि राष्ट्र र व्यक्तिको अस्तित्वका आधार हुन भन्ने कुराको जानकारी पाउन ।
(७) परिवार समाज र राष्ट्रप्रति जिम्मेवार र उत्तरदायी र कर्तव्यनिष्ठ नागरिक बनाउन ।
(८) समाजमा मेलमिलाप ,शान्ति र सद्भाव कायम गर्न सक्ने बन्न ।
(९) सामाजिक शिक्षाको पाठ्यक्रममा निर्धारित गरिएका उद्देश्यहरू पूरा गर्न ।
४.विद्यालयमा सामाजिक शिक्षा पठन–पाठन गराउँदा चाहिने सामाग्रीहरू
(१) सम्बन्धित कक्षाका पाठ्यपुस्तक र शिक्षक निर्देशिका ।
(२) ग्लोबल, एटलस, भित्तामा देखाउन मिल्ने प्राकृतिक र राजनीतिक नक्साहरू, रेनगज, ब्यारोमिटर ।
(३) नेपाल र विश्वको इतिहास, भूगोल, नेपालको संविधान इत्यादि सन्दर्भ पुस्तकहरूका साथै विविध सन्दर्भ सामाग्री सहितका पुस्तकहरू रहेको बुक कर्नर ।

(४) पावर प्वाइन्टबाट नमुना कक्षा सञ्चालनका लागि कम्प्युटर, प्रोजेक्ट लगायतका श्रव्य दृश्यमा प्रयोग हुने समाग्रीहरु ।
(५) स्मार्ट फोन वा क्यामेरा ।

५. सामाजिक शिक्षा पठन–पाठनका लागि आवश्यक क्रियाकलाप
सामाजिक शिक्षा विषयको विभिन्न कक्षामा निर्धारित पाठ्यक्रममा उल्लेख गरिएका उद्देश्यहरू पूरा गर्नका लागि विद्यार्थीहरूलाई निम्नलिखित क्रियाकलापमा सामेल गराउनु पर्दछ
(१) प्रत्येक कक्षाका विद्यार्थीहरूलाई पठन–पाठनमा सामेल भएका विषयवस्तु अनुसारको लामो या छोटो दुरीको अवलोकन भ्रमणमा लैजाने ।
(२) अवलोकन भ्रमण पछि सो भ्रमणबारे प्रतिवेदन (रिपोर्ट) लेख्न लगाउने ।
(३) स्थानीय जनताले प्रयोग गरिरहेका परम्परागत सीप र प्रविधिबारे विद्यार्थीहरूलाई जानकारी दिने, त्यस्ता प्रविधि प्रयोग भइरहेका ठाउँमा घुमाउन लैजाने तथा विद्यार्थीहरूलाई आ–आफ्ना ठाउँका परम्परागत सीपहरू के–के छन् भनी खोज्न–बुझ्न लगाउने र सो बारे संक्षिप्त रूपमा विवरण लेख्न लगाउने ।
(४) स्थानीय संस्कृतिका राम्रा र अग्रगामी पक्षहरूका बारेमा सम्भव भएसम्म विद्यालयमै प्रयोगात्मक प्रदर्शन गर्न लगाउने ।
(५) आफ्नो देशका विभिन्न भागका चाल–चलन र संस्कृतिको बारेमा निबन्ध प्रतियोगिता, वादविवाद, परि संवाद इत्यादि आयोजना गरी विद्यार्थीहरूलाई सक्रियतापूर्वक भाग लिन लगाउने ।

६.निष्कर्ष
परिवार, समाज र देश बिर्सेर आजको युवापुस्ता विदेश पलायन भइरहेको अवस्थामा सामाजिक शिक्षाको महत्त्व र गरिमा झनै बढेर गएको छ।विश्वव्यापीकरणे स्थानीय विशेषताहरूलाई विस्थापित गरिरहेको तथा नेपालजस्ता साना राष्ट्रहरूमा पश्चिमा संस्कृति, परम्परा र चालचलनको अत्यधिक हस्तक्षेप भइरहेको अवस्थालाई हामी सबैले देखिरहेका छौँ । पुरानो पुस्ताको ज्ञान–सिप, श्रम र मेहनतबाट आर्जन गरिएको पौरखलाई नयाँ पुस्ताले अवमूल्यन गरिरहेको वर्तमान अवस्थामा देश–जनता र माटो चिनाउने सामाजिक शिक्षाको अध्ययन–अध्यापन अत्यावश्यक छ ।

वर्तमान समयमा कोरोना नामको महामारीले नेपालको अर्थतन्त्रको साथै समग्र विश्वको अर्थतन्त्रमा नराम्रो प्रभाव पारिरहेको छ । यस्तो अवस्थामा सामाजिक शिक्षाको मूल मर्मलाई बुझेर विद्यालय तहमा बालबालिकालाई श्रमप्रति सम्मान जगाउँदै जानु आजको मूल आवश्यकता हो । यसै कुरालाई मध्यनजर गर्दै अध्ययन–अध्यापन गराई सक्षम, योग्य, कर्तव्यनिष्ठ र राष्ट्रप्रति जिम्मेवार नागरिक तयार पार्नमा यो विषयको ठुलो भूमिका रहनेछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments