तिमीहरु साँचो कम्युनिष्ट की हामी ?

बुधबार, कार्तिक १०, २०७३



खोटाङ जिल्लाको जयरामघाट्देखि माधेवेशीसम्म लहलह धान र उखु फल्थ्यो । त्यहाँ खनजोत गर्ने, उब्जनी गर्ने अन्नवालीको हुर्काउने र मुखियाको घरमा भित्र्याइदिने सवै गरिव किसान र दलितहरु हुन्थे । मुखियाहरुले तिनलाई सीमसारको ऐलानी जग्गा आँखाले नदेखुन्जेल फाड्न र खनजोत गर्न लगाउँथे । अनि अन्नवाली लहलह फल्ने भएपछि २/ ४ माना चामल दिएर फाड्नेहरुलाई पाखातिर देखाई दिन्थे । ती निमुखाहरुले सवै पाखो भिरालो, पहिरो जाने वा पानी नलाग्ने उब्जनी कमै हुने ठाउँमा स्याउलाको छाप्रो हालेर बस्नुपथ्र्यो । जो हात पर्यो लियो । सामन्तहरुको खलोवारीमा मलाई ज्याला पुगेन भन्ने कसैको आँट हुदैनथ्यो । दिनभरी कामगर्दा तिनलाई २ माना अन्न दिएर कदुवा–सल्लेतिरका मुखियाहरुले सवै उब्जनीहरु लान्थे ।

पार्टी नेतृत्वहरुले पञ्चायतको अन्त्यसम्म अधिकांश समय दलित समुदायकै झुपडीमा बसेर भूमिगत जीवन गुजारे । तिनले दलित झुपडीका चुलोचौका र दैनिक जीवनलाई नजिकबाट नियाले । दलितलाई मिठा सपनाहरु बाढ्दै उनीहरुकै मानो खाए । घरदलानमा पसेर खादै सपनाहरु बुनिदिदा दलितहरुलाई आफ्ना घरभित्र देवता प्रवेश गरेजस्तै भयो । छुवाछूत हुन्न, सवै समान, वर्गको अन्त्य हुन्छ । तिमी र हामी समान जाति समान हैसियतका हुनेछौं भन्दा कति हाम्रा चेलीवेटीहरु उनीहरुप्रति आशक्त भए, कतिपय युवा गैरदलित युवतीप्रति मोहित भए ।

२०४६ सालपछि स्कुल र गाउँतिर पसेका कार्लमाक्र्सका कान्छा छोरा झैं लाग्ने चुस्सदारी पालेका मानिसहरुले यी कथाहरु दोहोर्याए । “सामन्तहरुले हामीलाई वर्षौदेखि यसैगरी हाम्रो पसिना लुटिरहेका छन् । हामी मिहिनेत गछौं, अन्नवाली उनीहरु भित्र्याउँछन् । हामी जोत्छौं, जमिन उसको मात्र हुन्छ । सरकारी मान्छे उसको, जमिन उसको, उब्जनी उसको, ऊ त शोषक, अनि हामीहरु सधै शोषित उत्पीडित । त्यसैले अधिकार र वर्ग समानताका लागि हामी कम्युनिष्ट बन्नुपर्छ । कम्युनिष्ट बनेपछि साम्यवादी राज्यको स्थापना हुन्छ । सवैलाई समान न्याय हुनेछ, जातपात छुवाछूत रहनेछैन । हामीले जोतेको खेतवारी हाम्रो, हामीले फलाएको अन्नपात हाम्रो हुनेछ । हामीहरु नै हाकिम, मन्त्री, प्रधानमन्त्री हुनेछौं । त्यसवेला सामन्तहरु जेलमा हालिने छन् । त्यसैले कमरेडहरु! अव मुठ्ठी कसौं, वर्षौदेखिको उत्पीडनबाट मुक्त हौं, समाजवादी राज्यको स्थापना गरौं ।”

यी सपनाहरुले हामीलाई कम्युनिष्ट बनायो । यिनै भाषणहरुले सामन्तसंग लड्ने साहस भरिदियो । परिणामतः हामी कम्युनिष्ट भयौं । गाउंका मान्यजन, नातागोतालाई चुनौती दिदैं दुश्मनी मोल्यौं । आफ्नै बावुआमा, काकाकाकी, मामामाइजुसंग हामी त क्रान्तिकारी, यो मुलुकको परिवर्तन गरी गरिव, दलित, किसान मजदुरलाई न्याय दिने योद्धाहरु भनेर घरभित्रै कलह रोप्यौं । विभिन्न राजनीतिक परिवर्तनमा कफन बाँधेर होमियौं । दलित, उत्पीडित पनि सरकारी हाकिम बन्ने, माननीय, मन्त्री, प्रधानमन्त्री र राष्ट्रपति बन्ने सपना साचेरै पार्टीमा लाग्यौं । आजपनि सोही भरोसा र विश्वासमा पार्टीका लागि जीवन उत्सर्ग गरिरहेका छौं । अरुभन्दा इमान्दार, वफादार भएर दशकौं बितायौं । पार्टीका लागि नातागोता, इष्टमित्र, छिमेकी साथी भाईलाई वैरी बनायौं ।

आज कम्युनिष्टहरु सत्तामा पुगेको २२ वर्ष पुगिसकेको छ । प्रायजसो समय कम्युनिष्टहरु नै सत्ताका मालिक भएका छन् । ६ जना कम्युनिष्टहरु प्रधानमन्त्री बनिसकेका छन् । हाम्रो एमालेबाट मात्र ४ जना प्रधानमन्त्री बने, मन्त्री र उपप्रधानमन्त्रीहरु गनि साध्य छैन । संविधानसभाको सफल निर्माणपछि हाम्रै पार्टीका अध्यक्ष प्रधानमन्त्री, हाम्रै पार्टीबाट राष्ट्रपति निर्वाचित हुनुभएकोछ । तर कति सपनालु दलितहरुको घरवार वर्वाद भयो, कति कम्युनिष्टका नाममा सहिद भए, कति जोगी/लफंगा भए । सवै पार्टीका लागि । सरकारले उच्चपदमा थुप्रै नियुक्ती गर्यो, त्यहाँ उनै जग्गा फडाउने र माधेवेशीमा अन्नपात भित्रयाउने जाति–वर्गहरु मात्रै नियुक्ती हुन्छन् ।

दलित–उत्पीडितहरु मन्त्रीको कुरै छोडौं, मन्त्रीहरुका पिए पनि हुनपाउदैनन् । वर्ग समानताका कुरा फलाक्नेहरुको नजरमा उनीहरु सधै अयोग्य हुन्छन् । यतिसम्मकी तिनका मालिकहरुका त कुरा छोडौं, सामान्य मन्त्रीका पिए बन्न पाएका टपरटुईया कार्यकर्ताहरु समेत २/४ महिना सरकारी गाडी घोडा चढ्न पाएपछि दलित उत्पीडित, शोषक वर्गका आफैं मालिक भएको महसुस गर्दैछन् ।

विडम्वना पार्टीहरु भित्रै विभेद उत्तिकै छ । हाम्रा नेताहरुमा दलित उत्पीडितले नमस्ते गर्दा उसैगरी फर्काउने फुर्सद छैन । फुर्सद नभएको पनि होइन, यो वर्गका लागि जोरहात उठाए सानो हुइन्छ की भन्ने मानसिकताले उनीहरुको मनमस्तिक ग्रसित छ। उनका आफ्ना वंश–गोत्रका लागि घाम तापेर, चिया खुवाएरै पनि कुरा सुनिदिन्छन् । पार्टी कार्यमा छुवाछूत विरुद्धका कुरा ज्यादा हुन्छन्, यही कुरा गरेर उनीहरु नै कमाई खाइरहेका छन् । संगै बसेर खान्छन्, भोकाका छन् र तिनका साथमा पैसा छैन भने जुठो पनि खाइदिन्छन् । तर सद्भाव, सम्मान र सम्वन्धमा भने यिनका वाजेवजैको जस्तै मानसिकता यथावत् छ । पैसा छ, आवश्यक परेको वेला हात माथी पारेर दिनसक्यो र कार्यक्रमहरुमा खर्च गरिदिन सक्यो भने नेताको नजिक होइन्छ, नत्र उही वालीघरेकै ब्यवहार छ, हाम्रा कम्युनिष्ट नेतामा ।

जतिसुकै योग्य भएपनि कमाई हुने, शानमान हुने पद दलितलाई कहाँ दिनुहुन्छ ? यो त मेरो भाइभतिजा, भान्जाभान्जी, ज्वाईचेलालाई पो ! भन्ने नातावाद नेताज्यूहरुका रगतरगतमा यथावत् बगिरहेकै छ । काम खटाउँदा ‘तपाईजस्तो क्षमता भएको ब्यक्ति पार्टीको सम्पती हो’ भनेर रुखमा चढाउने, फल झरेपछि ‘ला तँलाई’ भनेर लोप्पा खुवाउँदै ठाडो पुच्छर लगाएर भाग्ने काजीका छोराहरु हाम्रा पार्टीका असल र योग्य कार्र्यकर्तामा दरिन्छन् । जोसंग लुटेर, खोसेर ढाँटेरै ल्याएको भएपनि नेताका लागि खर्च गर्ने श्रोत छ, पार्टी निकायका शिर्ष पदहरुमा उनीहरुकै कब्जा हुन्छ । श्रोत नहुने तथा लाठीमुंग्री नगर्नेहरुले सानै पदमा भएपनि ‘आरक्षण देऊ न’ भनेर बिन्ती बिसाएर प्रवेश गर्नुपरेको छ ।

राजनीति भनेको भावनाले चल्ने होईन, साम, दाम, दण्डभेद झुठ, वेईमानी, छलकपट्युक्त वक्रमार्ग हो । उनीहरुको बुझाई छ । यसो भनेको आदर, सम्मान, माया, नभई अरुलाई सिध्याएर जसरी पनि आफू मात्रै अगाडि बढ्नुपर्छ भन्ने हो । सामदाम, दण्डभेद भनेको मनुको शासकीय नीति थियो । पछि क्रुर तानाशाहहरुले अपनाउने विधि बन्यो । तर अहिले गणतान्त्रिक समयमा समेत सामदाम, दण्डभेदको चक्रब्युह बनाउने मनुवंशहरु हाम्रा पार्टीमा वलिया काजी–मुखिया भएर बसेका छन् । तिनै काजी, मुखिया र सामन्तका वंशवीर्यहरु अहिले क्रान्तीकारी कार्यकर्ता र नेता बन्दै गएका छन् । हाम्रो पार्टीमा मात्र होईन, सवै कम्युनिष्ट घटकहरुमा यिनीहरु हावी हुँदैछन् ।

दलित, सर्वहारा, विपन्न वर्गले पार्टीलाई आफ्नो मन्दिर ठान्दछ र नेताहरुलाई अभिभावक अनि देवता । त्यही घर र देवताबाट न्यायको अपेक्षा गर्दछ, जीवन जिउनुको सार्थकता ठान्दछ । उसले बुझेको राजनीति भनेको पार्टीमा आवद्धता लिएपछि जस्तोसुकै वलिदानी दिदैं ईमान्दारितापुर्वक काम सम्पन्न गरि पार्टीलाई वलियो बनाउनु हो । यसैले कुनैपनि आन्दोलनको अग्रमोर्चामा यिनीहरु छाती खोलेर लडेका छन्, सहिद भएका छन् । दलित, सर्वहारा वर्गका घरमा ओत नपाउने हो भने आज कुनै पनि पार्टी बन्दैन थिए होलान् । आज पार्टीमा जो मै हुँ भन्दैछन्, दलितहरु लडिरहँदा, तिनीहरु पार्टीहरुलाई गर्भमै तुहाउन हातहातमा कोर्र्रा लिएर उभिएका थिए ।

निरंकुश तानाशाहको द्धारदलानमा आआफ्नो विर्ता जोगाइदिनु पर्यो हजुर भनेर पुकार्दै थिए । तर पार्टी जन्माएका हौं भन्ने र हाँक्नेहरुले दलित–विपन्नका ती घरलाई कहिल्यै मन्दिर ठानेनन् । लुकाइछुपाई भात खुवाउने ती आमा र वन्दुकको नालबाट जोगाउने तिनै बाबाका हातहरुले नमस्ते गर्दा पनि तिनका हात उठ्दैनन्, आजकाल ।

माक्र्सवादी शक्तिको आधार भनेकै सर्वहारा मजदुर वर्ग हो । नेपाल र अहिलेको सन्दर्भमा मजदुर वर्ग भनेका दलित नै हुन्, जो श्रम गर्छन् । तर माक्र्सवादलाई भाँडो ठान्नेहरुका कारणले कम्युनिष्ट पार्टीहरु भित्र क्रमशः नव सामन्तवाद र त्यसका ठेकेदारहरुको वास जम्न थालेको छ । हाम्रो पार्टीसमेत विशेषतः नवौ महाधिवेशनपछि मिनी सामन्तहरु र तिनका इष्टमित्रहरुको नयाँ घेरामा फस्दै गएको छ । त्यो घेरावन्दीले पार्टीको जनाधार– दलित कालीगढहरुको हिस्सेदारीलाई अस्वीकार गर्दै यिनलाई नोकरसरह ब्यवहार गरेको तीतोसत्य हामीले आजसम्मै कतै न कतै भोग्दैछौं ।

659 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank