विवाह पञ्चमी महोत्सव : आज तिलकोत्सव कार्यक्रम हुँदै

शुक्रबार, मंसिर १३, २०७६

loading...


धनुषा । रामजानकी विवाह पञ्चमी महोत्सवअन्तर्गत आज चौथो दिन जनकपुरमा तिलकोत्सव कार्यक्रम हुँदैछ । अयोध्यावाट आएका जन्तीलाई आज एक औपचारिक कार्यक्रम गरी राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्ने कार्यक्रम रहेको छ ।

सो अवसरमा १०१ वटा पाहुर लिएर जानकी मन्दिरका महन्थ राम मन्दिर जाने र अयोध्या दरबारको प्रतिनिधित्व गर्ने राममन्दिरका महन्थ राम गिरीबीच सम्धी मिलन गरिन्छ ।

गत विहिवार अयोध्यावाट जनकपुरधामका लागि जन्ती निस्केको थियो । त्रेता युगमा सीता स्वम्वरको वेला गुरु विश्वामित्रसंग रामलक्ष्मण जुन बाटो भएर आएका थिए त्यही वाटो भएर जन्ती जनकपुर आउने गर्दछन् ।

विवाह पञ्चमी अन्तर्गत बिहीबार(तेस्रो दिन) जानकी मन्दिरमा बनाईएको मञ्चमा धनुष तोडिएको थियो। जनकपुरधामको रंगभूमि मैदानमा बनाईएको मञ्चमा राम जानकीको प्रतीकको रुपमा रहेका भगवान रामबाट धनुष तोडिएको हो । भगवान रामले धनुष तोडेपछि रंगभूमि मैदानमा जम्मा भएका हजारौंले जयजयकार गरेका थिए ।

पुरै नाटकीय शैलीमा गरिने सो धनुष यज्ञमा त्रेतायुग जस्तै विभिन्न राजकुमारहरुलाई राखिएको थियो । सो अवसरमा जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णव, उत्तराधिकारी महन्थ राम रोशन दास वैष्णवसहित जनकपुरका विभिन्न मन्दिरका सन्त महन्थहरु सहभागी थिए ।

पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिका साथै भारतका अयोध्याबाट आएका जन्तीपनि सहभागी भएका थिए । धनुष यज्ञका लागि रंगभूमि मैदानमा विशेष मञ्च बनाइएको थियो । त्रेतायुगमा भगवान रामले धनुष तोडेका थिए । त्यसैको स्मरणमा प्रत्येक वर्ष विवाह पञ्चमीको बेला जनकपुरमा धनुष यज्ञ हुने गर्छ ।

सात दिवसीय विवाह पञ्चमी महोत्सवको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलवारी लीला, तेस्रो दिन धनुष भइसकेको छ । आज तिलकोत्सव, पाँचौ दिन मटकोर, छठौं दिन शुभ विवाह र सातौंदिन रामकलेवा हुनेछ । रामजानकी विवाह पञ्चमी महोत्सवमा सहभागी हुन नेपाल र भारतका विभिन्न स्थानबाट भक्तजनहरुको जनकपुर आउने क्रम जारी रहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata