दलितले खाजा ल्याउँदा जब हाम्रा हाम्रा अगुवाहरुको पेट दुख्छ…..

बुधबार, कार्तिक १०, २०७३



परिवर्तन तब सम्म हुदैन जब सम्म हामी आफैं समय सापेक्ष रुपान्तरित हुदैनौं । सामाजिक क्रान्तिको लागि यथास्थितवादलाई चिरेर केहि नयाँ गर्ने दुस्साहास गर्नै पर्छ । जुन ईतिहास र अभ्यासले सिद्ध गरेका सत्यता पनि हो । केवल बिचार र संवादयुद्धले मात्रै समाज परिवर्तन गर्न सक्दैन् । समाज परिवर्तन त हामीले आफ्नो चिन्तन परिवर्तन गरेर सकारात्मकतर्फ पहलकदमी गरे पुग्छ र व्यवहारमा लागू गरे पुग्छ ।

नेपाली समाज पूर्णरुपमा हिन्दु सनातन धर्म व्यवस्थाबाट निर्देशित समाज हो । करिब तीन हजार वर्ष भन्दा पहिलेबाट जब हिन्दु धर्म व्यवस्थामा वर्ण विभाजन भयो । वर्ण व्यवस्था तत्कालिन परिस्थतिमा कार्य विभाजनको एक आधार थियो । तर यसलाई अपव्याख्या गरेर वर्ण व्यवस्थालाई कुनै निश्चित समुदायको जन्मजात पेशा बनाईयो । जुन कालान्तर सम्म पनि अपरिवर्तनिय भयो । यहिबाट समाजमा एक अर्का प्रति कटुता र विखण्डनको सुरुवात भएको हो । यहिबाट हाम्रो सामाजिक व्यवस्था असफल हुँदै आएको छ ।

आज एक्काईसौं शताब्दी पार गरि सक्दा हाम्रा पुराना मान्यताहरु पूर्णरुपमा अवैज्ञानिक र गलत सावित भईसकेको छन् । हाम्रो सामाजिक व्यवस्थामा परिमार्जनको खाँचो छ । समाजमा रहेका सबै समूदायलाई समान हैसियतका साथ स्वीकार्य गर्नुको विकल्प छैन् अब । र यो मर्म हामी सबैले राम्रो संग बुझिसकेको पनि छौं । कसैलाई हेलाँ होचो गर्नू कानूनी अपराध हो । यसका लागि राज्यले दण्डको व्यवस्था पनि गरेको छ ।

समाजमा पछि पारिएका दलित, महिला, अपाङग, एकल महिला, जनजातिको समानताको लागि शताब्दियौँ देखी हामी शिक्षित भद्र भलाद्मीहरु बहस र पैरवीमा लागि परेका छौं । तथापि समस्या किन समाधान भएन ? समाजमा पछि पारिएका समुदायको विकास किन हुँन सकेन ? उनीहरुलाई राज्यको मूल प्रवाहीकरणमा ल्याउन किन सकिएन् ? यो एउटा गम्भीर सवाल हो ।

आफ्ना अधिकारका लागि हामी नेपालीहरुले विभिन्न शासक र व्यवस्थासंग सङघर्ष गरेको इतिहास छ । फलतः देशमा अहिले गणतन्त्र आईसकेको छ । आफैले आफ्ना लागि संविधान पनि बनाई सकेको छौं । मुलुुक अधिकारको समान बाँडफाँड गरी पछि परेको समुदाय र क्षेत्रको छिटो विकासको लागि सङघियताको अभ्यासमा जाँदै छ । तथापि यत्तिको परिवर्तनको यात्रा पार गरिसक्दा पनि किन समाजमा पछि पारिएका दलित, महिला, अपाङ, एकल महिला, जनजातिको सवाललाई राज्यले सम्वोधन गर्न सकेन ? समाजमा किन उनीहरुले सम्मानजनक अवस्थामा बाच्न पाउने अधिकारको अनुभूती गर्न सकेनन् ?

कारण हामी सोच्छाँ,ैं समाज परिवर्तनमा ति गाउँघर कुना, कन्दराका गरिब अशिक्षित नागरीक अवरोधक हुन । तर ती गरिब अशिक्षित समुदाय सँधै दोस्रो दर्जाको नागरीकको हैसियतमा बाँच्न बाध्य छन् । यो समाजिक व्यवस्था शिक्षित र सभ्रान्त समुदायबाट निर्देशित छ । वास्तवमै यो समाजको गतिरोधक हामी जस्ता नेतृत्व तह र शिक्षित वर्ग हौं, जसलाई सबै कुरा थाहा त छ तर व्यवहारमा कहिल्यै लागू गर्न सक्दैनौं र प्रयास गर्ने साहास पनि राख्न सक्दैनौं ।

हामीलाई थाहा छ नारी सृष्टिको एक अमूल्य देन हो । नारी विना समाज पूर्णरुपमा अधुरो छ । तर पनि नारीलाई अपहेलना किन ? हामीलाई थाहा छ, श्रमको आधारमा कैसैलाई हेला होचो गर्नु हुदैन, तर दलितलाई अहिले सम्म छोई छिटो किन ? हामीलाई थाहा छ भाग्यले ठगिएका एकल महिलाको व्यथा तर एकल महिलालाई हेला किन ? शारिरीक समस्या भएकालाई झन साथ दिनु पर्छ भन्ने थाहा हुँदा हुदै अपाङगलाई छि –छि, दुर– दुर किन ? सबै कुराको चेतना हुँदा हुँदै पनि हामी त्यसलाई प्रयोग किन गर्दैनौं ?

थाहा हामीलाई सबै छ र यसको भरपूर वकालत पनि गर्छौं । तर त्यहि थाहा भएको कुरा व्यवहारमा लागू गर्दनौं । बाहिर एक भित्र अर्कै यसरी दोहोरो चरित्रमा बाँचेका छौं हामी । हामी यसरी नै स्कुलिङ भईरहेका छौं र यसरी नै स्कुलिङ गरिरहेका छौं । यो दोहोरो चरित्रमा बाँच्ने संस्कार एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै गईरहेको छ । यो नै हाम्रो समाजको गतिरोधको मूल जड हो । अहिले समाजबाट यो संस्कार हटाउनु सुतेको अभिनय गरेको व्यक्तिलाई उठाउनु सरह भएको छ ।

मैले अनुगमन र कार्यक्रममा भोगेको अनुभवः कुनै समुम्बासी दलित बस्तीमा दलित सशक्तीकरणको लागि कार्यक्रम संचालन गर्दा दलित मुक्तिको बकालत गर्ने अधिकारकर्मीहरु नै जब त्यहि दलितले खाजा पानी ल्यादा आज “मेरो पेट ठिक छैन् माईन्ड नगर्नु है“ भन्छन् । यो कुनै नौलो घटना हैन् । बाहिरी चरित्रलाई उसलाई प्रगतिशील देखाउन खोजिरहेको हुन्छ भने भित्री चरित्रले रुढिग्रस्त चिन्तन छोड्न सकेको छैन् । त्यस्तै अनुगमनको क्रममा नारीको बिषयमा वकालत गर्ने अच्छा अच्छा नेता, समाजसेवी, कर्मचारी, शिक्षकको घरमा छाउ गोठ भेटेको छु । यसरी अगुवा नै वाटो हगुवा भए पछि कसरी हाम्रो समाज प्रगतिशीलतातर्फ उन्मूख हुन सक्छ र ?

समाजमा हजारौं बर्ष देखि दलित, महिला, जनजातिहरु उपेक्षित छन् । उनीहरुलाई राज्यको मूलप्रवाहिकरणमा उपेक्षित गरिएको छ । जसका कारण हाम्रो समाज पछि परेको हो । कुनै एक समुदायलाई निषेध गर्दा अर्को समुदायलाई तत्कालिन फाईदा पुगे पनि दीर्घकालिन रुपमा निषेध गर्ने समुदाय मात्रै हैन राष्ट्रलाई नै पनि बार बार घाटा पुगिरहेको हुन्छ । यदि कुनै एक समुदायलाई कमजोर पारिन खोज्नु भनेको आफ्नै शरीरको अङ्ग काट्नु बराबरको मूर्खता हो । यस मुर्खताले हामीलाई सशक्त र संगठित बनाउन सक्दैन । अतः समाजलाई भ्रममा पारेर विभेद, एक अर्का प्रति विरोधाभास, कटुता, रुढिग्रस्त, गरिब तथा अशिक्षित बनाएर पछि परेको समुदायलाई अवसरबाट सधै बञ्चित बनाई आफ्नो पछाडी लाग्न बाध्य बनाउन चिन्तन कुनै अर्थमा बुद्धिमत्ताको सूचक हुन सक्दैन् ।
नेपाली समाजको विकासक्रम सबै समुदायको महत्वपूर्ण योगदान रहेको छ । अब एकल काट्टे ब्यहोराले जित्ने जमाना गईसक्यो छ । अझै पनि यहि व्यवहार कायम भए पतन तिर पुग्ने निश्चित छ । सबैको समान अस्तित्वमा हामीले ग्रहण गर्नुको विकल्प छैन् । यो नै वह्मसत्य हो । दोहोरो चरित्रलाई त्यागौं । आफ्नो चिन्तन र व्यवहारलाई प्रगतिशील बनाउदै लैजाउ । त्यसलै सबै समुदायलाई समान महत्व र अधिकारको वाडफाड हुँनु पर्दछ । राज्यले पनि उपेक्षित समुदायको समस्यालाई राष्ट्रिय समस्याको रुपमा लिएर सम्बोधन गर्न जरुरी छ । अनि मात्रै समाजमा पछि पारीका महिला, दलित, जनजातिको सर्वागिण विकासको रोडम्याप तय हुन सक्छ । जहा हरेक जाति, भाषा भाषिक, क्षेत्रीय, लैगिंकका प्रतिनिधित्व गर्ने समुदायले सह–अस्तित्वको हकको प्रत्याभूत गर्नेछन् र समतामूलक समाजको परिकल्पना संभव हुन सक्छ ।
(लेखक अधिकारी पुनर्वास नगरपालिका कार्यालय, कञ्चनपुरमा कार्यक्रम अधिकृत हुन ।)

562 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank