प्रगतिशील लेखन र सांस्कृतिक रूपान्तरणमा लिङ्गीय दृष्टिकोण

सोमवार, भदौ १६, २०७६



- सीता ओझा

राजनीति परिवर्तनले मात्र सामाजिक र सांस्कृतिक रूपान्तरण गर्न सक्दैन । धार्मिक र सांस्कृतिक विषयले समाजको आर्थिक सामाजिक कुरासँग प्रत्यक्ष सम्बन्ध राख्ने गर्छ । यस्ता सामाजिक रीतिस्थिति, धर्म संस्कार, चाडपर्व, कर्मकाण्ड र व्यवहारमा देखिएका विभेदकारी कुराहरूलाई आधार बनाएर नै हामीले समाजमा सांस्कृतिक रूपान्तरण गर्नुपर्ने हो र हुन्छ । तर त्यही चेतनाको आधार बनाउने कुरामा नै रूपान्तरणको जग बसाउन चुनौतीपूर्ण हुन्छ भन्ने कुरा लेखक तथा सांस्कृतिक अभियन्ताहरूले बुझ्न जरुरी देखिन्छ । दलीय व्यवस्थाभित्र त यस्ता सामाजिक सांस्कृतिक रूपान्तरणका मुद्दाहरूलाई दल र कार्यकर्ताहरूले आफ्ना कार्यक्रम समावेश गरेर अभियानकै रूपमा लैजान सके भने रूपान्तरणले स्वरूप निर्धारण गर्न सक्छ ।

विशेषगरि सामाजिक रूपान्तरणका यस्ता विषयहरूलाई समाज परिवर्तनका मुद्दा बनाएर जाँदा निकै सावधानीका साथ यात्रा तय गर्नुपर्ने हुन्छ । समाजको चेतना स्तर, सामाजिक कानुन, मुलुकको संविधान र संविधान अनुरूप व्यवस्था गरिएका कानुनहरूलाई आधार बनाएर कार्यक्रमहरू तय गर्नुपर्छ । यस्ता विषयमा हेक्का नपुर्याउदा कहिलेकाहीँ रूपान्तरण गर्न खोजिएका सांस्कृतिक विषयहरू कार्यान्वयन हुन नसकेर ओझेलमा पर्ने तथा सामाजिक सद्भाव भत्कने सम्भावना पनि त्यतिकै देखिन्छन् । यस्ता मुद्दाहरू ओझेलमा परे भने मुलुकको विकास पछाडि पर्छ  । विकास र प्राप्त गरेका अधिकारहरूलाई स्थायित्व दिन सकिन्न । यस्ता देख्दा साना तर सामाजिक रूपमा विभेदजन्य कुराहरू रहिरहे भने दिगो विकास हुन सक्दैन ।

हामीले लङ्गीय असमानताको यो खाडल कसरी पूरा गर्ने ?

हामीले पहिले महिला शब्दको स्थान, मान, परिभाषा र व्याख्या नेपाली समाजले कसरी गरेको रहेछ भनेर बुझ्न जरुरी छ । त्यसपछि त्यसको प्रयोगलाई नेपाली वाङ्मय या साहित्यले कसरी व्याख्या गरेको छ भनेर केलाउन जरुरी देखिन्छ । साहित्य समाजको जीवनको बिम्ब हो । सिङ्गो स्वरूपको तस्बिर देखिने दर्पण र रक्तसञ्चारको माध्यम हो । त्यसैबाट बनेको कोपिला, फुल र फल हामी सबैले खाद्यान्न बनाएर खान्छौँ । खाद्यान्न कति स्वास्थ्यकर र पौष्टिक छ; हामीले हेक्का नै राख्दैनौ । त्यही कारण हामीलाई जीवनभर विभेदको रोग लागिरहन्छ । रोगको निदानका लागि झारफुकको सट्टा परीक्षण र परे सर्जरी गर्नुपर्छ भन्न सक्दैनौ । यहीँ हामी चुकेका छौँ । यही कारण हाम्रो दृष्टिकोण पनि बन्न सकेको छैन । दृष्टिकोणमा सुधार नआउँदा बोल्ने र गर्ने व्यवहारबिच विभेद गरिन्छ । आफ्नो र अर्काको भनेर छुट्टाइन्छ । अहिलेसम्म नेपाली घर, परिवार, समाज र राजनीतिले यहिँ गरिरहेको छ । त्यसैले यति ठुला राजनीतिक फेरबदलले पनि रूपान्तरणलाई छुन र प्रभाव पार्न सकेन । यहाँ ठुला साना सबै रूपान्तरित हुनु जरुरी छ । त्यतिकै रूपान्तरण हुन स्थानान्तरण आवश्यकता पढे लेखेका हामीहरू जस्ता बौद्धिक झुन्डहरूलाई पनि आवश्यक छ । तर पनि निकै गाह्रो पनि देखिन्छ ।

लिङ्गमय विभेदको अन्त्यका लागि पनि रूपान्तरण आवश्यक हो कि ?

नेपाली शब्द कोषले महिला शब्द र पुरुष शब्दबिच गरेको व्याख्यालाई एक पटक हामीले पढौँ, हेरौँ, बुझौँ र मनन गरौँ । महिला शब्दको अर्थ स्त्री, नारी, आइमाई, भद्र नारी, प्रियङ्का नामको लहरो, एक सुगन्धित वृक्षको नामले परिभाषा गरिएको छ । यसरी गरिएको व्याख्यामा महिला या स्त्री, महिला भएर मानिस भयो कि मानिस भएपछि महिला भयो ? भनेर निकै बेर सोच्नु पर्ने आवश्यकता छ र हुन्छ । यो शब्दलाई अहिलेसम्म यौन उपयोग, प्रजननको माध्यम, प्रकृति, सृष्टि गर्ने क्षमता भएको तर भोग्य अथवा पुरुषको निजी सम्पत्ति, पिता, पति र पुत्रको अधीनमा रहनुपर्ने वस्तुको रूपमा व्याख्या गरिएको छ । यो धारणा नेपाली समाजका हरेक सानादेखि ठुला सबै संरचना र दृष्टिकोणमा जीवित भेटिन्छन् । जब छोरी या श्रीमतीले सम्पत्तिमा स्वामित्व खोज्छन् त्यस बेला निकै उदार भाव राख्ने अभिभावक, श्रीमान्, छोरा, राजनेता या प्रशासक एक पटक सोच्न बाध्य हुन्छन् । अलि गमेर आलटाल गर्दै पुनः मध्यमार्ग खोज्छ किन ? समानता होइन मिलेर गर्नुपर्छ भनेर दया भाव र सहानुभूति देखाउँदै गरेको प्रस्तुतिले प्रष्ट झल्किन्छ । उनीहरू त्यस घडीमा समानताको विरुद्धमा नै अडिक हुनु विभेदपुर्ण भाव होइन र ? यस्ता सोचान्तरणहरूको रूपान्तरण कसरी गर्ने त ?

पुरुष शब्दको व्याख्या (लोग्ने मान्छे, लोग्ने, मानव जाती, भालेजातीको प्राणी, सख्याशास्त्रका अनुसार प्रकृतिदेखि भिन्न, अपरिणामीकर्ता, आत्मा, विष्णु, जीव, भाले, वीर, आँटी गरिएको भेटिन्छ । यसलाई विश्लेषण गर्रौ न, शब्दको परिभाषामा भएको विभेदले समाजलाई कति विभेदपूर्ण बनाएर पढाएको रहेछ । अहिले पनि हाम्रा विद्यालय र विश्व विद्यालयमा यही अनुरूपको अध्यापन गराइन्छ । यस्तो व्याख्या भएको नेपाली व्याकरणले कस्तो समानता बुझाउँछ ? यस्ता विषयमा खोइ कसलाई प्रश्न गर्ने ? यही विधा बुझेका र घोकेका शिक्षक र हामीहरूको मनोविज्ञानमा अब कसरी परिवर्तन गर्ने ? निकै समस्या देखिन्छ । रूपान्तरण होइन सामान्य भाषागत त्रुटि सच्याउन त हाम्रा संरचनाहरूमा महिनौँका बैठक र भेला गर्न पर्छ । ती पनि ल्याएर हराउने परिपाटी भएका हामीहरूले यस्ता विषको हेक्का राख्न सक्छौ की सक्दैनौ उत्तर आउन कठिन छ । यसरी हेर्दा त,  दृष्टिकोण बनाउने शिक्षाको विषयको बहस पनि आउँछ कि जस्तो लाग्छ ।

हामी पढाउँछौ एक पक्षीय साहित्य र खोज्छौँ समानताको भाव बोकेको साहित्य । त्यसैले अबको वाङमय र साहित्यमा समान लैङ्गिक दृष्टिकोणको कुराको सन्देश शिक्षक, विद्यार्थीमा जानुपर्छ । अहिले पनि संसारभर राज्य सञ्चालनको विधि र प्रक्रिया मनुस्मृतिले पथप्रदर्शक गरेको देखिन्छ । मनुस्मृति मनुले ब्रह्माबाट सुनेकै उपनिषद हो । तर हाम्रा मार्क्सवादी दर्शन भन्दा त्यो महत्त्वपूर्ण छ । यही दर्शनले महिलाको मात्र होइन जात, धर्म, लिङ्ग र वर्णको आधारमा विभेदको बीजारोपण गर्‍यो । अब हामीले हाम्रा सामाजिक, सांस्कृतिक, परिस्थिति, प्रथा र परम्परा समान बनाउने कि यसै छोड्ने ? त्यो पनि प्रगतिशील लेखनसँग नै जोडिन्छ ।

हाम्रा संस्कार बदल्ने कि यसै छोड्ने ?

संस्कारले दिएका तर समानताका बाधक छोरी भन्दा छोरा जन्माउने, लिङ्ग पहिचानपछि भ्रूण हत्या गर्ने, खानपानमा आमा ठगिने, छोरीको छैटौँ दिन भावीले लेख्न नपर्ने, न्वारानमा ११ दिन पुग्न नपर्ने, छोरीको क्षवर गर्नै नपर्ने, छोरीको पास्नीको महिना पाँचौँ, छोरालाई ६ महिना, छोरीको विवाह अघि जात हुँदैन, कर्म नचल्ले, छोरीको रजस्वलामा अपवित्र मान्ने, छोराको वीर्य स्खलन पुरुषार्थको प्रतीक मानिने, त्यहिँ अपवित्रताभित्र जन्मने मानव जाती अपवित्र नहुने तर महिलालाई छोइछुटो गरी बाहिराउने, विवाहपछि गोत्र फर्ने आदि सयकडौं विषयहरू समाजका विभेदका बिम्बहरू हुन, यस्ता विषयमा प्रगतिशील लेखकहरूले कलम चलाउनु पर्ने कि नपर्ने ?

हामीले हाम्रा दैनिकमा प्रयोग भएका यस्ता विषयमा रूपान्तरण आवश्यक भएको हैन र ?

महिलाको कम्मर भाँचिएको, लजालु, सहनशील र सुन्दर हुनु पर्ने तर पुरुष जस्तो भए पनि केटीप्रति नजर चम्काउँदा फरक नपर्ने मनोविज्ञान र दृष्टिकोण भएका हामीहरूले लेखनलाई प्रगतिशील बनाउने अभियानले त्यसको सङ्गठित संरचना निर्माण गरिरहँदा महिला, दलित, तराई लगायतको सहभागीताका विषयमा कति सम्बोधन गर्न सकेका छौ ? त्यस्तै सम्बोधन भएर आएकाहरूको दृष्टिकोण सच्याउन या बनाउन कतिको मलजल गरेका छौ भन्ने कुरा पनि रूपान्तरणसगैं जोड्नु पर्छ कि ?

त्यस्तै हामीले पढ्ने पुस्तक वेद, चाणक्य, मनुस्मृति, रामायण, महाभारत, स्वास्थानी आदिले सिकाएका र समाजले धारण गरेका उदाहरणीय कुराप्रतिको हाम्रो दृष्टिकोण र लिङ्गमय विभेदले सृजना गरेका विषयले समाजमा देखाएको असमानता प्रतिको हाम्रो कस्तो दृष्टिकोण बनेको छ या हुनुपर्छ ? ( पतिले जे जस्तो गरे पनि पत्नी चुपचाप वनवास जाने, सीता जस्ता छोरी, अधिकार खोज्ने द्रौपदी छुची हुने, छ वर्षकी गोमा नाबालक बच्ची चुपचाप सत्तरी वर्षको बुढोसँग विना सवाल माता पिताको इज्जतका लागि अन्मिनुपर्ने । आशीर्वाद पनि राम, कृष्ण र विदुर जस्तो छोरा, सीता, सावित्री जस्ता छोरी तर कर्ण, द्रौपदी जस्तो बन्न नसिकाउने । छोरीको न जात, न थर, न धर्म, न गोत्र, न अंश न वंश, अचम्मको छ हाम्रो सामाजिक कानुन, नमाने एक्लिनुपर्ने । छोरा कर्मवीर, छोरी कर्म हरित, काज क्रियामा छोरा नभए, बान्धव, त्यो नभए मितका छोरा त्यो पनि नभए ब्राह्मण खोजेर गरिदिनु पर्ने संस्कार आदि ।)

राजनीति स्खलनले निम्त्याएका वैचारिक समस्याहरू :

कला, साहित्य र गीतमा संयोजन गरेका शब्द सबै महिलासँगको यौन आनन्दका लागि राखेर गाउने मात्रै होइन साहित्यका हरेक हरफमा महिलाको यौनिकताको प्रयोग गरेर साहित्यलाई रोमाञ्चित बनाउने र त्यो उत्कृष्टतामा रमाउने हाम्रा लेखकहरूको चिन्तनमा रूपान्तरण हुनु जरुरी भएको छ । छ । बोल्दा र सुन्दा मीठो लाग्ने तर व्यवहारमा सधैँ असमानताले सम्बोधन गर्ने परिवारभित्रैका वाक्यहरू जस्तै- बाबु पढ्न बस । नानी एक पटक पानी ल्याऊ त, पढ्दा र सुन्दा त ठिक छ । व्याकरण पनि बिग्रेको छैन तर लैंगिक दृष्टिकोणबाट हेर्दा सरासर विभेदपूर्ण हुने अनेकौँ शब्द र वाक्यहरूका विषयमा पनि त रूपान्तरणको सोचका साथ छलफल र बहसको आवश्यकता छ कि ?

शिक्षाले महिला लगायत सबैलाई घरबाट बाहिर निकालेको छ तर कार्यालयमा जाने सेवाग्राहीले सकेसम्म महिलालाई कर्मचारी या पदमा रहेको भनेर ठान्दै ठान्दैनन् । ठानी हाले भने दिदी, आँटी, खरदारनी या हाकिम्नी भनिदिन्छन् । यसो विचार गरेर हेर्‍यो भने यस्ताहरू सबै पढे लेखेकै जमातका आफूलाई केही हुँ भनेर दम्भ राख्ने खाल कै देखिन्छन् । व्याकरणले पदमा स्त्री लिङ्ग र पुलिङ्ग हुँदैन भनेर पढेका हामी जस्ता त्यसरी व्याकरण नै बिगारिदिएर बोल्दा अनेकौँ पटक अक्क न बक्क परेको धेरै उदाहरणहरू छन् ।

व्यापारिक क्षेत्रका मदिराजन्य विज्ञापनमा सबै महिलाका नग्न तस्बिरहरू हुन्छन् अनि खाने चाहिँ अधिकांश पुरुष । विवाहका लागि केटीले चिया, पानीसहित देखिनुपर्ने तर आफू जाने घर र केटा जस्तो भए पनि हेर्न नपर्ने ! यस्ता तथ्यहरूसहित विश्लेषण गर्दा सबै कुरा महिलाको काम र यौवनको प्रयोग र उपयोग केन्द्रित मात्र शिक्षा पढाएका छौँ की जस्तो देखिन्छन् । न परिवारमा महिलाको स्थान छ, न मान र पहिचान । यसरी बनेको परिचय त मात्र नाता र सम्बन्धको हुने गर्छ । हैन र ?

समय अनुसार मानिस बदलिन्छ, सामाजिक आर्थिक चिजबिजहरूले दुनियाँमा भएका सबै कुराको फेरबदल गर्दछ । हामीले मान्ने धर्म, भएका कानुन र संस्कार र संस्कृतिमा पनि समय अनुसार बदलाव आउँछ । विभेद पूर्ण कुराहरू भित्र देखिएका उदाहरणका रूपमा लैंगिक समानताको दृष्टिकोण नभएको, सहभागी पुरुषले प्रभावित पारिरहेको अवस्थामा लेखनमा महिलाको हस्ताक्षर पितृसत्तात्मक हुनसक्छ । त्यस्तै उसको हुर्काइ, सिकाइ र भोगाइ नै पितृसत्तात्मक लगायतका कुराहरूको प्रभावले पनि उसको सोचान्तरणमा पितृसत्ताको दृष्टिकोण विकास भएको कारण पनि उसको लेखनले समानता पहिचान गर्न नसकेको हुनसक्छ । त्यस्तो बेलामा शरीर र मन प्रगतिशील तर लेखन र व्यवहार सामन्ती या वर्ग विरोधी बनिरहेको हुनसक्छ । यस्ता कुरा हेर्दा निकै झिना-मसिना तर समानताका विपक्षमा उभिएका जटिल प्रकृतिका अवरोध भएर रहेका देखिन्छन् ।

यस्ता विषयमा दलहरूले अभियान सञ्चालन गर्न नसके पनि दलसँग नजिक रहेका र स्वतन्त्रपुर्वक लेखनमा भूमिका खेल्नेहरूले लेखेर, लेख्ने अभियान चलाएर सरोकारवाला र आम पाठकहरूलाई लाभान्वित बनाउन सक्ने थिए । यस्ता अभियानहरूले अघिल्लो पुस्ताको सोचमा रूपान्तरण हुने थियो भने आउने पुस्ताले रूपान्तरणलाई सोचबाटै समानताको दृष्टिकोण बनाएर आफूलाई उभ्याउने थियो । यस्ता लेखन र अभियानले गाउँगाँउबाट दृष्टिकोणीय समानताको विकास गर्ने आधार तयार गर्न सजिलो हुने थियो । यस्ता विषयमा लेखनमा लागेका महिला र पुरुष दुवैलाई चनाखो बनाउन सके महिला, दलित, तराई, हिमाल लगायत पछाडि परेका समूहलाई मूलधारमा समावेश गर्दै विकासमा सामाजिक र सांस्कृतिक रूपबाट समावेश गर्न सकिने थियो होला । साथै यस्ता पक्षले उठाउने गरेका विभेदको अन्त्य हुने थियो कि !

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata